विकासन्युज

सिंगापुरमा ग्लोबल आइएमई बैंक दुई विधामा सम्मानित, ३ वर्षमा दोस्रोपल्ट युरो मनी अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेस्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो । यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक अवार्ड २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

गलकोट । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी दंग परेका छन् । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थालेका ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उनले बताए । उनले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाए । छोटो समयमै चार लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ । ‘चितवनबाट एक हजार पाँच सय बिरुवा ल्याएर खेती सुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी रु चार सयमा बजार पठाइरहेको छु, बेनी, पोखरा र बागलुङ बजारमा ड्रागन फ्रुट खपत भइरहेको छ’, उनले भने । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताए । ‘एकपटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ’, थापाले भने, ‘जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मङ्सिरसम्म टिप्न पाइन्छ, मैले लगाएको रातो ड्रागन हो ।’ रासस

उडान कम हुँदा यात्रु मारमा

काठमाडौं । भोजपुर नगरपालिका-१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तरपनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । वि.सं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो । कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर-काठमाडौं हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ । नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ । अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्री मारमा पर्दैै आइरहेका छन । ‘घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ,’ स्थानीय सञ्जीव कार्कीले भने । टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ । ५ करोड ४५ लाख रुपैयाँ लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ । विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताए । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ । जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको १६ करोड ९२ लाख रुपैयाँ लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी-जगदम्बा-मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ ५ किलोमिटर छ । भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । ‘बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ,’ जिल्लावासी कृष्णमाया तामाङले भने ।

सुदूरपश्चिम र कर्णालीमा मुसलधारे वर्षा हुने, यस्तो छ आगामी २४ घण्टाको पूर्वानुमान

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ । हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । यसैगरी आज राति सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा हुरीबताससहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हुरीसहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

ह्याम्सले किन्यो नागरिक अस्पताल, भक्तपुरको उत्कृष्ट हस्पिटल बन्दै

काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा नयाँ लगानीकर्ता भित्रिएका छन् । काठमाडौंमा सुविधा सम्पन्न स्वास्थ्य सुविधा प्रदान गर्दै आएको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी नेतृत्वको समूहले नागरिक अस्पतालको ४३ प्रतिशत सेयर खरिद गरेर सो अस्पताललाई नयाँ व्यावसायिक रणनीतिका साथ अगाडि बढाएको हो । भण्डारीको समूहले सो अस्पतालमा १० करोड रुपैयाँ लगानी गरेर भदौ १ गतेदेखि सेवा दिन सुरु गरिसकेको छ । ७ रोपनी जग्गामा १ लाख ४० हजार स्क्वायर फिटको अन्डरग्राउण्डबाहेक भवनको लागि नक्साको तयारी भइरहेको छ । कार्तिकसम्म भवनको जग खन्न सुरु गर्ने उद्देश्य बनाइएको छ भने आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सो अस्पताल हेलिप्याडसहितको टर्सरी लेभलको बन्नेछ । अस्पतालमा बच्चादेखि वृद्धवृद्धाका लागि सबै किसिमको स्वास्थ्यसेवा प्रदान गरिने बताइएको छ । ‘अहिले काठमाडौंमा जुनस्तरको ह्याम्स अस्पताल छ, जसरी यसले सेवा प्रदान गरिरहेको छ, त्यही स्तरको अस्पताल र सेवा अब भक्तपुरको नागरिक अस्पतालबाट पाइनेछ,’ ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले विकासन्युजसँग भने । यस्ता हुनेछन् सेवा नागरिक अस्पताल ह्याम्स अस्पतालको स्वामित्वमा आएसँगै जिल्लामै पहिलो एमडीजीपी फ्यामली फिजिसियन डाक्टरको २४सै घण्टा सेवा सुरु भइसकेको छ । अहिले इमरजेन्सी विभागमा सेवा सुधारको काम भइरहेको भण्डारीले बताए । असोजको दोस्रो सातासम्म नयाँ बनिरहेको पूर्वाधारमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म फुल टाइमर डाक्टर र पार्ट टाइमर डाक्टर राखेर सेवा दिने तयारी भइरहेको अध्यक्ष भण्डारीले बताए । ‘अब भक्तपुरवासीले छिट्टै सेवा पाउनेछन्,’ भण्डारी भन्छन्, ‘स-सानादेखि गम्भीर खालको उपचार गर्न पनि त्यहाँका नागरिक काठमाडौं अनि लतिलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । हामीले टर्सरी लेभलको अस्पताल त्यहाँका नागरिकलाई लक्षित गरी सुरु गरेका हौं ।’ नागरिक १ सय शैयाको अस्पतालसँगै कलेज अफ हेल्थ साइन्स छ । भवन निर्माणपश्चात बेड शैया पनि बढाउने योजना भण्डारीको छ । राज्य र निजी क्षेत्रको कमजोर उपस्थिति काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये स्वास्थ्य सेवा क्षेत्रमा भक्तपुर जिल्लामा राज्य र निजी क्षेत्रको उपस्थिति कमजोर छ । काठमाडौं र ललितपुरमा निजी अस्पतालसँगै सरकारी राम्रा अस्पताल भएपनि भक्तपुरमा भने राम्रा अस्पताल छैनन् । कोटेश्वरभन्दा उता जाने हो भने राज्यको उपस्थितिसँगै निजी क्षेत्रको उपस्थिति पनि देखिँदैन । ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी । तस्बिर : सौगात पुडासैनी । त्यहाँको आवश्यकता र जनसंख्याको चापलाई मध्यनजर गर्दै ह्याम्सले सेवा सुरु गर्न लागेको जनाएको छ । ह्याम्सको अहिलेसम्मको अनुभव र नागरिक अस्पताललाई क्लिनिकबाट अस्पताल बनाउनुपर्छ भन्ने हिसाबमा आफै सेयरधनी भएकाले पनि यो कामको सुरुवात गरेको अध्यक्ष भण्डारीले बताए । ट्रमालक्षित सेवा हाइवे र धेरै जिल्लाको मुभमेन्ट भक्तपुर पर्ने भएकाले यहाँ दुर्घटनाका घटनाहरू धेरै भइरहेका हुन्छन् । काभ्रे अनि भक्तपुरमा सडक दुर्घटना हुँदा घाइतेहरूलाई काठमाडौंको ट्रमा सेन्टर वा ललितपुरको बि एण्ड सी पुर्‍यानुपर्ने बाध्यता छ । अब यो अस्पतालले तिनै सम्भावित घटनालाई मध्यनजर गर्दै ट्रमा सेवा दिने योजना बनाएको छ । ‘मान्छेको जीवन पाँच मिनेटले बाँच्ने र मर्नेसँग सवाल राख्छ तर त्यत्रो जनसंख्याकासँगै हाइवे भएको ठाउँमा राम्रो अस्पताल छैन,’ अध्यक्ष भण्डारी भन्छन्, ‘हाइवे हेर्ने हो भने सिन्धुली बर्दिवासको मुभमेन्ट त्यहीबाट छ, अरनिको हाइवे त्यहीबाट छ । जिल्लाको हिसाबले हेर्ने हो भने, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप पर्छन् । एउटा उपत्यकाको हिसाबले भक्तपुरमा उत्कृष्ट सेवा दिने अस्पताल भएन, त्यसैले पनि हामी सेवा दिने तयारी गरेका हौं ।’  जनशक्तिको समस्या छैन ह्याम्सले भक्तपुरमा पूर्वाधार निर्माण सुरु गरेसँगै अस्पताल जनशक्तिको तयारी पनि गरिरहेको छ । जनशक्ति तयार पार्न कुनै समस्या नभएको अस्पतालको दाबी छ । अहिले ह्याम्स अस्पतालमा डाक्टरसहित ८ सय जनाको जनशक्तिले सेवा दिरहेको छ । अब भक्तपुरका लागि पनि यति नै कर्मचारी आवश्यक पर्छ । ‘हामीसँग काम गर्न चाहने धेरै डाक्टर नर्सहरू हुनुहुन्छ, कतिपय हाम्रो सहकर्मीसँग चिनजानको हुनुहुन्छ, कतिपय हाम्रो यताकै साथीले उता हेर्नुहुनेछ,’ अध्यक्ष भण्डारी भन्छन्, ‘जनशक्तिका लागि हामीलाई कुनै चिन्ता छैन, अहिले नै हामीले सिनियर डाक्टर लगायतको टोली परिचालन गरिसकेका छौं, असोज दोस्रो सातादेखि थप डाक्टर तथा नर्स पनि तयार पारिसकेका छौं । बाँकी आवश्यकताका आधारमा व्यवस्थापन गरिन्छ ।’ नागरिकको अनुरोध स्वीकार नागरिक अस्पतालको सुरुवात मुनाल क्लिनिकबाट भएको हो । मुनाल सहकारी फण्डको ३० लाख रुपैयाँ र अन्य सेयर सदस्यको ६५ लाख रुपैयाँबाट यो अस्पताल सुरु भएको थियो । त्यो बेला क्लिनिकबाट बिहान बेलुका ओपीडी सेवा मात्र दिइन्थ्यो । क्लिनिकमा बिरामीको चाप बढ्दै गएपछि लगानीकर्ताले अस्पतालको योजना बनाए । क्लिनिकलाई अस्पताल बनाउन १५ शैया अस्पताल दर्ता गरियो । त्यहीबेला भक्तपुरमा रहेको ५१ शैयाको अस्पताल बिक्रीमा रहेको कुरा थाहा भयो । पछि त्यही अस्पताल र मुनाल क्लिनिकका सेयर सदस्य मिलेर नागरिक अस्पतालको निर्माण गरिएको थियो । यसरी सुरु भएको अस्पताल बीचमा राम्रो चल्यो । सेवा पनि राम्रै दियो तर, बिस्तारै लगानी घाटामा जाने अवस्था आयो । अध्यक्ष भण्डारी नागरिक अस्पतालको सुरुवातीदेखिका सेयर सदस्य थिए । नागरिक अस्पताल बोर्डले भण्डारीलाई अनुरोध गरेपछि ह्याम्सले ४३ प्रतिशत सेयर किनेर अस्पतालको जिम्मा लिएको हो । ‘नागरिकका सञ्चालकको अनुरोध र हामीलाई पनि भक्तपुरमा राम्रो आवश्यक्ता भएको हुँदा नागरिक अस्पताल खरिद गरेका हौं,’ उनले भने । व्यक्तिगत नभई ह्याम्सकै अस्तपाल अब यो अस्पताल नागरिक अस्पताल भनेरै चिनिने कि ह्याम्स भनेर भन्ने विकासन्युजको जिज्ञासामा अध्यक्ष भण्डारीले नामको बारेमा अहिल्यै नसोंचेको र पछि सेवा सुरु गरेपछि निर्णय गर्ने बताए । उनका अनुसार अहिलेको प्राथमिकता कसरी गुणस्तरीय सेवा दिने भन्नेमा छ । संरचना निर्माणमा ह्याम्स अस्पतालले ७० प्रतिशत बैंकबाट ऋण लिएर र बाँकी ३० प्रतिशत सेयर होल्डरको रकम गरी कुल २ अर्ब रुपैयाँ खर्च हुने बताएको छ । अध्यक्ष भण्डारीले नागरिक अस्पताल आफूले नकिनी ह्याम्सले किनेको र उसैको नाममा रहेको जानकारी दिए । कोभिडपछि ह्याम्सको फड्को नागरिक अस्पताल भक्तपुर । विशेषगरी कोरोना महामारीपछि नेपालका धेरैजस्तो व्यवसाय धरापमा परे । यसमा अस्पताल व्यवसाय पनि अछुतो रहेन । धेरैजसो निजी अस्पताल अहिले आर्थिक संकट खेपिरहेका छन् । कतिपयले थाहै नदिई अस्पताल बेच्ने तयारी पनि गरिरहेको खबर बाहिर आएका छन् । तर, काठमाडौंको ह्याम्स अस्पतालले भक्तपुरमा समेत सुरुवात गर्न लागेको छ । यो अस्पतालमा २२ जना सेयर होल्डरको लगानी छ । जहाँ सुरुवातीमा ८० प्रतिशत लगानी बैंकको थियो । अध्यक्ष भण्डारी सेवा सँगसँगै अस्पताल व्यवसाय भएको बताउँछन् । ‘जुन बैंकले लगानी गर्‍याे त्यसलाई यो व्यवसाय हो । यसले यति वर्षभित्र सावाँ ब्याज फिर्ता गर्छ भन्ने नपारिकन बैंकले पैसा दिँदैन,’ उनी भन्छन्, ‘हामी कुनै ठाउँमा सामान किन्न जाँदा पैसा दिएर मात्र उसले सामान दिन्छ तर अस्पताल भनेको पहिले सेवा दिएर त्यसपछि पैसाको कुरा आउँछ, नेचरमा अलि फरक छ तर व्यवसाय व्यवसाय नै हो ।’ २०७३ साउन १ गतेबाट ह्याम्स अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालेका भण्डारीको नागरिकलाई ह्याम्सभन्दा उत्कृष्ट अस्पताल बनाउने योजना छ । कोभिडको समयमा सबैभन्दा पहिले कोभिडको बिरामीको उपचार यो अस्पतालले गरेको थियो । ह्याम्सले महामारीमा सबैभन्दा राम्रो भूमिका निर्वाह गर्दा नै अस्पताल यहाँसम्म पुगेको बताउँदै अध्यक्ष भण्डारी नागरिकको सेवाका लागि भक्तपुर पस्न लागेको बताए । कोरोनापछि अस्पतालले मल्टी डिपार्टमेन्ट सर्भिस दिन थालेको थियो । अहिले अस्पतालले दैनिक ६ सय बिरामीलाई ओपिडीमा सेवा दिइरहेको छ । यसैगरी, महिनामा साढे ३ सयको दरमा अप्रेसन हुँदै आएको छ । लगानी नफस्नेमा ढुक्क ह्याम्स अस्पतालले करिब १० करोडको सेयरखरिद गरेर नागरिक अस्पताल खरिद गर्दा भौतिक संरचनाका लागि मात्र २ अर्ब बढी लाग्ने अनुमान छ । यसरी लगाएको लगानी डुब्ने जोखिम कति देख्निुभएको छ भन्ने प्रश्नमा अध्यक्ष भण्डारी भन्छन्, ‘व्यवसायका रूपमा हेर्दा चिन्ता पनि लाग्छ तर कर्म राम्रो गरेर लगानी गरेको पैसा सही सदुपयोग गर्ने हो भने भोलि के होला कसो होला भन्ने लाग्दैन ।’ उनी लगानी गर्दा दुई–तीन कुरामा ध्यान दिनुपर्ने बताउँछन् । पहिलो, जुन क्षेत्रमा लगानी गर्ने योजना छ त्यो क्षेत्रबारे अनुभव हुनुपर्छ । दोस्रो, परियोजनाको आवश्यकता कति हो भन्ने कुरामा विश्वस्त हुनुपर्‍याे । तेस्रो, त्यसलाई व्यवस्थापन कसरी गर्ने र त्यसमा कति आफ्नो समय दिन सकिन्छ भन्ने कुरामा भर पर्छ । कुनैपनि लगानीकर्ताले कुनै व्यवसायमा लगानी गर्दा यस्ता कुरामा ध्यान दिँदा यी तीन कुराले सफल र असफल भन्ने हुन्छ । आफ्नो लगानी नडुब्नेमा ढुक्क छन् उनी । किन छिर्दैनन् ठूला लगानीकर्ता ? आरएस भण्डारी सिन्धुपाल्चोकबाट २०५१ सालमा एसएलसी पास गरेर काठमाडौं आए । उनले स्कुल पढेदेखि नै हेल्थ केयरमा काम गर्न सुरु गरे । हरेक हेल्थ केयरहरूसँग उनको पहुँच बढ्दै गयो । उनी आफू आवद्ध र अनुभव भएको क्षेत्रमै लगानी गर्नुपर्ने बताउँछन् । ‘मेरो अनुभव, रुचि, क्षमता सबै यही क्षेत्रमा भयो, त्यसैले यही क्षेत्रमा लागें,’ उनी भन्छन्, ‘योभित्रको चुनौती अन्य व्यवसायको हिसाबमा धेरै हुन्छ ।’ तर, मान्छेलाई नयाँ जीवन दिनुभन्दा अरू कुनै व्यवसाय ठूलो हुन नसक्ने उनी बताउँछन् । यस्तो चुनौतीको सामना गर्दै एउटा अस्पताललाई उत्कृष्ट बनाएर अर्को अस्पताल बनाउने योजनामा रहेका उनी नाफा घाटासँग जुझ्दै अघि बढ्ने बताउँछन् । ‘यो व्यवसाय निकै चूनौतिपूर्ण हो । लगानी, लगानी पछिको नाफाको कुरामा पनि निकै संम्वेदनशील छ । सानो कुराले मान्छेको जीवन सकिन्छ । मानव गल्ती हरेक ठाउँमा हुन्छ तर, स्वास्थ्यमा एउटा डाक्टर वा एउटा नर्सले सानो गल्ती गर्दा मान्छे जीवन सकिन्छ,’ उनले भने । बैंकबाट कर्जाको भारी बोकेर यो व्यवसाय गर्नु भनेको निकै गाह्रो हुने भण्डारी बताउँछन् । त्यसैले पनि नेपालमा ठूल्ठूला लगानीकर्ताहरू स्वास्थ्य क्षेत्रमा लगानी गर्न नसकेको उनको भनाइ छ ।

आफू मातहतका निकायलाई जग्गा खोज्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य निकाय तथा अस्पताललाई मन्त्रालयको जग्गा खोज्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालय मातहतका २४ स्वास्थ्य संस्थालाई जग्गाको विवरण तथा उपभोगको अवस्था खोजेर पठाउन निर्देशन दिएको जानकारी दिए । उनकाअनुसार स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, भेरी अस्पताल, राष्ट्रिय स्वास्थ्य तामिल केन्द्र, कोशी अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नारायणी अस्पताल, कान्ति अस्पताल, किटजन्य रोग अनुसन्धान, तालिम केन्द्रलगायत स्वास्थ्य संस्था रहेका छन् । ‘ती स्वास्थ्य संस्थालाई जग्गाको अवस्था के छ ? अन्य निकाय वा व्यक्तिलाई उपभोग वा लिजमा उपलब्ध गराएको छ वा छैन ? र उपभोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ, सो सबै स्पष्ट खुलाइ पठाउन आग्रह गरिएको छ, प्रवक्ता डा. बुढाथोकीले भने । प्रवक्ता डा. बुढाथोकीका अनुसार सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि मन्त्रालयले प्रशासन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । मन्त्रालय निकायका नाममा रहेका जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा त्यसको जानकारी मन्त्रालयमा आएर वा पत्राचारद्वारा जानकारी गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

टीभीएसले सार्वजनिक गर्‍याे तीन नयाँ भेरिएन्ट

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो २०२४ टीभीएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरिएन्ट र टिभिएस रेडिअन (एफआइ) सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक विशेष कार्यक्रममा टीभीएसले आफ्ना नयाँ भेरिएन्ट सार्वजनिक गरेकाे हाे । नयाँ पुस्तालाई ध्यानमा राखी नयाँ भेरिएन्टहरू सार्वजनिक गरिएकाे हाे । टीभीएस रेडर, टिभिएस एनटर्क र टिभिएस रेडिअन नेपालका सबै अधिकृत टीभीएस डिलरहरूमा उपलब्ध छन् । रेडरको मूल्य २ लाख ९२ हजार ९००, टीभीएस एनटर्ककाे मूल्य २ लाख ७९ हजार ९०० र टीभीएस रेडिअनको मूल्य २ लाख ३६ हजार ९०० रुपैयाँ रहेकाे छ । कार्यक्रममा टीभीएस मोटर कम्पनीका उपाध्यक्ष राहुल नायकले ग्राहकहरूका लागि नयाँ शैली र सुविधासहितका स्कुटर र मोटरसाइकलको विकास गरिएको बताए । जगदम्बा माेटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नयाँ भेरियन्टले सबैकाे मन जित्ने विश्वास व्यक्त गरेका छन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी वितरकहरू रहेका छन् ।

रिडी पावरको सहायक कम्पनीमार्फत अघि बढ्यो तल्लो बलेफी, शेयरधनीलाई के फाइदा?

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीमार्फत २२.५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण थालेको छ । रिडी पावरको शतप्रतिशत स्वामित्वमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिकामा अवस्थित बलेफी नदीमा तल्लो बलेफी जलविद्युत आयोजनाको निर्माण थालेको हो । २०८१ साउनबाट यस आयोजना निर्माण सुरु भएको र आगामी दुई वर्षभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यस आयोजनाको बिजुली खरिद बिक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग २०७५ माघमा सम्झौता भएको थियो । कम्पनीका अनुसार यस आयोजनाको कुल लागत ४ अर्ब ४० करोड रहेको छ । कुल लागत मध्ये ६७.२३ प्रतिशतले हुने २ अर्ब ९६ करोड बैंकको कर्जा लगानी रहेको छ भने १ अर्ब ४४ करोड कम्पनीको स्वपुँजी लगानी हुनेछ । कुल स्वपुँजी लगानीमध्येबाट रिडी पावर लिमिटेडले ५५ प्रतिशत अर्थात् ७८ करोड लगानी गर्नेछ भने अन्य रणनीतिक साझेदार कम्पनीबाट २५ प्रतिशत अर्थात् ३७ करोड लगानी गर्नेछन् । बाँकी रकम साझा पावर कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरी लगानी गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यस आयोजनामा लगानी गर्नको लागि रिडी पावरले १०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेर ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ संकलन गरिसकेको छ । रिडी पावरले यस आयोजनामा लगानी गर्नको लागि यसअघि नै हकप्रद निष्कासन गरेर रकम जुटाइसकेकोले अब लगानीकर्ताले थप रकम हाल्नु नपर्ने रिडी पावरका अध्यक्ष कुवेरमणि नेपाल बताउँछन् । उनका अनुसार रिडी पावरका शेयर लगानीकर्ताले थप रकम लगानी नगरी २२.५ मेगावाटको सो बलेफी आयोजनाले दिने लाभ पाउन सक्नेछन् । अध्यक्ष नेपालका अनुसार तल्लो बलेफी जलविद्युत आयोजनाबाट वार्षिक १०५ गिगावाट घण्टा विद्युत शक्ति उत्पादन हुनेछ । सो विद्युत बिक्रीबाट कम्पनीलाई पहिलो वर्षमा ६२.३० करोड आम्दानी हुनेछ । आयोजनाको विद्युत बिक्री दर वर्षायामका लागि ४.८० र सुख्यायामका लागि ८.४० रुपैयाँ तय भएको छ । यो मूल्यदर ६/६ महिनाको हुनेगरी मङ्सिर १६ देखि जेष्ठ १५ सम्मलाई सुख्यायाम र जेष्ठ १६ देखि मङ्सिर १५ सम्मलाई वर्षायाम कायम भएको छ । यो आयोजनाले ३ प्रतिशतका दरले ८ वर्षसम्मका लागि मूल्यवृद्धि दर प्राप्त गर्नेछ । बैंकबाट लिएको परियोजना ऋण कर्जा १२ वर्षभित्र चुक्ता भुक्तानी गर्ने योजना रहेको उनको भनाइ छ। आयोजनाको ऋण फिर्ता अवधि ७.८० वर्षको रहेको छ । आयोजनाको इन्टरनल रेट अफ रिटर्न (आईआरआर) ११.८८ प्रतिशत रहेको छ । यस आयोजनाको व्यावसायिक उत्पादन सुरु गरेको पहिलो वर्षदेखि नै शेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने ठानिएको अध्यक्ष नेपाल बताउँछन् । उनी भन्छन्, ‘यो आयोजना अबको दुई वर्षभित्र निर्माण सम्पन्न भई शेयरधनीहरूले लाभांश प्राप्त गर्नसक्ने देखिन्छ । यी सबै आयोजनाहरूलाई एकत्र गरेर हेर्दा रिडी पावर कम्पनी लिमिटेडको मातहतमा जम्मा ३५.३ मेगावाटका जलविद्युत र ८.५ मेगावाटको सोलार आयोजनासमेत गर्दा जम्मा ४३.८ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको कम्पनी बनेको छ ।’ रिडी पावर कम्पनी अरुण भ्याली हाइड्रोपावर समूहअन्तर्गतको कम्पनी हो । हाल रिडी पावर कम्पनीले रिडी खोला साना जलविद्युत अयोजना ९२.४ मेगावाट, रैराङ खोला साना जलविद्युत परियोजना ९०.५०० मेगावाट, बुटवल सौर्य परियोजना ९८.५ मेगावाट र इवा खोला परियोजना ९९.९ मेगावाट आयोजना निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको छ । अरुण भ्याली हाइड्रोपावर समूहअन्तर्गत अरुण भ्याली हाइड्रोपावर कम्पनी, रिडी पावर कम्पनी, अरुण काबेली पावर लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र ईङ्वा हाइड्रोपावर कम्पनी गरी पाँचवटा कम्पनीहरू धितोपत्र बजारमा सूचीकृत रहेका छन् । कम्पनीले विद्युतको अलावा कृषि क्षेत्रमा पनि लगानी गरेको छ । कम्पनीको लगानीमा ‘एग्रोभिजन फार्मिङ एण्ड रिसर्च कम्पनी लिमिटेड’ नामको सहायक कम्पनी स्थापना भएको छ । उक्त कम्पनीको अगुवाइमा विभिन्न जलविद्युत आयोजनाहरूमा रहेको खाली जमिनमा विभिन्न जातका फलफूल बिरुवाहरूको प्रवद्धन गर्ने तथा बुटवल सौर्य विद्युत आयोजना क्षेत्रमा बाख्रापालन कार्य भइरहेको छ ।