विकासन्युज

डेंगु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव

पर्वत । डेंगु सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेंगुबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् । नौवटा एम्बुलेन्स थन्किए  यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् । विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् ।

१० ठूला बैंकको लेखापरीक्षण गर्ने केपीएमजीको प्रस्ताव रद्द

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने केपीएमजीको प्रस्ताव नेपाल राष्ट्र बैंकले रद्द गरेको छ । यसअघि १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न छनोट भएको भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिलाई राष्ट्र बैंकले रद्द गरेको हो । आवेदन दिएका विभिन्न ५ कम्पनीमध्ये राष्ट्र बैंकले गत साउन ३१ गते केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ अडिट (लेखापरीक्षण) फर्मलाई छनोट गरेको थियो । तर, शुक्रबार एक सूचना जारी गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३६ उपदफा १(ख) बमोजिम प्रक्रिया रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । यस व्यवस्थामा लागत अनुमान र उपलब्ध बजेटभन्दा छनौट भएको प्रस्तावदाताको लागत सारभूत रूपमा बढी भएमा रद्द गर्न सक्ने रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा ठूला बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले गत चैतमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।  आईएमएफसँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको आह्वानअनुसार नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षणका लागि छनोट भएका थिए । ती ५ अडिटफर्ममध्ये प्राविधिक रूपमा योग्य केपीएमजी एसुरेन्स छनोट भएको थियो । यसअघि प्राविधिक रूपमा योग्य केपीएमजीले सेप्टेम्बर १ मा फाइनान्सियल पर्पाेजल खुला गर्ने र १० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्ने राष्ट्र बैंकले जनाएको थियो ।

यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ । अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम रहेको थियो । त्यसैगरी, युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा दर कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा कायम रहेको थियो । केन्द्रीय बैंकका अनुसार बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेकामा आजका लागि खरिददर १७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा तोकिएको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७० र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा कायम भएको छ । जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ४१ र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८८ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ढोकैमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब

काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ । दुई वर्षअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ । रङ्गशाला १० हजार दर्शक बस्ने क्षमताको छ । तीन साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेत पुगेर रङ्गशाला निर्माणको अवस्थालाई अवलोकन निरीक्षण गरी मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बसाइमा प्रदेश सरकारको १५ दिनपछिको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निर्क्याैल निकालिने भनेर फर्किएकाे थियाे । यद्यपि २४ दिन बितिसक्दा पनि प्रगतिबारे प्रदेश सरकारबाट रिपोर्टिङ भएको छैन । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माणकार्य तीव्र रूपले बढे पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएकाले यहाँको प्रगतिबारे जानकारी गराउन नसकिएको बताए । उनले भने, ‘रङ्गशालावरिपरिको बाटो निर्माणका लागि असारमै ठेक्का लागेर काम सञ्चालन भइरहेको छ । विकट भूगोल छ तर १० वटै जिल्लाको बाटो प्रतिकूल मौसमले कतिबेला बिगार्ने हो । संधै ठीक हुन्छ भनेर सुनिश्चित गर्ने अवस्था छैन ।’ कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशौं राष्ट्रिय खेलकुद तोकिएको समयमा नगर्ने अवस्था नरहेको तर सरकारले चाहेमा निर्धारित समयमै हुनसक्ने बताए । तोकिएको समयमै दशौं राष्ट्रिय खेलकुद गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको उनले जिकिर गरे । प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत दशवटै जिल्लामा संरचना निर्माण भएका छन् । सदस्यसचिव सञ्ज्यालका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिनेछ । भौतिक संरचना पनि तीव्रगतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रङ्गशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन् । पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद् गरेको छ । परिषद्ले तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी गरे पनि समयमै नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ । ‘प्रदेशले पाएको जिम्मेवारी पूर्वाधारको निर्माण र व्यवस्थापनको हो जुन कुराको सम्पूर्ण तयारी हामीले गरेका छौं,’ सदस्यसचिव सञ्ज्यालले भने, ‘तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ, हामीले यो धेरैपटक भन्दै आएका छौं । एक महिनाभित्र रङ्गशालाको सबै काम सकिन्छ । यद्यपि प्रतियोगिता सञ्चालनको अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने हो । पूर्वाधारका कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था छैन ।’ तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्दा खेलकुद क्षेत्रमा आशा पलाउँछ र यसले तोकिएकै समयमा खेलकुद हुन्छ भन्ने संस्कृतिको विकास हुने उनको भनाइ थियो । सदस्यसचिव सञ्ज्यालका अनुसार खेलकुद प्रतियोगिता तोकिएकै समयमा गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन छ र नेपालमा पनि राष्ट्रिय खेलकुद नसार्ने प्रचलन स्थापित गर्दा भोलिका संस्करण समयमै गर्न सकिने हुन्छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रङ्गशालाको भौतिक पूर्वाधार अवलोकन गर्दा एक महिनामै सम्पन्न हुने कुरामा शङ्का नभएको तर खेलाडीलाई खाने–बस्ने व्यवस्था मिलाउन चुनौतीपूर्ण देखिएको बताए । मन्त्री चौधरीले भने, ‘पूर्वाधारको चिन्ता अब हुँदैन । एक हजार बढी खेलाडीको बसाल्ने क्षमता नदेखिएकाले जतिसक्दो छिटो बसोबासको प्रबन्ध मिल्नुपर्छ । हामीले तोकिएको समयमै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सकेनौँ भने यो धेरै पर जानसक्छ।’ यता खेलाडीका लागि बजेटको व्यवस्था गर्नेतर्फ जोड दिइएको बताउँदै मन्त्री चौधरीले बसोबास प्रबन्ध र पूर्वाधारका विषयमा प्रदेश सरकारबाट परिपत्र हुने त्यसका आधारमा प्रतियोगिता सञ्चालनको मितिका लागि निर्णय लिने जनाए । फेरि केही दिनपछि सुर्खेत पुगेर खेल सञ्चालन हुने सबै जिल्लाको पूर्वाधार अवस्था र अन्य व्यवस्थाका विषयमा जानकारी लिएर प्रतियोगिता सञ्चालनको मिति सुनिश्चित गर्ने उनको भनाइ थियो । हुम्लामा हुने हक्की खेलमा खेलाडीका लागि आउने स्वास्थ्य समस्याका बारेमा बुझेरमात्र त्यसको सञ्चालनको व्यवस्था मिलाइने उनले बताए । परिषद्का अनुसार दशौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इन्डोर’ हल छन् । ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन् । एउटा एथलेटिक्स खेलको ट्रयाकमा सिन्थेटिक लाग्न र एउटा इन्डोर हलको छाना छाउन बाँकी छ । २४ वटा खेलका हामीसँग खेलाडी पनि छन् । हुम्लामा हकी मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्ला र दैलेखमा इन्डोर हल, कालिकोटमा कभर्डहल छ । रुकुमपश्चिममा पनि हल छ । सल्यानमा टेबलटेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ । सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आम कर्णालीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने ठाउँ हुने जनाइएको छ ।

ओरियण्टल होटलको लाभांश घोषणा, यस्तो छ लाभांश इतिहास

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले गत वर्षको नाफाबाट लभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा २७औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै आर्थिक वर्ष २०७५/२०७६ मा १५.७९ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २४.२१ प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७१/२०७२ मा २० प्रतिशत र आर्थिक वर्ष २०७०/२०७१ मा १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

काठमाडौं महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन् । गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार रुपैयाँ मात्र खर्च भएको छ । काठमाडौंका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयबाट आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ ।

खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्यो दक्षिणकाली

कीर्तिपुर । उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ । ‘यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ’, किसान बलामीको भनाइ छ । नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाएका छन् । ‘गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ’, बलामीको अनुभव छ । साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उनको भनाइ छ । कृषिमा निर्यात गर्दै आएका संस्थाहरूले टाटेसिमीको निर्यात सम्भावना देखेपछि दक्षिणकालीका किसानलाई सो बाली लगाउन प्रोत्साहन गरेका थिए । प्रायः काउली र काँक्रो लगाइरहेका किसानले पनि दुवै बालीमा रोेग कीरा बढ्न थालेपछि वैकल्पिक बाली खोजिरहेका थिए । यस्तैमा ललितपुरस्थित कृषि विकास कार्यालयले किसान समूहलाई तीन लाख रुपैयाँ अनुदान दिएको जानकारी पनि उनले दिए । तरकारी निर्यातका लागि भने एक एग्रोजस्ता संस्थाले किसानलाई सघाउँदै आएका छन् । अब नासपाती र लप्सी पनि निर्यात गर्न पाए हुने थियो, बलामी थप्छन् । कोरोनाकालमा ‘लकडाउन’का कारण लाखौँका लप्सी खेर गएको पनि उनले बताए । अर्का किसान गीता बलामी महिलामध्ये ठूलो परिमाणमा खेती गर्नेमा पर्छन् । आफू १७ वर्षको हुँदा कारितास नेपालले दिएको अग्र्यानिक खेतीसम्बन्धी तालिमबाट कृषिकर्ममा प्रवेश गरेकी उनले बिहीबार झण्डै तीन सय केजी टाटेसिमी निर्यातका लागि पठाएका थिए । वर्षायामभरि टाटेसिमी र खुर्सानीको खेती र हिँउदभरि लप्सीको क्याण्डी बनाएर बेच्ने उनी पनि लप्सी निर्यात गर्नसके फर्पिङका किसानले थप फाइदा पाउने बताउँछन् । बालबच्चा सानो भएका कारण केही वर्षयता लप्सीको क्याण्डी बनाउने काम रोक्नुपरेको थियो । विदेश पठाउन सकिने अवस्था आए फेरि त्यो उद्योग सुरु गर्न चाहन्छु, उनको भनाइ छ । यसबारे नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले कृषिबाटै नगरपालिकाले समृद्धि हासिल गर्न सक्छ भन्ने मनन् गरी विदेश निर्यात हुनेगरी उत्पादन गर्न किसानलाई प्रोत्साहन गरिएको बताए । दक्षिणकाली नगरपालिकाकी कृषि शाखा प्रमुख पविता राईका अनुसार नगरपालिकाका विभिन्न स्थानमा गरी करिब ३२ रोपनी जमिनमा अर्को महत्त्वपूर्ण नगदेबालीका रूपमा जिम्बुको खेती हुन्छ । जिम्बु दाल, तरकारी अचार आदिमा विशेष स्वाद कायम गर्न प्रयोग हुन्छ । विगतमा हिमाली क्षेत्रमात्र स्रोत रहेका जिम्बुलाई हिमाली क्षेत्र मुस्ताङबाट ल्याइएका बीउले अहिले फर्पिङभरि फैलिएका छन् । नगरपालिकाका करिब ६५ घरका किसानले जिम्बुखेती गरेका छन् । हरेक घरले प्रतिमहिना दुईदेखि तीन क्विन्टल जिम्बु बेच्छन् । वर्षायाममा त १५–१५ दिनमै काटिरहेका हुन्छन्, राई बताउँछन् । जिम्बुलगायतका खेतका आली र डिलमा फूल र फलफूलको खेती गरेर थप आम्दानी गर्न समेत किसान हौसिएका छन् । सुरुमा घरवरपर त्यत्तिकै उम्रिएका फूल लगेर दक्षिणकाली मन्दिरका आउने दर्शनार्थीलाई बेच्दै सुरु भएको थियो फर्पिङमा फूल व्यवसाय । अहिले अन्यत्रसमेत निर्यात गर्नेगरी फैलिएको छ । मौसमी फूल बटुलेर बेच्ने स्थानीय किसान विगत चार–पाँच वर्षयता प्लाष्टिक टनेलमा बेमौसमी फूलखेती गर्ने भएका छन् । स्थानीय जातका गोदावरी र मखमलीको खेती खास सिजनमा मात्र हुने गरेको छभने फर्पिङमा कलकत्ते जात भनिने सयपत्रीको खेती सधैँ हुने गरेको छ । नगरप्रमुख बस्नेतका अनुसार नगरपालिकाले कृषिलाई आफ्नो प्रमुख उत्पादन मानेको छ । कृषिमा पनि परम्परागत निर्वाहमुखी बालीलाई भन्दा निर्यातको सम्भावना रहेका तरकारी, फलफूल र लप्सीजस्ता उत्पादन विगत चार दशकयता हुँदै आएको छ । ‘फर्पिङको नासपाती’ परम्परागत प्रसिद्ध ब्राण्ड हो । रासस

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो

रसुवा । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका थिए । उनीहरूको साथमा करिब दुई सय अन्य देशका पर्यटकसमेत मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ । धार्मिकयात्रीमध्ये काठमाडौंबाट टिमुरे तथा स्याफ्रुबेँसीका लागि दुई हजार १० यात्री हेलिकप्टरबाट र अन्य यात्री मोटरमार्फत स्थलमार्गबाट रसुवागढी पुगेको रसुवा जिल्ला प्रहरी प्रवक्ता नेत्रप्रसाद पौडेलले जानकारी दिए । मानसरोवर कैलाशयात्राका लागि फाट्टफुट्ट रूपमा जान नपाइने र ट्राभल एजेन्सीमार्फत समूहगत भिसामा मात्र जान पाइने चिनियाँ प्रावधान रहेको बताउँदै अध्यागमन प्रमुख निरौलाले खर्चको हिसाबमा नेपालीका लागि ट्राभल एजेन्सीअनुसार फरक–फरक दररेट पाइएको छ । नेपालीका लागि कुनै ट्राभल एजेन्सीले एक लाख ३५ हजार रुपैयाँ र कुनैले एक लाख ७० हजार रुपैयाँसम्म लिने गरेको यात्रीले बताएका छन् । समुद्र सतहबाट पाँच हजार सात सय मिटरको उचाइमा जानुपर्ने भएका कारण ट्रेकिङ एजेन्सीले ठाउँठाउँमा बास राखी हावापानीको वातावरण मिलाउँदै लाने गरेको र १० दिन अन्तरालमा धार्मिकयात्रा सम्पन्न गराई नेपाल फर्काउने गरेको बताइएको छ । यात्री टिमुरे तथा घट्टेखोला क्षेत्रका होटलमा एक रात बस्ने गरेका कारण सीमावर्ती स्थानका होटल तथा लज व्यवसाय चलायमान भएको व्यवसायीले बताएका छन् । टिमुरेको घट्टेखोला तथा स्याफ्रुबेँसीमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड निजी जग्गामा मात्र भएकाले हेलिप्याड बनाउने दुई स्थानीयवासीले पनि मनग्य आम्दानी लिन सफल भएका छन् । प्रहरीको तथ्यांकअनुसार नेपालका विभिन्न हेलिकप्टर कम्पनीले जेठदेखि भदौ २४ सम्म चार सय दुई उडान भरेका थिए । मानसरोवर कैलाश जाने सवारीसाधन सिधैँ टिमुरेतर्फ प्रस्थान गर्ने भएका कारण धुञ्चेका व्यवसायीले ती यात्रुबाट कुनै पनि लाभ लिन नसकेको बताउँदै यहाँका व्यवसायीले एक रात धुञ्चेमा बसाल्ने वातावरण मिलाउन आग्रह गरेका छन् । धुञ्चेमा बास राख्दा यात्रीलाई यहाँबाट देखिने लाङ्टाङ हिमालको अवलोकन गर्न र नेपालको एकमात्र तामाङ सङ्ग्रहालय अवलोकन गराई हिमाली बासिन्दाको परापूर्वका इतिहास हेर्न सहज हुने बताइएको छ । यस्तै रसुवागढी नाकाबाट एक हजारभन्दा बढी विदेशी पर्यटक ल्हासातर्फ गएका छन् । मानसरोवर कैलाश जानका लागि भारतीय नागरिक भने नआएको अध्यागमन कार्यालयले जनाएको छ । कैलाश तीर्थ गएका यात्रीमध्ये लेक लाग्ने समस्याका कारण एक विदेशीसहित चारजना नेपालीको मृत्यृ भएको र आठजना नेपाली बिरामी परेको जानकारी सुरक्षाकर्मीले दिए । रसुवागढीको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । दैनिक रूपमा मानिस तथा मालवाहक सवारीसाधन ओहरदोहर भइरहने नाका क्षेत्रमा हुनसक्ने अवैध चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीद्वारा विभिन्न कोणबाट जाँचकार्य तीव्र बनाइएको छ । रासस