एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ । प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई स्तरोन्नति गर्नेछ । परियोजनामा दुर्गम समुदायलाई शिक्षा, स्वास्थ्य सेवा तथा बजारसँग जोड्ने प्रमुख मार्गहरू समेटी जलवायु संरक्षण, सडक सुरक्षा वृद्धि, र दिगो मर्मत अभ्यासहरू समावेश छन् । एडीबीका अनुसार पख्तुनख्वा प्रान्तका केही भागमा वर्षा र तापक्रम उल्लेखनीय रूपमा बढेको छ भने मौसमी प्रकोपको प्रभाव र पूर्वाधार अभावले मानिसको जीविकोपार्जनमा कठिनाई बढाएको छ । सन् २०१० देखि बाढीका घटनाहरूले सडक सञ्जाललाई ठूलो क्षति पुर्याउएको, कनेक्टिभिटीमा बाधा पुर्याउँने यातायात लागत बढेको एडीबीले जनाएको छ । परियोजनाले प्रान्तको सडक सञ्जालको जलवायु र दिगोपन बढाउने दीर्घकालीन लक्ष्य तयार गर्न सरकारलाई सहयोग गर्न प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत गरेको छ ।
जाम्बियाले नेपालको खानी उत्खननमा प्राविधिक जनशक्ति उपलब्ध गराउने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन एकआपसमा हात मिलाउँदै । तस्बिर: रासस काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराए । मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताए । उनले भने, ‘नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रमा थप विकास भएका कारणले नेपालले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ, यसका लागि नेपाल सरकार तत्पर छ ।’ जाम्बियाको अवस्थितिका कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि एक महत्त्वपूर्ण बिन्दु हुनसक्ने मन्त्री भण्डारीको भनाइ थियो । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाबाट जाम्बियालेसमेत सामाजिक सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्नसक्ने उनले बताए । राजदूत चन्दाले जाम्बियामा खानीको उत्खनन वार्षिक कम्तीमा पनि नेपाली ६० हजार करोड रुपैयाँ बराबरको हुने गरेको र जाम्बियामा प्राविधिक जनशक्ति कुशल रहेकाले एकअर्काबीच प्राविधिमा सहकार्य आवश्यक रहेको औंल्याए । उनले भने, ‘नेपालमा पनि खानी र खनिजको सम्भावना अत्यन्त राम्रो छ, छिट्टै जाम्बिया र नेपालका दुवै सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर सहयोग आदानप्रदान गर्नुपर्छ ।’ सो क्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राजदूत चन्दालाई नेपालका खानीबारे जानकारी गराएकाे मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । साथै उक्त अवसरमा मन्त्रालयका द्विपक्षीय व्यापार महाशाखा प्रमुख एवं प्रवक्ता बाबुराम अधिकारी र बहुपक्षीय व्यापार महाशाखा प्रमुख देवराज जोशीलगायत सहभागी थिए ।
जलन उपचारका लागि एक लाख आर्थिक सहायता उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल । फाइल तस्बिर । काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताएका हुन् । सरकारले क्यान्टर, किड्नीलगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता थियो । उनले उपचारको अभावमा जलन रोगीहरूको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरूको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे । मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए । ‘म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु–यो जलन उपचारमा सेवा सुविधा दिनेगरी एक लाख रुपैयाँ दिने व्यवस्था हामीले तत्काल गर्नेछौं । यो कुराको कमिटमेन्ट म गर्न चाहन्छु,’ उनले भने । त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भएपनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताएका छन् । उनले विरामीहरुको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरिएको पनि मन्त्री पौडेललाई जानकारी गराए ।
गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा नयाँ वितरण लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो । यसअघि मिलनचोक–दाना फिडरबाट विद्युत् आपूर्ति हुने गलेश्वरमा यसै हप्तादेखि बेनी फिडरबाट आपूर्ति गराउन थालिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । ‘मिलनचोकदेखि दाना जोड्ने लामो दूरीको वितरण लाइनका कारण बेनी बजार नजिकै रहेको गलेश्वरमा विद्युत् आपूर्ति अनियमित हुने समस्याको अन्त्यका लागि बेनीको कालीपुलदेखि गलेश्वर नयाँ लाइन सञ्चालन गरिएको हो’, उनले भने, ‘धार्मिक पर्यटकीयस्थल पनि भएकाले गलेश्वरमा नियमित गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको हो ।’ कालीपुलदेखि गलेश्वरसम्म ८४ वटा खम्बा गाडेर तीन किलोमिटर दूरीको तार तानिएको छ । दुई सय र ५० केभीए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको छ । गलेश्वरमा समस्या आउँदा बेनीमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन कालीपुल नजिकै डल्लेपीपलमा ‘डियो’ राखिएको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए । म्याग्दी र पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका करिब २२ हजार उपभोक्ता रहेको म्याग्दी वितरण केन्द्रमा १३२ केभी क्षमताको मिलनचोक सव स्टेशनबाट विद्युत् आपूर्ति हुन्छ । मिलनचोकदेखि रत्नेचौर, बेनी, दरबाङ र दाना फिडरबाट विद्युत् वितरण हुन्छ । विद्युत् वितरण लाइन सुधार भएपछि नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथि रहेको गलेश्वर शिवालय मन्दिरका साथै गलेश्वरका करिब एक सय ५० घरधुरी लाभान्वित भएका बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए । सडक छेउमा सडकबत्ती पनि राख्न मिल्नेगरी बिजुलीको खम्बा गाडिएको उनले बताए । गलेश्वरमा रहेको होटल व्यवसायी ताराप्रसाद आचार्यले नयाँ लाइनबाट विद्युत् आपूर्ति हुन थालेपछि स्थानीयवासी र व्यवसायीलाई धेरै सहज भएको बताए । ‘यसअघि विद्युत् आपूर्ति अनियमित भएर हैरान भएका थियौँ’, उनले भने, ‘नयाँ लाइन जोडेपछि विद्युत् नियमित आपूर्ति भएको छ ।’ रासस
साउनमा १५४ करोडको बीमा सरेण्डर, कुन कम्पनीबाट कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को साउन महिनामा एक अर्ब ५४ करोड ११ लाख रुपैयाँ बढीको बीमा सरेण्डर (बीमा त्याग) भएको छ । १० हजार २९३ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर गरेका हुन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालका बीमितले सबैभन्दा धेरै बीमा सरेण्डर गरेका छन् । साउन महिनामा एलआईसीका २ हजार ७१५ जना बीमितले ५१ करोड ३४ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका हुन् । यसैगरी, नेपाल लाइफबाट २ हजार ७ सय ३१ बीमितले ४८ करोड ४१ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यसैगरी, एशियन लाइफका ९ सय ७९ बीमितले १३ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीका ७ सय ६७ बीमितले ७ करोड ८७ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सका ८ सय ४७ बीमितले ७ करोड ७ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् । बीमा सरेण्डर कम हुने कम्पनीम सन लाइफ नेपाल र प्रभु महालक्ष्मी लाइफ रहेका छन् । सन लाइफका ६९ जना बीमितले ५७ रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् । यसैगरी, प्रभु महालक्ष्मीका ८७ बीमितले १ करोड ५ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् । सरेण्डरबारे के भन्छ बीमा प्राधिकरण ? नियामक निकाय नेपाल बीमा प्राधिकरणले भने बीमा सरेण्डर हुनु सामान्य विषय भएको बताएको छ । कुल जारी पोलिसीको २ प्रतिशत सरेण्डरलाई अन्तराष्ट्रिय मान्यताअनुसार सामान्य मानिने उल्लेख गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको बीमा सरेण्डर सामान्य अवस्थाको रहेको बताउँछन् । सरेण्डर बढ्न नदिन र घटाउनका लागि प्राधिकरण लागि परेको पनि उनले जानकारी दिए । उनका अनुसार सामान्यता सरेण्डर हुनुको पछाडि आर्थिक मन्दी, अभिकर्ताको फोर्स सेलिङ, बीति तथा अभिकर्तामा जनचेतनाको अभाव आदि कुराहरूले भूमिका खेलेको हुन्छ । ‘त्यसका लागि प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै ३०० भन्दा धेरै पालिकामा गएर बीमासम्बन्धी चेतना दिएको छ,’ उनले थपे, ‘केही नीतिगत सुधार गरेको छ ।’ अभिकर्तालाई तालिमको अभाव पोलिसी सरेण्डर हुनुको मुख्य कारण अस्वस्थ प्रतिस्पर्धा रहेको अभिकर्ताहरूको भनाइ छ । पेशागत बीमा अभिकर्ता संघका महासचिव ओमबहादुर केसीका अनुसार अभिकर्ताहरूले नै अस्वस्थ्य प्रतिस्पर्धा गर्ने भएकाले पनि बीमा सरेण्डर हुने गरेको छ । उनका अनुसार एक कम्पनीमा बीमा गरेका बीमितलाई अर्का कम्पनीका अभिकर्ताले खोसेर लैजाने प्रविधिले सरेण्डर हुने गरेको छ । यसका लागि बीमा कम्पनीले सरेण्डर रोक्न डेक्स खडा गर्नुपर्ने, नेपाल बीमा प्राधिकरणले र बीमा कम्पनीहरूले अभिकर्तालाई प्रोफेशनल बनाउन त्यसअनुसारको तालिम दिनुपर्ने महासचिव केसीकाे भनाइ छ । यसरी अभिकर्ताको क्षमता वृद्धि, अभिकर्ताको भूमिका आदिका बारेमा तालिम दिएमा केही हदसम्म सरेण्डर रोकिने उनले उल्लेख गरे । उनले भने, ‘अहिले ८० प्रतिशत अभिकर्ता प्रोफेशनल छैनन् । उनीहरूले अन्य कम्पनीका बीमितलाई विभिन्न प्रलोभन देखाएर आफ्नो कम्पनीमा ल्याएर बीमा गराउने पनि गर्दछन् । त्यस किसिमको अस्वस्थ्य प्रतिस्पर्धा रोक्न नियमित तालिम दिनु पर्दछ ।’
साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्न ४६ खर्ब रुपैयाँ लगानी चाहिने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी ‘नेपाल इन्फ्रास्ट्रक्चर समिट’ को दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलमा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने र यसैअनुसार यससँग जोडिने अन्य व्यापार व्यवसायका लागि पनि धेरै ठूलो अवसर आउने बताएका हुन् । ‘२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यक छ । यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका लागि धेरै ठूलो लगानीको अवसर हुनुका साथै सप्लायर्स, डिजाइनर, कन्सल्ट्यान्ट लगायतलाई पनि त्यतिकै ठूलो अवसर छ,’ उनले भने । नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्नु अत्यावश्यक रहेको पनि अध्यक्ष कार्कीले बताए । ‘अहिले हामी १४ मन्त्रालय र ४० भन्दा बढी विभागमा पुगेर बल्ल एउटा आयोजना पूरा गर्न सक्छौं । सरकारले २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । २८ हजार मेगावाट उत्पादनको सपना पुरा गर्नको लागि एकद्वार प्रणालीमार्फत काम हुने वातावरण बनाउनुपर्छ’, उनले भने । अहिले धेरै ठाउँमा विद्युत आयोजना सम्पन्न भए पनि प्रसारणलाइन नभएका कारण आयोजनाको विद्युत खेर गइरहेको पनि अध्यक्ष कार्कीले बताए । त्यसका लागि सरकारले निजी क्षेत्रलाई प्रसारणलाइन निर्माणको जिम्मा दिनुपर्ने पनि उनको भनाइ छ । त्यस्तै, उनले नेपाली निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिए भारतीय र बंगलादेशी कम्पनीसँग सहज रुपमा डिल गरेर विद्युत बेच्न सक्ने भन्दै त्यसका लागि सरकारले नीति बनाइदिनुपर्ने बताए । कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नियामकीय ढाँचामार्फत निजी क्षेत्रलाई सहजीकरण गर्ने बताए । त्यस्तै, ह्वलिङ चार्ज, ओपन एक्सेस र प्रतिस्पर्धी बजारको लागि आयोगले काम गरिरहेको पनि उनकाे भनाइ छ । नेपालमा विदेशी लगानीमा २१६ मेगावाटको आयोजना निर्माण गरिरहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत योङजिङ होङले नेपालमा धेरै निकायसँगका विभिन्न चरणमा धेरै चुनौतीहरू पार गर्दै आयोजना निर्माण भइरहेको जानकारी दिए । एशियाली विकास बैंक (एडीबी) की ऊर्जा क्षेत्र अधिकृत सुजाता गुप्ताले नेपालको प्रसारणलाइन निर्माणमा एडीबीले ४० प्रतिशत लगानी गरिसकेको र आगामी ५ वर्षभित्र ऊर्जा क्षेत्रमा थप १.५ बिलियन डलर लगानी गर्ने योजना रहेको बताइन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इप्पानका सल्लाहकार कुमार पाण्डेले नेपालमा आयोजना बनाउँदा प्रवर्द्धकले सामना गर्नुपर्ने चुनौतीहरूका बारेमा बताएका थिए । अर्का कार्यपत्र प्रस्तुतकर्ता केशवध्वज अधिकारीले नेपाल जलस्रोतमा धनी देश भएपनि ऊर्जा उत्पादन र उपभोगमा भने पछि परेको विवरणहरू प्रस्तुत गरेका थिए ।
युनेस्को र सेन्ट जेभियर्स कलेजकाे सहकार्यमा समाचार लेखन कार्यशाला सम्पन्न
काठमाडौं । काठमाडौंमा सेन्ट जेभियर्स कलेज र युनेस्को कार्यालय, काठमाडौंको सहकार्यमा दुईदिने समाचार लेखन कार्यशाला बिहीबार सम्पन्न भएको छ । कलेजको पत्रकारिता संकायको संयोजनमा आयोजना भएको कार्यशालामा पत्रकारिताका विभिन्न पक्षहरूका साथै एआई उपकरणहरूको प्रयोग पनि समेटिएको थियो । कलेजले काठमाडौं उपत्यकाका चार सार्वजनिक र सामुदायिक कलेजहरू रत्न राज्य लक्ष्मी क्याम्पस, मदन भण्डारी मेमोरियल कलेज, नमुना मच्छिन्द्र कलेज, नेपाल कमर्स क्याम्पसका पत्रकारिता अध्ययनरत १२ विद्यार्थी र सेन्ट जेभियर्स कलेजका १५ विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाका लागि लेख, पिच र समाचार लेखनमा हुने समान्य त्रुटिहरूका विषयमा तालिम दिएको थियो । एआई विशेषज्ञ नरेश नेवारले विद्यार्थीहरूलाई तालिम दिएका थिए । उनले एआईलाई सहायकको रूपमा प्रयोग गर्न विद्यार्थीहरूलाई सुझाव दिएका पनि छन् । उनले एआईलाई सामग्री निर्माण, सामाजिक सञ्जालका पोस्टहरू वा तस्बिरहरू बनाउन उचित हुने जानकारी दिए । न्युयोर्क टाइम्सका पत्रकार भद्र शर्माले आफूले मिडियाका लागि लेखेका समाचार पिच र रिपोर्टिङका अनुभव सुनाएका थिए । बेलायती लेखक लुइसा कमलले समाचार लेखनमा देखिने सामान्य त्रुटिहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरेकी थिइन् । तालिममा क्रममा मदन भण्डारी कलेजका एक सहभागीले कार्यशालामा सहभागी हुन पाउँदा निकै खुसी भएकाे बताए । सेन्ट जेभियर्स कलेजले पत्रकारिता अध्ययनरत विद्यार्थीहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२१ देखि समाचार लेखन कार्यशाला सञ्चालन गर्दै आएको छ । पहिलो पटक युनेस्कोसँग सहकार्य गरेर आयोजना गरिएको यस समाचार लेखन कार्यशालाले भविष्यमा विद्यार्थीहरूको पत्रकारिताको यात्रामा सहयोग पुग्ने अपेक्षा रहेको कलेजले जनाएको छ ।