प्रतिकूल मौसमले हवाई उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन् । काठमाडौंबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौं फकिर्एको छ । सोही एयरलाइन्सको काठमाडौंबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बिचबाटोबाटै काठमाडौं फर्किएको छ । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली रहनाका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आर्ट अफ लिभिङले सम्पन्न गर्यो ह्याप्पिनेस प्रोग्राम
काठमाडौं । आर्ट अफ लिभिङ नेपालले २२ जना लक्षीत समुहका महिलाहरूलाई ‘ह्याप्पिनेस प्रोग्राम’ सम्पन्न गरेको छ । ‘द आर्ट अफ लिभिङ्ग’को नेपाल ईकाईले योग, ध्यान र साधनाको माध्यमबाट जिवन जिउने कला सिकाउने सिलसिलामा आज काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुंगामा ४ दिने ‘ह्याप्पिनेस प्रोग्राम’ कार्यक्रम सम्पन्न गरेको छ । आयोजकका अनुसार घरेलु महिला कामदार, एकल महिलाहरूको समुहलाई लक्षित गरी सञ्चालित उक्त कार्यक्रममा २२ जना लक्षित समुहका महिलाहरू सहभागी भएका थिए । उक्त कार्यक्रमका प्रशिक्षक अच्युत राज गौतम, सैलेन्द्र हमाल र मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले ४ दिन सम्म प्रशिक्षण गरेका थिए । जीवनको महत्व र जिवन जिउने कलामा योग ध्यान र साधनाको उपादेयताबारे विशेष प्रशिक्षण प्रदान गरेका थिए । उक्त कार्यक्रमको समापन पछि सहभागीहरूले आफ्नो प्रतिक्रिया दिंदै कार्यक्रमले मन प्रफुल्लित भएको र तनाव व्यवस्थापनमा सहजता हुने र व्यायम र सुदर्शन क्रियाले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रम समापनपछी बोल्दै मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले नेपालमा भविष्यमा पनि यस्ता कार्यक्रमकहरू सञ्चालन गरी लक्षित समुदाय र वर्गलाई सेवा पुर्याउन र स्वस्थ समाज निर्माणमा लाग्न आर्ट अफ लिभिङ नेपाललाई प्रेरणा मिलेको धारणा व्यक्त गरेका थिए ।
न्यायाधीशका लागि अनुभवः संविधानमा १० वर्ष, विवादमा २० वर्ष
काठमाडौं । उच्च अदालतमा नियुक्त गर्नुपर्ने न्यायाधीशको अनुभवको अवधिका विषयमा न्यायापरिषदमा विवाद भएको छ । यही विवादमा न्यायपरिषद्को बैठक पटकपटक बसेर पनि निष्कर्समा पुग्न सकेको छैन । उच्च अदालतमा १६ जना न्यायाधीशको पद खाली छ । न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । न्यायाधीश सिफारिसका लागि पटक-पटक न्याय परिषद्को बैठक बस्दै आएको छ । तर न्याय परिषदमा न्यायाधीशको योग्यताको विषयमा विवाद हुँदै आएको स्रोतले बतायो । संविधानको धारा १४० को उपधारा २ अनुसार कानुनमा स्नातक उपाधि प्राप्त गरी जिल्ला न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १० वर्ष कानुनको अध्यापन, अन्वेषण वा कानुन न्यायसम्बन्धि अन्य कुनै क्षेत्रमा निरन्तर काम गरेको वा न्याय सेवाको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको पदमा कम्तीमा पाँच वर्ष काम गरेको नेपाली नागरिक उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीश पदमा नियुक्तिको लागि योग्य मानिन्छ । न्यायापरिषद्का सदस्यसमेत रहेका कानुनमन्त्री अजयकुमार चौरसियाले संविधानको यही धारामा टेकेर १० वर्षभन्दा बढी अनुभव भएका कानुन व्यवसायीलाई न्यायाधीशमा नियुक्तिमा जोड दिएका छन् । तर प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको स्वायत्ततामा जोड दिँदै विगतको अभ्यास र परम्पराका आधारमा कम्तीमा २० वर्ष अनुभव भएकालाई मात्र उच्च अदालतको न्यायाधीश बनाउन जोड दिँदै आएका छन् । मन्त्री चौरसियाले १० वर्षभन्दा बढी समय अभ्यास गरेका कानुन व्यवसायीलाई पनि उच्च अदालतमा न्यायाधीश बनाउनुपर्ने प्रस्ताव राखेका छन् । कानुनमन्त्रीको प्रस्तावमा पनि मत विभाजित भएको छ । न्यायपरिषदमा प्रधानन्यायाधीश श्रेष्ठ, कानुनमन्त्री चौरसिया, सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत, रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सदस्य छन् । प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला न्यायाधीश, न्याय समूह, कानुन समूह, सरकारी वकिल र कानुन व्यवसायी सबैलाई समेट्दै उच्च अदालतका न्यायाधीश सिफारिस गर्ने सूची परिषद् बैठकमा राखेका थिए । सरकारी वकिल तथा न्याय सेवाबाट राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीबाट ३ जना, कानुन व्यवसायीबाट ४ जना र जिल्ला न्यायाधीश ९ जनाको नाम उनले सिफारिस गरेका थिए । अहिलेको खास विवाद कानुन व्यवसायीबाट गरिने नियुक्तिमा देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर न्यायाधीशहरू र कानुनमन्त्रीबीच भागबण्डा नमिल्दा समस्या भएको जानकारहरू बताउँछन् । २०७३ पुस २९ को ८० जना न्यायाधीश नियुक्ति गर्दा बाम खेमाबाट १४ जना पर्दा लोकतान्त्रिक खेमाबाट ८ जना मात्र परेको भन्दै कांग्रेस नेतृत्वको आलोचना भएको थियो । उक्त बेलाको पीडालाई याद गर्दै कांग्रेस नेतासमेत रहेका कानुनमन्त्रीले आफ्नो अडान छोड्न मानेका छैनन् । मन्त्री चौरसिया कांग्रेसमा सभापति शेरबहादुर देउवानिकट नेता हुन् । सर्वोच्च पनि खाली हुँदै सर्वोच्च अदालतमा हाल ४ न्यायाधीशको पद रिक्त छ । यही असोज २० गतेबाट प्रधानन्यायाधीश श्रेष्ठ र कात्तिक ४ गतेबाट न्यायाधीश प्रकाश ढुंगानाले अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश श्रेष्ठले भदौ २० देखि र न्यायाधीश श्रेष्ठले असोज ४ गतेदेखि मुद्दा हेर्न छोडिसकेका छन् । अवकाश हुनुभन्दा एक महिना अघिदेखि बिदामा बस्ने अभ्यास रहिआएको छ । उनीहरूको स्थानमा समेत गरी ६ जना न्यायाधीश नियुक्तिको लागि गृहकार्य भइरहेको छ । मुख्य न्यायाधीशहरू नृपध्वज निरौला, डा. रत्नबहादुर बागचन्द, नित्यानन्द पाण्डे, शान्तिसिंह थापा, श्रीकान्त पौडेल र रमेशप्रसाद राजभण्डारी सर्वोच्चको न्यायाधीश बन्ने लाइनमा छन् । उनीहरूको नाममा पनि न्याय परिषदमा विवाद रहेको छ । परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत सबै नियुक्ति उच्च अदालतका मुख्य न्यायाधीश सर्वोच्चमा ल्याउने पक्षमा छन् भने कानुनमन्त्री चौरसिया र दुई सदस्यहरू रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ यसपटक बारलाई आधा दिनुपर्ने पक्षमा छन् । त्यस्तै, जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन् । सबै तहको न्यायाधीश नियुक्तिको सिफारिस गर्न भन्दै विगत एक महिनामा पटक पटक परिषद्को बैठक बसेको छ । संविधान र कानुनले पद रिक्त हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ । सर्वोच्च अदालतले समेत एक महिनाअगावै नियुक्ति प्रक्रिया थाल्न आदेश नै दिएको छ ।
‘सरकारले थुनामुक्त गरे एक वर्षभित्रै बचत फिर्ता गर्न सक्छु, सम्पत्ति सञ्चालकको नाममा छ’
काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईले सरकारले थुनामुक्त गरेकोमा आफूले एक वर्षभित्र बचतकर्ताको बचत फिर्ता गर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिसँग बयान दिँदै उनले सरकारले आफूलाई थुनामुक्त गरेमा एक वर्षभित्र बचतकर्ताको बचत फिर्ता गर्न सक्ने बताएका हुन् । उनी हाल हाल सहकारी ठगी मुद्दामा नख्खु कारागारमा थुनामामा छन् । उनले सहकारीको रकम सबै सञ्चालकहरूको नाममा रहेको पनि जानकारी दिएका छन् । चाैलागाईंले समितिलाई दिएकाे बयानकाे पूर्णपाठ : आफ्नो नाम सहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस् । परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् । मेरो नाम रविन्द्र चौलागाईं हो । बाजे बालकृष्ण चौलागाईं, बुवा डिल्ली प्रसाद चौलागाईं आमा हेमाकुमारी चौलागाईं हो। मेरो परिवारमा श्रीमती पुजा खत्री र छोरा प्रान्जल चौलागाई हुनुहुन्छ । हाल महालक्ष्मी नगरपालिका वडा नं. ९ मा बस्छौ हाल में सहकारी ठगी मुद्दामा नख्खु कारागारमा थुनामा रहेको छु मेरो मोबाइल नं. ९८५११६२९३० हो । तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ? मेरो शारीरिक तथा मानसिक अवस्था ठीक छ । सोधिएका प्रश्नको जवाफ दिन सक्छु । तपाईं आवद्ध रहेका र सञ्चालकको भूमिकामा रहेका सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस्। सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् । म देउराली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुँ । अन्य कुनै सहकारी संस्थामा आबद्ध रहेको छैन । देउराली बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोमा रहेको छ । कागजातहरू आवश्यक परे समितिलाई पेस गर्ने छु । सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/थियो ? सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गरेको छु । सहकारी संस्था सञ्चालन बाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ ? सहकारी संस्था बाहेक मेरो पुजा पोल्ट्री फार्म, अन्नपूर्ण डिस्ट्रिलरी नामको लिक्वेर फ्याक्ट्री र देउराली रियल स्टेट विजनेस रहेको छ। साथै युनिलिभर नेपाल, डावर नेपाल, गोर्खा ब्रुअरी र पार्लेजी बिस्कुटको काठमाडौँ उपत्यकाको डिस्ट्रिव्युटर समेत हुँ । तपाईं अध्यक्ष रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा को-को हुनुहुन्छ/हुनुहुन्थ्यो ? देउराली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा म, उपाध्यक्ष अस्मिता खत्री, सचिव मनोज भण्डारी, कोषाध्यक्ष मनोहर बस्नेत, सदस्यहरू आशालाल महर्जन, राजु महर्जन, सुमन महर्जन रहेका छन् । स्थापनाकालदेखि म नै अध्यक्ष रहेको छु । हाल उक्त संस्था सञ्चालनमा छ/छैन ? संस्था समस्यामा पर्नुको कारण के हो ? उक्त सहकारी हालचालनमा छैन । कोभिड १९ पछि घरजग्गाको कारोबारमा आएको मन्दिका कारण सहकारीले आफ्नो नाममा भएको जग्गा बिक्री गर्न नसकेको र बजारमा तरलताको अभावको कारण बजारबाट उठ्नु पर्ने ऋण उठन नसकेर बचतकर्तालाई एकै पटक बचत रकम फिर्ता गर्न सकिएन। जसको कारण सहकारी समस्यामा परेको हो । सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को को हुनुहुन्छ/हुनुहुन्थ्यो ? सहकारी स्थापना हुँदा पहिलो एक वर्ष मेरी श्रीमती पुजा खत्री उपाध्यक्ष हुनुहुन्थ्यो तत्पश्चात सञ्चालक समितिमा परिवार र नातागोताका व्यक्ति कोही हुनुहुन्न । अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाई अध्यक्ष रहेको सहकारीको सञ्चालक समितिमा पनि छन् वा छैनन थिए वा थिएनन् यदि थिए भने उक्त कुरा कानूनसम्मत् हो, होइन ? खुलाइदिनुहोस् । अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति म अध्यक्ष रहेको सहकारीको संचालक समितिमा थिएनन् । म २०७९ साल मंसिरदेखि माघसम्म सुमेरु बचत तथा ऋण सहकारीसँग देउराली बहुउद्देश्यीय सहकारी संस्था एकीकरण गर्ने भनी देउरालीका सल्लाहकार कृष्णप्रसाद कंडेल अध्यक्ष र म उक्त सहकारीमा सञ्चालक समितिका सदस्यका रूपमा रहेको थिएँ । तर, पछि सुमेरुमा रहेको आर्थिक कारोबार पारदर्शी नभएको र भरत महजनका परिवारजन र आफन्तहरुको नाममा रहेको सम्पत्ति विक्री वितरण गरी प्रचतकर्ताको बचत रकम फिर्ता गरी समस्या समाधान गर्ने नियत नदेखिएकोले एकीकरणको प्रयास सफल नहुने देखिएपछी म उक्त संस्थासँग आवद्ध रहिन । सञ्चालकहरू कर्मचारी पनि रहेका छन् या छैनन् ? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के-कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो ? ऋण उपसमितिका संयोजक राजेन्द्र खत्री भक्तपुर सेवा केन्द्रको लोन म्यानेजर हुनुहुन्थ्यो । अन्य कोही चालक समितिका पदाधिकारी कर्मचारी हुनुहुन्न । यस सहकारी संस्थाको कर्मचारी विनियमावली अनुसार नै कर्मचारीहरू छनौट गर्ने गरिएको थियो । सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको वचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/ थियो वा थिएन ? सहकारी संस्थाका सदस्य बाहेकका व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छैन । सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो या अन्य जोसुकैलाई पनि बनाउनु भएको छ थियो ? सेयर सदस्य बनाउँदा तोकिएको कार्य बसोवास भएका व्यक्तिलाई माझ सदस्य बनाइएको थियो । सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुन स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाण समेत पेश गर्नुहोस् । यस सहकारीको सम्पत्ति सहकारीका सञ्चालकहरूको नाममा रहेको छ । मेरो नाममा किर्तिपुर नगरपालिका वडा नं. ३ पुष्पलाल मार्गमा चार रोपनी, झापाको शिवगंज नगरपालिका वडा नं ९ मा तिन बिगाह र ललितपुर लामाटार बडा नं ३ मा पाँच रोपनी जग्गा रहेको छ । साथै पूर्व सञ्चालक पुजा खत्रीको नाममा ललितपुर महानगरपालिका वडा नं. १५ मा साढे ६ आनामा बनेको घर ललितपुर सुनाकोठीमा २१ आना, ललितपुर धापाखेलमा आठ आना रहेको छ । भक्तपुर बोडेमा राजेन्द्र खत्रीको नाममा ९ आना जग्गामा साढे तिन तल्लाको घर, सोही स्थानमा ७ आना जग्गा, काभ्रे पाँचखालमा पोल्ट्री व्यवसायका लागि लिएको साढ़े आठ रोपनी जग्गा रहेको छ। सचिव मनोज भण्डारीको नाममा ललितपुर महानगरपालिका बडा नं. ३ मा चार रोपनी जग्गा रहेको छ। अन्य विवरण म समितिलाई पेस गर्नेछु । अन्तरसहकारी कारोवार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग खुलाउनुहोस् । अन्तरसहकारी कारोबार ललितपुर महानगरपालिका पुल्चोकको पुच्च वचत तथा ऋण सहकारी संस्था, सलितपुर हात्तीवनस्थित बिसनदेवी वचत तथा ऋण सहकारी संस्था, ललितपुर सातदोवाटोस्थित महाभगवती बहुउद्देश्यीय सहकारी संस्था लगायतका सहकारीहरूसँग गरिएको थियो । तपाईं सुमेरू वचत तथा ऋण सहकारी संस्थामा के कति समय सञ्चालक समितिमा रहनुभएको हो ? उक्त समयमा उक्त सहकारी संस्थाका के-कति सम्पत्ति र कर्जा व्यवस्थापन गर्नुभएको थियो ? मेरो सहकारी र सुमेरु अचत तथा ऋण सहकारी समेत समस्यामा परिसकेपछि दुईवटा संस्था एकीकरण गरी एकीकृत कारोवार गरी समस्या समाधान गर्ने भन्ने उद्देश्यले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालकहरूसँग २०७९ मंसीरमा सहमति गरियो । उक्त सहकारीसँगको सहमति अनुसार पूर्वअध्यक्ष भरत महर्जनले सम्पूर्ण जिम्मेवारी तत्कालीन अध्यक्ष कृष्ण प्रसाद कंडेललाई दिने भनिएको थियो तर भरत महर्जनले उक्त जिम्मेवारीहरू नदिने भनेपछी उक्त सहकारीसँगको सम्झौताबाट म पछि हटेको हुँ । उक्त समयमा सुमेरुको कर्मचारी मनिषा लामाको नाममा रहेको काठमाडौ फर्पिङको ७५ आना जग्गा १ करोड ८० लाखमा बेची उक्त रकम कृष्ण प्रसाद कंडेलको नेतृत्वमा सुमेरु वचत तथा ऋण सहकारीमा कृष्णप्रसाद कंडेलको खाता खोली रकम जम्मा गरी वचतकर्ताहरूलाई बाँडिएको थियो । तपाईका निजी लगानीका के कुन कम्पनीहरू रहेका छन् ? व्यावसायिक साझेदारहरूको विवरण खुलाउनु होस् । मेरो निजी लगानीका कम्पनीहरू पुजा माफटिङ प्रा.लि., थ्रि प्रदर्श मार्केटिङ प्रा.लि. पुजा पोल्ट्री फार्म, पुजा ट्रेडिङ एण्ड मार्केटिङ प्रा. लि. अन्नपूर्ण डिस्ट्रिलरी प्रा.लि. लगायतका लगभग १५ वटा कम्पनीहरू रहेका छन् । मेरो निजी कम्पनीहरूमा म मेरी श्रीमती पूजा खत्री र जेठान राजेन्द्र खत्री रहेका छौं । संस्थाको आ.व. २०७७/७८ आषाढ मसान्त सम्मको वासलातअनुसार नगद मौज्दात जम्मा रु.८ करोड ४५ लाख बराबर र बैंक मौज्दात रु. २ करोड ३ लाख रहेता पनि संस्था कसरी समस्याग्रस्त हुन पुग्यो ? तत्कालिन समयमा “सहकारी खबर भन्ने अनलाइन मिडियाले देउराली सहकारी संस्थाले घर जग्गामा लगानी गरेको कारण डुब्दैछ छ भनी समाचार सम्प्रेषण गरेको कारण उक्त समाचार बुस्ट भएको १ दिन नबित्दै करीब २ हजार हाराहारी बचतकर्ता एकैपटक हाम्रो सहकारीमा आए स त्यसपछि हामीले तत्कालीन समयमा थोरै थोरै रकम बचतकर्तालाई दिँदै जाँदा उक्त मौज्दात रकम बचतकर्ताहरूलाई बाँडिएको थियो । तत्पश्चात सहकारी समस्यामा आएको हो । यस संस्थाले रु.८ करोड ४५ लाख बराबरको अधिकतम नगद रकम बैंक खातामा नराखेर बिमा समेत गरी नगदमा किन राखिएको हो ? हाम्रो सहकारीमा बढी जसो सदस्यहरू कृषि सम्बन्धी व्यावसाय गर्ने हुँदा उक्त सदस्यहरूले बैंकिङ मार्फत नभई नगदै लिन खोज्नेहुँदा उल्लिखित रकम बिमा समेत गरी राखिएको थियो । संस्थासँग कूल नगद तथा बैंक मौज्दात रु. १० करोड ४८ लाख भएता पनि राष्ट्रिय सहकारी बैकबाट थप ६ करोड ४८ लाख किन र के प्रयोजनका लागि लिइएको हो ? राष्ट्रिय सहकारी बैंकसँग लिइएको कर्जा कोभिडको समयमा लिइएको कर्जा हो । तत्कालिन समयमा पनि धेरै बचतकर्ताहरूले वचत रकम माग गरेको हुनाले एकैपटक धेरै रकम माग गर्दा रकम उपलब्ध गराउनका लागि कर्जा लिइएको थियो । संस्थाको कूल निक्षेप १ अर्ब ९३ करोड ३३ लाख ७३ हजार र कुल ऋण लगानी २ अर्ब २४ करोड ३१ लख ७० हजार रहेकोमा सो थप ऋण रकम लगानी गर्न कुन आय श्रोतबाट पुँजीको व्यवस्था गरी लगानी गरिएको हो ? राष्ट्रिय सहकारी बैंकबाट ४० करोड रकम कर्जा लिइएको थियो । त्यस्तै नेफ्स्कुनबाट ५ करोड र सहकारी बहुउद्देश्यीय संघबाट ५ करोड कर्जा लिइएको थियो । ऋण लगानी गर्दा कति प्रतिशत व्याजदरमा गर्नु हुन्छ ? ऋण रकम २ अर्ब २४ करोड ३१ लख ७० हजारको ब्याज मात्र २१ लख ८६ हजार कसरी भएको ? सहकारीको नियम अनुसार लिनु पर्ने ब्याज लिइएको थियो । कर्मचारीको हकमा ९ प्रतिशत र अन्य ऋणीको हकमा १६ प्रतिशत ब्याजदरमा ऋण प्रवाह भएको थियो र माथि उल्लिखित ब्याज रकम कति समयको हो स्पष्ट भएन । ब्याज रकम सिस्टमले नै देखाउने हो । संस्थाले कूल ऋण रकमको १ प्रतिशत हुन आउने गरी २ करोड २४ लाख ३१ हजार रकमको मात्रै नोक्सानी व्यवस्था कतिको कानूनसम्मत् छ ? ऋणीहरूले समयमा नै ऋणको किस्ता तिरिरहेको अवस्था थियो । संस्था राम्रैसँग चलिरहेको हुँ उक्त ऋण नोक्सानी व्यवस्था कानून सम्मत नै छ । विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ? विद्यमान अवस्थामा मेरो अध्यक्षताको सहकारीको समस्या समाधान गर्न सक्छु मैले थुनामा रहेको अवस्थामा पनि ऋणी र बचतकर्ताहरूसँग छलफल गरी बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने प्रयास गरिरहेको छु । हालसम्म ३५ जनाको अन्दाजी कारोबार अन्दाजी ११ करोड बराबरको हिसाबकिताबे मौखिकरूपमा मिलाए पनि सिस्टममा लोड गरी औपचारिक व्यवस्थापन गर्न पाएको छैन । थुनामा बसी रोक्का रहेका सम्पत्तिबाट बचतकर्ताहरूलाई बचत रकम फिर्ता गर्न सहज छैन । तसर्थ थुना बाहिर बसी सहकारीको समस्या समाधान गर्ने मौका दिएमा करिब एक वर्ष भित्र सम्पूर्ण समस्या समाधान गर्ने थिएँ । साथै सरकारले रोक्का गरेको सम्पत्ति क्रमिक रूपमा फुकुवा गरी बचतकर्तालाई उपलब्ध गराउने वातावरण सिर्जना गरिदिएमा समस्या समाधान गर्न सहज हुने थियो । तपाईं अध्यक्ष रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाको समस्या समाधान गर्न तपाई, तपाईंको परिवार, सरकार, कर्जा लिएको बैङ्गले के के गर्नु पर्ला ? सहकारीका सञ्चालक समिति र जिम्मेवार कर्मचारीलाई सरकारले कुनै निकायको मातहतमा कामा गर्ने वातावरण बनाइदिनु पर्छ । साथै सहकारीका सम्पतिहरू बैंकबाट लिलाम बिक्री गर्न रोकी सञ्चालकहरूलाई बचत रकम फिर्ता नगरुन्जेलसम्मको लागि सुरक्षाको अनुभुति गराइदिनु पर्छ । सहकारी र व्यापार व्यवसाय बन्द भएको समयदेखिको ब्याज रकम मिनाहा गरी उक्त सम्पति र व्यवसाय लिलाम गर्नबाट रोकी दिएमा समस्या समाधान गर्न सहज हुने थियो । देउराली बहुउद्देश्यीय सहकारीको सेन्चुरी बैंक लिसँगको कर्जा प्रवाहमा विषयमा के भएको हो ? खुलाईलेखाइदिनुहोस् । देउराली बहुउद्देश्यीय सहकारीले सेन्चुरी कमर्सियल बैंकसँग कुनै किसिमको कर्जा लिएको होइन । उक्त सेन्चुरी कमर्सियल बैंकमा मेरो व्यक्तिगत र मेरो अन्य कम्पनीहरुको नाममा लिइएको कर्जा हो । सहकारी सम्बन्धी वा कुनै फौजदारी कसुरमा थुना वा कैदमा पर्नु भएको छ वा छैन ? परेको भए हाल उक्त मुद्दा के कुन अवस्थामा छ ? मिति २०६०/०६/१६ मा पक्राउ परि २०६०/०८/२२ गते देखि सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी कसुर मुद्दामा कारागार कार्यालय भरमा थुनामा छु हाल उक्त मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधिन रहेको छ । अन्त्यमा तपाईंको थप भन्नु केही छ ? अन्त्यमा सहकारीको बचतकर्ताहरूको रकम समयमै फिर्ता गर्नको लागि सञ्चालकहरूलाई थुनामा राखेर मात्र हुँदैन । सञ्चालकलाई बाहिर ल्याई काम गर्ने वातावरण बनाइदिएमा सहज हुने थियो । सहकारीको सम्पत्तिबाट र ऋण रकम उठाई बचतकर्तालाई बचत रकम तिर्न समयमै सहज आतावरण बनाइ दिनु हुन र उचित कदम चालिदिन अनुरोध गर्दछु ।
चालु आवको भदौ मसान्तसम्म वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा पाँच अर्ब २६ करोड ३७ लाख १० हजार रुपैयाँ मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले ४९ करोड ५९ लाख २८ हजार रुपैयाँ मूल्य पर्ने ६९ लाख ५३ हजार किलोग्राम पिना निर्यात भएको जानकारी दिए । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ । चालु आवको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ । त्यसैगरी, गत आवको सोही अवधिमा २० करोड ३६ लाख ६८ हजार रुपैयाँ मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो । चालु आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार रुपैयाँ मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ । चालु आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर उनी गलैंचा निर्यात भएको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २० दशमलव ४३ प्रतिशतले गिरावट आएको छ । चालु आवको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार आठ सय लिटर जुस जाम निर्यात भएको छ । गत आवको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा जुस जामको निर्यात भने पाँच दशमलव ११ प्रतिशतले बढेको छ । चालु आवको भदौ मसान्तसम्मको अवधिमा ११ करोड ७९ लाख ८४ हजार रुपैयाँ मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ ।
नेपाल एसबिआई र चार्टर्ड एकाउण्टेण्ट्स संघको सहकार्यमा अन्तरक्रिया हुने
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्राविधिक सहकार्य तथा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको आयोजनामा नामक एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयविज्ञ, अग्रज व्यक्तित्व तथा लगानीकर्ताहरूको उपस्थितीमा यहि मिति २०८१ असोज ११ गते काठमाडौं मेरियट होटलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त कार्यक्रमबाट नेपालमा वैदशिक लगानी प्रोत्साहन हुने तथा सो सम्बन्धी बहुआयामिक विषयहरूमा विभिन्न सरोकारवालाहरूको छलफलबाट देशमा लगानीको वातावरणमा सुधार हुने र लगानी व्यवस्थापन कार्यमा समेत थप टेवा पुग्ने विश्वास नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडले लिएको छ। नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडले भारतको एसबिआई क्यापिटल मार्केट्स लिमिटेड (एसबिआईक्याप्स्) सँग संस्थागत परामर्श सेवाका लागि प्राविधिक सहकार्य समेत गरिरहेको छ। संस्थाले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।
सुनको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?
काठमाडौं । पछिल्लो समय सुनको भाउ निरन्तर बढिरहेको छ । आज बिहिबार पनि सुनको मूल्य वृद्धि भएको छ । हिजो बुधबार तोलाको एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले वृद्धि भएको हो । यससँगै आज एक लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै महँगो मूल्य हो । चाँदीको भाउ भने आज स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
एनएमबि बैंकले सौर्य ऊर्जा विकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै
काठमाडाैं । एनएमबि बैंक लिमिटेडले नेपालको सबै भन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्वेश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ । नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य उर्जासगँ आवद्ध ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उल्पादन भएको उर्जा कृषि तथा अन्य क्षेत्रमा दीगो रुपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यसैगरी, बैंकले जलविद्युत परियोजनाहरूका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र दिगोपन मूल्याङ्कनहरू कार्यान्वयन गरी जिम्मेवार बैंक बन्ने अभिप्रायका साथ अघि बढेको छ । बैंकले निकट भविष्यमाआफूले लगानी गरेका जलविद्युत परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ । जुन आयोजनाहरूले स्थानीय समुदाय र उनीहरुको बसोवास स्थलको स्थार उन्नति सुनिश्चित गर्दछ । एनएमबि बैंकको यी पहलहरुले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ ।