सलिकोले चार दिने बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । २०८१ असोज २ देखि ५ सम्म वीरगञ्जमा मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनेगरी उक्त तालिम सम्पन्न गरेको हो । उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरूको उपस्थित रहेको थियो, जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत वरिष्मा साउद आचार्य, नेपाल बीमा प्राधिकरणकी मधेश प्रमुख प्रीती देव र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्त कुमार लामिछाने रहेका थिए । तालिम प्रशिक्षकहरूमा आन्तरिक नियन्त्रण विभागमा प्रमुख बासुदेव जोशी, दावी विभागका सुबिन्द्र डंगोल, अण्डरराइटिङ विभागका भास्कर भुजेल र सिमा गुप्ता र मानव संसाधन विभागका प्रवल अर्याल रहेका थिए । प्रशिक्षकहरूले विभिन्न क्षेत्रका समसामायिक विषयहरुमा जानकारी तथा आवश्यक ज्ञान प्रदान गरेका थिए । मुख्य अथिति प्रीती देवले बीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम कानुनको महत्वबारे प्रकाश पारेकी थिइन् । उनले बीमा उद्योगमा दीर्घकालीन स्थिरता कायम राख्न र विश्वास बढाउन नियमहरूको कडाईसँग पालना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिईन् ।
आगन्तुक रिसोर्टमा नेपाल एसबिआई बैंकका ग्राहकलाई छुट
काठमाडौं । आगन्तुक रिसोर्टमा नेपाल एसबिआई बैंकका ग्राहकलाई छुट हुने भएको छ । बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाध्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंटा र आगन्तुक रिसोर्टका वरिष्ट प्रबन्धक (बजार तथा बिक्री) सरस्वति गुरुङले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, यादवेंद्र कांत, सल्लाहकार, पिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
स्वदेश घुमाउने ‘प्याकेज’ मा आकर्षण बढ्दै, यस्ता छन् ७ हजारदेखि २० हजारसम्मका प्याकेज
काठमाडौं । ‘पहिले स्वदेश, अनिमात्र विदेश’ भन्ने रमाइलो नारा डेढ दशक अघिसम्म पर्यटन क्षेत्रमा व्यापक चल्तीमा थियो । सोही नारा पछ्याउँदै मुलुकका सयौं पर्यटन गन्तव्य घुम्न जाने नेपाली हजारौं हुन्थे । यो क्रमले वर्षौं निरन्तरता पायो । गुडेरमात्र होइन, अलि सक्नेहरू उडेरसमेत देशका विभिन्न गन्तव्य पुग्थे । यसरी नेपालीलाई देशाटन गराइरहेका सयौं ट्राभल कम्पनीहरू एक्कासि विदेश भ्रमण प्याकेज ल्याउनतिर लागे । आम्दानी राम्रो भएका वा ठूला कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्नेहरू स्वदेश होइन, विदेश घुम्न आकर्षित हुन थाले । यसले एक समय यतिसम्म देखियो कि नेपालीहरूको ‘ट्राभल ट्रेन्ड’ नै बदलियो भन्दा फरक पर्थेन । यो ट्रेन्ड बिस्तारै निम्न मध्यम वर्गमा समेत आइपुग्यो । सस्तो हवाई टिकटको उपलब्धताका आधारमा ट्राभल कम्पनीहरूले सस्तो टुर प्याकेजहहरू बेच्न थाले । अझ, केही ट्राभल कम्पनीले त मासिक किस्ताबन्दी सुविधामा विदेश भ्रमण प्याकेज पनि उपलब्ध गराउन थाले । सन् २०२० को वर्ष लाग्नासाथ ‘कोरोना भाइरस’ महामारीले पूरै संसार जकडिन पुग्यो । स्वदेश होस् वा विदेश, घुम्ने काम पूरै ठप्प भयो । यसले संसारभरिको पर्यटन क्षेत्र नराम्ररी थलिन पुग्यो । यसबाट नेपालको पर्यटन क्षेत्र अछुतो रहन सक्ने कुरै भएन । कोरोना महामारीले नेपालको अर्थतन्त्र लगभग धराशयी हुन पुग्यो । बिस्तारै कोरोना महामारी विरुद्धको खोप सहज हुन थालेपछि मानिसको आवागमन बढ्न थाल्यो । अनि, सुरुमा बिस्तारै बढ्न थाल्यो आफ्नै देश घुम्ने ट्रेन्ड । पछिल्लो पटक नेपालीहरू आफ्नै देशका पर्यटन गन्तव्य घुम्न जाने ट्रेन्ड चलेको छ । राराताल होस् वा खप्तड, इलामको चिया बगान होस् वा ताप्लेजुङको पाथीभरा, पोखराको फेवाताल होस् वा मुस्ताङको मुक्तिनाथ, यी र यस्तै सयौं नाम कहलिएका पर्यटन गन्तव्यमा नेपालीहरूको चहलपहल देख्न सकिन्छ । पहिले जस्तो आफै गाडी खोज्नुपर्ने, आफै होटल व्यवस्था गर्नुपर्ने, जाने कताबाट हो, कति दिन लाग्छ, बाटोमा के खाने, कहाँ बास बस्ने, मौसम कस्तो होला जस्ता चिन्ता बोकेर घुम्ने चलन लगभग हटिसक्यो भन्दा सायद दुई मत हुने छैन । किन होला ? किनकि, अहिले विदेशमात्र होइन, स्वदेश घुम्न पनि ट्राभल कम्पनीहरूले प्याकेज बेचिरहेका छन् । आफूलाई सहज र सरल लाग्ने प्याकेज खरिद गरे रोजेर विभिन्न पर्यटन गन्तव्य जान पाइन्छ । यसपालि दशैंतिहार, छठजस्ता ठूला चाडपर्व लक्षित गर्दै धेरै ट्राभल कम्पनीले आन्तरिक टुर तथा ट्राभल प्याकेज धमाधम सार्वजनिक गररिहेका छन् । दशैं-तिहार बिदाको मौका पारेर घुम्न निस्किनेहरूलाई यस्ता प्याकेजले धेरै नै मद्दत पुग्ने ट्राभल कम्पनीहरूको भनाइ छ । सस्ता टुर प्याकेजका कारण पछिल्लो पटक निम्न मध्यम वर्गका मानिसहरू पनि मुलुकका विभिन्न पर्यटन गन्तव्य घुम्न जान थालेको व्यवसायीहरू बताउँछन् । यस्तो ट्रेन्ड कोरोना महामारी मत्थर हुँदै गएपछि बिस्तारै बढ्दै गएको व्यवसायीहरूको अनुभव छ । ‘कोरोना महामारीपछि नेपालीहरूमा घुम्नुपर्छ, रमाइलो गर्नुपर्छ, पैसा जोगाएर मात्र हुँदैन रहेछ भन्ने महसुस भएको देखिएको छ,’ एक ट्राभल कम्पनीका सञ्चालक भन्छन्, ‘कोरोनाका कारण नेपालमै हजारौं मान्छेले ज्यान गुमाए । त्यही भएर नेपालीहरूमा घुम्नुपर्छ भन्ने महसुस भएको हो ।’ सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपाने चाडबाडका अवसरमा नेपालीहरू पनि धेरै संख्यामा स्वदेश घुम्न निस्किने बताउँछन् । उनका अनुसार अहिले नेपालको ठूलो पर्यटन स्रोत नै नेपाली हुन् । ‘नेपालमा जति पनि होटलहरू छन्, ती सबै चल्ने नै आन्तरिक पर्यटकले हो,’ उनी भन्छन्, ‘दशैंदेखि छठ पर्वसम्म धेरै नेपालीहरू घुम्न निस्किन्छन्, यतिबेला फेस्टिभ मुड हुने हुँदा उनीहरू परिवारसँग घुम्ने रमाउने गर्छन्, अहिले नेपालीहरूमा पनि घुम्ने ठूलो ट्रेन्ड छ ।’ उनका अनुसार यसपालि दशैंतिहारमा चाडपर्व लक्षित गरेर आन्तरिक मात्रै नभई बाह्य पर्यटक पनि लक्षित गरेर प्याकेज ल्याइएको छ । भारतीयहरूलाई आकाशबाट मानसरोवर दर्शन गराइएको छ । ‘भारतले कोरोना महामारीपछि मानसरोवर यात्रा बन्द गर्याे, त्यसपछि उनीहरूले मानसरोवर दर्शन गर्न नपाएको हुँदा हामीले गत चैतमा उनीहरूलाई लक्षित गरेर आकाशबाट मानसरोवर दर्शन गर्ने प्याकेज बनायौं,’ सीईओ न्याैपाने भन्छन्, ‘त्यसलाई अहिले भारतभरि प्रचारप्रसार गर्दा ५ हजारभन्दा बढी भारतीय नेपाल घुम्न आउन लागेका छन् ।’ श्री एयरलाइन्ससँग साझेदारी गरी फ्लाइट चार्टर गरेर उनीहरूलाई आकाशबाट मानसरोवर दर्शन गराइने र यो कार्यक्रम नेपालगञ्जबाट बढी चल्ने उनले बताए । उनका अनुसार अहिले नेपालगञ्जका होटलहरू फुल प्याक भएका छन् । सीईओ न्यौपाने भारतीयहरूलाई होटलसहित ३२ देखि ३५ हजार भारुमा नेपाल भ्रमण प्याकेज बेचेको बताउँछन् । त्यस्तै, नेपालीहरूका लागि भने फ्लाइटसहित ४२ देखि ४५ हजार पर्ने प्याकेज रहेको उनी बताउँछन् । सिद्धार्थ बिजनेस ग्रुपको देशैभरि होटल भएको हुँदा घुम्न जानका लागि देशैभरिको प्याकेज उपलब्ध रहेको सीईओ न्याैपाने बताउँछन् । अर्का पर्यटन व्यवसायी तथा सीएन्डके नेपाल ट्राभलका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ आन्तरिक पर्यटक चितवन, पोखरा र लुम्बिनी बढी घुम्न रुचाउने बताउँछन् । ‘स्वदेशी पर्यटकले रुचाएका डेस्टिनेसन यिनै तीनवटा हुन्,’ उनी भन्छन्, ‘तर, चितवन, पोखरा र लुम्बिनीको प्याकेज उनीहरूले कमै किन्छन्, अहिले स्वदेशी पर्यटकले किन्ने प्याकेज भनेको बर्दिया र राराको हो ।’ कार्यकारी निर्देशक श्रेष्ठका अनुसार प्याकेज किनेर नेपाल घुम्ने पर्यटक एकदमै कम छन् । ‘आफ्नै देश घुम्नका लागि भाषाको समस्या भएन,’ उनी भन्छन्, ‘उनीहरू आफै म्यानेज गरेर जान्छन्, घुम्छन् ।’ उनका अनुसार ४० प्रतिशत आन्तरिक पर्यटक प्याकेज किनेर घुम्न जान्छन् भने ६० प्रतिशत आफ्नै व्यवस्थापनमा जान्छन् । कस्ता छन् देश घुमाउने प्याकेज ? काठमाडौंमा रहेको ट्राभल एजेन्सी विन्डो भ्यु ट्राभल्स एन्ड टुर्सले मुस्ताङ घुम्न जान चाहनेका लागि प्रतिव्यक्ति ७ हजार ७ सय ९९ रुपैयाँको टुर प्याकेज ल्याएको छ । यो प्याकेजमा कागबेनी, जोमसोम, मार्फा, मुक्तिनाथ, बागलुङ कालिका र गलेश्वर महादेवको यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्याकेज ३ रात र ४ दिनका लागि हुनेछ । यसमा जान आउन गाडी सुविधा, ३ बिहानको खाजा, खानाको व्यवस्था गरिएको छ । यसैगरी, काठमाडौंकै अर्को ट्राभल एजेन्सी प्रभु एडभेन्चर ट्राभल्स एन्ड टुर्सले अपर मुस्ताङ र मुक्तिनाथ यात्राका लागि ५ रात ६ दिनका लागि १८ हजार ५ सय र ३ रात ४ दिनका लागि ११ हजार ५ सयको टुर प्याकेज ल्याएको छ । यस्तै, कम्पनीले पाथीभरा देवी मन्दिर दर्शनका लागि ४ रात ५ दिनका लागि प्रतिव्यक्ति १६ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ । यस प्याकेजमा कन्याम, फिक्कल, पाथीभरा, धरान बजार, चिया बगान, बराह क्षेत्र, इलाम बजार, सानो पाथीभारा, बुढासुब्बा लगायत ठाउँ घुम्न सकिने कम्पनीले जनाएको छ । यसैगरी, घान्द्रुक घुम्नका लागि ९ हजारको प्याकेज, पोखराका लागि ७ हजार ५ सय, चितवन सौराहाका लागि ९ हजार, हलेसीका लागि ६ हजार, कालिञ्चोकका लागि ६ हजार ५ सय र रारा ताल घुम्न जानका लागि २५ हजार रुपैयाँको प्याकेज ल्याएको पनि कम्पनीले जनाएको छ । काठमाडौंकै अर्को ट्राभल कम्पनी एडभेन्टो नेपाल ट्राभल्स एन्ड टुर्सले अपर मुस्ताङ र मुक्तिनाथ घुम्नका लागि एसी बसमा यात्रा गर्न १३ हजार ५ सय र स्कार्पियोमा यात्रा गर्न १८ हजार पर्ने ५ रात ६ दिनको प्याकेज ल्याएको छ । यस प्याकेजमा पोखरा, पुम्दीकोटको शिव मन्दिर, बागलुङस्थित नेपालको सबैभन्दा लामा झोलुंगे पुल लगायतका ठाउँ घुम्न पाइने जनाएको छ । यसैगरी, मञ्जुश्री होलिडे ट्राभल्स एन्ड टुर्सले पनि ३ रात ४ दिनका लागि बसमा मुस्ताङ यात्राका लागि प्रतिव्यक्ति ६ हजार ६ सय ९९ को टुर प्याकेज ल्याएको छ । यस्तै, इलेक्ट्रिक भ्यानमा यात्रा गर्दा ९ हजार ५ सय लाग्ने र स्कार्पियोमा यात्रा गर्दा १० हजार ९ सय ९९ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । यस्तै, पाथीभरा दर्शन गर्न जानका लागि बसमा ४ रात ५ दिनका लागि प्रतिव्यक्ति १२ हजार ९ सय ९९ र जीपमा १७ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ भने कालिञ्चोकका लागि बसमा प्रतिव्यक्ति २ हजार ९ सय ९९, ईभी भ्यानमा ३ हजार ९ सय ९९ र जीपमा ४ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको कम्पनीले जनाएको छ । अर्को ट्राभल एजेन्सी टुर प्लानर्सले मुक्तिनाथ घुम्नका लागि बसमा जानेका लागि प्रतिव्यक्ति ९ हजार र स्कार्पियोमा जानका लागि १२ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ भने पाथीभरा बसमा जानेका लागि १२ हजार र स्कार्पियोमा जानेका लागि १६ हजार ५ सयको टुर प्याकेज ल्याएको छ ।
मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने अध्यक्ष शरद कुमार दाहालले जानकारी दिए । यसअघि आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बससेवामा खुल्यो दैनिक ४२ हजारको संख्यामा अग्रिम टिकट बुकिङ
काठमाडौं । अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँको अग्रिम टिकट बुकिङ खुला गरेको छ । बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौं र पोखराबाट देशभरका ४४ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो । अब यात्रुहरूले अनलाइनबाटै दसैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । बससेवाका अनुसार बुधबार ४४ गन्तव्यको मात्र टिकट बुकिङ खुला गरिएको हो । जसमा काठमाडौंबाट अर्घाखाँची, भोजपुर, विराटनगर, वीरगन्ज, बिर्तामोड, बोदेबर्साइन, बुटवल र छेटछेट जाने यात्रुले बुधबारदेखि अग्रिम टिकट बुकिङ गर्न सक्छन् । त्यसैगरी, काठमाडौंबाट दमक, धरान, गुल्मी, जनकपुर, काँकडभिट्टा, कृष्णनगर, लामाबगर, लुम्बिनी, पाल्पा, पोखरा, राजविराज, सिलगढी, मुक्तिनाथ, गौर, जोमसोम, चितवन, डडेलधुरा, नयाँ दिल्ली, धादिङ, धनगढी, पोखरा र स्याङ्जा जाने यात्रुले टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ । बससेवाका अनुसार पोखराबाट बर्दिया, भैरहवा, भुरीगाउँ, विराटनगर, वीरगन्ज, बुटवल, दाङ र धनगढी जाने यात्रुले पनि अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । अन्य गन्तव्यमा १२ गते शनिबारदेखि टिकट बुकिङ खुल्ला गर्ने र यात्रुले सोही दिनदेखि टिकट बुकिङ गर्न सक्ने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । साथै दसैँमा गएका यात्रुहरूले फर्किन पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमा नै बसेर टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने बससेवाले जनाएको छ । यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरु गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत खनालले बताए । उनले भने, ‘विगतका वर्षहरूका तुलनामा यस वर्ष सिट संख्या धेरै बढाइएको छ । बससेवामार्फत् अहिले दैनिक ४२ हजारभन्दा धेरै टिकट बुकिङ गर्न सकिन्छ ।’ बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ संख्यामा टिकट घरमा बसीबसी मोबाइलबाट बुकिङ गर्न सकिने बससेवाले जनाएको छ ।
नेपाल बैंक र ई कमर्स प्लेटफर्म अनलाईन दराजबीच सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म छुट हुने बैंकले जनाएको छ । क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २,००० रुपैयाँ बराबरको छुट प्राप्त गर्न सकिनेछ । छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्पर्क गरि ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । यो योजना २०८१ साल असोज ११ गते देखि २०८१ साल असोज २१ सम्म लागू हुने बैंकले जनाएको छ ।
पहिरोले कान्ति लोकपथ अवरुद्ध
बागमती । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।
झनै सस्तियो तरकारीको मूल्य, सीमि र च्याउको मूल्य घट्यो
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । भारतीय गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ, लोकल गोलभेडा ३१.६७ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४६.६७ रुपैयाँ तोकिएको छ । रातो आलु ८० रुपैयाँ, भारतीय रातो आलु ६१ रुपैयाँ, मुडे आलुको ७१ रुपैयाँ तोकेको छ । भारतीय प्याज सुकेको १११ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, तराईको गाजर ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराईको बन्दा ३५ रुपैयाँ, स्थानिय काउली ७५ रुपैयाँ, रातो मूला ३१.६७ रुपैयाँ, सेतो मूला (हाइब्रीड) २७.३३ रुपैयाँ तोकिएको छ । यस्तै लाम्चो भन्टा २२.३३ रुपैयाँ, डल्लो भन्टा ३२.३३ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, लोकल घिउ सिमी ८५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ८५ रुपैयाँ, टाटे सिमी ९५ रुपैयाँ, भटमासकोशा ५५ रुपैयाँ तोकिएको छ । तितो करेला आज ७५ रुपैयाँ पुगेको छ । यसअघि तने बोडी ६५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल घिउ सिमी ५५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ५५ रुपैयाँ, भटमासकोशा ५० रुपैयाँ र तितो करेला आज ६५ रुपैयाँ थियो । लौका ३५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, चिचिण्डो २२.३३ रुपैयाँ, घिरौला ७५ रुपैयाँ, झिगूनी ७५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, डल्लो हरियो फर्सी ३२.६७ रुपैयाँ, भिण्डी ४२.३३ रुपैयाँ, बरेला १२५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, स्कूस २२.३३ रुपैयाँ रहेका छन् । रायो साग ७५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, प्याज हरियो १४५ रुपैयाँ, च्याउ (कन्य) १६६.६७ रुपैयाँ, च्याउ (डल्ले) २७६.६७ रुपैयाँ, कुरीलो ४७६.६७ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ मूल्य तोकिएको छ ।[pdf id=512681]