विकासन्युज

दसैँ नजिकएसँगै मनपरी मूल्य वृद्धि, उपभोक्ताको सेकियो ढाड

गाईघाट । नेपालीहरुको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन् । गाईघाट सङ्गमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार दुई दिनअघिसम्म बजारका हरेका पसलमा खानेतेल प्रतिपाकेट एक सय रुपैयाँका दरले पाउने गरिएकामा मंगलबारदेखि प्रतिपाकेट एक सय २० देखि एक सय २२ रुपैयाँसम्म पर्ने गरेको छ । यसरी चाडपर्वको मौका पारेर व्यापारीले मूल्य वृद्धि गरिरहेका भन्दै उनले सरोकार भएका निकायले आवश्यक अनुगमन गरी मूल्य वृद्धि रोक्नुपर्नेमा जोड दिए । उपभोक्ता दीपा बस्नेतले चार दिन अघिसम्म मुसुरो दाल ९० देखि एक सय रुपैयाँ प्रतिकिलोका दरले पाइने गरेकामा मंगलबारदेखि प्रत्येक पसलमा एक सय २० देखि एक सय २५ रुपैयाँपर्न थालेको जानकारी दिए । यसरी चाडवाडलाई लक्षित गरी व्यापारीले मूल्य वृद्धि गरेर उपभोक्तालाई समस्यामा पार्ने काम भएको उनको भनाइ छ । चामल, दाल, तेल, मसलालगायत दैनिक उपधोग्य वस्तुमा स्थानीय व्यापारीले मूल्य वृद्धि गर्दा कालाबजारी बढ्दै गएको गाईघाटका उपभोक्ताको गुनासो छ । उपभोक्ता श्याम दाहालले भने, ‘प्रत्येक वर्ष दसैँजस्तो महत्वपूर्ण चाडमा व्यापारीले मौका छोपेर दशदेखि पन्ध्र प्रतिशतसम्म मूल्य वृद्धि गर्दै आएका छन् । यस पटक ४० प्रतिशतभन्दा बढीका दरले मूल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेक्न थालेका छन् ।’ सरोकार भएका निकायले यससम्बन्धी समयमा ध्यान दिएर अनुगमन गरी कालाबजारी रोक्नुपर्ने दाहालले बताए । दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धिसँगै सागसब्जी तथा फलफूल व्यापारीले पनि बुधबारदेखि करिब ४० प्रतिशतले मूल्य वृद्धि गरेका उनले जानकारी दिए । प्रतिकिलो ८० रुपैयाँ पर्ने हरियो सागसब्जीको मूल्य अहिले एक ३० देखि एक ४० रुपैयाँसम्म पर्न थालेको त्रियुगा नगरपालिका–१० बोक्सेका उपभोक्ता रामबाबु बस्नेतले बताए । व्यापारीले एक पछि अर्को वस्तुको मूल्य वृद्धि गर्न थालेपछि बजार क्षेत्रमा उपभोग्य वस्तु किन्न नसक्ने अवस्थामा पुगेको आमउपभोक्ताले गुनासो गरेका छन् । मूल्य वृद्धिका बारेमा सोधिएको प्रश्नमा गाईघाटको पिजी चौकका व्यापारी विनोदले भने, ‘हामी साना खुद्रा व्यापारी हौँ, होलसेलरले मूल्य बढाएर सामान पठाएको छ । त्यसैले बढेको मूल्यअनुसार उपभोक्तालाई बिक्री गर्न बाध्य छौँ ।’ उपभोग्य वस्तुको अभाव भएकाले होलसेलले मूल्य बढाएर वस्तु पठाएकाले आफूहरुले वृद्धि गर्न बाध्य भएका साना खुद्रा व्यापारी बताउँछन् । उपभोक्ता देवराज थापाले भने, ‘ठूला व्यापारीको मनपरी तन्त्र छ, जतिबेला चाह्यो उतिबेला मूल्य वृद्धि गर्छन्, स्थानीय सरकार तथा प्रशासनले अनुगमन गरेर कारबाही गर्नुपर्छ । कारबाही नगर्दा कालोबजारी गर्ने व्यापारीको मनोबल बढ्ने गरेको छ ।’ यस विषयमा तत्काल स्थानीय प्रशासन, स्थानीय पालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघले मूल्य अनुगमन गरेर नियन्त्रण तथा कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । रासस

आइएमएफद्वारा पाकिस्तानका लागि ७ अर्ब ऋण स्वीकृत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका मार्गहरू सिर्जना गर्न अब्बल आर्थिक नीति र सुधारहरू आवश्यक पर्ने आईएमएफले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । आएएमएफका अनुसार पाकिस्तान गत जुलाईमा उक्त सम्झौतामा सहमत भएपछि ऋण स्वीकृत भएको हो । बुधबार न्यूयोर्कमा राष्ट्रसंघको महासभामा बोल्दै प्रधानमन्त्री शाहबाज सरिफले साउदी अरब, चीन र संयुक्त अरब इमिरेट्सको समर्थनका कारण सम्झौता भएको बताएका छन् । वार्ताको अन्तिम चरणमा आईएमएफका सर्तहरू चीनसँग सम्बन्धित थिए । चिनियाँ सरकारले यस अवस्थामा समर्थन गरेकोमा उनले आभार व्यक्त गरे । लामो समयदेखि राजनीतिक र आर्थिक सङ्कटको चक्रमा फसेको पाकिस्तानले कुल २५० अर्ब डलरभन्दा बढी ऋण जम्मा गरेको आइएमएफको पछिल्लो प्रतिवेदनले जनाएको छ । आइएमएफका अनुसार पाकिस्तानको लगभग ४० प्रतिशत ऋण विदेशी मुद्रामा बाह्य ऋणदाताहरूलाई तिर्न बाँकी छ । रिपोर्टअनुसार यसको सबैभन्दा ठुलो एकल विदेशी ऋणदाता चीन र चिनियाँ वाणिज्य बैंकहरू हुन् । सन् २०२२ को विनाशकारी मनसुन र बाढीका साथै विश्वव्यापी आर्थिक मन्दीपछि राजनीतिक अराजकताको बीचमा अर्थतन्त्र सङ्कुचित भएपछि पाकिस्तान गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । छिमेकी देशहरूबाट अन्तिम– ऋणकासाथ आईएमएफको उद्धार प्याकेजले बचत गरेको थियो, तर उच्च मुद्रास्फीति र सार्वजनिक ऋणका कारण यसको वित्तीय अवस्था डरलाग्दो अवस्थामा रहेको छ । पाकिस्तानले नयाँ ऋणका लागि आईएमएफ अधिकारीहरूसँग महिनौंसम्म माग गरिरहेको थियो । संकटग्रस्त ऊर्जा क्षेत्रको समाधान गरी करको वृद्धि गर्न घरेलु बिलहरू बढाउने लगायतका सुधारहरूको सर्तमा आएको थियो । पाकिस्तानले ‘निरन्तर सुधारका साथ आर्थिक स्थिरता पुन:स्थापना गर्न महत्त्वपूर्ण कदम चालेको आइएमएफले जनाएको छ । रासस

कात्तिक २९ देखि ‘महजात्रा’ सुरु हुने, मोफसलका सहरमा पनि प्रस्तुति

  काठमाडौं । महजोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १८ सम्म काठमाडौंको प्रज्ञा भवन र मोफसलका सहरमा जात्रा आयोजना हुने भएको हाे । मानवसेवा आश्रम र मीरा फाउण्डेसनको सहयोगार्थ सुश्री मिडियाले कार्यक्रम आयोजना गर्न लागेको हो । काठमाडौंमा १२ र मोफसलका सहरमा पनि १२ स्टेज शो आयोजना हुने महजात्रामा संलग्न कलाकार किरण केसीले जानकारी दिए। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित किरण केसी, नरेन्द्र कंसाकार, राजाराम पौडेल, शैलेन्द्र सिंखडा, शिवहरि पौड्याल, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभूषा बस्नेतले महजात्रामा हास्यव्यंग्य प्रस्तुति दिनेछन् । लामो समयपछि हुन लागेको यो कार्यक्रममार्फत वर्तमान देशकाल, परिस्थिति र विकृतिलाई हास्यव्यंग्यमार्फत कटाक्ष गरिने अभिनेता समेत रहेका हरिवंशले जानकारी दिए । अर्का कलाकार किरण केसी ‘रातामकै’ले यसपटकको महजात्रालाई विशुद्ध हास्यव्यंग्य र मनोरञ्जनात्मक कार्यक्रम हुने बताए । काठमाडौंपछि महजोडी पूर्वदेखि पश्चिम नेपालका विभिन्न सहरमा कार्यक्रम लिएर पुग्नेछन् । दमक, विर्तामोड, इटहरी धरान, विराटनगर, हेटौंडा, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी र पोखरामा पनि कार्यक्रम तय गरिएको छ ।

अरिंगालले टोकेर चारजना विद्यार्थी घाइते

लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिंगाललले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिंगाललले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय संगीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिंगालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उनले बताए । घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । घरबाट विद्यालयसम्म आउँदा जंगलको बाटो पर्ने प्रहरीले जनाएको छ ।

करौडौं खर्च गरी सिकार खेल्न ढोरपाटन धाउँछन् पर्यटक

म्याग्दी । ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । २०४४ सालमा घोषणा गरिएको यो नेपालको एकमात्र सिकार आरक्ष हो । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसर छन् । हरेक वर्षको वसन्त र शरदयाममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारी आउँछन् । कम्पनीहरूले ठेक्का प्रतिस्पर्धामार्फत सरकारलाई राजस्व तिरेर सिकार गर्न पर्यटक ल्याउँछन् । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पंक्षी छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट चार करोड २६ लाख ८८ हजार ७०० राजस्व सङ्कलन भएको छ । आव २०६७/६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा एक हजार २९० भेटिएका थिए । आव २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र आठ झारल, २०७७/७८ मा १० नाउर र छ झारलको सिकार भएको थियो । सिकार कम्पनी ग्लोवल सफारी काठमाडौंका सिकार गाइड मानबहादुर पुनका अनुसार स्पेन, अमेरिका, रसिया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारी सिकार खेल्न आउँछन् । ‘विश्वका धनाढ्य व्यक्तिहरू जङ्गली जनावरको सिकारको सोख पूरा गर्न करोडौं खर्चेर ढोरपाटन आउने गरेका हुन्,’ १३ वर्षदेखि सिकार गराउँदै आएका उनले भने, ‘युवादेखि ७४ वर्षका वृद्ध पनि सिकार खेल्न आउने गर्दछन् ।’ वार्षिक १५ हजार पर्यटकको आगमन विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन घुम्न आउने क्रम बढेको छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार आव २०८०/८१ मा १५ हजार ५७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्या–पर्यटन शिर्षकमा रु. १९ लाख ३३ हजार ७०० राजस्व सङ्कलन भएको थियो । ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार ५०० र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ । गत आवमा रु. चार करोड ७१ लाख दुई हजार ६२८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०७९/८० मा रु. तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको आरक्षले जनाएको छ । गत आवमा सार्क राष्ट्रका चार र अन्य देशका १०२ जना पर्यटक ढोरपाटन आएका थिए । सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक घरवास (होमस्टे)का सञ्चालक रामबहादुर घर्तीमगरले बताए । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक ३०० जना बास बस्न सक्ने क्षमता छ । ढोरपाटनको आकर्षण सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको थप आकर्षण र विशेषता हो । सिकार आरक्ष कार्यालय परिसरको सूचना केन्द्र छ । आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत सङ्ग्रहालयमा राखिएको छ । ढोरपाटनमा उत्तरगङ्गाको ढोरबराह मन्दिर, उत्तरगङ्गा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन् । जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ । ढोरपाटन आरक्ष कार्यालयको तीन किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने गन्तव्य हो । ढोरपाटनबाट २२ किलोमिटर दूरीमा रहेको जलजलाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । ढोरपाटन उपत्यकाको पुरानो हवाई मैदान, उत्तरगङ्गा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन् । त्यसका साथै गुर्जाघाट, जलजला र माथिल्लो भागमा बुकीलगायतका बस्ती यहाँका अन्य रमणीय स्थान हुन् । पर्यटकहरुको बसाई लम्बाउनका लागि सहायक गन्तब्य पहिचान गरेर सङ्घीय, प्रदेश सरकार र नगरपालिकामार्फत पूर्वाधार निर्माण थालिएको ढोरपाटन पर्यटन प्रर्वद्धन विकास संस्थाका सचिव जीवन पुनले बताए । यसवर्ष पाखाथरमा होमस्टे सञ्चालन, काडेको डाडाखेदी किटेनी जोड्ने पदमार्ग र गर्पाछेडाको बुकीमा ‘ब्लु सिप गोठ स्टे’ सञ्चालन गरेका छन् । बुकी, पशुपालन र पर्यटन ढोरपाटन सिकार आरक्ष समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रुकुमको तकसेरादेखि सात हजार २४३ मिटर उचाइएको चुरेन हिमालसम्म फैलिएको छ । स्थानीयवासीले हिमाली क्षेत्रका पाटनहरुलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । बर्खायाम सुरु भएपछि पूर्वी रुकुम, म्याग्दी र बागलुङका किसानले पालेका गाईभैंसी, भेडा, बाख्रा, घोडालाई घाँस खुवाउन बुकीतर्फ उकालो लाग्छन् । बेंशीका खेतबारीमा बाली लगाएपछि ठूलो सङ्ख्यामा पालिने बस्तुभाउलाई पोषिलो घाँस खुवाउन बुकी लैजाने चलन रहेको छ । वैशाखमा लेकतिर उक्लिएका गोठालाहरु असोजमा मात्र बेंशी झर्ने चलन छ । गोठाला जनजीजवनलाई नियाल्नका लागि बुकीको यात्रा रोमाञ्चक अवसर हो । पर्यटकहरु घोडा चढेर रमाउँछन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान लछुमन थापा बताउँछन् । बुकीफुलको ढोरपाटन र आसपासका गाउँहरुमा मनाइने चाडपर्व, धर्म, संस्कार र संस्कृतिसँग गाँसिएको छ । भूमे पूजामा युवायुवतीले फूल टिपेर एक अर्कालाई दिने चलन छ । साउने सङ्क्रान्तिमा बुकी फूल जम्मा पारेर लेक र गाउँका देवता पुज्ने गर्छन् । मगराँत क्षेत्रको प्रमुख मानिने उत्तरगङ्गा ढोरबराहमा जनै पूर्णिमामा लाग्ने मेला ढोरपाटनलाई बुकी फूलले ढाकेको समयमा लाग्ने गर्छ । ढोरपाटनमा ढकमक्क फूल फुलेर स्वर्गजस्तो बनेको जनैपूर्णिमाको दिन पारेर यहाँ बलि राजा प्रकट भएका र उनको स्वागतका लागि मेला लगाउने चलन रहेको छ । ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । ‘बर्खायाममा ढोरपाटनको आकर्षण नै बुकी हो,’ उनले भने, ‘यहाँ पाइने फूलको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौं ।’ संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरकफरक फूलको तस्बिर र स्थानीय नाम सङ्कलन गर्नुभएको छ । ओठफुटे, काप्चुच्चे, दहीठेकी, दूधे, नाकेफुली, पुतली, प्याउली, फट्याङग्री, बिजौरी, बुकी (१), (२), (३), बोक्सी, मदाने र राके स्थानीय नाम गरेका फूलको तस्बिर सङ्कलन भएको छ । यीबाहेक कप्टेरी, भुइँपाटी, बटारे, घोप्टे, अतिशलगायतका फूलहरु पनि बुकीको पाटनमा फुल्ने गर्छन् । बर्षात्को समयमा मात्रै फुल्ने यी फूलहरु असोज लागेपछि सुक्न थाल्छन् । बुकी फूलको बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान भएको छैन् । सङ्कलन भएका तस्बिरहरुलाई सम्बन्धित विज्ञहरूको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पंगेनीले बताए । आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ । सिमसार क्षेत्रमा गाईवस्तुले गोब्राउने भएकाले मलिलो माटोमा फूलका बोटबिरुवा सजिलै हुर्कन्छन् । यहाँसम्म कसरी पुग्ने ? पोखरादेखि मध्यपहाडी लोकमार्ग भएर बस, गाडी वा मोटरसाइकलमा बागलुङ सदरमुकाम हुँदै झन्डै पाँच घन्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङ पुगेपछि लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप र मोटरसाइकलमा दुईदेखि तीन घण्टामा ढोरपाटन पुगिन्छ । म्याग्दीको बेनी हुँदै धवलागिरि गाउँपालिकाको मुनासम्म ४५ किलोमिटर सडकमा र त्यसपछि मरेनी जलजला हुँदै दुई दिन पैदलयात्रा गरेर ढोरपाटन पुगिन्छ । पूर्वी रुकुमको टकसेरा हुँदै पनि ढोरपाटन आउन सकिन्छ । गुरील्ला पदमार्गले समेटिएको ढोरपाटन हुँदै डोल्पा पनि जान सकिन्छ । ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको पहुँचमार्ग बागलुङको बुर्तीवाङबाट छ । ढोरपाटन घुम्न जाने धेरैजसोले बुर्तिबाङ–ढोरपाटन सडक प्रयोग गर्छन् । ढोरपाटनबाट लाभ लिनका लागि म्याग्दी हुँदै जलजला र ढोरपाटन जोड्ने सडक निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘बागलुङको बुर्तिबाङभन्दा म्याग्दीबाट ढोरपाटन पुग्न ४० देखि ४५ किलोमिटर नै छोटो पर्छ,’ उनले भने, ‘बेनीदेखि दरवाङ, मुना, खोरिया हुँदै मरेनीसम्म पुगेको सडकलाई स्तरोन्नति गर्ने र मरेनीदेखि जलजला जोड्ने सडकको मार्ग खोल्ने कार्यलाई प्राथमिकता दिएका छौं ।’ यस वर्षपनि मरेनी जलजला ढोरपाटन जोड्ने सडकका लागि सङ्घीय सरकारबाट रु. छ करोड ६० लाख विनियोजन भएको छ । ढोरपाटन उपत्यकादेखि छेन्तुङ, गुर्जाघाट हुँदै जलजलासम्म २२ किलोमिटर सडकको मार्ग खुलिसकेको छ । यो सडकमा पर्ने विभिन्न ठाउँका खोलाहरुमा कजवे, कल्भर्ट र मोटरेबल पुल बनाउन आवश्यक छ । ढोरपाटनदेखि पूर्वी रुकुम सडकले जोडिन नौ किलोमिटर मात्र बाँकी छ । म्याग्दी, ढोरपाटन र पूर्वी रुकुम सडकले जोडिएमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्छ । बागलुङ हुँदै पूर्वी रुकुम पुग्नुभन्दा म्याग्दीबाट जाँदा ६५ किलोमिटर छोटो पर्ने धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । ढोरपाटनलाई सडक सञ्जालसँग जोड्ने र स्तरोन्नति गर्ने योजनालाई म्याग्दीका सबै राजनीतिक दल तथा सरोकारवालाहरुले प्राथमिकता दिएका छन् । गण्डकी प्रदेश सरकारले बेनी–दरवाङ सडक स्तरोन्नतिलाई पूर्णता दिने र दरवाङदेखि धारापानी ताकम मुना जोड्ने सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिएको पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बताए । उनका अनुसार धारापानीदेखि शिवाङ जोड्ने चार किलोमिटर सडक स्तरोन्नतिका लागि यस वर्ष रु २५ करोड विनियोजन भएको छ । दरवाङ धारपानी र शिवाङ– मुना सडक कालोपत्र गर्ने लक्ष्यसहित यसै वर्ष सङ्घीय र प्रदेश सरकारको साझेदारीमा कार्यान्वयन हुनेगरी रु एक अर्बको आयोजना भित्रिएको छ । बेनीदेखि मुनासम्मको सडक कालोपत्र र मुना खोरीया जलजला हुँदै ढोरपाटन सडकले जोड्न सकिएमा पोखरा, काठमाडौँका पर्यटक तथा रुकुम, जाजरकोटका बासिन्दालाई ढोरपाटन भित्र्यउन र आवतजावत गराउन सकिन्छ । यसबाट म्याग्दीको पश्चिमी क्षेत्रको समग्र विकासमा टेवा पुग्ने र आर्थिक समृद्धि हासिल हुने अपेक्षा गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजना निर्माणका क्रममा क्षति भएकालाई क्षतिपूर्ति दिइने

तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको ड्याम निर्माणका लागि काटिएको स्लोप । तस्बिर : मिला दरै/रासस दमौली । तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको चरण–१ अन्तर्गत संरचना निर्माणका लागि विस्फोट गर्दा सो आसपासका घर तथा भौतिक संरचनामा पुगेको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति वितरण गर्न लागिएको हो । क्षतिको असर र मूल्याङ्कन गरी क्षतिपूर्ति रकम सिफारिस गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको संयोजकत्वमा गठित उपसमितिको बैठक सम्पन्न भएसँगै सङ्कलन भएका विवरणअनुसार मूल्याङ्कन थालिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । बैठकमा निर्माणका कारण ऋषिङ गाउँपालिका–१ का ९८ परिवार र व्यास नगरपालिका–५ बेतेनीका २० गरी ११८ परिवारका घर तथा संरचनाको मूल्याङ्कन गरी तयार गरिएको प्रतिवेदनमाथि छलफल गरिएको भण्डारीले बताए । उनले भने, ‘मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिई क्षतिपूर्ति निर्धारण समितिसमक्ष पेस गर्ने निर्णय भएको छ ।’ यसैबीच, आयोजनाको बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रमा पर्ने ऋषिङ–१ लोक्माका बासिन्दासँग परामर्श बैठक गरिएको छ । लोक्मावासीलाई दमौली क्षेत्रमा आवतजावत गर्न सहजीकरण गर्ने उद्देश्यले गरिएको परामर्श बैठकमा बाँध निर्माणस्थल क्षेत्रबाट सुरक्षित रूपमा आवतजावत गर्न विभिन्न विकल्पमा छलफल गरिएको भण्डारीले जानकारी दिए । उनले भने, ‘दैनिक रूपमा आवतजावतका लागि स्थानीयवासीले बाँध निर्माणस्थलको बायाँतर्फ व्यवस्था गरिएको सटल ट्रकको प्रयोग गर्ने सहमति भएको छ । निर्माण व्यवसायी सोङ्दा कालिकाले सटल ट्रकको व्यवस्था गरेर सुरक्षा मापदण्डहरू पूर्ण रुपमा पालना गरी स्थानीयलाई समूहगत रूपमा हरेक दिन बिहान ८ बजे, ११ बजे, दिउँसो १ः३० बजे, ३ बजे, साँझ ५ बजे र साँझ ७ बजे आवतजावत गराउने सहमति भएको छ ।’

ठूला लगानीकर्ताको नियन्त्रणमा सेयर बजार

काठमाडौं । नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरूले आफू अनकूल चलाउन खोज्दा सेयर बजारमा निरन्तर गिरावट देखिएको छ ।नयाँ सत्ता समीकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै २ हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा ३० हजार अंक माथि पुगेको थियो । यसरी केही समय उचाइ लिएको पुँजीबजार निरन्तर ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरेको छ । पुँजीबजारप्रति सकारात्मक भएको सरकार एवं अर्थमन्त्री र राष्ट्र बैंकले समेत पुँजीबजारमैत्री मौद्रिक नीति ल्याएपनि बजारमा देखिएको सुधार क्षणिक बन्न पुगेको छ । ३ हजारमाथि पुगेको पुँजीबजार २५ सय अंकमा झरेसँगै अर्थमन्त्री आफैले पुँजीबजार सुधारको लागि नेप्से लगायतका निकायमा पुगेर निर्देशनसमेत दिँदै आएका छन् । तर, पनि बजारले सुधारको गति लिन सकेको छैन । अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुगेर गरेको अनुगमनसँगै बिहीवार उच्च अंकको सुधार देखिएको थियो । तर, पनि पुँजीबजारले गति लिन सकेको छैन । गत असार १६ गते २०३७.०९ बिन्दुबाट ९६३.७२ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको बजार अहिले निरन्तर ओरालो लागिरहेको छ । बजार लगातार न्यून बिन्दुतर्फ झर्नुको पछाडि नीतिगत र सरकारको कारणभन्दा पनि लगानीकर्ताको कारण देखिएको छ । बजार घटबढ हुनु पुँजीबजारको सुन्दर पक्ष हो तर हदभन्दा पनि दल जानु ठूला लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउनु खोजेको देखिन्छ । २ हजार अंकको शेयर बजार ३ हजार माथि पुग्नुलाई अधिकांश लगानीकर्ताले पुँजीबजार करेक्शनपछिको बाउन्सको रूपमा लिएका थिए । सरकारले नीतिगत सुधार र बजारलाई पारदर्शी रूपमा लैजानसके पुँजीबजार सुधारको बाटोमा जाने देखिन्छ । पछिल्लो समय पुँजीबजारमा देखिएको गिरावट लगानीकर्ताको अस्थिरताको कारण भएको लगानीकर्ताहरूले समेत स्वीकार गरेका छन् । पुँजीबजार लगानीकर्ताहरूले बजारलाई स्वतःस्फूर्तभन्दा पनि लगानीकर्ता अनकूल चलाउन खोज्दा बजारमा असर परेको कुरामा लगानीकर्ता समेत सहमत देखिएका छन् । पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला, पुराना र अनुभवी लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउँदा पुँजीबजार सुधार हुन नसकेको बताइन् । उनले बजारलाई स्वतन्त्र छोड्नुपर्ने भएपनि बजारलाई ठूला लगानीकर्ताले नियन्त्रणमा लिन खाजेको आरोप लगाइन् । अध्यक्ष पोखरलेले शेयर बजार सानो कुराले पनि दीर्घकालिन असर पर्ने गरेको भन्दै लगानीकर्ता अनुकूल चलाउने प्रयासले बजार माथि जान नसकेको बताइन् । उनले नेपालको पुँजीबजार आर्थिक सूचकांकले भन्दा पनि राजनीतिक इण्डिकेटरले चलाइरहेको दावी गरिन् । उनले पुँजीबजार सुधार हुन नसक्नु लगानीकर्ता नै दोषी रहेको बताइन् । उनले पछिल्लो समय सानादेखि ठूला लगानीकर्ता समेत सेयर बजारका लगानीकर्ताभन्दा पनि व्यापारी बन्न खोज्दा बजार समस्यामा पुगेको बताइन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पाेखरेलले बजार बढेको समयमा ब्रोकरलाई भुक्तानी नगरी ठूला लगानीकर्ताले नाफा कमाएको आरोप लगाइन् । उनले त्यही समयमा बजारमा गिरावट आउँदा ब्रोकरलाई व्यवस्थापनमा समस्या हुँदा बजारमा कारोबार रकम कम र अंक दुवैमा गिरावट आएको बताइन् । सरकारले पुँजीबजार सुधारको लागि अझै थप नीतिगत सुधार गर्न जरुरी रहेको उनकाे भनाइ छ । स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले पनि सेयर बजारमा लगानी गरेपछि कमाउनको लागि धैर्यता आवश्यक रहेको बताए । उनले पछिल्लो समय लगानीकर्तामा पुँजीबजारमा लगानी गरेपछि कति समयको लागि लगानी गर्ने, कति समय धैर्य गर्ने भन्ने दीर्घकालीन योजना बिना लगानी गर्दा बजारमा समस्या देखिएको बताए । पूर्वअध्यक्ष रेग्मीले लगानीकर्ताहरूले लगानी गर्ने बित्तिकै तत्काल रिटर्न खोज्न थालेकाले बजार दीर्घकालीन रूपमा सुधार हुन नसकेको उल्लेख गरिन् । उनले शेयर बजारमा गरेको लगानी बैंकमा पैसा राखेर आजको भोलि ब्याज आउने जस्तो सोच राख्न नहुने बताए । पूर्वअध्यक्ष रेग्मीले दुई ठूला राजनीतिक पार्टी मिलेर सरकार बन्दा बजारमा सुधार देखिएको भएपनि आश्वसनले मात्रै बजार सुधार नहुने बताए । उनले सरकारले थप नीतिगत र प्राविधिक सुधार गर्दै जाने हो भने नेपाली पुँजीबजारको भविष्य राम्रो रहेको जानकारी दिए । यता शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेलले पनि बजार तल आउनुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु रहेको बताए । उनले बजार करेक्शन हुनु राम्रो भएपनि अहिलेको स्थितिमा आउनु राम्रो नभएको जानकारी दिए । उनले पछिल्लो समय बजारमा शेयर बेच्ने लगानीकर्ताहरुले अफवाह फैल्याउने खालका कार्यले बजार तल झरेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले बजार अनुकूल लगानीकर्ता चल्नुपर्ने भए पनि बजारलाई लगानीकर्ताले आफू अनकूल चलाउन खोज्दा सेयर बजार प्रभावित भएको बताए । पुँजीबजारमा पछिल्लो बढाइमा एक चरणको करेक्शन साइकल पूरा भएको छ । करेक्शनले बजार बढ्ने आधार थप मजबुत बनाउँछ । तर बजार बाउन्स ब्याक भएको रूपमा लिनेभन्दा पनि लगानीकर्ताहरू विभिन्न अफवाह फैल्याउने र आफू अनकूल बजार बनाउन खोज्नु दुःखद् पक्ष हो । पुँजीबजारको सुधार ठूला लगानीकर्ताले साना लगानीकर्तालाई भ्रम फैल्याएर भन्दा पनि दीर्घकालिन लगानीका साथ बजार प्रवेश गराउन जरुरी रहेको छ । अहिले सानोतिनो नाफा भएपनि बुक गरेर चाडपर्वको खर्च निकालौं भन्ने मानसिकतामा लगानीकर्ताहरू देखिएका छन् । याे पनि पढ्नूहाेस् : विष्णुको विवेक र सेयर बजारमाथिको छेडखानी

स्मार्ट च्वाइस टेक्नोलोजिजको सीईओमा घिमिरे नियुक्त, बैंकिङ अनुभव १५ वर्षको

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज घिमिरे नियुक्त भएका छन् । सीईओ घिमिरेले बिहीबारमात्रै कम्पनीका अध्यक्ष रविनकुमार नेपालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बैंक अफ एशिया (हालको एनआईसी एशिया बैंक) बाट आफ्नो बैकिङ करिअर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिसकाे रूपमा कार्यरत थिए । बैंकिङ तथा डिजिटल भुक्तानी (कार्ड, क्युआर मोबाइल बैंकिङ) इत्यादिमा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए । विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आइरहेकाे छ ।