विकासन्युज

शोधनान्तर स्थिति पौने ४१ अर्बले बचतमा, विदेशी लगानी घट्यो

काठमाडौं । कुनै समय घाटामा रहेको चालु खाता एवम् शोधनान्तर स्थिति पछिल्लो समय बलियो बन्दै गएको छ । नेपाल राष्ट्रका अनुसार गत साउनसम्म चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) २ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ ।

महँगी ४५ प्रतिशत घट्दा बागमतीमा सस्तो, सुदूरपश्चिममा अचाक्ली महँगी

काठमाडौं । २०८१ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मुद्रास्फिति ४.१० प्रतिशत कामय भएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । यो आधारमा एक वर्षको अवधिमा महँगी ४५.४७ प्रतिशतले घटेको बुझ्न सकिन्छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.२८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.०३ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत, मधेश प्रदेशको ४.१७ प्रतिशत, बागमती प्रदेशको ३.४९ प्रतिशत, गण्डकी प्रदेशको ३.९० प्रतिशत, लुम्बिनी प्रदेशको ३.८१ प्रतिशत, कर्णाली प्रदेशको ३.४६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६९ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत, तराईको ४.४९ प्रतिशत, पहाडको ३.६७ प्रतिशत र हिमालको ४.५३ प्रतिशत रहेको छ । २०८० साउन महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५० प्रतिशत, ६.७० प्रतिशत, ७.५० प्रतिशत र ११.४६ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति २०८१ साउन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.५१ प्रतिशत, ५.१८ प्रतिशत र २.०८ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२१ प्रतिशतले घटेको छ ।

२१ खर्ब पुग्यो विदेशी मुद्रा, १६.७ महिनाको आयात धान्ने

काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा बाह्य क्षेत्रकाे ठूलो सुधार भएको देखिन्छ । विदेशिने युवा विद्यार्थी र वैदेशिक रोजगारीमा गएका नेपालीहरूले धमाधम विदेशबाट रेमिट्यान्स पठाउँदा विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार गत साउनसम्म विदेशी मुद्रा सञ्चिति २१ खर्ब रुपैयाँ पुगेको छ । जबकि असारसम्म २० खर्ब ४१ अर्ब १० रुपैयाँ मात्रै विदेशी मुद्रा सञ्चिति थियो । साउनसम्म कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशत बढेर २० अर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २ महिनामा २.० प्रतिशत बढेर ५ अर्ब ५८ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड सञ्चिति थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो । साउनसम्म १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा साउनमा ८.४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । साउनसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन् । असारमा यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

१ खर्ब ३६ अर्ब आयो रेमिट्यान्स, पहिलो महिनामै १८ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड रपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।

गाउँमा मिल, सहरमा परम्परागत पानी घट्ट !

कर्णाली । पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान हो भन्दा फरक नपर्ला । फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै हुन्छन् । सहरमा नवीन सोच, प्रविधि र शैली प्रयोग हुँदै जाँदा गाउँले आफ्नै मौलिकता अङ्गालेको देखिन्छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर पनि प्रदेशकै एक मात्र सहरका रुपमा परिचित र सम्पन्न नगरपालिका हो जो उपमहानगरोन्मुख अवस्थामा छ । दश जिल्लाका सदरमुकामहरु सहरोन्मुख अवस्थामा छन् । पालिकाका केन्द्रहरू बजारमा रुपान्तरण हुँदैछन् । क्रमिक रुपमा हुँदै गएको विकासले हाम्रा परम्परागत संरचना, अभ्यास र काम गर्ने शैलीमा पनि बदलाव आएको छ । यही बदलावको समयमा पनि राजधानी सहर वीरेन्द्रनगरमा परम्परागत प्रविधि र अभ्यासको पुनरावृत्ति भएको छ । गाउँमा हराउँदै गएको परम्परागत पानी घट्ट वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित सहिद पार्कको मूलढोका नजिक सञ्चालनमा छ । यो देख्ने धेरैले अनौठो मान्दै प्रश्न गर्ने गर्छन्, ‘ओहो ! यहाँ पनि पानी घट्ट !’ कसले चलाएको हो ? घट्टमा अन्न पिस्न मान्छेहरु आउँछन् र ? कहिलेदेखि घट्ट सञ्चालनमा आएको हो ? छिटोछरितो हुने मिलमा नपिसेर किन मान्छेहरु पानी घट्ट धाइरहेका छन् ? अचेल गाउँका मान्छे कोदो, मकै, गहुँलगायत परम्परागत अन्न पिस्न मिलमा जाने गर्छन् । उनीहरू त्यसैमा बढी आकर्षित छन् । यद्यपि त्यही रैथाने अन्न पिस्नका लागि सहरका मान्छेहरुको आकर्षण पानी घट्टमा छ । ठीक उल्टो छ । मिलमा जाने रोजगारविहीन गाउँका नागरिक पैसा तिरेर अन्न पिस्छन् तर रोजगारी तथा प्रतिव्यक्ति आय राम्रै भएका सहरका नागरिकहरु पैसा होइन, चार भाग अन्न पिसेमा सम्बन्धित घट्ट धनीलाई एक भाग पीठो दिएर फर्कछन् । घट्टमा पिसेको खाद्य वस्तु स्वादिलो, खँदिलो र शरीरका लागि हितकर हुने भएकाले मान्छेहरुको आकर्षण यसतर्फ बढ्दै गएको मार्सी होटल सुर्खेतका सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिए । ‘सुर्खेतमा परम्परागत पानी घट्ट थियो भन्ने मलाई यसअघि थाहा थिएन,’ उनले भने, ‘जब थाहा पाएँ, त्यसपछिका दिनहरुमा मैले कोदो, जौ, गहुँ र मकै पिस्न यही ल्याउँछु । मेरो होटलमा आउने आन्तरिक र बाह्य पाहुनाहरुलाई निरन्तर अग्र्यानिक खाना खुवाउने गरेको छु ।’ उनका अनुसार परम्परागत घट्टमा पिसेर आगोमा पकाएको खाना मानव स्वास्थ्यका लागि निकै लाभदायक हुने भएकाले पनि अहिले मान्छेहरुले त्यसरी बनाएको भोजन खोजिरहेका छन् । सहरमा बनाएका भड्किला र पूर्वतयारी एवं पत्रु खानाले अस्वस्थकर दिनचर्या बढ्नाका साथै मान्छेहरु नसर्ने रोगले बढी थलिन थालेका छन् । तर पानी घट्टमा पिसेको अन्नबाट बनेका परिकार अग्र्यानिक, पोषिलो र मानव उपयोगी हुने धेरैको भनाइ रहेको छ । गाउँले एकातिर आफ्नो कामको भार कम गर्न चाहन्छ भने अर्कोतिर प्रकृतिप्रदत्त वस्तु मानव जीवनका लागि कति हितकर भन्नेप्रति महत्व दिएको पाइँदैन । त्यसको पहिलो कारण गाउँ आफूले उत्पादन गर्ने वस्तु उपभोगबाट हुने किफायतीबारे सचेत छैन भने दोस्रो कारण हो गरिबी । गरिबीका कारण उनीहरुलाई भिटामिन, प्रोटिन, कार्बोहाइड्रेड, आइरन, मिनरल्सलगायत सबै मिलेको क्यालोरीयुक्त भोजनभन्दा पेट भर्न पाए हुन्थ्यो भन्ने छ । यसले गर्दा आयातीत र त्यसमा पनि सस्तो चीज किनेर उपभोग गर्छन् भने आफूले उत्पादन गरेका औषधीय गुणयुक्त जैविक उत्पादन बेच्ने गर्छन् । कम उत्पादनमा बढी मूल्य पाउनमै उनीहरु आफूमा खुसी र सन्तुष्टि मिलेको महसुस गर्दछन् । यसो हुनुमा गाउँले आधुनिक विकासले मानव जीवनशैलीलाई सरल बनाएको अनुभूति गरेको तर मानव अस्तित्वमाथि संकट र चुनौती थपिरहेको मननयोग्य कुरा नबुझेको मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख तथा जलवायु परिवर्तनसम्बन्धीविज्ञ खगेन्द्र अधिकारीले जानकारी दिए । परम्परारगत घट्ट हराउँदै जानुमा हिमालमा पानीको स्रोत घट्नु र विपद् कारण भएको उनले बताए । ‘घट्ट परम्परागत प्रविधि मात्र होइन, वातावरण संरक्षणको एउटा राम्रो उपयोग र आधार दुवै हो,’ विज्ञ अधिकारीले भने, ‘परम्परागत प्रविधिको अस्तित्व काय रहिराख्नु भनेकै वन, वातावरण, वन्यजन्तु र पानीका स्रोतहरुको संरक्षण हो । मानव अस्तित्वको रक्षा गर्नु हो । जलवायु परिवर्तन रोकथाममा सहयोग पुर्याउनु हो । यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रगाढ बनाउन सघाउँछ ।’ पानी घट्ट वातावरण संरक्षणमैत्री भएकोले यसको संरक्षण तथा प्रवद्र्धन हुनुपर्ने बताउँदै उनले बरु यसलाई सुधारिएको घट्ट अर्थात आधुनिकीकरण गर्न सकिने प्रतिक्रिया दिए । डिजेल, पेट्रोलको खर्च, घटाउने र त्यहीँबाट बिजुली निकाल्न सकिने भएकाले परम्परागत घट्ट सञ्चालन प्रविधि तथा त्यसबाट प्रशोधन हुने खाद्य पदार्थ मानव स्वास्थ्यका लागि हितकर हुने हुँदा पछिल्लो समयमा आफ्ना अन्न बाली पिस्न डिजेल मिलमा भन्दा घट्टमा जानेको आकर्षण बढ्दो रहेको उनको भनाइ छ । गाउँमा पानी घट्ट खोज्नुपर्ने परिस्थितिमा सहरमा घट्ट पाउनुलाई दुर्लभ कुरा नै मान्न सकिन्छ । सडक पूर्वाधार जोडिएसँगै पछिल्लो समयमा हिमाली तथा पहाडी भेकमा परम्परागत पानी घट्टहरु हराउँदै गएका छन् । सडकसँगै बिजुली जोडिएपछि त्यहाँका स्थानीयहरू आधुनिक मिलमा आफूले उत्पादन गरेका अन्नबाली पिस्दै आएका छन् । हिजो खोला किनारमा निर्मित परम्परागत घट्टहरु कताकतैबाहेक आजभोलि देखिन छोडेका छन् । धेरै घट्टहरु बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण भत्किएका छन् भने गाउँगाउँमा विद्युत् सेवा विस्तारसँगै विद्युत् र कतै डिजेलबाट मिलहरु सञ्चालन हुन थालेपछि परम्परागत पानी घट्ट विस्थापित हुँदै गएका छन् । घट्ट धनी तिलाराम चालिसेले पानी नियमित नहुँदा बाह्रै महिना सेवा दिन नसकिएको बताउँछन् । ‘मान्छेहरु कोदो, मकै, गहुँ, जौ र भटमास लिएर अन्न पिस्न आइरहन्छन्,’ चालिसेले भने, ‘भदौ र असोज महिनामा अति घुइँचो हुन्छ । घट्टमा पिसेको अन्नको पीठो राम्रो हुन्छ भनेर स्थानीयहरु यहाँ आइराख्छन् ।’ यहाँ आउनेहरुले रैथाने अन्न ल्याएर पिस्न आउने गरेको उनले जनाए । स्थानीय ललिता रिजालले घट्टमा पिसेको खाँदा जस्तो अरूमा स्वाद नमिल्ने गरेको बताए । उनले भने, ‘घट्टमा पिसेको पीठोको स्वादजस्तो राम्रो अरुमा तयार गरिएको कुनै पनि हुँदैन । मिलमा पिसेको स्वादरहित हुन्छ । हामीले पानी घट्टमा अन्न पिसेर दाउरा भएसम्म आगोमा नै पकाएर खाँदै आएका छौँ ।’ यसरी खाँदा खाना स्वादिलो, खँदिलो र पाचनयोग्य हुने गरेको रिजालले जनाए । कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य हिजोको पुस्ताले प्रयोग गर्ने प्रविधिहरु मानवमैत्री भएको जिकिर गर्छन् । प्रकृतिको काखमा बसेर त्यसले प्रदान गरेका चीजको सदुपयोग गरी साझा प्रयासबाट गरिने उतिबेलाका कर्मले मौलिकता, मान्छेहरूको बीचको सम्बन्ध, आयु र आरोग्य सबै सन्तुलन कायम राखेको उनले बताए । ‘मानव निर्मिति साधन, उपकरण र संरचनाले कामको बोझ घटाएको छ,’ आचार्यले भने, ‘तर प्रकृति विरुद्धका कार्यहरुले मानव अस्तित्व त्यत्तिकै खतरामा पुगेको छ । आधुनिकताको अनुसरण गर्दै गरेको भन्दा यसको चरम स्वाद लिएको हरेक मान्छे र देश अब प्रकृतितर्फ फर्कनुको विकल्प छैन भन्ने निष्कर्षमा पुग्न थालेका छन् ।’ जलवायु परिवर्तन अनुकूलनमा पानी घट्टको ठूलो महत्व रहेको उनको भनाइ छ । अन्न पिस्ने परम्परागत घट्ट, तेल पेल्ने कोल तथा दुनो, धान कुट्ने ढिकी, दाल पिस्ने जाँतोलगायतका पुराना प्रविधिहरु कम खर्चमा प्रयोगमा ल्याउन सकिने र त्यसबाट प्रशोधितले चिजले मानव स्वास्थ्य र प्रकृति संरक्षणमा ठूलो योगदान पुर्याउने भएकाले ती साधन र प्रविधिहरु उपयोगमा ल्याउनुपर्ने विज्ञहरुले सुझाउँदै आएका छन् । रासस

फोनलोनसँगको सहकार्यमा हाम्रो बजारले सुरु गर्यो ‘बाइ नाउ, पे लेटर’ फिचर

काठमाडौं । हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ । फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ। अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका ग्राहकले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्नेछन् । कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरूले किस्ताबन्दीको सुविधा आ-आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन् । हाम्रो बीएनपीएलमार्फत ग्राहकले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरूले भने डाउनपेमेन्ट बिना नै सुविधा उपभोग गर्न सक्छन् । हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरूले छनोट गर्न सक्छन् । आफूलाई आवश्यक परेको वा मन परेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआर कोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन् । फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले बीएनपीएल भुक्तानीकाे माध्यममात्र नभइ नेपाली उपभोक्ताहरूका लागि इ-कमर्समा गेमचेन्जर फिचर भएकाे बताए । फोनलोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्यम हो । यसले योग्य प्रयोगकर्तालाई तत्काल, धितोविनै ऋण उपलब्ध गराउँछ । जसका लागि विभिन्न बैंकहरूसँग सहकार्य गरिरहेको छ । यसैगरी, हाम्रो बजार नेपालको सबैभन्दा ठूलो मार्केटप्लेस हो । हाम्रो बजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन् ।

दशैंमा ग्यारो इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

काठमाडौं । ग्यारो इलेक्ट्रिक स्कुटरले दशैंलक्षित विशेष योजना सार्वजनिक गरेको छ । ग्यारोले दशैं अवसरमा फ्ल्यागशिप इलेक्ट्रिक स्कुटरमा १५ हजार रुपैयाँकाे छुट दिएकाे छ । ३ लाख ८९ हजार पर्ने स्कुटी अब ३ लाख ६५ हजार रुपैयाँ पाइने छ । ग्यारोले एक्सचेन्ज अफर पनि ल्याएकाे छ । आफ्नो पुरानो स्कुटर वा मोटरसाइकलसँग गरोका ब्रान्ड नयाँ इलेक्ट्रिक स्कुटी साट्न पाइनेछ । साथै स्कुटर खरिद गर्दा हेलमेट नि:शुल्क पाइनेछ । ग्राहकहरूले ५० प्रतिशत डाउन पेमेन्ट गरी स्कुटी खरिद गर्न पाउनेछन् । यो अफर नेपालभरका सबै अधिकृत ग्यारो डिलरमा उपलब्ध छ । अफरबारे विस्तृत जानकारी वेबसाइटमा उपलब्ध छ । ग्यारो स्कुटरले एक पटक चार्ज गरेपछि ३५० किमी रेन्ज दिने बताइएकाे छ । क्लासिक व्हील्स एक्सपोर्ट एण्ड इम्पोर्टले नेपालमा ग्यारो स्कुटर भित्राएकाे हाे ।

जिओमेटले दशैं अफरमा एक हजार रात्रिबसलाई निःशुल्क जीपीएस उपकरण दिने

काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ बनाउन जिओमेटले दशैं पर्वलाई लक्षित गरी लामो दूरीका रात्रिबसमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने भएकाे छ । यस योजनाअन्तर्गत ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा एक हजार वटा लामो दूरीका रात्रिबसमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए । संस्थापक गैरेले जीपीएस उपकरण बस सञ्चालकहरूका लागि वितरण गर्न लागेकाे जानकारी दिए । ‘जीपीएस उपकरण बस सञ्चालकहरूका लागि हो, जसले बसको हरेक गतिविधि ट्र्याक गर्न मद्दत पुर्‍याउनेछ,’ उनले भने । जियोमेटको जीपीएस प्रणाली मुख्यतः बस सञ्चालकहरूको लागि उपयोगी छ। यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न सहयोग गर्छ । साथै, बस सञ्चालकहरूले जहाँबाट पनि मोबाइल वा कम्प्युटरमार्फत आफ्ना बसकाे अवस्थिति हेर्न सक्छन् ।