विकासन्युज

खिम्ती-लामोसाँघु प्रसारण लाइन सञ्चालनमा ल्याइँदै, इआरएस टावर जडान

काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुन:स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको छ । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ । खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत आयोजनाहरुको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ । भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएको छ, त्यसैले इआरएस संरचनाको प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो ।’ उनले अहिले इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने उल्लेख गरे । प्राधिकरणले आफैसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इआरएस टावर जडान गरिसकिएको छ । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकबाट इआरएस टावर राख्न सुरु गरिएको थियो । टावर जडान सकेर तार तान्न सुरु गर्न लाग्दा फेरि दोलखाका स्थानीयले अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा उनीहरूसँग आइतबार सहमति जुटेको छ । अब तार तान्न सुरु गरिने छ । यसका लागि करिब ४ दिन लाग्ने प्राधिकरण खिम्ती ग्रिड शाखाका प्रमुख मनोज साहले जानकारी दिए ।

क्रान्तिपछिका विरोधले बंगलादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा

काठमाडौं । उद्योग नेताहरूले आइतबार भने कि मुलुकको निरंकुश प्रधानमन्त्रीलाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछिको अशान्तिका कारण बंगलादेशको महत्त्वपूर्ण पोशाक उद्योगले ४४० करोड डलर गुमाएको उद्योग नेताहरूले आइतबार बताएका छन् । उनीहरूले अहिले स्थिति ‘स्थिर’ भएकोमा जोड दिए । मुलुकका तीन हजार पाँच सय पोशाक कारखानाले वार्षिक ५५ अरब डलर निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगट्छन् तर अशान्तिले यस मुख्य उद्योगमा उल्लेखनीय अवरोध पुर्यायो । महिनौँको घातक विरोधपछि पूर्वप्रधानमन्त्री शेख हसिना अगस्ट ५ मा हेलिकोप्टरबाट छिमेकी भारततर्फ भागिन् । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकारले पदभार सम्हाले पनि कामदारहरूले रोजगारी र राम्रो तलबको माग गर्दै पोशाक कारखानाहरूमा विरोध जारी राखे । यस्ता प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन्थे । सेप्टेम्बर ३० मा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा एक पोशाक कामदारको मृत्यु भयो र २० जना घाइते भए । बंगलादेश गार्मेन्ट्स एन्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेशनकी अध्यक्ष कल्पना अख्तरले आइतबार कारखाना मालिकहरू र सरकारको ‘दृष्टिकोणमा आमूल परिवर्तन’ हुनुपर्ने बताइन् । ‘कामदारहरू सडकमा उत्रिँदा मात्र तलब वृद्धिको बारेमा छलफल हुन्छ’, अख्तरले भनिन्, ‘यस क्षेत्रमा स्थिरता सुनिश्चित गर्न परिवर्तनहरू आवश्यक छन्, अन्यथा, शान्त स्थिति धेरै समय नरहन सक्छ ।’ बंगलादेश मूल्यका आधारमा चीनपछि विश्वको दोस्रो सबैभन्दा ठूलो कपडा निर्यातकर्ता मुलुक हो र यस मुलुकले लिभाइस, जारा र एच एण्ड एम जस्ता विश्वका धेरै शीर्ष ब्रान्डहरूलाई आपूर्ति गर्छ । बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनका अध्यक्ष खन्दकर रफिकुल इस्लामले भने, ‘एउटा चुनौतीपूर्ण अवधिबाट गुज्रिएपछि उद्योग हाल स्थिर छ ।’ शनिबार पत्रकारहरूसँग उनले अगस्टदेखिको कूल घाटा करिब ४० करोड डलर रहेको अनुमान गर्दै सुरक्षा बलहरूले उद्योगको संरक्षण जारी राख्नु आवश्यक रहेको बताए । ‘सेनाले कारखानाहरूको सुरक्षाका लागि कार्यदल गठन गरेको छ र उनीहरूले पोशाक केन्द्रहरूमा सुरक्षा सुनिश्चित गर्न नियमित गस्ती गरिरहेका छन्’, उनले भने, ‘खरीदकर्ताहरूले बंगलादेशी पोशाकमा आफ्नो विश्वास पुनः प्राप्त गरेका छन्, तर स्थिरता कायम राख्न निरन्तर कानून र व्यवस्था आवश्यक छ ।’ रासस

दुई महिनामै यी पाँच बैंकको अर्ब बढी नाफा, कुन-कुन बैंक खस्किए ?

काठमाडौं । वाणिज्य बैंकले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले साउन र भदौमा सो नाफा गरेका हुन् । यो अवधिमा सबैभन्दा बढी नाफा गर्ने नबिल बैंक रहेको छ भने दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । नबिलले दुई महिनाको अवधिमा १ अर्ब ६६ करोड, ग्लोबल आइएमईले १ अर्ब ५६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४१ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, कुमारी बैंकले यो अवधिमा १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । ५ वटा बैंकले दुई महिनामा एक अर्ब बढी नाफा गरेका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार प्राइम कमर्सियल बैंकले ९७ करोड, प्रभुले ९१ करोड, कृषि विकासले ८८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड, लक्ष्मी सनराइजले ८६ करोड, एभरेष्टले ८२ करोड र एनएमबिले ७८ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, सानिमा बैंकले ६८ करोड, नेपाल बैंकले ६७ करोड, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड, सिद्धार्थले ६० करोड, सिटिजन्सले ५८ करोड, एनआईसी एसियाले ५७ करोड, नेपाल एसबिआईले ५३ करोड र माछापुच्छ्रे बैंकले ३९ करोड रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय समिति गठन गर्ने मन्त्रिपरिषदकाे निर्णय

काठमाडौं । सरकारले नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिए। सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाकाे संयाेजकत्वमा समिति गठन भएकाे हाे । समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेका छन् । यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू  [pdf id=517891]  

लामिछाने पक्राउ विरुद्धको आन्दोलनले सेयर बजारमा गिरावट, ८ अर्ब बढीको कारोबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि देशभर आन्दोलन चर्किँदा त्यसको प्रभाव पुँजी बजारमा परेको छ । दशैंपछि निरन्तर उकालो लागेको पुँजी बजार आज भने भारी अंकले गिरावट आएको लगानीकर्ताहरू बताउँछन् । लामिछाने पक्राउ पर्नु पुँजी बजारसँग सम्बन्धित विषय नभएपनि लगानीकर्तामा भने त्यसको नकारात्मक प्रभाव रहेको लगानीकर्ताहरूको भनाइ छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७२ प्रतिशत अर्थात् ४७.४४ अंकले घटेर १ हजार ६९७.९१ अंकमा बन्द भएको छ । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि सेयर बजार राताम्य छाएको छ । आज दिनभरिमा ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार कित्ता सेयर ८८ हजार ७१४ पटक खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार २२६ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात् ९७.३० अंक घटेर ८७५.७० रुपैयाँमा झरेको छ । यस्तै, गुडविल फाइनान्सको ८.४१ प्रतिशत अर्थात् १००.९० रुपैयाँ घटेर १ हजार ९९ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । तर, आज १८ कम्पनीको सेयर मूल्य भने बढेको देखिन्छ । भारी अंकले गिरावट आएको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् २०९.९० रुपैयाँ बढेर २ हजार ३०८.९० रुपैयाँ पुगेको छ । यस्तै, न्यादी ग्रुप पावर कम्पनीको ९.८९ प्रतिशत अर्थात् ४७ रुपैयाँ बढेर ५२२ रुपैयाँ पुगेको छ । आज गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्याङ्क छ । आइतबार बैंकिङ समूह १.०२ प्रतिशत, विकास बैंक समूह २.३४ प्रतिशत, फाइनान्स समूह ४ प्रतिशत, होटल तथा पर्यटन समूह २.२३ प्रतिशत, जलविद्युत समूह २.१४ प्रतिशत, लगानी समूह १.८९ प्रतिशत, जीवन बीमा समूह २.४६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.०५ प्रतिशत, लघुवित्त समूह १.५२ प्रतिशत, निर्जीवन बीमा समूह १.५२ प्रतिशत, अन्य समूह १.५० प्रतिशत र व्यापार समूह १.८६ प्रतिशत घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।

दिगाे आवास भवन निर्माणका लागि ग्लोबल आइएमई र युनिभर्सिटी अफ इन्ज्ब्रकबीच भयो सम्झाैता

काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच समझदारी भएकाे छ । स्वीच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल (बीईईएन) प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरू प्रवर्धन गर्न समझदारी सम्पन्न भएको हाे । उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधि तथा प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरे । ग्लोबल आइमई बैंकले दिगो आवास प्रवर्द्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागू गर्दै आएको छ । बैंकका अनुसार यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्‍याउनेछ । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकसमेत हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन  आसपासका क्षेत्रमा आइतबार बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ । जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र ग्रैहापाटनको पालिखेचोकदेखि नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो । अर्को आदेश जारी नभएसम्म निषेधज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ । सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उनलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य, धेरै भ्रष्टाचार गर्ने व्यक्ति पनि उनै : लामिछाने

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् । आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उनको आरोप थियो । सभापति लामिछानेले ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको बताए । उनले सरकारबिरुद्ध देशभरबाट सबैजना आन्दोलनमा उत्रिन आह्वानसमेत गरे । उनले आफूलाई अदालतले न्याय दिनेमा ढुक्क रहेकाे दाबीसमेत गरे । उनले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने पनि बताए । सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको छ । रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।