कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण
NEB भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।
ब्रिटिश काउन्सिल नेपालद्वारा आईईएलटीएस पार्टनर समिटको आयोजना, को-को भए सम्मानित ?
काठमाडौं । ब्रिटिश काउन्सिल नेपालले आईईएलटीएस पार्टनर समिटको आयोजना गरेकाे छ । युवा नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र करिअर विकासका अवसरहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले समिटकाे आयोजना गरेकाे हाे । यस समिटले नेपालीहरूलाई विभिन्न विषयहरूमा अन्तर्राष्ट्रिय योग्यता हासिल गरेर नेपालमा शिक्षाका अवसरहरू अभिवृद्धि गर्ने प्रतिबद्धता ब्रिटिश काउन्सिलले गरेकाे छ । समिटमा अप्रिल २०२३ देखि मार्च २०२४ सम्म आईईएलटीएस परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरू सम्मानित पनि भएका छन् । ‘आईईएलटीएस उपहार अभियान’ को दोस्रो सिजन पनि सुरु भएकाे छ । यो अभियानमा प्रत्येक महिना एक विशेष बम्पर पुरस्कारसहित एप्पल म्याकबुक एयर पुरस्कार प्रदान गरिनेछ । बम्पर पुरस्कारमा टर्किस एयरलाइन्सद्वारा प्रायोजित संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका लागि दुई एकतर्फी टिकटहरू समावेश छन् । बम्पर पुरस्कारमा अष्ट्रेलियाको लागि एकतर्फी टिकट पनि समावेश छ, जुन टर्किस एयरलाइन्स बाहेक कुनै पनि एयरलाइन्सबाट प्राप्त गर्न सकिन्छ । यस अभियानमा सहभागी हुनको लागि ब्रिटिश काउन्सिलमा आईईएलटीएस बुक गर्न र भुक्तानी गर्न आवश्यक छ । यो अफर अक्टोबर २०२४ देखि सुरु हुने कुनै पनि परीक्षा मितिहरूको लागि २६ सेप्टेम्बर र ३० नोभेम्बरको बीचमा भुक्तानी गरिएका सबै पेपर र कम्प्युटर रेजिस्ट्रेसन आईईएलटीएसको लागि मान्य हुनेछ । कार्यक्रममा विभिन्न विधामा जम्मा २९ वटा पुरस्कारहरू प्रदान गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने संस्था इक्यान रहेकाे छ भने उत्कृष्ट प्रदर्शन गर्ने संस्था (प्लाटिनम पार्टनर) अर्बिट मेडिकल इन्ट्रान्स प्रालि रहेकाे बताइएकाे छ । कसले के पुरस्कार पायाे ? राइजिङ स्टार १. काठमाडौं एडवाइज फाउन्डेसन प्रालि २. काठमाडौं ग्लोसा प्रिपेटरी एकेडेमी प्रालि ३. काठमाडौं ओसियानिया एजुकेसन कन्सल्टेन्सी प्रालि ४. धरान सुमेधा एजुकेसन नेटवर्क प्रालि ५. पोखरा टाइम एकेडेमी प्रालि सिटी एक्सिलेन्स १. विराटनगर इडेन एकेडेमी कन्सल्टेन्सी प्रालि २. बिर्तामोड फास्ट ट्रेक एजुकेसन कन्सल्टेन्सी प्रालि ३. बुटवल ग्लोबल हब एजुकेसनल नेटवर्क ४. चितवन मेस्नफिल्ड इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी ५. हेटौंडा क्याम्ब्रिज एजुकेसन सेन्टर प्रालि ६. पोखरा मिरेकल ईन्स्टिच्युट प्रालि कास्य पदक १. ब्रिटिश अमेरिकन एजुकेयर प्रालि २. ग्रेस इन्टरनेसनल ग्रुप प्रालि ३. लेकहेड एजुकेसन प्रालि ४. मोटिफ एजुकेसन अब्रोड प्रालि ५. नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी प्रालि ६. ओली एण्ड एसोसियटस प्रालि ७. स्टडी स्क्वायर नेपाल प्रालि रजत पदक १. एइसीसी नेपाल २. एजुकेसन फर्स्ट ट्रेडिङ एज इडिएफ एडमिसन्स ३. केआइइसि लर्निङ सेन्टर प्रालि ४. माभेन कन्सल्टिङ ग्रुप ५. अर्बिट इन्टरनेसनल एजुकेसन प्रालि ६. राइटपाथ करियर काउन्सिलिङ प्रालि स्वर्ण पदक १. एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस २. आरटिसि ईंग्लिश ३. द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रालि विधा साझेदारको नाम टिनम पुरस्कार अर्बिट मेडिकल इन्ट्रान्स प्रालि सर्वश्रेष्ठ एसोसिएशन पुरस्कार एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल
सरकारले सय दिनमा सम्पन्न गर्यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुंगे पुल
काठमाडौं । सहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेका सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सहरी विकास मन्त्रालयले सय दिनमा ११ वटा लक्ष्य लिएकोमा १० वटा पूरा गरेको बताए । जसअनुसार सय दिनको अवधिमा ५० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको बताए । विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको बताए । प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको जानकारी दिए । जसअनुसार कालीकोटको तिलागुफा नगरपालिकामा ४० जना अट्ने, जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना, महोत्तरीको जलेश्वर नगरपालिकामा सय जना र सप्तरी तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने भनेअनुसार दुई वटा पूर्ण रुपमा सम्पन्न भएको र बाँकी दुई वटाको भवनहरु बनिसकेको र बाथरुमको केही मात्रै बाँकी रहेको जानकारी दिए । सय दिनको बीचमा सात वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने निर्णय गरेअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय भवन, सोलुखुम्बु, लुमरुपा आयुर्वेद औषधालय भवन, पाँचथर, डडेलधुरा उप क्षेत्रीय अस्पताल भवन, डडेलधुरा, इसिवु स्वास्थ्यचौकी भवन, तेह्रथुम, बाह्रेकटौरे स्वास्थ्य चौकी भवन, महालक्ष्मी नगरपालिका, धनकुटा, मूर्तिढुंगा स्वास्थ्यचौकी भवन महालक्ष्मी नगरपालिका, धनकुटा, थोक्लुङ स्वास्थ्यचौकी भवन गरी सात वटा सम्पन्न गरेको बताए । जाजरकोट र रुकुमपूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको लागि आयोजना कार्यान्वयन इकाई स्थापना गरी जनशक्ति खटाइएको बताए । भौतिक सुविधासहित कार्यालय प्रमुख गइसकेको जानकारी दिए । भैंसेपाटीमा निर्माणधीन मन्त्री आवास निर्माणका लागि सबै मन्त्रीलाई सार्ने भन्ने लक्ष्य लिएकोमा सो लक्ष्य पनि पूरा गरिसकेको बताए । दमक व्यापारिक कम्प्लेक्स र चितवनको सौरहा सभा हल निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए । सचिव गेलालले थापाथलीस्थित नेपाल राष्ट्र बैंक बैंकिङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा सम्पन्न गरी राष्ट्र बैंकलाई हस्तान्तरण गरिसकेको बताए । नेपालको सबैभन्दा लामो त्रिवेणी—सुस्ता बहुत्तरी झोलुंगे पुल निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा ल्याएको र गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन गर्ने कार्य निर्माणाधिन रहेको बताए । त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय अब छिटै हुने पनि जानकारी दिए ।
चर्कियो रास्वपाको आन्दोलन, सीडीओ कार्यालयले गर्यो निषेधाज्ञा
कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीले विरोध चर्काएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ भएका लामिछानेलाई रिहाइको माग गर्दै रास्वपाले पोखरालक्षित आन्दोलन चर्काएको हो । पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा पनि जारी गरेको छ । रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । ‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,’ सूचनामा भनिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रबाट रास्वपा नेता/कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
जेल बसाइँपछि मीनबहादुरमा पलाएको आँट र उदारता
असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास जग्गा प्रकरणमा पक्राउ परे । ७६ दिनसम्मको हिरासत बसाइँपछि २०८० भाद्र २४ गते जिल्ला अदालत काठमाडौँले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो र मीनबहादुर आफ्नै निवास फर्किए । हिरासतबाट छुटेको दुई सातापछि एक अनलाईनमा समाचार प्रकाशित भयो-‘मीनबहादुर गुरुङ निराश छन्, उनी व्यापार व्यवसायको काममा पनि सक्रिय छैनन् । बढी समय घर परिवारसँग बिताइरहेका छन् ।’ समाचारलाई पत्याउने केही आधार पनि थिए । ६६ वर्ष नाघेका मीनबहादुरमा बुढ्यौली लक्षण देखिने बेला भएकै थियो । अदालतले दोषी ठहर गरेपछि र प्रहरी हिरासतमा साढे दुई महिना बिताएपछि मनोवैज्ञानिक रुपमा गुरुङ कमजोर हुने आँकलन पनि धेरैले गरेका थिए । २०८० कात्तिक १७ गते राती जाजरकोट र रुकुम क्षेत्रमा गएको ठूलो भूकम्पले धेरै धनजनमा क्षति पुर्यायो । ती भूकम्प पीडितलाई राहत बाढ्न मीनबहादुर गुरुङ जुरुक्क उठे । पीडितहरुलाई सहयोग गर्न भन्दै १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको चेक बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगे र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेक हस्तान्तरण गरे । जाजरकोट भूकम्प पीडितलाई निजी क्षेत्रबाट पहिले र सबैभन्दा ठूलो सहयोग त्यही नै थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले गुरुङको प्रशंसा गरे । प्रचण्ड तिनै व्यक्ति र प्रधानमन्त्री हुन् जसले मीनबहादुरलाई ७६ दिन लामो हिरासत बसाएका थिए । सरकार प्रमुखको हैसिएतमा प्रचण्डले गुरुङलाई पत्थरले हानेका थिए । गुरुङले त्यसको बदला पुष्पगुच्छा दिए । मीनबहदुर गुरुङ २०८१ वैशाख २८ गते डा. भगवान कोइरालासँग एउटै फोटोमा देखिए । डा. कोइरालाको नेतृत्वमा बन्दै गरेको बाल अस्पतालका लागि गुरुङले ४१ करोड रुपैयाँ दान गरे । सुरुमा मीनबहादुरले २५ करोड दान दिने बचन दिएका रहेछन् तर दिने बेलामा ४१ करोड रुपैयाँ दिए । जटिल प्रकृतिको बाल रोगको उपचार गराउन डा कोइरालाले अस्पताल बनाउन देखाएको आँट र जोशमा गुरुङको उदारताले राम्रै प्रशंशा पायो । असोज ११ र १२ गतेको भिषण वर्षापछिको बाढीपहिरोले देशलाई फेरि ठूलो क्षति पुग्यो । सरकारले यो विपत्तिमा सहयोगको याचना गर्यो । यस्तो अवस्थामा मीनबहादुरले प्रधानमन्त्री राहत कोषमा बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरे । विभिन्न समयमा प्राकृतिक विपद् र मुलुकको मन दुखेको बेला मीनबहादुरले विशाल मुटु बनाउँछन् । सकेसम्मको आर्थिक सहयोग गर्छन् । उद्योगी व्यवसायीबाट आर्थिक सहयोग गर्ने अग्रपंतीमा मीनबहादुर उभिन्छन् । उनको दान यतिमा सीमित रहेन । उनले नेकपा एमालेको पार्टी कार्यालय बनाउन भन्दै किर्तिपुरमा रहेको १० रोपनी ११ आना जग्गा नै दिए । त्यतिमात्रै होइन पार्टी कार्यालय एकवर्ष भित्र निर्माण सम्पन्न गरिदिने समेत बचन दिए । तर, गुरुङको यो दान विवादमा तानिएको छ । ललिता निवासको मुद्दामा सरकारबाट सफाइ पाउन सत्ताको नेतृत्व गरिरहेको र आगामी दशकहरुमा पनि सत्ताको वरिपरि रहने आकलन गरिएको नेकपा एमालेलाई झण्डै एक अर्ब रुपैयाँ बराबरको दान दिएको भन्दै उनको आलोचना भइरहेको छ । गुरुङको भन्दा बढी आलोचना नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भइरहेको छ । मीनबहादुर गुरुङ अहिले मात्र दानी बनेका होइनन् । उनले त्रिभुवन विश्व विद्यालयल अन्तर्गतको शिक्षण अस्पतालमा ७२ वेड क्षमताको आकस्मिक उपकार केन्द्र पनि बनाइदिएका छन् । कोरोना महामारीको बेलामा उनले संघीय र प्रदेश सरकार मार्फत लाखौं रुपैयाँ आर्थिक सहयोग पनि गरेका थिए । गत वर्ष मात्र सरकारले सबैभन्दा बढी कर तिरेकोमा भाटभेटेनी सुपरमार्केटको तर्फबाट गुरुङलाई सम्मान गरेको थियो । दानमा मात्र होइन, व्यापारमा पनि गुरुङ चम्किएका छन् । हिरासतबाट निस्केपछि गुरुङले पोखरा, चितवन र ललितपुरमा गरी तीन स्थानमा भाटभटेनी सुपरमार्केटको शाखा निर्माण थालेका छन् । भाटभटेनीको व्यापार वार्षिक ३० अर्ब भन्दा बढीको छ । रिटेल विजनेशमा अब्बल सावित गुरुङले व्यवसायी उमेश श्रेष्ठसँगको साझेदारीमा हाल बन्द अवस्थामा रहेको दरवारमार्गको पाँचतारे अन्नपूणर् होटलको बहुमत सेयर किनेका छन् र त्यसमा ८ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् । उनले करिब १ अर्ब रुपैयाँ लगानीमा चितवनमा चिस्यान केन्द्र स्थापनाको कार्य पनि अगाडि बढाएका छन् । नेकपा एमालेलाई १० रोपनी जग्गा र केन्द्रीय कार्यालय बनाउने मीनबहादुरको निणर्य नेपाली समाजमा विवाद मुक्त हुनै सक्दैन । यो विषयमा मीनबहादुरसँग सौदावाजी गर्ने एमालेले ठूलो मूल्य चुकाउनु पर्नेछ । तर, हिरासतबाट निस्केपछि वृद्ध अवस्थामा मीन बहादुर गुरुङमा पलाएको आँट, त्याग र उदारता तारिफयोग्य छ ।
नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित
काठमाडौं । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकाको डलासमा आइतबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो । जितसँगै नेपालले शृङ्खलामा २-० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकामाथि १७ रनको जीत हासिल गरेको थियो । नेपालले अमेरिकालाई जीतका लागि एक सय ७१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७० रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए । त्यसपछि नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले तीन रन बनाउँदै सुपर ओभरमार्फत नेपाललाई जीत दिलाए । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याचसमेत बने । त्यस्तै, अनिलकुमार शाहले २५, गुल्शन झाले १७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई-दुई विकेट लिए भने सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए । अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए भने साइटेजा मुक्कामल्लले ४७ रनको योगदान गरे । नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिएका । नेपालले अमेरिकाविरुद्धको तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ ।
पञ्चकन्या स्टीलले पायो ग्रीनप्रो प्रमाणपत्र
काठमाडौं । पञ्चकन्या स्टीलको उत्पादन टीएमटी रिब्डबारले सीआईआई ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाणपत्र ग्रहण गरे । प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेपश्चात कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्त्वपूर्ण उपलब्धि भएकाे कम्पनीले जनाएकाे छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सीआईआई)–सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।
जीडीपीको ४४.२३ प्रतिशत पुग्यो सार्वजनिक ऋण, महिनामै २९ अर्ब ३६ करोड भुक्तानी
काठमाडौं । असोज महिनामा सार्वजनिक ऋण घटेको छ । भदौ महिनाको तुलनामा असोजमा ५ अर्ब ५८ करोड रुपैयाँ ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । भदौ मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँमा झरेको छ । जसमध्ये १२ खर्ब ३६ अर्ब ३० करोड आन्तरिक र १२ खर्ब ८६ अर्ब ७३ करोड बाह्य ऋण सरकारले तिर्न बाँकी छ । समग्रमा कुल ग्राहस्थ उत्पादनको ४४.२३ सार्वजनिक ऋण रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोजमा खास गरी विदेशी मुद्रा विनिमयमा आएको उताढचढावले गर्दा ऋण घटेको हो । असोजमा २९ अर्ब ३६ करोड रुपैयाँ ऋण सरकारले तिरेको छ । त्यसैगरी, ३२ अर्ब २६ करोड ऋण सरकारले प्राप्त गरेको छ । विदेशी विनिमय दर घटबढले असोजमा ८ अर्ब ४८ करोड रुपैयाँ नेपालको ऋण घटेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष राखेको छ । जसमध्ये असोज मसान्तसम्ममा १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ ऋण प्राप्ति गरेको छ । अर्थात वार्षिक लक्ष्यको २४.९२ प्रतिशत ऋण सरकारले परिचालन गरेको छ । जसमध्ये आन्तरिक तर्फ २३.८५ र वाह्य तर्फ ९.८९ प्रतिशत ऋण सरकारले परिचालन गरेको कार्यलयको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य राखेको थियो । जसमध्ये पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ सरकारले भुक्तानी गरेको छ । जुन कुल भुक्तानी लक्ष्यकाे २०.६२ प्रतिशत हो ।