विकासन्युज

बीमा प्राधिकरण र त्रिविबीच समझदारी, बीमासम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमासम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेलले आइतबार समझदारीपत्रमा हस्ताक्षर गरे । बीमा सम्बन्धी अनुसन्धान र स्वदेशमा दक्ष बीमाङ्कीय जनशक्ति उत्पादनमा सहयोग गर्ने उद्देश्यका भएको समझदारीको अवधि चार वर्षको रहेको छ । समझदारीपत्रमा प्राधिकरणले स्कुल अफ म्याथमेटिकल साइन्सका विद्यार्थीहरूको बीमाङ्कीय सीप विकासमा सहयोग गर्ने, हरेक वर्ष मेरिट बेसिसका आधारमा म्याथमेटिकल साइन्स (बीमाङ्की विज्ञान) का स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, स्रोत व्यक्ति उपलब्ध गराउने र बीमा बजारको आवश्यकताका आधारमा बीमाङ्की विज्ञानको पाठ्यक्रम परिमार्जन गर्न सहयोग गर्ने उल्लेख छ । यसैगरी, नेपालको बीमा बजार र अन्तर्राष्ट्रिय बीमा बजारको प्रवृत्तिलाई केन्द्रित गरी बीमासम्बन्धी अनुसन्धान तथा जोखिम मूल्याङ्कन र नेपाली बीमा बजारको आवश्यकताका आधारमा नयाँ बीमाङ्कीय नमूनाहरूको विकाससम्बन्धी अनुसन्धानमा साझेदारी गर्ने समझदारीपत्रमा उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) पनि उपस्थित थिए ।

सहकारी ठगी प्रकरण : सभापति लामिछानेमाथि अनुसन्धान गर्न अदालतले दियो ६ दिनको म्याद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत, कास्कीले प्रहरीलाई ६ दिनको म्याद दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न ६ दिनकाे समय दिएको हो । लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा शुक्रबार पार्टी मुख्यालयबाट पक्राउ परेका हुन् । शुक्रबार नै उनलाई पाेखरा लगिएकाे हाे । पक्राउ परेको दिनबाटै गणना गर्नेगरी म्याद थप भएकाे हाे । सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि आज स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेकाे थियाे । पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले अनुसन्धान गरिरहेको छ । लामिछानेले आफू निर्दाेष रहेकाे बयान दिँदै आएका छन् ।

३ वर्षपछि एकल अंकमा झर्‍यो सेयर कर्जाको ब्याज, साढे १२% बढ्यो कर्जा

काठमाडौं । दुई महिनामा सेयर धितो कर्जा साढे १२ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा सीमा हटाएपछि दुई महिनाको अवधिमा १२.५० प्रतिशत अर्थात ८ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ सेयर कर्जा बढेको हो । गत भदौसम्म वाणिज्य बैंकहरूले ७९ अर्ब १४ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । जबकि दुई महिनाअघि अर्थात असारसम्म ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । दुई महिनाको अवधिमा सेयर धितो कर्जा प्रवाहमा नेपाल एसबीआई बैंक आक्रामक देखिन्छ । असारको तुलनामा भदौमा यस बैंकको सेयर कर्जा ११५.६० प्रतिशत बढेर ४३ करोड ४६ लाख रुपैयाँ लगानी गरेको हो । असारसम्म बैंकको सेयर धितो कर्जा २० करोड १५ लाख रुपैयाँ थियो । यस्तै, माछापुच्छ्रे बैंकको ८१.६१ प्रतिशत बढेर ८४ करोड ८२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५७.५४ प्रतिशत बढेर २ अर्ब ९२ करोड रुपैयाँ, कुमारी बैंकको ५०.८५ प्रतिशत बढेर ६ अर्ब ६० करोड रुपैयाँ, एनएमबी बैंकको ४९.२० प्रतिशत बढेर १ अर्ब ४६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यस्तै, प्राइम बैंकको ३० प्रतिशत बढेर ५ अर्ब २७ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको २८.६५ प्रतिशत बढेर ९ अर्ब ६७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २३.७७ प्रतिशत बढेर ७ अर्ब १६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १७.९४ प्रतिशत बढेर ३ अर्ब ९९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकको ९.७४ प्रतिशत बढेर ५ अर्ब २७ करोड रुपैयाँ, सानिमा बैंकको ९.२० प्रतिशत बढेर १ अर्ब ८० करोड रुपैयाँ, नेपाल बैंकको ७.६४ प्रतिशत बढेर ७ अर्ब २९ करोड रुपैयाँ र एभरेष्ट बैंकको०.८३ प्रतिशत बढेर २ अर्ब ४ करोड रुपैयाँ सेयर कारोबारका लागि कर्जा प्रवाह गरेका छन् । तर, असारदेखि भदौसम्म ६ वटा बैंकको सेयर धितो कर्जा भने घटेको देखिन्छ । यसअवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको १८.९७ प्रतिशत घटेर ३ अर्ब २१ करोड रुपैयाँ सेयर कर्जा घटेको छ । यस्तै, हिमालयन बैंकको ८.८५ प्रतिशत घटेर १ अर्ब ८३ करोड रुपैयाँ, नबिल बैंकको ७.८७ प्रतिशत घटेर १० अर्ब ५२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४.१९ प्रतिशत घटेर ४ अर्ब ८ करोड रुपैयाँ, प्रभु बैंकको २.८१ प्रतिशत घटेर ३ अर्ब ९ करोड रुपैयाँ र कृषि विकास बैंकको ०.६१ प्रतिशत घटेर १ अर्ब ५८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । ३ वर्षपछि एकल अंकमा ब्याजदर पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू ब्याजदर निरन्तर घटाउँदै आएका छन् । तर, ३ वर्षपछि भने सेयर धितो कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । राष्ट्र बैंकका अनुसार भदौमा बैंकहरूको सेयर धितो कर्जाको ब्याजदर औसत ९.९० प्रतिशत छ । यसअघि २०७८ पुसमा बैंकहरूको सेयर कर्जाको ब्याजदर ९.४१ प्रतिशत थियो । यस अवधिमा अधिकतम १४.५८ प्रतिशत पुगेको सेयर कर्जाको ब्याजदर २ वर्ष ९ महिनापछि भने पुनः एकल अंकमा झरेको हो ।

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि, ५० देशका बीमा विज्ञ काठमाडाैंमा

काठमाडाैं ।  समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भाेलि (सोमबार) देखि हुने भएको छ । नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो । उक्त सम्मेलन काठमाडौंको होटल याक एण्ड यतिमा हुनेछ । ५ दिनसम्म सञ्चालन हुने सम्मेलन अक्टोबर २५ तारिख (आइतबार) अन्त्य हुनेछ । प्यानल डिस्कसनमा हुने कार्यक्रममा विभिन्न देशमा समावेशी बीमा सम्बन्धमा भएका व्यवस्थाहरूका बारेमा छलफल हुने जनाइएको छ । कार्यक्रममा ५० भन्दा बढी देशका ४०० भन्दा बढी बीमा विज्ञ, बीमाकर्ता प्रतिनिधिहरू सहभागी हुने अनुमान छ । नेपालको तर्फबाट नेपाल बीमा प्राधिकरणका उपनिर्देशकहरू, निर्देशकहरू, अध्यक्ष र शाखा प्रमुख गरी कुल २५ जना सहभागी हुनेछन् । यसैगरी, नेपालमा रहेको सबै बीमा कम्पनीबाट प्रति कम्पनी ५ जनाका दरले सम्मेलनमा सहभागी हुने जनाइएको छ ।

गृहमन्त्री लेखकको प्रश्न : आफै गल्ती गर्ने अनि ठिक छु भन्ने ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उनले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराए । आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारे । आइतबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले गल्ती गर्नेहरूलाई सम्झाइबुझाइ काम गर्न निर्देश गरे । ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढि जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यस काममा लाग्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ,’ उनले भने । गृहमन्त्री लेखकले सरकारले सुशासन मुख्य कामलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिएको पनि बताए ।

२ महिनामा विकास बैंकको खुद नाफा १ अर्ब ६४ करोड, ६ वटा घाटामा

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन र भदौ) मा विकास बैंकहरूले १ अर्ब ६४ करोड ७९ लाख खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ६ वटा विकास बैंकले घाटा बेहाेर्दा ११ वटाले नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मुक्तिनाथले साउन र भदौमा ३२ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, गरिमा विकास बैंकले २८ करोड ८९ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख, ज्योति विकास बैंकले १९ करोड ६२ लाख, कामना सेवा विकास बैंकले १७ करोड ६९ लाख, महालक्ष्मी विकास बैंकले १७ कराेड १४ लाख, साङ्ग्रीला डेभलपमेन्ट बैंकले १४ करोड ३० लाख, र लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकले ८८ लाख, सालपा डेभलपमेन्टले ४८ लाख, कर्पाेरेट डेभलपमेन्ट बैंकले ३८ लाख रूपैयाँ खुद नाफा संकलन गरेका छन् र घाटा बेहाेर्नेहरूकाे शीर्ष स्थानमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । एक्सेल डेभलपमेन्टलाई ६ करोड ८३ लाख घाटा लागेको छ । कर्णाली विकास बैंकलाई १ करोड ८३ लाख, नारायणी डेभलपमेन्टलाई १ करोड १६ लाख, मितेरी डेभलपमेन्टलाई ८४ लाख, सिन्धी विकास बैंकलाई ६३ ला र सप्तकोशी डेभलपमेन्ट बैंकलाई ३६ लाख रुपैयाँ घाटा लागेको छ ।

शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको निर्णय- नेपाल ग्रे-जोनमा पर्न अनुसन्धान र अभियोजनलाई तीव्र पार्नुपर्छ

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो । बैठकले सम्पत्ति शुद्धीकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषदबाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको छ । अनुसन्धान र अभियोजनलाई तीव्र पारी नियमावली पारित गरे नेपाल ग्रे-जोनमा नपर्ने बैठकका सहभागीहरूको भनाइ छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय आवश्यकता र प्राथमिकताले अनुसन्धान र अभियोजनका कार्यलाई अघि बढाउने उल्लेख गर्दै नेपाल ग्रे-जोनमा नजाने गरी कार्यहरू गर्न निर्देशन दिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ग्रे-जोनमा नपर्नका लागि आवश्यक कानुन बनाउन र भएका कानुनमा सुधार गर्न मन्त्रालय सक्रिय रहेको बताए । बैठकमा महान्यायाधिवक्ता, नेपाल राष्ट्र बैङ्‍कका डेपुटी गभर्नर, मन्त्रालयका सचिवहरू, नियमनकारी निकायका प्रतिनिधिलगायत सहभागी थिए ।

अब सातै प्रदेशमा जलनको निःशुल्क उपचार हुने

काठमाडौं । देशका सातवटै प्रदेशमा अब जलनको निःशुल्क उपचार सेवा सञ्चालन हुने भएकाे छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उपचार खर्च बेहाेर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव सरकारले पारित गरेको हो । अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगञ्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले यो सेवा दिनेछन् । स्वास्थ्य मन्त्रालयको आकलनअनुसार नेपालमा वार्षिक ५७ हजार व्यक्तिहरु जलनबाट प्रभावित हुने गरेका छन् । हालसम्म जलनको उपचार कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सुस्मा मेमोरियल अस्पतालमा हुँदै आएको छ । वीर अस्पतालले लामो समयदेखि बन्द रहेको बर्न युनिट यही भदौदेखि सञ्चालनमा ल्याइसकेको छ ।