विकासन्युज

जीवन विकास लघुवित्तबाट ८ संस्थापक बाहिरिँदै, मूल्य ६ सय रुपैयाँ

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट एकैपटक विभिन्न ८ संस्थापक बाहिरिने भएका छन् । लघुवित्तका विभिन्न ८ संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिने भएका हुन् । विभिन्न ८ संस्थापक सेयरधनीको ३ लाख ५४ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखिएको लघुवित्तले जनाएको छ । लघुवित्त संस्थाले बिक्रीमा राखिएको उक्त संस्थापक सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी तोकि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

सीतापाइला-धार्के वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द, संकटको बेला सडक पीच शुरू

काठमाडौं । नागढुङ्गा-नौबिसे सडकको जाम छल्न काठमाडौंको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के-ठूलोखोलामा दोस्रो तहको कालोपत्र सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी नगरपालिका–५ का वडाअध्यक्ष विशाल भट्टराईले जानकारी दिए । ‘धार्के-ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ । अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो,’ उनले भने । उक्त सडकअन्तर्गत हाल धुनिबेँसी नगरपालिका-५ को बट्टारबाट अमलेश्वरी पार्कसम्म कालोपत्र भइरहेको सडक निर्माणको ठेक्का लिएको कम्पनी गोरखकाली कन्स्ट्रक्सनका साइट इन्चार्ज रामचन्द्र न्यौपानेले जानकारी दिए । ‘हामीले नौ किलोमिटरको उक्त दोस्रो लेयरको कालोपत्र तीन चरणमा पूरा गर्नेगरी तीन/तीन किमीका दरले काम गर्नेछौँ, तिहारसम्म आधा काम सकिन्छ,’ उनले भने । यस पटकको दसैँमा सवारी जामका कारण नागढुङ्गा-नौबिसे सडकको सट्टा सीतापाइला-धार्के सडक प्रयोगमा ल्याइएको थियो । अधिकांश साना सवारी साधन सीतापाइला–धार्के हुँदै गुडेका थिए । नागढुङ्गा-नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौंतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ । सीतापाइला-धार्के सडक कुल २४ किलोमिटर लम्बाइ र सीतापाइला-रामकोट-भीमढुङ्गा-महेशफाँट हुँदै धार्केमा जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिए ।

चुनावमा होमियो सीईडीबी हाइड्रोपावर, एकै पटक ५ जना सञ्चालक चयन हुने

काठमाडौं । सञ्चालकहरूको निर्वाचन गर्न सीईडीबी हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले विशेष साधारण सभा कात्तिक २० गते बिहान ८ बजे डाकेको हो । कम्पनीको सभाले ५ जना सञ्चालकको निर्वाचन गरी नियुक्ति गर्नेछ । यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

१९ करोड रुपैयाँमा राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ बन्दै, सबै लगानी नगरपालिकाको

काठमाडौं । सुन्दर हाट र व्यवस्थित बजार बनाउने उद्देश्यले राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ निर्माण गरिएको छ । दुईतले उक्त कम्प्लेक्स निर्माणको अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवको नेतृत्वमा थालिएको कम्प्लेक्स निर्माण सम्पन्न हुन लागेको हो । राजविराज–७ स्थित हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले प्राप्त गरेको कूल ३५ करोड रुपैयाँमध्ये १९ करोड रुपैयाँमा भवन निर्माण थालिएकोे हो । निर्धारित समयमा भवन सम्पन्न नहुँदा हटिया वरपर जथाभावी पसलहरु सञ्चालन हुँदै आएका छन् । जथाभावी सागसब्जी, किराना पसल, फलफूल, विभिन्न कस्मेटिक समान, चामल, भाँडावर्तन, दाउरा नाङ्लो बेच्ने व्यापारी अव्यवस्थित रुपमा बसेर बिक्री गर्न बाध्य छन् । स्थानीय व्यापारी श्रवण दासले हटिया व्यवस्थित गर्न निर्माण थालिएको सपिङ कम्प्लेक्स निर्माणले गति लिएपछि छिट्टै व्यवस्थित भवनमा बसेर व्यापार गर्न पाइने आशा गरेका छन् । सपिङ कम्प्लेक्सको ९० प्रतिशत काम सकिएर ढल निकासीका लागि नाला बनाउने काम भइरहेको कार्यवाहक नगरप्रमुख इसरत परविनले बताए । सपिङ कम्प्लेक्समा ३०८ कोठा रहने छन् । भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोसन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण भइरहेको छ । ठेकेदारको लपरबाहीका कारण निर्धारित समयभन्दा तीन वर्ष ढिला भएको हो । सपिङ कम्प्लेक्स भवन निर्माण छिटो सम्पन्न नहुँदा हाल राजविराजको राम मन्दिर देखि पानीट्याङकी रोड बिच सडकमा हाट लगाउँदा सर्वसाधारण तथा सवारी चालकहरुलाई आवतजावतमा समस्या हुने गरेको छ ।

रेकर्ड बिन्दुमा स्थिर रह्यो अमेरिकी डलर, यस्तो छ विदेशी मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.८४ रुपैयाँ र बिक्रीदर १४६.४९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.१६ रुपैयाँ र बिक्रीदर १७५.९५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.१५ रुपैयाँ र बिक्रीदर १५५.८४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.०१ रुपैयाँ र बिक्रीदर ९०.४२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.२५ रुपैयाँ र बिक्रीदर ९७.६८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४२ रुपैयाँ र बिक्रीदर १०२.८८ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१८ रुपैयाँ र बिक्रीदर ३१.३२ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.८० रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७६ रुपैयाँ र बिक्रीदर १२.८१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.९२ रुपैयाँ र बिक्रीदर ४३९.८८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९८ रुपैयाँ र बिक्रीदर ३५७.५७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बीमा प्राधिकरण र त्रिविबीच समझदारी, बीमासम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमासम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेलले आइतबार समझदारीपत्रमा हस्ताक्षर गरे । बीमा सम्बन्धी अनुसन्धान र स्वदेशमा दक्ष बीमाङ्कीय जनशक्ति उत्पादनमा सहयोग गर्ने उद्देश्यका भएको समझदारीको अवधि चार वर्षको रहेको छ । समझदारीपत्रमा प्राधिकरणले स्कुल अफ म्याथमेटिकल साइन्सका विद्यार्थीहरूको बीमाङ्कीय सीप विकासमा सहयोग गर्ने, हरेक वर्ष मेरिट बेसिसका आधारमा म्याथमेटिकल साइन्स (बीमाङ्की विज्ञान) का स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, स्रोत व्यक्ति उपलब्ध गराउने र बीमा बजारको आवश्यकताका आधारमा बीमाङ्की विज्ञानको पाठ्यक्रम परिमार्जन गर्न सहयोग गर्ने उल्लेख छ । यसैगरी, नेपालको बीमा बजार र अन्तर्राष्ट्रिय बीमा बजारको प्रवृत्तिलाई केन्द्रित गरी बीमासम्बन्धी अनुसन्धान तथा जोखिम मूल्याङ्कन र नेपाली बीमा बजारको आवश्यकताका आधारमा नयाँ बीमाङ्कीय नमूनाहरूको विकाससम्बन्धी अनुसन्धानमा साझेदारी गर्ने समझदारीपत्रमा उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) पनि उपस्थित थिए ।

सहकारी ठगी प्रकरण : सभापति लामिछानेमाथि अनुसन्धान गर्न अदालतले दियो ६ दिनको म्याद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत, कास्कीले प्रहरीलाई ६ दिनको म्याद दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न ६ दिनकाे समय दिएको हो । लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा शुक्रबार पार्टी मुख्यालयबाट पक्राउ परेका हुन् । शुक्रबार नै उनलाई पाेखरा लगिएकाे हाे । पक्राउ परेको दिनबाटै गणना गर्नेगरी म्याद थप भएकाे हाे । सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि आज स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेकाे थियाे । पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले अनुसन्धान गरिरहेको छ । लामिछानेले आफू निर्दाेष रहेकाे बयान दिँदै आएका छन् ।

३ वर्षपछि एकल अंकमा झर्‍यो सेयर कर्जाको ब्याज, साढे १२% बढ्यो कर्जा

काठमाडौं । दुई महिनामा सेयर धितो कर्जा साढे १२ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा सीमा हटाएपछि दुई महिनाको अवधिमा १२.५० प्रतिशत अर्थात ८ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ सेयर कर्जा बढेको हो । गत भदौसम्म वाणिज्य बैंकहरूले ७९ अर्ब १४ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । जबकि दुई महिनाअघि अर्थात असारसम्म ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । दुई महिनाको अवधिमा सेयर धितो कर्जा प्रवाहमा नेपाल एसबीआई बैंक आक्रामक देखिन्छ । असारको तुलनामा भदौमा यस बैंकको सेयर कर्जा ११५.६० प्रतिशत बढेर ४३ करोड ४६ लाख रुपैयाँ लगानी गरेको हो । असारसम्म बैंकको सेयर धितो कर्जा २० करोड १५ लाख रुपैयाँ थियो । यस्तै, माछापुच्छ्रे बैंकको ८१.६१ प्रतिशत बढेर ८४ करोड ८२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५७.५४ प्रतिशत बढेर २ अर्ब ९२ करोड रुपैयाँ, कुमारी बैंकको ५०.८५ प्रतिशत बढेर ६ अर्ब ६० करोड रुपैयाँ, एनएमबी बैंकको ४९.२० प्रतिशत बढेर १ अर्ब ४६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यस्तै, प्राइम बैंकको ३० प्रतिशत बढेर ५ अर्ब २७ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको २८.६५ प्रतिशत बढेर ९ अर्ब ६७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २३.७७ प्रतिशत बढेर ७ अर्ब १६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १७.९४ प्रतिशत बढेर ३ अर्ब ९९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकको ९.७४ प्रतिशत बढेर ५ अर्ब २७ करोड रुपैयाँ, सानिमा बैंकको ९.२० प्रतिशत बढेर १ अर्ब ८० करोड रुपैयाँ, नेपाल बैंकको ७.६४ प्रतिशत बढेर ७ अर्ब २९ करोड रुपैयाँ र एभरेष्ट बैंकको०.८३ प्रतिशत बढेर २ अर्ब ४ करोड रुपैयाँ सेयर कारोबारका लागि कर्जा प्रवाह गरेका छन् । तर, असारदेखि भदौसम्म ६ वटा बैंकको सेयर धितो कर्जा भने घटेको देखिन्छ । यसअवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको १८.९७ प्रतिशत घटेर ३ अर्ब २१ करोड रुपैयाँ सेयर कर्जा घटेको छ । यस्तै, हिमालयन बैंकको ८.८५ प्रतिशत घटेर १ अर्ब ८३ करोड रुपैयाँ, नबिल बैंकको ७.८७ प्रतिशत घटेर १० अर्ब ५२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४.१९ प्रतिशत घटेर ४ अर्ब ८ करोड रुपैयाँ, प्रभु बैंकको २.८१ प्रतिशत घटेर ३ अर्ब ९ करोड रुपैयाँ र कृषि विकास बैंकको ०.६१ प्रतिशत घटेर १ अर्ब ५८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । ३ वर्षपछि एकल अंकमा ब्याजदर पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू ब्याजदर निरन्तर घटाउँदै आएका छन् । तर, ३ वर्षपछि भने सेयर धितो कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । राष्ट्र बैंकका अनुसार भदौमा बैंकहरूको सेयर धितो कर्जाको ब्याजदर औसत ९.९० प्रतिशत छ । यसअघि २०७८ पुसमा बैंकहरूको सेयर कर्जाको ब्याजदर ९.४१ प्रतिशत थियो । यस अवधिमा अधिकतम १४.५८ प्रतिशत पुगेको सेयर कर्जाको ब्याजदर २ वर्ष ९ महिनापछि भने पुनः एकल अंकमा झरेको हो ।