विकासन्युज

ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य, धेरै भ्रष्टाचार गर्ने व्यक्ति पनि उनै : लामिछाने

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् । आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उनको आरोप थियो । सभापति लामिछानेले ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको बताए । उनले सरकारबिरुद्ध देशभरबाट सबैजना आन्दोलनमा उत्रिन आह्वानसमेत गरे । उनले आफूलाई अदालतले न्याय दिनेमा ढुक्क रहेकाे दाबीसमेत गरे । उनले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने पनि बताए । सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको छ । रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

काठमाडौं ।  वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आइतबार समस्या समाधान भइ सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अंगभंग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो । प्रवक्ता ढकालले भने, ‘वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । आज समस्या समाधानपछि सेवा सुरु भइसकेको छ ।’ सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिक रुपमा उपस्थित भइ दिएको निवेदन भने संकलन निरन्तर रुपमा भइरहेको उनले बताए ।

म्याद थपका लागि अदालतमा उपस्थित भए सभापति लामिछाने

काठमाडौं । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराएकाे छ । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका उनीविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो । सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । अदालत जानुपूर्व सभापति लामिछानेले कानुनी प्रक्रियालाई सहयोग गरिदिन अनुराेध गरेका थिए । अदालत बाहिर रास्वपाका नेता तथा कार्यकर्ता भेला भएका छन् । लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा शुक्रबार पार्टी मुख्यालयबाट पक्राउ परेका हुन् । शुक्रबार नै उनलाई पाेखरा लगिएकाे थियाे । पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको छ । रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

प्रधानमन्त्री ओलीको दावी- राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी-पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समय तालिका तोकेर राहत र पुनःस्थापनाका काम प्रभावकारी रुपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराए । उनले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरुले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । एमालेको जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्लाका चार पालिकालाई सङ्कटग्रस्त घोषणा गरेकामा सरकारलाई धन्यवाद दिँदै किसानका पाकेका धानबाली र सयौं सङ्ख्यामा पशु चौपायामा समेत क्षति भएकाले पुनःनिर्माण र पुनःस्थापनाका कामलाई अगाडि बढाउँदै किसानलाई विशेष राहतको प्याकेज व्यवस्था गरेका थिए । सो अवसरमा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडाल, एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, पूर्वसांसद गणेश पहाडीलगायत सहभागी थिए ।

१० रोपनी १४ आना जग्गा दान कि घुस ? (फोटोफिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्वीयू क्रान्तिकारीले एमाले पार्टी कार्यालयका लागि सहयाेग संकलन सुरु गरेकाे छ । विद्यार्थी संगठनले कर छलेकाे पैसाले नभई जनताको पैसाले पार्टी कार्यालय बनाऊ भन्दै रु १ सहयाेग संकलन गरेकाे हाे । अनेरास्वीयू क्रान्तिकारीले प्रदर्शनीमार्गमा आइतबार प्रदर्शन गर्दै सहयाेग संकलन सुरु गरेकाे हाे । प्रदर्शनकाे क्रममा विद्यार्थीहरूले ‘तपाईं जनताकाे प्रधानमन्त्री कि भ्रष्टाचारीकाे ?’,  ‘एक अर्बकाे भवन, मदन भवन कि मीन भवन?’, ‘भ्रष्ट एमालेलाई सकाउनुपर्छ’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेकाे केन्द्रीय कार्यालय बनाउन जग्गा उपलब्ध गराएका थिए । साेही विषयलाई लिएर एमालेकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । व्यवसायी गुरुङले केन्द्रीय कार्यालयका लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका छन् । पार्टी कार्यालय निर्माणका नाममा जग्गा दानमा लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । एमालेले भने व्यवसायी गुरुङ आफ्नाे कार्यकर्ता रहेको भन्दै उक्त विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी नगर्न आग्रह गरेको छ ।  

भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै

काठमाडौं । भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन् । सबै उडान सुरक्षित अवतरण भए पनि धम्कीहरूको यस शृङ्खलाले विमानहरूलाई क्यानाडा र जर्मनीमा मोड्न तथा बेलायत र सिङ्गापुरको आकाशमाथि लडाकू जेटहरूलाई विमान एस्कर्ट गर्न लगाउनुपरेको छ । भारत सरकार र नागरिक उड्डयन अधिकारीहरूले ‘अत्यन्त कडा कारबाही’ गरिने चेतावनी दिएका छन् । नयाँदिल्लीको नागरिक उड्डयन अधिकारीहरूले गत साता कति धम्की प्राप्त भए भन्नेबारे नखुलाए पनि टाइम्स अफ इन्डिया र न्युज१८ प्रसारकले अक्टोबर १३ देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानलाई लक्षित गरी ७० भन्दा धेरै झुटो धम्की दिइएको बताएका छन् । शनिबार मात्र कम्तीमा ३० वटा झुटो धम्की दिइएको थियो । उडानमा ढिलाइ र मोडाइको विश्वव्यापी प्रभाव एयरलाइन्स तािलका र लागतमा धेरै परेको छ । भारतमा कम्तीमा एक जना नाबालक पक्राउ परेका छन् । यद्यपि धम्कीहरू जारी छन् । बुधबार पक्राउ परेपछि भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडूले भने, ‘अवरोध सिर्जना गर्ने अन्य सबै जिम्मेबार व्यक्तिको पहिचान गरिनेछ र विधिवत् मुद्दा चलाइनेछ ।’ शुक्रबार र शनिबार कम्तीमा ४० उडानलाई बमको धम्की पोस्ट गरेपछि सामाजिक सञ्जाल एक्समा एक बेनामी खाता निलम्बन गरिएको द इन्डियन एक्सप्रेसको एक रिपोर्टले बताएको छ । यसमा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डका समेत गरी भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्स दुवै समावेश थिए । इन्डियन एक्सप्रेसका अनुसार निलम्बित खाताबाट पठाइएका समान सन्देशहरूमा लेखिएको थियो, ‘बोर्डमा बमहरू राखिएका छन्। कोही पनि जीवित बाँच्ने छैन । हतार गर्नुहोस् र विमान खाली गर्नुहोस् ।’ हालै प्रभावित उडानहरूमध्ये शनिबार सुरक्षित अवतरणपछि अमेरिकी सुरक्षा अधिकारीहरूले मुम्बईबाट न्युयोर्कको एयर इन्डिया उडानको जाँच गरेका थिए । प्रभावित अन्य उडानहरूमा नयाँदिल्लीबाट शिकागो जाने एयर इन्डिया विमान थियो । उक्त विमान मंगलबार क्यानाडाको सुदूर उत्तरी शहर इक्वालुइटमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो । क्यानाडाको वायुसेनाले यात्रुहरूलाई उडान गराउनुपरेको थियो । सोही दिन सिंगापुरले एयर इन्डिया एक्सप्रेस विमानलाई एस्कर्ट गर्न लडाकू जेटहरू खटाएको थियो । बिहीबार विमानविरुद्ध धम्की दिइएपछि बेलायती आरएएफ लडाकू जेटहरूले एयर इन्डिया बोइङ ७७७–३०० लाई एस्कर्ट गरेपछि लन्डनमा सुरक्षित अवतरण भएको थियो । शुक्रबार नयाँदिल्लीबाट लन्डन जाने भिस्तारा उडान जर्मनीको फ्रेंकफर्टमा मोड्नु परेको थियो । रासस

व्यावसायिक र औद्योगिक वातावरण सिर्जना गर्न अर्थमन्त्रीको जोड, राजस्व संकलन र पूँजीगत खर्च बढाउन निर्देशन

काठमाडौं । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताएका हुन् । अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए । राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए । बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराए ।  

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण

NEB भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।