चीनका राजदूतसँग प्रधानमन्त्री शाहको छलफल, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार (आज) उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए । राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
शिक्षामन्त्री र सम्पादकबीच छलफल, सरकारी सूचना प्रवाह पारदर्शी बनाउन आग्रह
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउँदै सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्ने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा मन्त्री पोखरेलले सरकारका कामकारबाहीबारे नागरिकलाई समयमै र सहज रूपमा जानकारी गराउन सूचना प्रवाहलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन् । छलफलमा सहभागी सञ्चारमाध्यमका प्रधानसम्पादक तथा प्रतिनिधिहरूले प्रधानमन्त्री तथा अन्तरमन्त्रालयका गतिविधि, सरकारी निर्णय र सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताए । उनीहरूले मन्त्रालयले रणनीतिक महत्वका नीतिगत निर्णय गर्दा सरोकारवालासँग पर्याप्त छलफल गरी राय–सुझाव लिनुपर्नेमा समेत जोड दिए । नीतिगत निर्णयअघि सरोकारवालासँग छलफल गर्दा त्यसको स्वीकार्यता, गरिमा र दिगोपना बढ्ने उनीहरूको भनाइ थियो । पत्रकारहरूले विद्यालय शिक्षा र उच्च शिक्षालाई व्यवहारिक, वैज्ञानिक तथा जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको पनि औंल्याए । मन्त्री पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको बताए । वर्तमान सरकार लोकतान्त्रिक प्रक्रिया र प्रणालीबाट आएको उल्लेख गर्दै उनले सरकारका सबै कामकारबाही लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुने स्पष्ट पारे । 'वर्तमान सरकार एक्सनबाट होइन, प्रजातान्त्रिक प्रक्रियाबाट जनमत लिएर आएको हो । त्यसैले सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता रहन्छ,' मन्त्री पोखरेलले भने, 'जनताको आशा र भरोसालाई साकार पार्न अहोरात्र खटिएका छौँ ।' उनले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई प्राथमिकता दिइएको बताए । विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको दाबी गर्दै उनले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिए । मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मन्त्रालय र सञ्चारमाध्यमबीच बलियो तथा प्रभावकारी समन्वय कायम गर्दै सूचना प्रवाहलाई थप सहज बनाइने बताए । विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउनुका साथै शिक्षा क्षेत्रको समग्र सुधारका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको उनले उल्लेख गरे । कार्यक्रममा सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिहरूले सरकारी सूचना प्रवाहलाई थप सहज र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । देश सञ्चार डटकमका सम्पादक तथा वरिष्ठ पत्रकार युवराज घिमिरेले सरकारी सूचना समयमै, सहज र पारदर्शी ढङ्गले सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने बताए । हिमालय टेलिभिजन तथा अनलाइनखबरका समूह सम्पादक उमेश चौहानले जनताको भरोसा र जनमत प्राप्त सरकारले जनआकाङ्क्षा पूरा गर्दै शिक्षा क्षेत्रमा रहेका बेथितिलाई नीतिगत रूपमा सुधार गर्नुपर्ने बताए । सेतोपाटी डटकमका सम्पादक सुदीप श्रेष्ठले सरकारले कसरी काम गरिरहेको छ र भइरहेका सुधारबारे आम नागरिकले सहज रूपमा जानकारी पाउनुपर्ने बताए । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सरकार र सञ्चारमाध्यमबीच निरन्तर छलफलले सूचनाको सहजता बढाउनुका साथै दुवैबीचको दूरी कम गर्न मद्दत पुग्ने बताए । कान्तिपुर दैनिकका प्रधानसम्पादक गोकर्ण अवस्थीले सूचना सहज रूपमा प्रवाह हुन नसके ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ को जोखिम बढ्ने बताए । शिलापत्र डटकमका सम्पादक योगेश ढकालले विश्वविद्यालयप्रतिको विश्वासलाई संस्थागत रूपमा बलियो बनाउन आवश्यक नीतिगत परिवर्तन गर्नुपर्ने बताए । पत्रकार बिनु सुवेदीले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउँदै सूचना प्रवाह र जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने धारणा राखिन् । द काठमाडौं पोस्टका समाचार सम्पादक विनोद घिमिरेले सरकारी सूचना दिने प्रणालीलाई सरल र सहज बनाउनुपर्नेमा जोड दिए । शिक्षामन्त्रीका सल्लाहकार सरोज गौतमले छलफलको सहजीकरण गरेका थिए ।
नेशनल लाइफको ब्रान्च मेनेजर्स कन्फरेन्स सम्पन्न, एआई र डिजिटल मार्केटिङमा जोड
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च मेनेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको बताइन् । प्रतिस्पर्धामा अब्बल बन्न कर्मचारीले आफूलाई सोहीअनुसार तयार गर्नुपर्ने उनको भनाइ थियो । उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले आवश्यक तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको बताइन् । पछिल्लो समय विश्वभर चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जीवन बीमा क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने भन्दै उनले एआईसम्बन्धी ज्ञानलाई डिजिटल मार्केटिङमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । कम्पनीले कर्मचारीको वृत्ति विकासका लागि मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको उनले बताइन् । आगामी दिनमा पनि कर्मचारीको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वास उनले व्यक्त गरिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ आर्थिक वर्षसँगै नयाँ यात्रा, संकल्प र अवसरको सुरुवात भएको बताए । उनले नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तनको दिन नभई सोच, प्रतिबद्धता र भविष्यलाई थप उचाइमा पुर्याउने अवसर भएको बताए । सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए । जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएको भन्दै उनले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीलाई यस विषयमा चनाखो र जिम्मेवार भएर काम गर्न आग्रह गरे । त्यस्तै, एआईसम्बन्धी प्रशिक्षक विश्वराज पौडेलले कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी प्रशिक्षण दिएका थिए । उनले विभिन्न एआई टुल्सबारे जानकारी दिँदै यसको प्रयोगबाट बीमा व्यवसायको डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन सकिने उपायबारे प्रशिक्षण दिए । श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती र व्यावसायिक सफलता हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए । उनले बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे विभिन्न व्यावहारिक उदाहरण प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो । त्यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन र बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक शाखा कार्यालयलाई समेत सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष सिंहले उत्कृष्ट शाखा कार्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन् । सम्मेलनमा कर्मचारीको क्षमता विकाससँगै मनोरञ्जन र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि आयोजना गरिएको थियो । पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए । चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
दूधखोला जलविद्युत आयोजनामा एनएमबी र सानिमा बैंकले १० अर्ब लगानी गर्ने
काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएपछि आयोजना निर्माणको बाटो खुलेको हो । सम्झौताअनुसार आयोजनामा लिड बैंकका रूपमा रहेको एनएमबी बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सहायक बैंकका रूपमा रहेको सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन् । दुई बैंकले आयोजनामा कुल १० अर्ब १ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । मनाङमा निर्माण हुने आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । प्रति मेगावाट लागत २० करोड रुपैयाँभन्दा कम रहेकाले आयोजनालाई आकर्षक मानिएको कम्पनीले जनाएको छ । बैंकहरूको लगानीबाहेक आवश्यक रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ । वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम अघि बढाउने कम्पनीको तयारी छ । निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य कम्पनीले लिएको छ । माउण्टेन इनर्जीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना र ५ मेगावाट क्षमताको ताँदीखोला जलविद्युत् आयोजनाबाट हाल नियमित रूपमा विद्युत् उत्पादन भइरहेको छ ।
ठगीधन्दामा टिकटकको ‘लक्ष्मी कलेक्सन’, सामान किन्न खोज्दा बैंक खातै रित्तियो
काठमाडौं । सामाजिक सञ्जालमा आकर्षक सामानको विज्ञापन देखाई ग्राहकलाई ह्वाट्सएपसम्म पुर्याउने र त्यसपछि बैंक खातामै पहुँच बनाएर रकम निकाल्ने ठगीको जोखिम बढ्दै गएको छ । यस्तै घटनामा ‘लक्ष्मी कलेक्सन स्टोर’ नामक टिकटक अकाउन्टबाट सामान खरिद गर्न लागेका केही उपभोक्ता ठगीमा परेको भन्दै प्रहरीमा पुगेका छन् । महिला तथा बालबालिकालाई लक्षित कपडा, जुत्ता लगायतका सामग्रीका १७३ वटा भिडियो पोस्ट गरिएको उक्त टिकटक अकाउन्टमा भिडियोमा न आवाज सुनिन्छ, न अनुहार देखिन्छ। भिडियोको शैली हेर्दा एआईबाट निर्मित सामग्रीजस्तो देखिए पनि हजारौं उपभोक्ताले ती भिडियोको कमेन्टमा सामान खरिदबारे जिज्ञासा राखेको देखिन्छ । ग्राहकको जिज्ञासामा स्टोरको तर्फबाट अधिकांश अवस्थामा ह्वाट्सएप नम्बरमात्र उपलब्ध गराइएको पाइएको छ। ह्वाट्सएपबाट सम्पर्क गरी सामान खरिद गर्ने भन्दै रकम पठाएका केही ग्राहक पछि ठगीमा परेका हुन् । नवलपरासी पूर्वको हुप्सेकोटकी नानुमाया विक पनि यही जालोमा परेको उजुरीमा उल्लेख छ । उनले उक्त स्टोरले दिएको माध्यमबाट सामान खरिदका लागि रकम पठाइन् । तर, सामान नआएपछि उनले स्टोरमा गुनासो गरिन् । स्टोरले रकम प्राप्त नभएको भन्दै बैंक स्टेटमेन्ट पठाउन भन्यो । उनले विश्वास गरेर बैंक स्टेटमेन्ट पठाएपछि त्यसमा रहेको विवरण प्रयोग गरी उनको बैंक खाताबाट रकम निकालिएको पाइएको छ । यसरी उनको खातामा रहेको रकम नै निकालिएको उजुरीमा उल्लेख छ । काठमाडौंको बौद्धका छिरिङ लिम्जोम लामा पनि यही स्टोरको सम्पर्कमा पुगेपछि ठगीमा परेको प्रहरीले जनाएको छ । दुवैजनाले प्रहरीमा उजुरी दिएका छन् । तर, उनीहरूको रकम फिर्ता हुने वा नहुनेबारे यकिन भइसकेको छैन । अनलाइन खरिद गर्दा केमा ध्यान दिने ? सामाजिक सञ्जालमा देखिएको विज्ञापनकै आधारमा अनलाइनबाट सामान खरिद गर्दा उपभोक्ता थप सचेत हुनुपर्छ । सामान खरिद गर्नुअघि बिक्रेताको वास्तविक पहिचान, व्यवसाय सरकारी निकायमा दर्ता भए/नभएको तथा आधिकारिक सम्पर्क विवरण जाँच गर्नु पर्दछ । अनलाइन कारोबार गर्दा अपरिचित व्यक्तिले पठाएका लिंकमा क्लिक नगर्न, ओटीपी, बैंकिङ पासवर्ड, कार्डसम्बन्धी विवरण तथा अन्य संवेदनशील व्यक्तिगत जानकारी कसैलाई पनि उपलब्ध नगराउन प्रहरीले समेत आग्रह गर्दै आएको छ । सामान खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिनु पनि महत्त्वपूर्ण हुन्छ । २५० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा प्यान वा भ्याट नम्बर उल्लेख भएको बिल लिने उपभोक्तालाई सरकारले प्रोत्साहन गर्ने व्यवस्था समेत गरेको छ । त्यसैले सामाजिक सञ्जालमा देखिएको आकर्षक विज्ञापनकै भरमा सामान खरिद गर्नुको सट्टा बिक्रेताको आधिकारिकता जाँच गर्ने, सुरक्षित माध्यमबाट भुक्तानी गर्ने र अनिवार्य रूपमा बिल लिने गर्नुपर्दछ । हेर्नूहोस् भिडियो :
सेयर बजार ९ अंकले घट्यो, साढे ३ अर्बको कारोबार
काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २६४१ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिडि पावरको २९ करोड, फस्ट माइक्रो फाइनान्सको १२ करोड, सप्तकोशी डेभलपमेन्टको ९ करोड र आँखु खोलाको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ वटा उपसमूहको सूचक बढेको छ । हाइड्रोपावर ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत, माइक्रोफाइनान्स ०.१९ प्रतिशत र नन लाइफ इन्स्योरेन्स ०.०४ प्रतिशत बढेको छ ।
एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको सम्मान
काठमाडौं । ललितपुर महानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले ८२ जना विद्यार्थीलाई सम्मान स्वरूप नगद प्रदान गरेका हुन् । नगदसहित सम्मानित हुने विद्यार्थीहरूमा सामुदायिकबाट ७ र संस्थागत तर्फबाट ७५ जना रहेका छन् । सम्मानित हुने सामुदायिक विद्यालयले चार लाख प्राप्त गरेको छ भने सम्मानित विद्यार्थीले जनही दुई लाख प्राप्त गरेका छन् । त्यस्तै, संस्थागत विद्यालयका विद्यार्थीले जनही २ लाख रूपैयाँ प्राप्त गरेका छन् भने विद्यालयले सम्मान स्वरूप प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रममा सामुदायिकबाट ४ र संस्थागतबाट २३ विद्यालयलाई सम्मान गरेको छ । संस्थागतबाट जेम्स स्कुलका सबैभन्दा धेरै १७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । त्यस्तै, सेन्ट जेभियर्स माविका ८ जनाले ४ जिपिए ल्याएका छन् । ४ जीपिए ल्याउने संस्थागत विद्यालयहरूमा रातो बङ्गला, ओमेगा इन्टरनेशनल, लिटिल एन्जल्स, आदर्श विद्या मन्दिरलगायत छन् । सम्मानित हुनेमा सामुदायिक विद्यालयहरूमा श्री आदर्श शौल युवक माध्यमिक विद्यालय, श्री त्री पदमा विद्याश्रम माध्यमिक विद्यालय, श्री प्रभात माध्यमिक विद्यालय, श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालय रहेका छन् । सामुदायिक विद्यालयबाट ३.९५ जीपीए ल्याएपनि उनीहरूलाई ४ जीपीएसरह सम्मान गरेको महानगरले जनाएको छ । विद्यालय र विद्यार्थीले सम्मान गदै महानगरका प्रमुख महर्जनले विद्यार्थी र विद्यालयलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । एसईईमा ४ जीपीए ल्याउने विद्यालय
हरि ढकाललाई सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ?
काठमाडौं । नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाएकी हुन् । सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने तर्क गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै सांसद घतानीले ‘सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ?’ भन्दै प्रश्न गरिन् । उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्नसमेत चेतावनी दिइन् । सांसद घतानीले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नबनेको आरोप लगाइन् । उनले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारीपीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् । किसानलाई रासायनिक मल र बजार उपलब्ध गराउन तथा युवालाई रोजगारी र व्यापारीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन पनि उनले सरकारसँग माग गरिन् । उनले भनिन्, ‘जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस् । ग्यासको अभाव तत्काल समाधान गरियोस् । स्वास्थ्य बीमा कार्यक्रम पुनः प्रभावकारी बनाइयोस्, ताकि गरिब तथा विपन्न नागरिक उपचारबाट वञ्चित हुन नपरोस् ।’ सांसद घतानीले सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, दलित र युवाका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । ‘सबैको एउटै प्रश्न छ– सरकार हामीलाई कहिले देख्छ ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने ? अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र ? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ । बन्द गरियोस्,’ उनले भनिन् । जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ भन्ने प्रश्न सांसद घतानीले सरकारसमक्ष राखेकी छन् ।