काठमाडौं । नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाएकी हुन् ।
सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने तर्क गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै सांसद घतानीले ‘सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ?’ भन्दै प्रश्न गरिन् ।
उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्नसमेत चेतावनी दिइन् ।
सांसद घतानीले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नबनेको आरोप लगाइन् । उनले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारीपीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
किसानलाई रासायनिक मल र बजार उपलब्ध गराउन तथा युवालाई रोजगारी र व्यापारीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन पनि उनले सरकारसँग माग गरिन् ।
उनले भनिन्, ‘जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस् । ग्यासको अभाव तत्काल समाधान गरियोस् । स्वास्थ्य बीमा कार्यक्रम पुनः प्रभावकारी बनाइयोस्, ताकि गरिब तथा विपन्न नागरिक उपचारबाट वञ्चित हुन नपरोस् ।’
सांसद घतानीले सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, दलित र युवाका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् ।
‘सबैको एउटै प्रश्न छ– सरकार हामीलाई कहिले देख्छ ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने ? अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र ? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ । बन्द गरियोस्,’ उनले भनिन् ।
जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ भन्ने प्रश्न सांसद घतानीले सरकारसमक्ष राखेकी छन् ।