यी हुन् अर्थमन्त्रीले पत्याएका ठूला करदाता
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार (आज) नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीसँग छलफल गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूका प्रतिनिधिसँग उनले अर्थमन्त्रालयमा छलफल गरेका हुन् । ठूला करदाता तथा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरे । ‘नेपालमा अझ ठूलो लगानी गर्नूहोस् । भएका उद्योग विस्तार गर्नूहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नूहोस् । नयाँ प्रविधि भित्र्याउनूहोस् र नयाँ रोजगारी सिर्जना गर्नूहोस्,’ उनले भने, ‘सरकार तपाईंहरूको साथमा उभिनेछ ।’ सबैभन्दा धेरै कर तिर्ने बहुराष्ट्रिय कम्पनी: एनसेल आरती स्ट्रिप्स प्रालि गोर्खा ब्रुअरी प्रालि हिमालय एयरलाइन्स होङ्शी शिवम् सिमेन्ट डुसान इनरबिलिटी कम्पनी लिमिटेड डाबर नेपाल बोटलर्स नेपाल (तराई) लिमिटेड यूनिलिभर नेपाल लिमिटेड एशियन पेन्टस (नेपाल) प्रालि पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना गोर्खा लहरी प्रालि ह्वासिन सिमेन्ट नारायणी प्रालि न्यू होप एग्रो बिजनेस नेपाल प्रालि नेपाल वेलहोप एग्रिटेक प्रालि वरुण वेभरेज नेपाल प्रालि टर्किस एयरलाइन्स ईन्कर्पोरेसन प्रालि भोटेकोशी पावर कम्पनी प्रालि बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन् । यस्तै, उनले नेपालका ‘क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् । करदातालाई अर्थमन्त्रीले भने- अझै ठूलो लगानी गर्नूहोस्, सरकार साथमा छ
प्रधानमन्त्रीलाई सांसद काउचाले भनिन्– कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने बताइन् । तर, लोकतान्त्रिक व्यवस्था र संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने उनको भनाइ छ । सांसद काउचाले प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गरिन् । संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फ पनि उनले ध्यानाकर्षण गराइन् । प्रधानमन्त्री साहको फेसबुक स्टाटसलाई लक्षित गर्दै उनले प्रधानमन्त्री एक्लै नरहेको बताउँदै ‘कालो चस्मा खोल्न’ आग्रह गरिन् । संसद्को अभिलेखमा रहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्नसमेत गरिन् । उनले भनिन्, ‘म यो सदनबाट प्रधानमन्त्रीज्यूलाई स्पष्टसँग भन्न चाहन्छु, कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन । प्रधानमन्त्रीज्यू, तपाईं मान्नुस् या नमान्नुस्, तपाईं सत्तापक्षको मात्रै प्रधानमन्त्री होइन ।’ उनले प्रतिपक्षले प्रधानमन्त्रीको अपमान नगरेको बताइन् । ‘हामी तपाईंको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ,’ उनले भनिन् । प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीका कारण मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि प्रश्न उठ्नु दुःखद् भएको उनको भनाइ थियो । सांसद काउचाले प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई सरकारलाई जवाफदेही बनाउन खोजिरहेको पनि स्पष्ट पारिन् ।
करदातालाई अर्थमन्त्रीले भने- अझै ठूलो लगानी गर्नूहोस्, सरकार साथमा छ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रलाई राजस्वको स्रोतका रूपमा मात्र नभई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा हेरेको बताएका छन् । उनले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा सरकारको प्रमुख दायित्व भएको स्पष्ट पारे । ठूला करदाता तथा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताए। उनले व्यवसायीलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरे । 'नेपालमा अझ ठूलो लगानी गर्नुहोस् । भएका उद्योग विस्तार गर्नुहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नूहोस् । नयाँ प्रविधि भित्र्याउनुहोस् र नयाँ रोजगारी सिर्जना गर्नुहोस्,' उनले भने, 'सरकार तपाईंहरूको साथमा उभिनेछ ।' वाग्लेले अर्थतन्त्रको रूपान्तरण सरकार वा कुनै एउटा मन्त्रालयको प्रयासबाट मात्रै सम्भव नहुने बताए । त्यसका लागि सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार पछिल्ला दिनमा उद्योगी-व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग भएका छलफलबाट पनि आर्थिक रूपान्तरणमा सरकार र निजी क्षेत्रले संयुक्त रूपमा नेतृत्व गर्नुपर्ने साझा निष्कर्ष आएको छ । अर्थमन्त्रीले सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने पुरानो प्रवृत्तिबाट बाहिर निस्कन खोजिरहेको बताए । सरकारको प्राथमिकता केवल कर संकलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको उनले स्पष्ट पारे । उनले उद्योगले कमाएको नाफा पुनःलगानी हुँदा उत्पादन विस्तार हुने, उत्पादन बढ्दा रोजगारी सिर्जना हुने, रोजगारीबाट आम्दानी बढ्ने र आम्दानी बढेपछि बजार विस्तार हुने उल्लेख गरे । अन्ततः यही प्रक्रियाबाट राज्यको राजस्वसमेत बढ्ने भएकाले सरकार र निजी क्षेत्रको सम्बन्ध एकअर्काको सफलतासँग जोडिएको उनको भनाइ थियो । 'सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग सम्बन्ध होइन,' वाग्लेले भने, 'दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ ।' अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जित सम्पत्ति र आर्जित नाफाको सुरक्षा सरकारको प्राथमिक जिम्मेवारी भएको बताए । लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य आफ्नो साझेदारका रूपमा उभिएको अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ छ । ठूलो लगानी आकर्षित गर्न र उद्योग विस्तार गर्न विश्वासको वातावरण आवश्यक रहेको उनले बताए । 'त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन । विश्वास निर्माण नगरी उद्योग विस्तार हुँदैन। र विश्वास निर्माण नगरी आर्थिक रूपान्तरण सम्भव हुँदैन,' उनले भने । उनले व्यवसायीलाई सरकारबाट अपेक्षा गरिएका सुधार र विद्यमान अवरोधबारे स्पष्ट धारणा राख्नसमेत आग्रह गरे। व्यवसाय विस्तारमा अझै मुख्य समस्या कहाँ छन् भन्ने विषयमा सरकार निजी क्षेत्रबाट प्रत्यक्ष सुझाव लिन इच्छुक रहेको उनले बताए । अर्थमन्त्रीले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात तथा कानुनी र सरकारी प्रक्रियालगायतका क्षेत्रमा रहेका समस्या पहिचान गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे । सरकारले सुरु गरेका सुधारहरू व्यवहारमा कत्तिको प्रभावकारी भएका छन् र व्यवसाय विस्तारका क्रममा अझै कुन-कुन अवरोध कायम छन् भन्ने विषयमा निजी क्षेत्रको स्पष्ट धारणा आवश्यक रहेको उनले बताए । त्यसैगरी आगामी छ महिनाभित्र सरकारले लिनुपर्ने पाँच महत्वपूर्ण निर्णयबारे पनि व्यवसायीबाट ठोस सुझाव मागिएको छ । वाग्लेले छलफलबाट प्राप्त सुझावलाई केवल संकलन गरेर थन्क्याउने नभई कार्यान्वयनयोग्य कार्यसूची बनाउने प्रतिबद्धता जनाए । छलफलमा उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने र अर्थ मन्त्रालयले निरन्तर अनुगमन गर्ने उनले बताए । अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक कर तिर्ने व्यवसायी तथा करदातालाई राज्यले उच्च सम्मान दिनुपर्ने बताए । सरकारको दृष्टिमा करदाता केवल राजस्वको स्रोत नभई राष्ट्र निर्माणका साझेदार भएको उनको भनाइ छ । नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई सामाजिक सम्मान दिलाउने दिशामा सरकारले काम गरिरहेको उनले बताए । सरकारले उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ताले आफ्नो लगानी सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण गर्न खोजिरहेको उनले बताए । वाग्लेले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाएर आगामी दशकलाई ठूलो लगानी, उत्पादन, रोजगारी र आर्थिक आत्मविश्वासको दशक बनाउनुपर्नेमा जोड दिए । छलफलमा २० ठूला करदाता सहभागी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा विभिन्न क्षेत्रका २० ठूला करदाता तथा उद्योग-व्यवसायिक संस्थाका प्रतिनिधि सहभागी भएका थिए । छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राईप्स, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी, डाबर नेपाल, वोटलर्स नेपाल (तराई), यूनिलिभर नेपाल, एशियन पेन्ट्स (नेपाल), पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेस नेपाल, नेपाल वेलहोप एग्रि–टेक, वरुण बेभरेज नेपाल, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) का प्रतिनिधि सहभागी थिए । यी संस्थाहरू उत्पादन, दूरसञ्चार, पेय पदार्थ, सिमेन्ट, ऊर्जा, हवाई सेवा, निर्माण, कृषि, उपभोग्य वस्तु तथा अन्य विभिन्न क्षेत्रमा सक्रिय छन् । सरकारले अर्थतन्त्रमा ठूलो लगानी, रोजगारी र राजस्व योगदान गर्ने निजी क्षेत्रका प्रतिनिधिबाट व्यवसाय सञ्चालन तथा विस्तारका क्रममा देखिएका समस्या र नीतिगत सुधारका विषयमा सुझाव लिन छलफल आयोजना गरेको हो ।
पाँच महिनापछि स्वदेश फर्किँदै देउवा, विमानस्थलमा भव्य स्वागतको तयारी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयपछि आगामी बिहीबार (साउन २८ गते) स्वदेश फर्किँदैछन् । करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका देउवाको स्वागतका लागि कांग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा ठूलो उपस्थिति देखाउने तयारी गरेको नेताहरूले बताएका छन् । देउवा स्वदेश फर्किने भएपछि उनको स्वागतका लागि कांग्रेसको इतर पक्षले संस्थागत रूपमै नेता कार्यकर्तालाई विमानस्थल पुग्न आह्वान गरेको छ । देउवा मध्यान्ह साढे १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिने जनाइएको छ । उनी काठमाडौं उत्रिनु अगाडि नै नेता तथा कार्यकर्तालाई विमानस्थल पुग्न आग्रह गरिएको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार देउवाको स्वागतका लागि कांग्रेसका हजारौं नेता/कार्यकर्ता विमानस्थल पुग्ने तयारीमा रहेका छन् । लामो समयपछि देउवा स्वदेश फर्किन लागेकाले उनको स्वागतलाई विशेष बनाउने तयारी गरिएको उनले बताए । देउवा पछिल्लो समय लामो समयदेखि स्वदेशबाहिर रहँदै आएका थिए । यसबीचमा कांग्रेसभित्र पार्टीको आन्तरिक विवाद, विशेष महाधिवेशनको बहस तथा नेतृत्व र संगठनसम्बन्धी विषयमा तीव्र राजनीतिक गतिविधि भइरहेका छन् । देउवा स्वदेश फर्किन लागेसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ। कांग्रेस संस्थापनइतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन् । उक्त भेलामा देउवा पनि सहभागी हुने बताइएको छ ।
नागरिकलाई आफ्नै भाषामा सूचना दिनु लोकतन्त्रको सुन्दर पक्ष : मन्त्री गौतम
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । काठमाडौंमा सोमबार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भूमिकाको प्रशंसा गरिन् । मन्त्री गौतमले राज्यका कामकारबाही र सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरिन् । राज्य र नागरिकबीच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेकोमा उनले जोड दिइन् । मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यका गतिविधिबारे थाहा पाउनुपर्ने बताइन् । मन्त्री गौतमले मातृभाषाका पत्रकारहरूले भोग्नुपरेका समस्या र चुनौतीप्रति राज्य सकारात्मक रहेको बताइन् । उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि गर्नुपर्ने कामहरूको ठोस प्रस्ताव (बुँदागत सुझाव) पेश गर्न पत्रकारहरूलाई आग्रह गरिन् । मन्त्री गौतमले भनिन्, ‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सीमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ । नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई जोगाउनु सबै नेपालीको साझा दायित्व हो ।’ उनले भाषाहरूको संरक्षण र पत्रकारहरूको वृत्तिविकासका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाइन् । अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विभिन्न देशका अभ्यास र अनुभव आदानप्रदान हुने र यसले राज्यलाई स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा मन्त्री गौतमले व्यक्त गरिन् । विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त सम्मेलनले मातृभाषा पत्रकारितालाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत उनले व्यक्त गरिन् ।
२६ वर्षदेखि पर्यटन व्यवसायमा जमेका देवकटाको नाटाको महासचिवमा उम्मेदवारी
काठमाडौं । पर्यटन व्यवसायी राजकुमार देवकोटाले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । वल्ड फेभर एण्ड टुर्सका सञ्चालक देवकोटाले भरतजंग पाण्डेको समूहबाट महासचिव पदमा उम्मेदवार घोषणा गरेका हुन् । उनी २६ वर्षदेखि नेपालको पर्यटन उद्योगमा निरन्तर सक्रिय रहँदै आएका छन्। देवकोटाले पर्यटन व्यवसायसँगै नाट्टाको संस्थागत गतिविधिमा समेत लामो समयदेखि योगदान दिँदै आएका छन्। उनी २०२०/ २२ को नाट्टा कार्यसमितिमा सदस्य तथा २०२२–२४ मा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। पर्यटन क्षेत्रमा संगालेको अनुभवलाई आगामी कार्यकालमा संस्थाको सुदृढीकरणका लागि उपयोग गर्ने उनले बताए। नाट्टाको स्थापनाकालदेखि संस्थाको विकास र उद्देश्य प्राप्तिका लागि योगदान पुर्याउँदै आएका अग्रजहरूको योगदानलाई सम्मान गर्दै सदस्यहरूको हकहितमा काम गर्ने आफ्नो मुख्य उद्देश्य रहेको देवकोटाले बताएका छन्। उनले नाट्टालाई पारदर्शी, सबल, प्रभावकारी र सदस्य केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटन व्यवसायीका समस्या समाधान, संस्थागत क्षमता अभिवृद्धि तथा पर्यटन क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ। २०२६ साउन १४ गते हुने नाट्टाको कार्यसमिति निर्वाचनमा महासचिव पदमा उम्मेदवारी मनोनयनदर्ता गरिसकेपछि देवकोटाले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन’ आफ्नो मुख्य प्रतिबद्धता रहेको बताएका छन्।
सातै प्रदेशलाई एउटै मञ्चमा ल्याउने प्रयासमा कांग्रेस इतर समूह
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टी भित्रको आन्तरिक विवादको विषयमा छलफल गर्न राष्ट्रिय भेला बोलाएको छ । उक्त पक्षले विशेष महाधिवेशनसँग जोडिएको कानुनी तथा राजनीतिक प्रश्न र आगामी कार्यदिशाबारे पनि साझा धारणा बनाउन राष्ट्रिय भेला आयोजना बोलाएको हो । भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना हुने जनाइएको हो । गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको अगुवाइमा हुन लागेको भेलामा पार्टीको तल्लो तहदेखि केन्द्रीय तहसम्मका नेता तथा प्रतिनिधिलाई सहभागी गराउने तयारी रहेको पूर्वप्रवक्तासमेत रहेका नेता डा. प्रकाशशरण महतले जानकारी दिए । भेलामा कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने जनाइएको छ । देउवा करिब पाँच महिनापछि साउन २८ गते मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ । स्वदेश फर्किएको भोलिपल्टदेखि सुरु हुने भेलामा उनको सहभागितालाई कांग्रेसभित्रको बदलिँदो शक्ति समीकरणका दृष्टिले समेत महत्त्वका साथ हेरिएको छ । संस्थापनइतर पक्षले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेटेर यसअघि नै सातै प्रदेशमा भेला तथा छलफल गरिसकेको छ । प्रदेशस्तरबाट आएका सुझाव र पार्टीभित्रको पछिल्लो अवस्थालाई समेटेर राष्ट्रिय भेलाबाट आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे साझा धारणा बनाउने तयारी गरिएको नेता महतले जानकारी दिए । राष्ट्रिय भेलामा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संयोजक कोइरालाले सातै प्रदेशका सभापतिलाई औपचारिक निम्तो पठाएको नेताहरूले बताएका छन् । कोइरालाले पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्न आयोजित भेलामा सहभागी हुन आग्रह गर्दै साउन २२ गते प्रदेश सभापतिहरूलाई पत्र पठाएका हुन् । यसअघि संस्थापनइतर पक्षका भेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका सभापतिमात्रै सहभागी हुँदै आएका थिए । अन्य प्रदेशका सभापतिहरू संस्थापन पक्षसँग नजिक रहेकाले संस्थापनइतर पक्षले आयोजना गरेका कार्यक्रममा उनीहरूको सहभागिता देखिँदैनथ्यो । यसपटक भने सातै प्रदेशका सभापतिलाई औपचारिक निम्तो पठाएर कांग्रेसका सबै पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयास गरिएको अर्का नेता जितजंग बस्नेतले जानकारी दिए । प्रदेश सभापतिहरूको सहभागिताले भेलालाई पार्टीको एउटा समूहको कार्यक्रमभन्दा व्यापक राजनीतिक छलफलको स्वरूप दिने अपेक्षा संस्थापनइतर पक्षको छ । कोइरालाले राष्ट्रिय भेलामा पार्टीका विभिन्न तह र पुस्ताका नेताहरूलाई सहभागी गराउने तयारी गरेका छन् ।भेलामा गाउँ र नगर सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापति र जिल्ला सभापति सहभागी हुने जनाइएको छ । महतका अनुसार पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री तथा पूर्वपदाधिकारीलाई समेत भेलामा सहभागी हुन आग्रह गरिएको छ । राष्ट्रिय भेलाका लागि आवश्यक तयारी अघि बढाउन संयोजक कोइरालाले विभिन्न समिति गठन गरिसकेका छन् । स्रोतका अनुसार भेलामा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन तयार पार्ने कामसमेत अघि बढाइएको छ । ‘प्रतिवेदनमा पार्टीको पछिल्लो राजनीतिक तथा सांगठनिक अवस्था, विशेष महाधिवेशनपछि विकसित परिस्थितिको समीक्षा, पार्टीभित्रको एकताको आवश्यकता र आगामी कार्यदिशालगायत विषय समेट्ने तयारी छ,’ स्रोतले भन्यो । प्रदेशस्तरीय भेलाबाट प्राप्त सुझावलाई समेत राष्ट्रिय भेलाको राजनीतिक प्रतिवेदनमा समेटिने स्रोतको दाबी छ । कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विवादका बीच सर्वोच्च अदालतले उक्त मुद्दामा पुनरावलोकनका लागि अनुमति दिएपछि राष्ट्रिय भेलाको राजनीतिक महत्त्व थप बढेको छ । विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्चले पुनरावलोकनको अनुमति दिएसँगै विवादित विषयमा अदालतबाट पुनः सुनुवाइ हुने अवस्था बनेको हो। विशेष महाधिवेशनको प्रक्रिया र त्यसबाट उत्पन्न राजनीतिक तथा संगठनात्मक विवादका विषयमा अदालतको अन्तिम निर्णयलाई कांग्रेसका दुवै पक्षले चासोका साथ हेरिरहेका छन् । यही पृष्ठभूमिमा हुन लागेको राष्ट्रिय भेलामा विशेष महाधिवेशनसम्बन्धी विवादबारे समेत छलफल हुने तयारी छ । पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री देउवा राष्ट्रिय भेलामा सहभागी हुने भएपछि कांग्रेसभित्र यसको राजनीतिक अर्थबारे समेत चर्चा सुरु भएको छ । देउवा करिब पाँच महिनापछि साउन २८ गते नेपाल फर्किँदैछन् । उनी स्वदेश फर्किएको भोलिपल्टै संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु हुनेछ । विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आयोजना गरेको भेलामा देउवाको सहभागिताले पार्टीभित्र संवाद र सहकार्यको सम्भावना बढाउन सक्ने संस्थापनइतर पक्षका नेताहरूको बुझाइ छ । यद्यपि देउवाको सहभागिता कुन भूमिकामा हुनेछ र भेलामा उनले गर्ने सम्बोधनले कांग्रेसको आगामी आन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई समेत महत्त्वका साथ हेरिएको छ । संयोजक कोइरालाले भेलाको मुख्य उद्देश्य पार्टीभित्रको एकता कायम गर्दै कांग्रेसको भावी राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्नु रहेको बताएका छन् । विशेष महाधिवेशनपछि बढेको आन्तरिक विवाद, नेतृत्वबीचको दूरी, संगठनको अवस्था र आगामी राजनीतिक चुनौतीबारे भेलामा छलफल हुने तयारी रहेको डा कोइरालाले बताएका छन् । संस्थापनइतर पक्षले पार्टी विभाजन वा थप ध्रुवीकरणको बाटोमा जानुभन्दा सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने विषयलाई प्राथमिकतामा राखेको दाबी गरेको छ । तीन दिनसम्म चल्ने भेलाले पार्टीको आगामी रणनीति र नेतृत्वसँग सम्बन्धित विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरेको विश्लेषकहरू बताउँछन्। राजनितिक विश्लेषक परसुराम घिमिरेका अनुसार भेला विशेष महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको, पार्टीभित्र शक्ति सन्तुलन परिवर्तनको कारक बन्न सक्छ । उनका अनुसार सातै प्रदेशका नेता तथा प्रतिनिधिलाई एउटै मञ्चमा ल्याउने तयारी भइरहेका बेला हुन लागेको यो भेलालाई कांग्रेसको आगामी आन्तरिक राजनीतिका लागि महत्त्वपूर्ण घटना हो । भेलामा देउवासहित विभिन्न तहका नेताहरूको सहभागिता, प्रस्तुत हुने राजनीतिक प्रतिवेदन र त्यसबाट तय हुने भावी कार्यदिशाले कांग्रेसको आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट, द्विपक्षीय सहकार्यबारे छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।