नेशनल लाइफको ब्रान्च मेनेजर्स कन्फरेन्स सम्पन्न, एआई र डिजिटल मार्केटिङमा जोड

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च मेनेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ ।

‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको बताइन् । प्रतिस्पर्धामा अब्बल बन्न कर्मचारीले आफूलाई सोहीअनुसार तयार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले आवश्यक तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको बताइन् । पछिल्लो समय विश्वभर चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जीवन बीमा क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने भन्दै उनले एआईसम्बन्धी ज्ञानलाई डिजिटल मार्केटिङमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

कम्पनीले कर्मचारीको वृत्ति विकासका लागि मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको उनले बताइन् । आगामी दिनमा पनि कर्मचारीको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वास उनले व्यक्त गरिन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ आर्थिक वर्षसँगै नयाँ यात्रा, संकल्प र अवसरको सुरुवात भएको बताए ।

उनले नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तनको दिन नभई सोच, प्रतिबद्धता र भविष्यलाई थप उचाइमा पुर्याउने अवसर भएको बताए ।

सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए ।

जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएको भन्दै उनले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीलाई यस विषयमा चनाखो र जिम्मेवार भएर काम गर्न आग्रह गरे ।

त्यस्तै, एआईसम्बन्धी प्रशिक्षक विश्वराज पौडेलले कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी प्रशिक्षण दिएका थिए । उनले विभिन्न एआई टुल्सबारे जानकारी दिँदै यसको प्रयोगबाट बीमा व्यवसायको डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन सकिने उपायबारे प्रशिक्षण दिए ।

श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती र व्यावसायिक सफलता हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए । उनले बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे विभिन्न व्यावहारिक उदाहरण प्रस्तुत गरेका थिए ।

सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो ।

त्यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन र बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक शाखा कार्यालयलाई समेत सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष सिंहले उत्कृष्ट शाखा कार्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन् ।

सम्मेलनमा कर्मचारीको क्षमता विकाससँगै मनोरञ्जन र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि आयोजना गरिएको थियो ।

पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए ।

चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

Share News