विकासन्युज

मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ्ग अबरुद्ध हुने

काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ्ग अबरुद्ध हुने भएको छ । बैंकको मंसिर ३ गते सोमबार बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मोबाईल बैंकिङ्ग अबरुद्ध हुने भएको हो । बैंकको मोबाईल बैंकिङ्ग एपको स्तरबृद्धि कार्य गनु पर्ने भएकाले सो समयमा अबरुद्ध हुने जनाएको छ । मोबाईल बैंकिङ्ग एपबाट हुने सबै सेवाहरु अबरुद्ध हुने बैंकको भनाइ छ ।

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साता आइतबारदेखि शुक्रबार (कात्तिक १० गतेदेखि कात्तिक ३० गते) सम्म नेप्सेमा समाज लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल ल्युब आयलको बोनस सेयर सूचीकृत भएको हो । समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको २८ हजार ५ सय कित्ता, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको २ लाख ५० हजार कित्ता र नेपाल ल्युब आयलको २५ प्रतिशत बोनस बापतको १ लाख २२ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कर्मचारीको काम सन्तोषजनक भएन, ऋण तिर्न राजश्वको दायरा बढाउनुहोस्

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर नबनाउन निर्देशन दिएका हुन् । ‘विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ । तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस्,’ उनले भने । असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताए । अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उनको भनाइ छ । ‘करदाता र कर प्रशासनबीच सोहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ । कर प्रशासनले करदातालाई अनुचित ढङ्गले दुःख दिनु हुँदैन,’ उनले भने । कार्यक्रममा अर्थसचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताए । राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उनको भनाई छ । ‘हाम्रो जिम्मेवारी कर सङ्कलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो । मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफै बढ्छ,’ उनले भने । अहिले नेपालको अर्थतन्त्रमा केहि सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ । ‘हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न । हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन, तरलता सहज अवस्थामा भएपनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन् । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन,’ उनले भने । निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताए । राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताए । अहिले बजारमा समग्र मागमा सङ्कुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिद्धता उनले जनाए । त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाई छ । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिरेका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताए। हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरुमा क्रमशः उद्योगहरु बन्द हुँदै गएको पनि उनको भनाइ छ ।

बाढीको क्षति दिँदा ४ बीमा कम्पनी घाटामा, ८६ प्रतिशत घट्यो निर्जीवन बीमाको नाफा

काठमाडौं । तीन महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ८६ प्रतिशत अर्थात् १ अर्ब २ करोड ४९ लाख रुपैयाँ घटेको हो । गत वर्षको असोजमा १ अर्ब १९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका बीमा कम्पनीले यसपटक भने १६ करोड ६५ लाख रुपैयाँमा झरेको हो । समीक्षा अवधिमा देशले प्राकृतिक विपत्ति बाढी पहिरोको सामना गर्नु परेको थियो । जसको प्रत्यक्ष असर कम्पनीहरूको नाफामा परेको बताइएको छ । बाढी पहिरोको कारण वीमतिहरुलाई दाबी भुक्तानी गर्दा कम्पनीको नाफामा असर परेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू बताउँछन् । समीक्षा अवधिमा आधा दर्जन निर्जीवन बीमा कम्पनीको मात्रै नाफा बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै नाफा सानिमा जिआईसी इन्स्योरेन्सको बढेको छ । सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ५०.५९ प्रतिशत बढेर ५ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २३.७२ प्रतिशतले बढेर ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै, आइजिआई प्रुडेन्सियलको नाफा १९.५० प्रतिशत बढेर ६ करोड १० लाख रुपैयाँ गरेको हो । गत वर्षको असोजमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको थियो । गत असोजसम्म राष्ट्रिय बीमा कम्पनीको १३.७३ प्रतिशत बढेर १५ करोड ७६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १०.५४ प्रतिशत बढेर ५ करोड ६० लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको २.५० प्रतिशत बढेर ११ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा राष्ट्रि बीमाले १३ करोड ७६ लाख रुपैयाँ, प्रभुले ५ करोड ६ लाख रुपैयाँ र शिखरले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा विभिन्न ४ कम्पनीको नाफा घटेको छ भने ४ कम्पनीले नोक्सानी बेहोरेका छन् । एनएलजी इन्स्योरेन्सको नाफा ४.९६ प्रतिशत घटेर ४ करोड ८९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १९.९६ प्रतिशत घटेर ७ करोड ४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५४.३० प्रतिशत घटेर ६ करोड ४० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको ९२.८८ प्रतिशत घटेर १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, दि. ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सले खुद नोक्सानी बेहोरेका छन् । ओरिएण्टल इन्स्योरेन्सले २४ करोड ५१ लाख रुपैयाँ घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, गत वर्षको असोजमा २१ करोड ६० लाख रुपैयाँ नाफा गरेको नेशनल इन्स्योरेन्सले १८ करोड ३ लाख घाटामा बेहोरेको छ । समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ८ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । यूनाइटेड अजोड इन्स्योरेन्स १ करोड ८१ लाख रुपैयाँ घाटामा छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो ।

सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो नबिल, आठौं पटक सम्मानित

काठमाडौं । नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि नेपाल सरकारले राष्ट्रिय कर दिवस मनाउँदै आएको । कर दिवसको अवसरमा सरकारले बैंक तथा वित्तीय संस्थातर्फ धेरै कर बुझाउने करदाताहरूका रूपमा नबिल बैंकलाई सम्मान गरेको हो । बैंकले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा प्रमाणपत्रसहित सम्मान पाएको हो । शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् । बैंकले योसहित आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान भएको हो । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

करको दायरा विस्तार गरिने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताएका छन् । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले करको दायरा बढाउँदै कर प्रणालीमा सुधार गर्नेतर्फ सरकारले ध्यान दिएको बताएका हुन् । ‘राज्य बलियो भए उद्योग-व्यवसाय बलिया हुन्छन् । त्यसैले राज्यलाई बलियो बनाउन राजस्व लक्ष्यभन्दा बढी सङ्कलन हुनुपर्छ, राजस्व असुली कम गर्ने छुट कसैलाई छैन,’ उनले भने । खुला सिमानाका कारण राजस्व छली हुने समस्या घटाउन उद्योगी– व्यवसायी, कर्मचारी र प्रहरी अझ सक्रिय हुुनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसद दीपा शर्मा, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले राजस्व हिनामिना गर्ने छुट कसैलाई नहुने बताए ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी बन्यो एनटीसी, शाह बने उत्कृष्ट करदाता

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतन्जली आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मान गरिएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको छ । गत आर्थिक वर्षमा ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ । ऊर्जामुलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सर्फमर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मानित भएका हुन् । विसं. २०७५ साउनदेखि २०८१ असार मसान्तसम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरेको छ । वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राईजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेवापत वरुण बेभरेजलाई सम्मान गरिएको छ । कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरु पनि सम्मानित भएका छन् ।

एलआईसी नेपालले मंसिर १२ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले मंसिर १२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५१६८ प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.८८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एलआईसी नेपालका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।