विकासन्युज

आइतबारदेखि निर्वाचन आचारसंहिता लागू, बैंकका कर्मचारीले पनि पालना गर्नुपर्ने

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालयमहाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ । यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ । आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु/गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ । ‘निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवम् नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रुपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुनेमा आयोग विश्वस्त छ,’ प्रवक्ता पोखरेलले भनिन् । आचारसंहिता विपरीतका कार्य भएरगरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने आयोगले जनाएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकरएक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

निष्कृय खाताको रकम बैंकिङ विकास कोषमा जम्मा गर्दै एनआईएमबी

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले २० वर्ष पुराना खाता सक्रिय गर्न आग्रह गरेको छ । बैंकले १ बैशाख २०६१ देखि संचालन नभई निष्कृय भएका खाता सक्रिय गराउन ग्राहकहरूलाई अनुरोध गरेको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक तथा मेगा बैंक र सो सँग गाभिएका अन्य वित्तीय संस्थाहरु समेत) मा खाता खोलिएको र विगत २० वर्षदेखि संचालन नभई निष्कृय रहेका खाताका खातावाल वा कानुनी हकवालाले बैंकमा सम्पर्क राखि खाता सकृय गर्न बैंकले अनुरोध गरेको छ । यदि उक्त खाताहरू सक्रिय नगरेको वा हकदावी नगरेको खण्डमा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ तथा नेपाल राष्ट्र बैंकको ई. प्रा. निर्देशन बमोजिम खातामा रहेको निक्षेप रकम ’बैंकिङ्ग विकास कोष’ मा जम्मा गरिने बैंकले जनाएको छ । यस्ता निष्कृय खाताहरू भएका ग्राहकहरुले बैकको कुनैपनि शाखामा तत्काल सम्पर्क राखि २०८१ पुस मसान्तभित्र खाता सकृय गर्न बैंकले समय दिएको छ । २० वर्षदेखि निष्कृय अवस्थामा रहेका खाताहरूमा भएको रकम बैंकिङ्ग विकास कोषमा रकमान्तर भएपछि उक्त खातामा रहेको साँवा रकम तथा सोमा प्राप्त हुने ब्याज भुक्तानीमा यस बैंकको दायित्व नरहने जनाएको छ ।

एनएमबि बैंकले ५ जिल्लामा १४ ठाउँको घरजग्गा बेच्दै

काठमाडौं । एनएमबि बैंकले ५ जिल्लामा गैह्र बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले ५ जिल्लाका १४ ठाउँको गैह्र बैंकिङ्ग (घरजग्गा) सम्पत्ति लिलाम बिकीमा राखेको हो । बैंकको स्वामित्वमा रहेका सुनसरी, मोरङ्ग, सिराहा, दैलेख र रुपन्देहीका विभिन्न ठाउँमा रहेको घरजग्गा बिक्रीमा राखेको हो । सुनसरीमा ३ कित्ता, मोरङ्गमा एक कित्ता, सिराहामा ३ कित्ता, दैलेखमा ३ कित्ता र रुपन्देहीमा चार वटा कित्ता गरी १४ वटा कित्ता बिक्रीमा राखेको हो । उक्त सम्पत्ति जे जस्तो अवस्थामा सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

क्रसर उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुन: न्यौपाने निर्वाचित, महासचिवमा देवराज

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दशौं र एघारौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुनः सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त रूपमा निवार्चित भएका हुन् । बर्दिवासमा सम्पन्न अधिवेशनबाट ३ वर्षका लागि ,वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट राम नारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट मिन बहादुर शाही निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा देवराज तामांग चुनिएका छन् भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । साथै सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सहकोषाध्यक्षमा विनोद राज श्रेष्ठ निर्विरोध निर्वाचित भए । सदस्यमा हुमनाथ पौडेल,कुमार गिरी, तिल प्रसाद पाठक,अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशि कुमार यादव, सन्तोष यादव निर्वाचित भएका छन् । महासंघको अध्यक्षमा पुन निर्वाचित भएसँगै न्यौपानले क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरकारवाला निकायलाई अवगत गराएको र अगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न थप मिहिनेत गर्ने बताए ।

४६ जनाले तिरेनन् सिद्धार्थ बैंकको क्रेडिट कार्ड कर्जा

काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ४६ जनाको नाम सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । बैंकले एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । बैंकले उनीहरूलाई पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकालेको बैंकले जनाएको छ । सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

५ ठाउँको घर खाली गर्न बेष्ट फाइनान्सको ताकेता

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले घर खाली गर्न ताकेता गरेको छ । बेष्ट फाइनान्ससँग कारोबारको शिलशिलामा धितो बन्दक पारित गरी कर्जा लिएर चुक्ता नगरेपछि घर खाली गर्न ताकेता गरेको हो । कम्पनीको नाममा धितो बन्दक पारित गरी ऋणीहरुले लिएको कर्जा रकम नतिरेकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम सकार गरी नाममा नामसारी भइसकेको हुँदा घर जग्गाहरु खाली गर्न जानकारी गराएको हो । ३५ दिनभित्र उक्त घर खाली नगरेमा कानून बमोजिम कारवाही अगाडि बढाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाडौंको मुलपानी ३÷ख स्थित कित्ता नम्बर ८३९ मा रहेको ७९.४८ वर्गमिटर, रुपन्देहीको कन्चन ५ स्थित कित्ता नम्बर २१२ मा रहेको ४१३.८६ वर्गमिटर, काठमाडौं महानगरपालिका १० स्थित कित्ता नम्बर १८७ मा रहेको २०६.६४ वर्गमिटर क्षेत्रफल जग्गा र घर खाली गर्न निर्देशन दिएको हो । यस्तै, बर्दियाको मोहम्मदपुर १ स्थित कित्ता नम्बर ७२२ मा रहेको १३७.५० वर्गमिटर र दाङको हरिद्धार २÷क स्थित कित्ता नम्बर ४९२ र ४९६ मा रहेको १२६.९९ वर्गमिटर र १२६.९७ वर्गमिटर क्षेत्रफल भएको जग्गा खाली गर्न निर्देशन दिएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकबाट बाहिरिँदै ३ जना संस्थापक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका हुन् । बैंकका अनुसार माधव प्रसाद अधिकारीले आफ्नो स्वामित्वमा रहेको ७३ हजार २७४ कित्ता, सूलोचना अधिकारीले ६ हजार ६३० कित्ता र गोपाल प्रसाद अधिकारीले २८ हजार १८९ कित्ता सेयर गरी कुल कुल १ लाख ९ हजार ९३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुक जोकोही लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

रूसले लगायो अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

काठमाडौं । रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले जनाएको छ । स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौता अन्तर्गत लागू हुने छन् । प्राविधिक र निर्यात नियन्त्रणको लागि संघीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ । प्रतिबन्धले युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने आकंलन गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाईडेनले गत मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रूसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानून पछि यो कदम चालेको जनाइएको छ । अमेरिकी तथ्याङ्क अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद ५७४ मिलियन डलर पुगेको छ जुन अघिल्लो बर्षको तुलनामा लगभग ३२ प्रतिशतले कम हो ।