संस्थाको लक्ष्य पुरा गर्न कर्मचारीमात्र नभई ग्राहकलाई पनि सन्तुष्ट बनाउनुपर्छ : गभर्नर अधिकारी
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पिन संस्थाले लक्ष्य हासिल गर्न संस्थासँग सन्तुष्ट कर्मचारी हुन जरुरी रहेको बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सवको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बैंकको व्यवस्थापक तथा सञ्चालकहरूलाई सुझाव दिँदै बैंकको संस्थाको लक्ष्य प्राप्तिका लागि कर्मचारीलाई सन्तुष्ट बनाएर राख्नुपर्ने धारणा व्यक्त गरे । यसका साथै उनले कर्मचारीहरूसँग पनि सन्तुष्ट ग्राहक हुनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा बैंकका कर्मचारी यूनियनका अध्यक्षहरूले व्यवस्थापक र सञ्चालकहरूको कार्यशैलीप्रति प्रश्न उठाएका थिए । यूनियनका अध्यक्षहरूले व्यवस्थापक र सञ्चालकहरूका विषयमा प्रश्न उठाउँदै असन्तुष्ट व्यक्त गरेका थिए । यसैगरी, उनीहरूले बैंकमा कर्मचारीको अभाव, सेवा सुविधा कम, संगठन र व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने, सरुवा बढुवामा सबै कर्मचारीहरूलाई एकै प्रकारले गर्नुपर्ने, लगायतका विषयमा व्यवस्थापक र सञ्चालकको ध्यानाकर्षण गराएका थिए । यसका साथै सरकारी बैंकमा केही कानुनीरूपमा रहने झन्झटका विषयमा पनि उनीहरूले गभर्नरमार्फत अर्थमन्त्रीलाई ब्रिफिङ गर्न अनुरोध गरेका थिए । गभर्नर अधिकारीले उक्त आफ्नो सम्बोधनका क्रममा यूनियनले राखेका कुराहरूको पनि जवाफ दिएका थिए । सोही क्रममा उनले कर्मचारीलाई सन्तुष्ट बनाए मात्र लक्ष्य पुरा गर्न सकिने सुझाव दिएका हुन् । ‘अन्य १९ वटा बैंकसँग नेपाल बैंकले प्रतिष्पर्धा गर्नुपर्छ । यसरी प्रतिष्पर्धा गर्न र लक्ष्य हासिल गर्न कर्मचारीलाई सन्तुष्ट बनाएर अघि बढ्नु पर्दछ,’ गभर्नर अधिकारीले थपे, ‘कर्मचारीले पनि ग्राहकलाई सन्तुष्ट बनाउनु पर्दछ ।’ यसैगरी, कार्यक्रममा बोल्दे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तीलकराज पाण्डेयले बैंकको हालको अवस्था र भावी योजनाको बारेमा सारांसमा उल्लेख गरेका थिए । सोही क्रममा उनले बैंकको खराब कर्जा वृद्धिलाई पुस मसान्तसम्म नियन्त्रण गर्ने बताए । उनले असोजको दोस्रो साता आएको अविरल वर्षा र त्यसले उत्पन्न गरेको बाढी-पहिरोबाट देशमा ठुलो धनजनको क्षति पुगेको उल्लेख गर्दै त्यस विपदको घडीमा सबै व्यवसायीहरूलाई असर परेको बताए । त्यसकारण पनि बैंकको खराब कर्जा बढेको उनको भनाइ छ । उनका अनुसार हाल बैंकको खराब कर्जा २.८ प्रतिशत रहेको छ । पुस मसान्तसम्म यसलाई घटाउने उनको अठोढ रहेको छ । यसैगरी, सीईओ पाण्डेयले अहिले लगानीको सुवर्ण अवसर भएकाले उद्योगी व्यवसायीहरुलाई लगानी गर्न सुझाव दिए । बैंकको व्याजदर एकल अंकभन्दा निकै तल झरेको, तरलता प्रसस्त रहेको र अन्य बाह्य क्षेत्र पनि मजबुद रहेकाले अहिलेको समय लगानी गर्ने समय भएको उनको भनाइ छ । कार्यक्रममा विभिन्न १२ वटा ब्रान्चलाई सम्मान गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा आयोजित खेलका विजेता र उपविजेता टोलीहरूलाई पनि सम्मान गरिएको थियो । गभर्नर अधिकारीले उक्त पुरष्कृत ब्रान्च र टिमलाई पनि शुभकामना दिएका थिए ।
काठमाडौं महानगरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटायो
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको छ । शुक्रबार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामा डोजर चलाइ हटाएको हो । अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलको भनाइ छ । अतिक्रमित संरचना हटाउन खोज्दा सामाजिक अभियन्ता र मारवाडी समुदायहरुले विरोध जनाएका थिए ।
स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । गृहमन्त्री लेखकले सो उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अंगहरुलाई निर्देशन दिइएको पनि बताए । उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको उल्लेख गर्दै उनले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको पनि जानकारी दिए । निर्वाचन आयोगसँग समन्वय गरेर सरकारले आवश्यक सुरक्षा प्रवन्ध मिलाउने पनि गृहमन्त्री लेखकले बताए । ‘मैले सरकारको तर्फबाट र मेरो तर्फबाट के आग्रह गर्न चाहन्छु भने उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न हुन्छ । यसका लागि सुरक्षाका सबै आवश्यक प्रवन्धहरु मिलाईन्छन्’, उनले भने । गृहमन्त्री लेखकले निर्वाचनका लागि आवश्यक सबै खालको सहयोग जुटाउने कुरामा सरकार लागि परेको बताए ।
रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो
गण्डकी । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो । अनुसन्धानका सन्दर्भमा उनलाई गत मंगलबार पोखराबाट भैरहवा लगिएको थियो । शुक्रबार दिउँसो १ः३० बजे यति एयरलाइन्सको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।
राइटपथले मंसिर ३ गते ‘यूके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्ने,३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि एकै छानामुनि
काठमाडौं । शैक्षिक परामर्शदाता संस्था राइटपथ करिअर काउन्सिलिङले ‘यूके ग्रान्ड एडमिसन डे’को आयोजना गर्ने भएको छ । देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एडमिसन डे’ सम्पन्न गरिसकेको राइटपथ करिअर काउन्सिलिङले आगामी मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा ‘युके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्न लागेको हो । विशेषगरी युके जाने विद्यार्थीहरूलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा विद्यार्थीहरूले युकेका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर प्रत्यक्षरूपमा आफ्ना जिज्ञासाहरू मेटाउन सक्ने आयाेजकले जनाएकाे छ । राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले उच्च शिक्षा हासिल गर्न युके जान चाहने विद्यार्थीहरूले सोही दिनमा सम्पूर्ण आवश्यक कागजातहरू बुझाएमा तत्कालै अफर लेटर प्रदान गरिने जानकारी दिए । राइटपाथले उक्त एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ । सिइओ डिसीका अनुसार युके ग्रान्ड एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूको एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट र आईईएलटीएसमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै एकजना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोन गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको छ । छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । काठमाडौंको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौंडा, दाङ, बुटवल, धनकुटा, भारत र बेलायतमा समेत सेवा विस्तार गरी आफ्नो सेवा प्रदान गरिरहेको छ । त्यस्तै, विद्यार्थीहरूले मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा हुने एडमिसन डे मा सहभागी भई यूकेसम्बन्धी सम्पूर्ण परामर्श लिन सक्नेछन् । शैक्षिक मेला बिहान १० बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ । के के छन् आकर्षण ? – एकै ठाउँमा ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग भेट गर्न सकिने – विश्वविद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया गर्न सकिने – विद्यार्थीहरूलाई छात्रवृत्तिको अवसर – भर्नाका लागि आवश्यकताबारे जान्न र भर्ना गर्न सकिने – सहभागी हुने विद्यार्थीहरूका एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट – अध्ययनपछि काम गर्ने अवसरहरूबारे जान्न सकिने – एक जना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोनको व्यवस्था – सहभागी विद्यार्थीलाई आईईएलटीएस कक्षामा ५० प्रतिशतसम्म छुट, आदि
हेटौँडा सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनःउत्पादन गर्न अझै डेढमहिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ । बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दसैँअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो । हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगलाई नियमित सञ्चालन गर्नेसम्बन्धमा प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आर्थिक अवस्थाका बारेमा जानकारी दिए । उनले उद्योगमा आइपरेको आर्थिक संकट उत्पादन रोकिएको भन्दै वैकिल्पक आर्थिक स्रोत जुटाएर कच्चापदार्थ, कोइला आपूर्ति गरी सञ्चालन गरिने बताए । महाप्रबन्धक पाण्डेले उद्योगमा रहेका प्राविधिक जनशक्तिबाट विभिन्न उपकरणको ममर्तसम्भार गर्ने र आवश्यकताअनुसार नयाँ उपकरण जडान गरी सिमेन्टको उत्पादन गर्ने दृढता व्यक्त गरे । उनले हाल उद्योगमा करिब आठ सय उत्पादित बोरा सिमेन्ट जगेडा रहेको भन्दै सो सिमेन्टलाई काठमाडौंसहित विभिन्न जिल्लाका डिलरमार्फत खपतको प्रयास भइरहेको जानकारी दिए । अहिले उद्योगमा करिब नौ सय मेट्रिकटन कोइला भण्डारणमा जगेडा राखिएको जनाउँदै महाप्रबन्धक पाण्डेले बाँकी अपुग पाँच हजार मेट्रिकटन कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको बताए । करिब चार दशक पुरानो उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन नसकिपछि उद्योग बन्द हुने अवस्थामा आएकाले सङ्घीय सरकारसँग आर्थिक अनुदान उपलब्ध गराउनुपर्ने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले आग्रह गरे । विसं २०३३ मा हेटौँको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । उद्योगलाई तत्कालीन सरकारले रु एक अर्ब ५० करोड रकम उपलब्ध गराइएको थियो । उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गरी विभिन्न सहरमा आपूर्ति गर्दै आएको छ । रासस
रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा
मुगु । रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा परेका हुन् । रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका अनुसार केही दिनअघि सबै हवाइजहाज पूर्वी क्षेत्रतर्फ पर्यटक ल्याउन व्यस्त भएका कारण रारा विमानस्थलका उडान प्रभावित भएका छन् । कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएकाले यहाँका बासिन्दाले हवाई यात्रालाई सहज र सुरक्षित मान्ने गर्दछन् । विकल्पका रूपमा मात्र सतही मार्ग रोज्ने मुगुका नागरिक कर्णाली राजमार्गमा धेरैपटक दुर्घटना भइसकेकाले गाडीको यात्रा सुरक्षित नभएका कारण बाध्यताले मात्र यात्रा गर्ने गर्दछन् । जिल्लावासीका लागि हवाई सेवा नै सुरक्षित विकल्प बनेको छ । स्थानीयवासीहरूले हवाई कम्पनीलाई रारा विमानस्थलमा नियमित उडान सञ्चालन गर्न आग्रह गरेका छन् । मुगु पर्यटकीय जिल्ला भएकाले दैनिकजसो उडान विगतमा भइरहने भए पनि पछिल्लो समयमा उडान अनियमित हुँदा जिल्ला बाहिर जाने बिरामी, विद्यार्थीलगायत अन्य समस्यामा परेका छन् । सबै जहाजहरूले रारामा हप्तामा एउटा दुईवटा उडान भर्दै आएका छन् । नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने प्रायः पर्यटक स्थलमार्गबाट रारा पुग्ने र केही दिन रारा क्षेत्रमा घुमेर हवाइमार्गबाट फर्कने गर्दै आएका थिए । नियमित उडान नहुँदा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका छन् ।
सर्वोच्चको फैसलापछि वर्ल्डलिंकले तिर्यो दूरसञ्चार प्राधिकरणलाई २ अर्ब १५ करोड
काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि वर्ल्डलिंकले कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको छ । वर्ल्डलिंकले शुक्रबार प्राधिकरणलाई बक्यौतावापत १ अर्ब ३८ करोड ९० लाख रुपैयाँ रोयल्टी र ७६ करोड २३ लाख ९५ हजार रुपैयाँ आरटीडीएफ वापतको पैसा बुझाएकाे हाे । उक्त रकम तिरेसँगै वर्ल्डलिंकको इजाजतपत्र नवीकरणसहितको काम हुने प्राधिकरणले जनाएकाे छ । पैसा नतिरेपछि गत वैशाखदेखि वर्ल्डलिंक लाइसेन्सविहीन भएको थियाे । प्राधिकरणलाई बक्यौता तिर्न छाडेर वर्ल्डलिंक उल्टै अदालत पुगेको थियाे । अदालतमा दायर भएकाे उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासले गत वैशाख ३० मा निवेदन खारेजीसहित फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ एक साताअघि मात्रै सार्वजनिक भएको थियाे । सरकारले आयकर प्रायोजनका लागि गरेको व्यवस्थालाई वार्षिक शुल्कमा समेत लागू हुनपर्ने दाबी गर्दै वर्ल्डलिंकसहितका सेवाप्रदायकले अटेरी गर्दै आएका थिए । दूरसञ्चार प्राधिकरण तथा सञ्चार मन्त्रालयले निरन्तर ताकेता गर्दा पनि सेवाप्रदायकले कर तिर्न मानिरहेका थिएनन् । दूरसञ्चार ऐनले कुनै पनि सेवाप्रदायकको कुल आम्दानीको २ प्रतिशत ग्रामीण दूरसञ्चार कोष शुल्क र ४ प्रतिशत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको छ। महालेखा परीक्षकको कार्यालयदेखि लिएर अन्य निकायले पनि कर शुल्क तथा रोयल्टी उठाउनुपर्ने राय दिँदै आएका छन् । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले तिर्न बाँकी दायित्वबारे विस्तृत अध्ययन गर्न स्वतन्त्र परामर्शदाता नै नियुक्त गरेको थियो । स्वतन्त्र परामर्शदाताद्वारा पछिल्लो १० वर्षको अवधिमा नौ सेवा प्रदायकबाट तीन अर्ब हाराहारी कर छली भएको निष्कर्ष निस्किएकाे थियाे ।