विकासन्युज

डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेलरमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १५०.५० रुपैयाँ, दोस्रो वर्गमा १५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.३२ रुपैयाँ र डिजेलमा २.५४ रुपैयाँले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

शाहको क्रिकेट प्रेम : अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म

काठमाडौं । ‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ,’ गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र प्रताप शाहले भने । ‘सुदूरपश्चिम रोयल्स’का मालिक समेत रहेका उनको व्यस्तता पनि उसैगरी बढेको छ, जसरी प्रतियोगिताको ‘चार्म’ बढिरहेको छ । ‘प्रतियोगिता सुरु हुन धेरै दिन बाँकी छैन, विदेशी खेलाडी अनुबन्धनदेखि प्रायोजकसँगको छलफलले समय निकाल्न पनि मुस्किल भइरहेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय ब्रोडकास्टरदेखि खेलाडीको प्रवेशले प्रतियोगितालाई अझ स्तरीय बनाउँदै लगेको छ ।’ एनपिएलका ८ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा खरिद गरेको हो । जसरी प्रतियोगिताका आम दर्शक र व्यावसायिक कम्पनीहरुको चासो बढिरहेको छ, यसले एनपिएललाई प्रतिष्ठित र महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको उनको बुझाइ छ । दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । ‘विगत पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छु, त्यहाँ पनि बर्सेनि क्रिकेट लिग आयोजना हुन्छ, यहाँ जस्तै बोलकबोलमा खेलाडी छनोट गरी प्रतियोगिता आयोजना भइरहेको छ, अष्ट्रेलियामा जागेको क्रिकेटको क्रेजले नै मलाई एनपिएलसम्म डोर्‍याएको हो,’ उनले भने । स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उनी कुनै समय तेक्वान्दो खेलाडी थिए । त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्टलगायतसँग सहकार्य गरेको उनको अनुभव छ । विष्ट अहिले सुदूरपश्चिम रोयल्सको ‘ब्राण्ड एम्बासडर’ समेत हुन् । अध्ययनका सिलसिलामा सिङ्गापुर हुँदै सन् २००३ मा अष्ट्रेलिया पुगेका कैलालीको टीकापुरका शाहले अष्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । सन् १९९८ मा टीकापुरबाट एसएलसीको पढाइ सकाएपछि प्लस टु पढ्न काठमाडौं आएका शाह सन् २००१ मा डिप्लोमा इन बिजनेस एडमिनिष्ट्रेसन पढ्न सिङ्गापुर गएकोमा सन् २००३ मा एड्भान्स डिप्लोमा पढ्न उतैबाट अष्ट्रेलिया गएका हुन् । अष्ट्रेलियामा ‘माइग्रेस ल’को पढाइ सकाएपछि सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रबाट व्यवसायमा हात हालेका उनले कुनै समय पाँच वटा रेष्टुरेन्ट समेत सञ्चालन गगरेका थिए । उनलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अष्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिव समेत रहनुभएका शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घको संस्थापक अध्यक्ष समेत हुन् । महासङ्घको सञ्जाल यतिबेला विश्वका १२ वटा देशमा फैलिएको छ । भविष्यमा ४० देखि ५० देशमा सञ्जाल विस्तार गर्ने र नेपालका लागि केही गरौँ भन्ने युवा उद्यमीहरुलाई अवसर प्रदान गर्ने योजना रहेको उनले सुनाए । यसै मञ्चमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी ल्याउने योजनाअन्तर्गत उनको नेतृत्वमा धनगढीमा पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढेको छ । विश्वभर फैलिएका नेपाली युवा उद्यमीलाई एकैठाउँमा ल्याइ नेपालमा सामूहिक लगानीको अवसर सृजना गर्ने र ‘आइडिया’ आदानप्रदान गर्ने उद्देश्यले महासङ्घ गठन गरिएको उनको भनाइ छ । महासङ्घले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन यही नोभेम्बर २९ र ३० मा हङहङमा आयोजना गर्दैछ । जसमा विश्वभर छरिएर रहेका दुई सयभन्दा बढी नेपाली युवा उद्यमीको सहभागिता रहने उनले जानकारी दिए । शाहको परिचय व्यवसायीका रुपमा मात्रै सीमित छैन, उनले केही चलचित्रमा नायकको भूमिमा अभियन समेत गरेका छन् । नेपाली चलचित्र ‘फेसबुक’मार्फत कलाकारितामा प्रवेश गरेका उनले त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गरे । सन् २००६ देखि एनआरएनमा आबद्ध शाह सन् २००९ मा एनआरएनको अष्ट्रेलियाको उपाध्यक्ष भइ ६ वर्ष काम गरे । सन् २०१७ मा एनआरएन अष्ट्रेलियाको अध्यक्षमा झिनो मतान्तरले पराजित भए भने सन् २०२३ मा काठमाडौंमा सम्पन्न एनआरएनएन अधिवेशनबाट वर्तमान कार्यसमितिको सचिवमा निर्वाचित भएका छन् । नेपाली क्रिकेटप्रतिको माया अष्ट्रेलिया केन्द्रित व्यापार व्यवसाय भए पनि शाहले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहेका छन् । विश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उनलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उनी आफै पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुन् । ‘गत वर्ष श्रीलङ्कामा सम्पन्न एसिया कपमा त्यही पुगेर नेपाली क्रिकेट टोलीलाई हौसला दिनेमा म पनि थिएँ, सम्भव भएसम्म नेपालको खेल प्रत्यक्ष हेरिरहेको हुन्छ, नेपाली खेलाडीको प्रदर्शन पछिल्लो समय निकै प्रसंशायोग्य छ,’ उनले भने । क्रिकेटप्रतिको यही प्रेमले आफूलाई एनपिएलसम्म डोर्‍याएको उनको भनाइ छ । ‘नेपालको खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यसै क्रममा केही समय अघि नेपाल क्रिकेट सङ्घ (क्यानं)ले एनपिएलको टिमको बोलकबोल आह्वान गर्‍यो, नेपाली क्रिकेटसँग आबद्ध हुने यो मेरा लागि अवसर बन्यो,’ उनले भने । शाह एनपिएलकै कारण पनि नेपालमा क्रिकेटको पूर्वाधार निर्माण छिटो गर्नुपर्ने आवश्यकता भएको बताउँछन् । यसप्रकारका प्रतियोगितामा ‘होम’ र ‘अवे’ आधारमा खेल सञ्चालन गर्ने चलन हुन्छ । तर हाम्रोमा पूर्वाधार कमीका कारण अहिले काठमाडौंमा मात्रै सञ्चालन हुँदैछ । अबका केही वर्षमा प्रत्येक प्रदेशमा खेल हुनेमा शाह आशावादी छन् । ‘एनपिएल नेपाली क्रिकेट विकासको आधार बन्न सक्छ, चितवन, रुपन्देही, धनगढीलगायतका स्थानमा निर्माणाधीन क्रिकेट मैदान पूरा भएपछि खेलाडीहरुलाई सहज हुनेछ, एनपिएलकै कारण खेलाडी उत्पादन र विकासमा ठूलो सहयोग पुग्नेछ, राम्रा क्रिकेट खेलाडीलाई आर्थिक अभावकै कारण क्रिकेट छाड्ने वा विदेशिने बाध्यता हट्नेछ,’ उनले भने । उनी अष्ट्रेलियाको क्विन्सल्याण्डमा पनि सन् २०१९ देखि ‘क्विन्सल्याण्ड नेपाली क्रिकेट लिग’मा पनि आबद्ध छन् । भविष्यमा सुदूरपश्चिम रोयल्सका खेलाडीलाई पनि अष्ट्रेलियामा लैजाने र त्यहाँ पनि अवसर दिने योजना बनाएको उनको भनाइ छ । उनले अष्ट्रेलियाका लागि टी–२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रुपमा भित्र्याएका छन् । यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अष्ट्रेलियामा खेल्ने अवसर प्रदान हुनसक्ने शाहको भनाइ छ । जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नेछन् । उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन् । साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।

कोशी र गण्डकीमा वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाली लगाउने बेला सधैँ बीउकै चिन्ता

महोत्तरी । जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुसार अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बीउ के गर्ने भन्ने चिन्ताले यहाँका किसान पिरोलिँदैछन् । ‘बेलामा बीउ पाइने ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्,’ बर्दिबास-९ पशुपतिनगर बनरझुल्लाका किसान महेन्द्र महतो विरक्तिँदै भने, ‘सधैँ बाली लगाउने बेला भयो कि यसैको चिन्ता !’ अब सामान्यत बेलैमा गहुँ छर्न पाइँदा मङ्सिर २२ भित्र सक्नुपर्ने हुँदा अहिलेदेखि नै बीउको चिन्ता परेको उनी बताउँछन् । कुनै बालीका लागि नठगिने बीउ पाउने ठाउँ आफूहरुले नपाएको किसानको गुनासो छ । ‘धान होस् कि मकै वा गहुँ, आलु होस् कि अरू कुनै तरकारीका बीउ, यो चाहिँ भरपर्दो हो भनेर चित्त बुझाएर लिन पाइँदैन,’ महेन्द्रकै छिमेकी अर्का किसान भोला महतो भने, ‘सब भगवान् भरोसे !’ जिल्लाका स्थानीय तहहरुमा कृषि शाखा रहने व्यवस्था भए पनि बाली लगाउने तुक (ठीक बेला) मा नियमित रुपमा बीउ पाइने अवस्था नभएको किसान बताउँछन् । ‘कुनै कुनै साल त अनुदानको बीउ आ’को छ भन्ने सुनिन्छ, दौडादौड गर्ने कतिले थोरतिन पाउँछन्, फेरि दुई/चार वर्ष ती निदाउँछन्,’ स्थानीय तहका कृषि शाखाबारे टिप्पणी गर्दै गौशाला-११ का किसान अरुण कुशवाहा भने, ‘यो अनुदानको हल्ला पिटिनुभन्दा भरपर्दो बीउ उचित मूल्य तिरेर आवश्यक मात्रामा पाउने सुनिश्चितता भए ढुक्क त हुइथ्यो ।’ किसानलाई अनुदानको बीउ कहिले आउँछ भन्नेभन्दा राम्रो बीउ उचित मूल्यमा खोज्दा पाइने भए राहत हुने कुशवाहा बताउँछन् । आफ्ना ठाउँ र बजारमा बीउ नपाउँदा महोत्तरीका अधिकांश किसान भारतीय बजारमा निर्भर छन् । उताबाट (भारतीय बजार) ल्याइएको बीउमा कैयौँ पटक ठगिएको किसानको अनुभव छ । तर आफू कहाँ कुनै भर नहुँदा जेजस्तो पाइए पनि भारतीय बजार नै जानपर्ने बाध्यता रहेको बलवा-१० रौजाबजारका मंसुल कवारी बताउँछन् । ‘मकै र तरकारीका बीउ त भारतीय बजारकै भर हो,’ कवारी भन्छन्, ‘आलु र उखु चाहिँ अझै यता पाइँदैछ, धान र गहुँका लागि पनि बाक्लै भारत गएका छौँ ।’ कैयौँ पटक भारतीय बजारबाट ल्याइएको बीउमा पनि ठगिएको उनी सम्झन्छन् । ‘धेरैजसो मकैको बीउमा यस्तो भएको छ, कति नउम्रने, कति घोगा नलाग्ने, तर यो व्यथा कसले सुनीदिने ?’ निराशा पोख्दै उनले भने । यहाँका किसानलाई एक दशक पहिलेसम्म जिल्ला कृषि विकास कार्यालय र जिल्लाका ठाउँठाउँमा रहेका कृषि सेवा केन्द्र र उपकेन्द्रको सेवा बरु सम्झना हुन्छ । ‘कहिलेकाहीँ नमूना भनेर बीउ पनि दिन्थे, बाली हेर्न आइदिनोस् भन्दा जेटीरजेटिए आइदिन्थे, सल्लाह पाइन्थ्यो, खै गाउँमा सिंहदरवार आयो भन्छन्, हामी किसानका सहुलियतका दिन चाहिँ आएनन्,’ रामगोपालपुर-२ का किसान कादिर हुसैन पुराना दिन सम्झँदै भने । जिल्लाका १५ स्थानीय तहमध्ये एकाधमा मात्र कृषि शाखा व्यवस्थित छन् । धेरैजसो स्थानीय तहमा कृषिसम्बद्ध कर्मचारी छन् छैनन् ? सर्वसाधारण किसानले थाहा नै पाउँदैनन् । कृषि शाखा सञ्चालनको मुख्य जिम्मेवारी भए पनि स्थानीय तहका नेतृत्वकर्ताको प्राथमिकतामा कृषि नपर्दा आम किसानले परिवर्तनको अनुभूति सँगाल्न नसकेका कृषिक्षेत्रको सरकारी सेवामा सहसचिव पदबाट अवकाश लिनुभएका भङ्गाहा-५ सीतापुरका बासिन्दा कृषिविज्ञ रामबहादुर भुजेल बताउँछन् । किसानले राहत पाउन वा कुनै सल्लाह लिन पनि कृषि प्राविधिक नभेटाउने गरेका आम गुनासो छ । जिल्लाको मुख्य पेसा र निर्भरता खेतीमै भए पनि जिम्मेवार तह र व्यक्तिको प्राथमिकतामा यो नपर्दा कृषिक्षेत्र दिनदिनै उपेक्षित हुँदै गएको जिल्लाकै हतिसर्वा सग्रामपुरका बासिन्दा सरकारी सेवाबाट निवृत्त अर्का कृषिविज्ञ जासर यादवको प्रतिक्रिया छ । कृषि विषय र शीर्षकमा सङ्घीय र प्रदेश सरकारका बजेटमा रकम विनियोजित भए पनि नाङ्गा खुट्टाका गरिब किसानले त्यसबाट अवसर पाउँदैनन् । ती रकम कागज मिलाएर टाठाबाठाले नै हात पार्ने गरेका अगुवा किसान बर्दिबास-६ चौलिखाका पर्शुराम ठाकुर बताउँछन् । कृषिक्षेत्रको यो अव्यवस्था चिर्न मुख्य रुपले स्थानीय तहहरु नै जिम्मेवार हुनुपर्ने अगुवा किसानको सल्लाह छ । स्थानीय तहहरुले व्यवस्थित कृषि शाखा सञ्चालन गरे सङ्घीय र प्रदेश सरकारका कृषि शीर्षकका रकम समुचित ठाउँमा पुग्ने वातावरण पनि बन्नसक्ने ठाकुरको सुझाव छ । आम किसान भने आफ्नो सरकार र आफ्ना प्रतिनिधि रहेको अनुभूति सँगाल्न समयमा कृषि ज्यावल, बीउबिजन, मलखाद र सहुलियत कृषि ऋणसँगै चाहिएको बेला प्राविधिक सरसल्लाह पाइने दिन पर्खिएको बताउँछन् ।

अचानक बेहोस भएपछि २० दिनकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो । अदानचुली–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतीक्षा भारतीले बताइन् । गाउँमै रहेको स्वास्थ्यचौकीमा सुत्केरी भएकी छत्याललाई अचानक रक्तस्राव भएपछि पालिका केन्द्र श्रीनगर स्वास्थ्यचौकीमा पुर्‍याएको र उपचार सम्भव नभएपछि सम्बन्धित निकायमा खबर गरेर थप उपचारका लागि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत अस्पतालमा उद्धार गरिएको प्रमुख डाक्टर भारतीले बताइन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्लासहित कर्णाली प्रदेशका दुर्गम जिल्लाका गर्भवती, सुत्केरी व्यथामा समस्याग्रस्त महिलाको उद्धार गर्दै आएको छ ।

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिकाअनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनको कार्य तालिकाअन्तर्गत मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताए । निर्वाचन कार्य तालिकाअनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजेसम्म हुनाका साथै सोही दिन नै उम्मेदवारको सूची सार्वजनिक हुने भएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरीमाथि छानबिन मङ्सिर ४ गते गरिने भएको बतइएको छ । उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने भएको छ । त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताए । उपाध्यक्ष पदको उम्मेदवार नेपाली कांग्रेसले आफ्नो उम्मेदवार सविता बुढालाई सर्वसहमत टुङ्ग्याएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवार टुङ्ग्याएका छैनन् ।

ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल र जर्मनबीच ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले जर्मनीले नेपालको आर्थिक विकासका लागि गरेको योगदानप्रति आभार व्यक्त गरे । उनले चिलिमे–त्रिशूली प्रसारण लाइन, लेखनाथ–दमौली प्रसारण लाइन, सौर्य ऊर्जा प्रवर्द्धनजस्ता परियोजनामा जर्मन सरकारले गरेको योगदानप्रति कृतज्ञता व्यक्त गरे । मन्त्री खड्काले ऊर्जा क्षेत्रका आवश्यकतालाई सम्बोधन गर्न, क्षेत्रीय सहयोगलाई बढावा दिन र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई प्रवर्द्धन गर्न जर्मन सरकारले सहयोग गरेका परियोजनाबाट निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । ऊर्जामन्त्री खड्काले भर्खरै सम्पन्न भएको आर्थिक तथा प्राविधिक सहयोग सम्झौतामार्फत नेपालमा जर्मनीले गरेको कुल ५६ मिलियन युरो बराबरको प्रतिबद्धताका लागि धन्यवाद दिए । भेटमा नेपालका लागि जर्मनीका राजदूत डा प्रिन्जले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक प्रसारण लाइन र सौर्य ऊर्जाको विकासका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले नेपाली जनताको जीवनस्तर उकास्नका लागि जर्मन सरकारले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा मन्त्री खड्कासँगै ऊर्जासचिव आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थविज्ञ अमित श्रेष्ठ, मन्त्रीका निजी सचिव मनोज पन्थलगायतको सहभागिता थियो ।

‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको ऊर्जाराज्यमन्त्री तामाङको दावी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको दाबी गरेका छन् । भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप कांग्रेसको सभापतिसमेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका थिए । महामन्त्री शर्माले ऊर्जा राज्यमन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्यमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरे । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्शन’कम्पनीसँगको आवद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टिकरण दिए । उनले पार्टीले विश्वास गरेर पठाएर नै कानुनअनुसार राज्यमन्त्री भएको उल्लेख गरे । उनले देशको कानुनले आवद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेशमा फर्कनसक्ने बताए । उनले भने,‘कान्छाराम कन्स्टङ्क्शन प्रालिमा मैले दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको थिएँ । म अहिले पार्टीले पठाएर अहिले सरकारको ऊर्जा राज्यमन्त्री छु । कानुनभन्दा ठूलो केही छैन । कानुनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेशा र व्यवसाय र परिवारसँग काम गर्न तयारी छु ।’ मन्त्री तामाङले २०७९ को सांसदको टिकट पाउनुभन्दा पहिला कम्पनीबाट निस्किएकाेमा जाेड दिए । उनले भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताकोे फोटोकपी अनिवार्य गर्न मागसमेत गरे ।