नेपालमा करिब ८ प्रतिशत मानिस दमबाट प्रभावित
काठमाडौं । आज विश्व दम दिवस ‘दम भएका सबैलाई एन्टी–इन्फलामेटरी इनहलेरमा पहुँच अहिलेको प्रमुख आवश्यकता’ नाराका साथ विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसकै अवसरमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा निर्देशक डा अनुज भट्टचनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा करिब छदेखि आठ प्रतिशत मानिस दमबाट प्रभावित हुने गरेको पाइएको छ । उनका अनुसार नेपालमा तीव्र सहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमी र जलवायु परिवर्तनका कारण दमको जोखिम निरन्तर बढ्दो छ । दमले बालबालिका, किशोरकिशोरी, वयस्क तथा वृद्धसहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको उनको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब २६ देखि ३० करोड मानिस दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ । दमले शारीरिक गतिविधिमा सीमितता आउने, निद्रामा समस्या हुने र निरन्तर थकान महसुस हुनेजस्ता समस्या देखा पर्छन् । दम अझै पनि कम पहिचान हुने भएकाले धेरै बिरामीले पर्याप्त उपचार नपाउने गरेको उनको भनाइ छ । स्वास्थ्य संस्थामा दम उपचारका आधारभूत सामग्री, विशेषगरी इनहेल्ड कोर्टिकोस्टेरोइडयुक्त (एन्टी–इन्फलामेटरी) इनहेलरको उपलब्धता कम हुनु वा मूल्य अत्यधिक महँगो हुनुका कारण विश्वभर हुने दमसम्बन्धी करिब ९६ प्रतिशत मृत्यु हाम्रोजस्तो मध्यम आय भएका देशमा हुने गरेको पाइएको छ । 'इनहेलरको सट्टा मुखमार्फत वा सुइमार्फत दिने औषधिमा बढी निर्भर हुने प्रवृत्ति अझै देखिन्छ, जुन सधैँ प्रभावकारी हुँदैन । त्यसैले उपचारमा ढिलाइ तथा आवश्यक औषधिको अभावका कारण जटिलता बढ्ने जोखिम रहन्छ', उनले भने ।
बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन
काठमाडौं । कान्ति बाल अस्पताल प्रशासनले आफ्ना कमजोरी लुकाउन तल्लो तहका कर्मचारीमाथि दबाब बढाएको छ । अस्पतालको एकीकृत सेवा प्रणालीमा देखिएको अनियमितताबारे विकासन्युजले समाचार सार्वजनिक गरेपछि व्यवस्थापनले कर्मचारीसँग स्पष्टीकरण सोध्ने र कारबाहीको चेतावनी दिने गतिविधि सुरु गरेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरूका अनुसार प्रयोगशाला विभाग प्रमुख डा. मोनी सुवेदीले सोमबार इमर्जेन्सी विभागका कर्मचारीहरूलाई बोलाएर मिडियामा सूचना दिने व्यक्तिलाई कडा कारबाही गर्ने चेतावनी दिएकी छन् । सोमबार दिउँसो खाजा समयअघि सबै कर्मचारीलाई भेला गराएर उनले मिडियामा सूचना चुहाउनेलाई पानीमुनि गए पनि नछोड्ने चेतावनी दिएकी हुन् । ती कर्मचारीका अनुसार केही कर्मचारीलाई लक्षित गर्दै स्पष्टीकरणसमेत सोधिएको छ । उनले प्रयोगशालासम्बन्धी रिपोर्ट बाहिरिएको विषयलाई लिएर दोषी पत्ता लगाइ छोड्ने भन्दै कडा निर्देशन दिएको अस्पताल स्रोतले बताएको छ । कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण
बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशक तहका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा अध्यक्ष चन्द्रकला पौडेलले नयाँ जिम्मेवारी तोक्दै जिम्मेवारीमा हेरफेर गरिएको हो । नयाँ जिम्मेवारी अनुसार निर्देशक शम्भराज लामिछानेलाई कानून महाशाखाको जिम्मेवारी तोकिएको छ । निर्देशक कमल प्रसाद रेग्मीलाई नियमन महाशाखाको जिम्मा दिइएको छ । त्यस्तै, निर्देशक पुजन ढुङ्गेल अधिकारीलाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । त्यसैगरी, निर्देशक ध्रुव तिमल्सिनालाई अनुसन्धान महाशाखा, निर्देशक कुन्दन सापकोटालाई सुपरिवेक्षण महाशाखा र निर्मल अधिकारीलाई बीमालेख महाशाखाको जिम्मेवारी ताेकिएकाे छ ।
मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै
मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका हुन् । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक तथा शाखा सडकलगायत पूर्वाधार निर्माणले यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका छन् । त्यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ पछिल्लो समय एक्याप जोमसोम र लोमान्थाङले यहाँका पाँचैवटा स्थानीय तहमा पदमार्ग मर्मत तथा स्तरोन्नति गरिरहेको छ । थासाङ गाउँपालिका–४ पैरोथाप्लादेखि वारागुङ मुत्तिक्षेत्र–३ छुसाङसम्म कार्यक्षेत्र रहेको एक्याप जोमसोम कार्यालयले चालु आर्थिक वर्षका लागि ११ वटा पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति गर्न ३२ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । एक्याप जोमसोम कार्यक्षेत्रका ११ वटा पर्यटकीय पदमार्ग मर्मतमध्ये तीनवटा सम्पन्न भइसकेको र अन्य पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नतिको चरणमा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । उनका अनुसार थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका पदमार्ग चौडा गर्ने, सरसफाइ गर्ने, जोखिममा रहेका पदमार्गमा छप्पनी ढुङ्गा बिछ्याउने, पदमार्ग उकास्न ग्याबिन वाल र रेलिङ लगाउने काम भइरहेको छ । एक्याप जोमसोमले चालु आवमा यहाँको चोेखोपानीदेखि सौरु जोड्ने पदमार्ग, भुतर्छो ताल वरिपरि परिक्रमा गर्ने पदमार्ग, चिमाङ गाउँभित्र जाने पदमार्ग, सौरुदेखि सिर्खुम जाने थाङ्मेडाँडा पदमार्ग र टिटीदेखि लुप्साङ खर्क जाने पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको छ । थासाङको छयोदेखि टिटीताल जाने नयाँ वैकल्पिक पदमार्ग, झिप्रा देउरालीदेखि प्याचु पदमार्ग स्तरोन्नति भइरहेको कार्यालय प्रमुख गुप्ताले बताए । त्यसैगरी घरपझोङ गाउँपालिकाअन्तर्गत सम्ले गाउँभित्र जाने पदमार्ग र नमखुलेकदेखि तिलिचो ताल जाने पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत मनाङबाट आएका विदेशी पर्यटकका लागि थोरङफेदीदेखि छेङ्गुर झर्ने पर्यटकीय पदमार्ग र मुक्तिनाथ रानीपौवा पुराङदेखि झारकोट गाउँभित्रसम्मको पुरानो पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति भइरहेको छ । एक्याप जोमसोमले अघिल्लो वर्ष यहाँको पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिका लागि २७ लाख ९० हजार रुपैयाँ बजेट छुट्याएको थियो । उक्त बजेटअनुसार थासाङ गाउँपालिकाको कालोपानीदेखि धुलोडाँडासम्मको नयाँ पर्यटकीय पदमार्ग निर्माणसहित छवटा पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नति गरेको थियो । यहाँको एक्याप लोमान्थाङले पनि पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिमा जोड दिइरहेको छ । यसका लागि चालु आवमा १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । एक्याप लोमान्थाङले यस वर्ष छुसाङदेखि तेताङ पदमार्ग, ताङ्ग्यादेखि पा पदमार्ग, छोसेरदेखि कोन्जोलिङ पदमार्ग र मराङदेखि लोमान्थाङ जोड्ने पर्यटकी पदमार्गहमा मर्मत तथा स्तरोन्नति गरिरहेको छ । पछिल्लो तीन आवमा माथिल्लो मुस्ताङमा २० किमी दूरीमा पदमार्ग मर्मत तथा स्तरोन्नति गरिएको प्रमुख पौडेलको भनाइ छ । रासस
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेको भीड (फोटो–फिचर)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । सोमबारदेखि सुरु भएको महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान भइरहेको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदानमा देशभरका उद्योगी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको छ । बिहानैदेखि मतदाताहरूको लामो लाइन लागेको छ भने चुनावी माहोलले प्रज्ञा प्रतिष्ठान परिसर निकै उत्साहपूर्ण देखिएको छ। महासंघका अनुसार मत गणना सकिएपछि बुधबारसम्ममा अन्तिम परिणाम सार्वजनिक गरिनेछ । महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् । उनीबाहेक अन्य विभिन्न पदाधिकारी र कार्यकारिणी सदस्य पदका लागि भने निर्वाचन भइरहेको हो । महासंघमा ४ उपाध्यक्षसहित कुल ७३ पदमा प्रतिस्पर्धा हुँदैछ । उपाध्यक्ष पदमध्ये जिल्ला–नगरतर्फ २, एसोसिएटतर्फ १ र वस्तुगततर्फ १ जना चयन हुनेछन् । यस निर्वाचनमा २ हजारभन्दा बढी मतदाताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मतदाता संरचनाअनुसार एसोसिएटतर्फ १ हजार ८५०, जिल्ला–नगरतर्फ १२९, वस्तुगत संघतर्फ १०७, वस्तुगत महासंघतर्फ १७, द्विराष्ट्रिय तर्फ ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा मुख्य दुई समूहबीच प्रतिस्पर्धा भइरहेको छ । स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूह र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको हो । श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्ष उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उम्मेदवार छन् । त्यस्तै, हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । साथै महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी छन् ।
एनएमएको मत गणना अपडेट : ६२६५ मत गणना सम्पन्न हुँदा डा. रिजाल अग्रस्थानमा
काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को जारी मत गणनामा कडा प्रतिस्पर्धा देखिएको छ । ६ हजार २ सय ६५ मत गणना सम्पन्न हुँदा अध्यक्ष पदमा डा. बद्री रिजाल अग्रस्थानमा देखिएका छन् । सुरुवाति अग्रस्थानमा रहेका डा. रावललाई पछि पार्दै डा. रिजाल अग्रस्थानमा आएका छन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार रिजालले २ हजार ८ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. मंगल रावलले २ हजार ६ सय १९ मत प्राप्त गरेका छन् भने डा. नारायण प्रसाद भुसाल ७ सय ५२ मत सहित तेस्रो स्थानमा छन् । वरिष्ठ उपाध्यक्षमा डा. संजीव तिवारी २ हजार ६ सय ३५ मत सहित अग्रस्थानमा रहेका छन् । उनलाई डा. किर्तीपाल सुबेदी २ हजार ४५ मत सहित पच्छ्याइरहेका छन् भने डा. अजय कुमार मिश्र १ हजार २सय ८५ मत सहित तेस्रो स्थानमा छन्। यस्तै महासचिवमा डा. विश्वराज दवाडी २ हजार ३ सय ९२ मत सहित अगाडि छन् भने डा. कालु सिंह खत्री २ हजार १ सय ५८ मत ल्याउँदै पछ्याइरहेका छन भने डा. अमृत भुसाल १ हजार ४ सय ५० मत सहित तेस्रो स्थानमा छन् । प्रदेशगत उपाध्यक्षतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमती प्रदेशमा डा. सुभाष भट्टराई, गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशमा डा. नन्दा कुमारी गुरुङ, कर्णाली प्रदेशमा डा. रबिन खड्का र सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी अग्रस्थानमा रहेका छन् । कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल अग्रस्थानमा देखिएका छन् ।
मारवाडी सेवा समितिको दुई दशक लामो कब्जा अन्त्य, धर्मशाला खाली गराउने कानुनी बाटो खुल्यो
काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि मारवाडी सेवा समितिले प्रयोग गर्दै आएको पशुपति गौशाला धर्मशालाको जग्गामा समितिको कुनै ‘मोही हक’ नलाग्ने अन्तिम फैसला भएको छ । उच्च अदालत, पाटनले काठमाडौं जिल्ला अदालतको अघिल्लो फैसलालाई सदर गरेसँगै पशुपतिनाथको नौ रोपनीभन्दा बढी बहुमूल्य जग्गा खाली गराउने कानुनी बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले सोमबार उक्त फैसला सुनाएको हो । अदालतले साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ र ८५ को कुल ९ रोपनी ९ आना २ पैसा जग्गामा मारवाडी सेवा समितिको मोहियानी हक नरहेको प्रष्ट पारेको छ । अदालतको फैसलाले पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको ठहर गरेको छ । यसअघि जिल्ला अदालतले २०८१ असोज १६ गते यस्तै फैसला गरेको थियो, जसका विरुद्ध समितिले उच्च अदालतमा मुद्दा दायर गरेको थियो। समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा नै धर्मशालाका भौतिक संरचनामा कोषको पूर्ण स्वामित्व स्वीकार गरिसकेकाले अहिले आएर मोही हक दावी गर्नु कानुनविपरीत हुने अदालतको ठहर छ । साविकदेखि नै ‘पशुपति गौशाला धर्मशाला’ नामको कुनै छुट्टै संस्था अस्तित्वमा नदेखिएको र समिति आफैले गरेका पूर्वसर्तहरूले उसलाई बाँधेको फैसलामा उल्लेख छ । वार्षिक मात्र ५१ हजार रुपैयाँ बुझाउने गरी गरिएको २०६० सालको सम्झौता अपारदर्शी र अनुचित रहेको भन्दै अदालतले कोषद्वारा २०८० साउन १७ गते गरिएको सम्झौता खारेजीको निर्णयलाई समेत सदर गरिदिएको छ । पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य–सचिव डा. मिलनकुमार थापाले यसलाई एक दशक लामो न्यायिक संघर्षको सुखद परिणामका रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘यो भगवान पशुपतिनाथकै न्यायको पक्षमा आएको फैसला हो । अब यो जग्गा कुनै व्यापारिक स्वार्थमा होइन, विशुद्ध धार्मिक र सामाजिक कार्यका लागि गैरनाफामूलक ढंगले सञ्चालन हुनेछ ।’ डा. थापाका अनुसार पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच भएको सहमति अनुसार अब भक्तजनको सेवाका लागि महानगरसँगको समन्वयमा नयाँ व्यवस्थापन अघि बढ्नेछ । वर्तमान प्रधानमन्त्रीले महानगर प्रमुख हुँदा नै यसलाई राज्यकै निकायले सञ्चालन गर्नुपर्ने अग्रसरता लिएको उल्लेख गर्दै उनले तत्काल धर्मशाला खाली गराउन सरकारसँग माग गरेका छन् । दस्तावेजका अनुसार वि.सं. १९९९ जेठ ५ गते पशुपतिमा छोडिएका नन्दी (साँढे) हरूको संरक्षणका लागि जुनेलो घाँस लगाउन हरिनारायण (रामकुमार मारवाडी) लाई केही जग्गा उपलब्ध गराइएको थियो । तर, सो जग्गामा कसैको पनि मोही हक नरहेको कोषको अभिलेखले देखाउँछ । पछि २०६० सालमा धर्मशाला सञ्चालनका लागि मात्र समितिलाई दिइएको भए पनि समितिले त्यसमा मोही हक दावी गर्दै व्यापारिक प्रयोजनमा ल्याएपछि विवाद सुरु भएको थियो । अधिवक्ता कृष्णमुरारी पुडासैनीका अनुसार उच्च अदालतको यो फैसलापछि मारवाडी सेवा समितिलाई पुनरावेदनमा जाने बाटो बन्द भएको छ । यद्यपि, समितिले ‘दोहोर्‍याइ पाऊँ’ भनी निवेदन दिन सक्ने प्रावधान रहे पनि फैसला कार्यान्वयन रोकिने छैन । सरकारले अब कानुनी रूपमै धर्मशाला खाली गराई कोषको मातहतमा ल्याउन सक्नेछ ।
शेखर गोल्छा सीआईबीको हिरासतमै
काठमाडौं । व्यवसायी शेखर गोल्छामाथि प्रहरीले अर्को कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाएको छ । गोल्छालाई सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार भएको कसुरमा धरौटीमा छाड्न परमादेश दिएको थियो । गोल्छाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर उनीमाथि बीमा ऐन, २०७९ अनुसार अनुसन्धान गर्नका लागि हिरासतमै राखिएको सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले विकासन्युजलाई जानकारी दिए । ‘सर्वोच्चको आदेशअनुसार धितोपत्र ऐन अनुसार उहाँसँग धरौटी लियौं,’ उनले भने । प्रहरीले गोल्छाविरुद्ध बीमा ऐन अनुसार कसुर भएको भन्दै पक्राउ अनुमति लिएको थियो । सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको थियो । शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोप लागेका बिचौलिया दीपक भट्टसँग ‘नेक्सस’ देखिएको आरोपमा गोल्छालाई पक्राउ गरिएको हो । व्यवसायी गोल्छालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश