काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।
पूर्वअर्थमन्त्री नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मुद्दा चलाइएको थियो ।
दुवैजना आज अदालतमा उपस्थित भएका थिए । बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो ।
पहिलो मुद्दामा पनि विशेष अदालतले उनीहरूलाई थुनामा राख्न आदेश दिएको थियो ।