युवाको नेतृत्वले परिणाम दिन नसके ‘युवाबाट पनि हुँदैन’ भन्ने भाष्य बन्न सक्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा बनेको सरकार, राजनीतिक दल र संसद्ले अपेक्षित परिणाम दिन नसके युवाको नेतृत्वमाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले अहिलेको राजनीतिक परिवेशमा युवाहरू नेतृत्वमा आउने अवसर पाएको उल्लेख गर्दै त्यसलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समय सरकारदेखि राजनीतिक दल र संसद्सम्म युवाको उपस्थिति र नेतृत्व देखिएको भन्दै अब युवाले आफ्नो क्षमता व्यवहारमै प्रमाणित गर्नुपर्ने बताए । युवाको नाममा नेतृत्वमा पुग्ने तर काम र परिणाममा पुरानै शैली दोहोरिने हो भने त्यसले समग्र युवा पुस्तामाथि नकारात्मक धारणा बन्न सक्ने उनको भनाइ थियो ।

‘युवाले नेतृत्व गरेको सरकार, युवाले नेतृत्व गरेको पार्टी र युवाको उपस्थिति रहेको सदन अहिले हामीले देखिरहेका छौँ,’ लामिछानेले भने, ‘यदि युवाले पनि परिणाम दिन सकेनन् भने अब युवाबाट पनि हुँदैन भन्ने भाष्य निर्माण हुन सक्छ ।’

उनले युवामाथि समाजले राखेको अपेक्षा ठूलो रहेको भन्दै त्यसलाई निराशामा बदलिन नदिन नेतृत्वमा पुगेका युवाहरू थप जिम्मेवार हुनुपर्ने बताए । उनका अनुसार राजनीतिक परिवर्तनसँगै शासन सञ्चालनको शैली, निर्णय प्रक्रिया र सार्वजनिक सेवा प्रवाहमा समेत ठोस सुधार देखिन आवश्यक छ ।

लामिछानेले युवाको नेतृत्वलाई केवल उमेरको परिवर्तनका रूपमा नभई सोच, कार्यशैली र परिणाममा देखिने परिवर्तनका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। नेतृत्वमा पुगेका युवाले अवसरलाई व्यक्तिगत वा समूहगत स्वार्थका लागि नभई देश निर्माणको जिम्मेवारीका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

उनले युवाहरूलाई राजनीतिको दर्शकका रूपमा मात्र नरही नीति निर्माण र राज्य सञ्चालनको प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नसमेत आह्वान गरे । अहिलेको पुस्ताले देशको भविष्यबारे प्रश्न उठाउने मात्र नभई त्यसको समाधान खोज्ने जिम्मेवारी पनि लिनुपर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा युवाको राजनीतिक सहभागिता, नेतृत्व विकास तथा देशको समग्र रूपान्तरणमा युवाको भूमिकाबारे समेत छलफल भएको थियो । लामिछानेले युवाको ऊर्जा र क्षमतालाई सही दिशामा परिचालन गर्न सके देशको राजनीतिक तथा सामाजिक रूपान्तरणलाई गति दिन सकिने धारणा राखे ।

Share News