विकासन्युज

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ

काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ । कम्पनीले पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको अध्ययन र भविष्यमा आईपीओ निष्काशनको तयारीलाई व्यवस्थित बनाउन नेपाल लाइफ क्यापिटलसँग ‘कर्पोरेट एडभाइजरी सर्भिसेस’ सम्बन्धी सम्झौता गरेको हो । शुक्रबार साउन २९ गते भरतपुर–४, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीले संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित गर्दै आगामी दिनमा सर्वसाधारणलाई समेत आफ्नो विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ । सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीबाट व्यवसाय सुरु गरेको थियो । सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याएसँगै कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ पनि विस्तार गरेको जनाएको छ । कम्पनीले हाल क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर्स, सोल कन्डिसनर्स तथा बायो–इनपुट्समार्फत किसानलाई सेवा दिँदै आएको छ । विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व तथा बालीको गुणस्तर बढाउने, माटोको दीर्घकालीन स्वास्थ्य कायम गर्ने र दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । किसानलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउन विभिन्न तालिम तथा ‘किसान कल सेन्टर’ जस्ता पहलसमेत सञ्चालन गर्दै आएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई संस्थागत परामर्श सेवाअन्तर्गत आईपीओ कन्सल्टेसन तथा क्यापिटल रिस्ट्रक्चरिङसम्बन्धी सेवा प्रदान गर्नेछ । सम्झौताअनुसार क्यापिटलले कम्पनीको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन तथा मूल्यांकन, पूँजी संरचना र सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार तथा नियामकीय प्रक्रियामा समन्वयलगायतका सेवा उपलब्ध गराउनेछ ।

नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुलीले सम्हाले पदभार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले पदभार ग्रहण गरेका छन् । कम्पनी सञ्चालक समितिको ४७औँ बैठकको निर्णयअनुसार पराजुलीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन् ।  

प्रभु बैंकका ग्राहकलाई सासा ट्वा हस्पिटालिटीमा १५ प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले सासा ट्वा हस्पिटालिटी प्रालिका सेवामा छुट पाउने भएका छन् । प्रभु बैंक र सासा ट्वा हस्पिटालिटी प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन, कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा सासा ट्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक सुशान महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारी र वैध परिचयपत्र भएका ग्राहकले सासा ट्वा हस्पिटालिटीमा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधा लिन ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकको अन्य विद्युतीय प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ । प्रभु बैंकले देशभर रहेका ३०० भन्दा बढी शाखा कार्यालय, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।

जुट्न नपाउँदै फुटे, वरीयतामा मिलेन कुरा

काठमाडौं । राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मुद्दालाई केन्द्रमा राखेर सहकार्य थालेका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीचको राजनीतिक सहयात्रा राम्रोसँग जुट्न नपाउँदै फुटेको छ । राणा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिरहँदा प्रसाईं भने छुट्टै राजनीतिक शक्ति निर्माण गर्ने गृहकार्यमा लागेका बुझिएको छ ।  राप्रपाको महामन्त्री पद छाडेर नयाँ राजनीतिक अभियानमा लागेका राणाले ‘जय नेपाल पार्टी’ नामको दल गठन गर्न लागेका हुन् । प्रस्तावित दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोग पुग्ने कार्यक्रम तय भएको राणा पक्षका नेताहरुले बताएका छन् । दलको प्रस्तावित चुनाव चिह्न त्रिभुज राख्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।  प्रारम्भिक चरणमा राणा र प्रसाईं दुवैलाई एउटै राजनीतिक दलमा समेट्ने सहमति बनेको थियो । त्यसअनुसार राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने समझदारी भएको थियो । तर, संगठनको नेतृत्व, वरियता र निर्णय गर्ने अधिकारका विषयमा विवाद बढेपछि सहकार्य टिक्न नसकेको बुझिएको छ ।  पार्टीभित्र आफ्नो वरीयता पहिलो हुनुपर्ने र महत्वपूर्ण कार्यकारी अधिकारसमेत आफूले पाउनुपर्ने प्रसाईंको मागपछि दुई पक्षबीच मतभेद चुलिएको बताइएको छ । राणा पक्षले उक्त प्रस्ताव स्वीकार नगरेपछि संयुक्त पार्टी निर्माणको योजना प्रभावित भएको हो ।  विवादकै बीच प्रसाईंले पछिल्लो समय दिएका सार्वजनिक अभिव्यक्तिले पनि दुई पक्षबीचको दूरी बढाएको बताइएको छ । प्रसाईंले एक अन्तर्वार्तामा राणाको राजनीतिक दृष्टिकोणप्रति प्रश्न उठाउँदै राजसंस्था पुनःस्थापनाका विषयमा उनीहरूको धारणा समान नरहेको संकेत गरेका थिए ।  प्रसाईं पक्षका नेताहरूले भने तत्काल दल दर्ता गर्नुभन्दा केही समय लिएर सहमति खोज्नुपर्ने धारणा राखेका थिए । तर, राणा पक्षले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै दल दर्ता अघि बढाउने निर्णय गरेपछि दुई समूह छुट्टिने अवस्था आएको उनीहरूको भनाइ छ ।  राजसंस्था र हिन्दु राष्ट्रको एउटै एजेन्डामा नजिकिएका राणा र प्रसाईं अब फरक राजनीतिक संगठनमार्फत अघि बढ्ने अवस्थामा पुगेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रवार (आज) बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगी मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए ।  उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ३ बजे हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले नेकपा एमाले र नेकपाको गठबन्धनपश्चात अल्पमतमा परेपछि राजीनामा दिएका हुन् ।

सुनको मूल्य एकैदिन ४ हजार ६ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यही सुन ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य समायोजनको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन् ।

रिलायबल नेपाल लाइफको नाफा ५८ करोड, बीमाशुल्क साढे ६ अर्ब बढी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ५८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।  कम्पनीले सार्वजनिक गरेको गत आव २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २.१८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले ५७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  त्यसैगरी, गत आवमा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोष ३२.१४ प्रतिशतले बढेको हो । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीले ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.८६ प्रतिशतले बढेको हो । कम्पनीले समीक्षा वर्षमा ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.५६ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.२१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १०.९७ रुपैयाँ थियो ।  कम्पनीको प्रति सेयर नेटवर्थ १४८‍४९ रुपैयाँ रहेको छ । 

एनएलजी इन्स्योरेन्सको व्यापार बढ्यो, बीमा कोष पौने ४ अर्ब पुग्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा उल्लेख्य घटेको छ भने बीमाशुल्क आर्जनमा भने राम्रो वृद्धि भएको छ । गत आर्थिक वर्षमा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा १५ करोड ३३ लाख रुपैयाँ थियो । यस आधारमा कम्पनीको नाफा ६२.३१ प्रतिशतले घटेको हो । कम्पनीको चुक्ता सेयर पुँजी २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सेयर प्रिमियममा १३ करोड ८५ लाख, स्पेसल रिजर्भमा १ अर्ब ४२ करोड २ लाख, महाविपत्ति कोषमा ८ करोड ९४ लाख, रिटेन्ड अर्निङमा १ करोड १७ लाख र अन्य इक्विटीमा ११ करोड ५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको सेयर प्रिमियम २७ करोड १९ लाख, स्पेसल रिजर्भ १ अर्ब ३९ करोड १३ लाख, महाविपत्ति कोष ८ करोड ६५ लाख, रिटेन्ड अर्निङ ९ करोड १३ लाख र अन्य इक्विटी १७ करोड ६६ लाख रुपैयाँ थियो । यस्तै, कम्पनीको बीमा कोषको आकार बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बीमा कोषमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोषमा ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बीमा कोष १४.७६ प्रतिशतले बढेको हो । बीमाशुल्क आर्जनतर्फ भने कम्पनीले उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो बीमाशुल्क २ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ थियो । यससँगै कुल बीमाशुल्क आर्जन ३९.४७ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ९८ करोड २८ लाख रुपैयाँ थियो । यता, कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा ईपीएस २.१७ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको ईपीएस ५.९८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.३६ रुपैयाँ रहेको छ । वित्तीय विवरणअनुसार बीमाशुल्क आर्जन र बीमा कोषमा वृद्धि भए पनि कम्पनीको खुद नाफा तथा प्रतिसेयर आम्दानीमा भने गिरावट आएको देखिएको छ ।