साओमी फोन किन्ने सोंचमा हुनुहुन्छ ? यी हुन् १५ हजारसम्मका मोडल
काठमाडौं । आजको सूचना र प्रविधिको युगमा स्मार्टफोन अतिआवश्यक वस्तु बन्दै गएको छ । गाउँ होस् या सहर, हरेक ठाउँमा खोज्ने हो भने स्मार्टफोन नचलाउने सायदै भेट्न गाह्रो हुन्छ । बालबालिकादेखि बुढापाकासम्मको हातमा स्मार्टफोन देख्न सकिन्छ । स्मार्टफोनको प्रयोगले मानिसलाई सञ्चारप्रवाह गर्नेदेखि विभिन्न सूचना र जानकारी लिन ठूलो मद्दत पुगिरहेको छ । स्मार्टफोन आवश्यकता भएसँगै यसको माग पनि त्यही अनुसारले बढेको छ । कुनै समय स्मार्टफोन धनी र हुनेखाने वर्गले मात्रै प्रयोग गर्न सक्थे । कमजोर आर्थिक अवस्था भएकाहरूले स्मार्टफोन चलाउन सम्भव थिएन । तर आजको दिनमा बजारमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु सस्तो मूल्यदेखि लाखौं पर्नेसम्म उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो बजेटअनुसारको उत्कृष्ट क्वालिटीको फोन किन्न सक्छन् । यी हुन् साओमीका १५ हजारसम्ममा उपलब्ध मोडल १. रेड्मी ए टु नेपालमा एक वर्षअघि मात्रै बजारमा उपलब्ध भएको रेड्मी ए टु साओमीका विभिन्न मोडलमध्ये सबैभन्दा सस्तोमा उपलब्ध हुने स्मार्टफोन हो । कम्पनीले दुई जीबी र्याम र ३२ जीबी मेमोरी भएको रेड्मी ए टुको मूल्य १० हजार ४९९ रुपैयाँ तोकेको छ । यो फोनमा दुई वर्षको वारेन्टी रहेको छ । २. रेड्मी ए टु प्लस रेड्मी ए टु प्लस र रेड्मी ए टुको उस्त–उस्तै विशेषता छन् । कम्पनीका अनुसार दुई जिबी र्याम र ३२ जीबी मेमोरी भएको ए टु प्लसको मूल्य ११ हजार ४९९ पर्छ । त्यस्तै, तीन जिबी र्याम र ६४ जीबी मेमोरी भएको यस मोडलको मूल्य ११ हजार ९९९ रुपैयाँ रहेको छ । ३. रेड्मी ए थ्री साओमीको सस्तोमा उपलब्ध हुने अर्को नयाँ मोडल हो रेडमी ए थ्री । कम्पनीका अनुसार रेड्मी ए थ्री दुई भेरियन्टमा उपलब्ध छन् । यो मोडल ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरूमा उपलब्ध छन् । तीन जीबी र्याम र ६४ जिबी मेमोरी भएको यस मोडलको मूल्य ११ हजार ९९९ रुपैयाँ पर्छ । यसमा दुई वर्षको वारेन्टी रहेको छ । अर्को चार जीबी १२८ मेमोरी भएको यस मोडललाई प्रयोगकर्ताले १२ हजार ९९९ मा किन्न सक्छन् । यसमा पनि दुई वर्षको वारेन्टी छ । ४.रेड्मी टुवेल्स सी नेपाली बजारमा रेड्मी टुवेल्स सी तीन भेरियन्टमा उपलब्ध छन् । चार जीबी र्याम र ६४ जीबी मेमोरीको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै, ६ जिबी र्याम र १२८ जीबी मेमोरी भएको रेड्मी टुवेल्स सीलाई प्रयोगकर्ताले १५ हजार ९९९ मा खरिद गर्न सक्छन् । ५. रेड्मी थर्टिन सी शाओमीले रेड्मी टुवेल्स सीको सफलतापछि सार्वजनिक गरेको अर्को मोडल हो रेड्मी थर्टिन सी । बजारमा यस मोडलअन्तर्गतका तीन मोडलहरू उपलब्ध छन् । जसमा सबैभन्दा कम चार जीबी र्याम र १२८ जिबी मेमोरी रहेको रेड्मी थर्टिन सी मोडललाई ग्राहकले १३ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्छन् । यस मोडलअन्तर्गत ६ जीबी र्याम र १२८ जीबी मेमोरीको मूल्य १५ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम २५६ जीबी मेमोरीको १८ हजार ९९९ रुपैयाँ पर्छ । ६. रेड्मी फोर्टिन सी साओमीका रेड्मी फोर्टिन सीका तीन भेरियन्टहरू बजारमा उपलब्ध छन् । जसमध्ये ४ जीबी र्याम १२८ जीबी मेमोरी उपलब्ध रहेको यस मोडलको बजार मूल्य १३ हजार ९९९ रुपैयाँ पर्छ । रेड्मी फोर्टिन सीको अन्य भेरियन्टहरू ६ जीबी र्याम र १२८ जीबी मेमोरीको मूल्य १५ हजार ९९९ र ८ जीबी र्याम र २५६ मेमोरीको मूल्य १८ हजार ९९९ रहेको छ ।
कजरिया टाइल्सद्वारा नेपालमा पहिलो प्रिमियम सिरेमिक टाइल सेगमेन्टको उत्पादन सुरु
काठमाडौं । कजरिया रमेश टाइल्स लिमिटेडले आफ्नो उत्पादन लाइनलाई अझ विस्तार गरेको छ । कम्पनीले ३००*४५० एमएम सिरेमिक टाइलहरूको नयाँ श्रृंखला प्रस्तुत गरेको हो । यससँगै कम्पनीले सिरेमिक टाइल्स क्षेत्रमा आफ्नो प्रभावशाली प्रवेशको संकेत दिएको छ । यसअघि कम्पनीले ६००*६०० एमएम र ६००*१२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टाइल्सका साथै ४००*४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याइसकेको छ, जुन अहिले पनि लोकप्रिय छन् । कजरिया टाइल्सले नेपालभर १०० भन्दा बढी डिलर र वितरकहरूको विशाल नेटवर्क निर्माण गरेको छ, जसले ग्राहकहरूलाई कम्पनीका उत्कृष्ट उत्पादनहरू सजिलै प्राप्त गर्न मद्दत पुर्याएको छ । यी टाइलहरू नेपालमा नै उत्पादन हुने भएकाले उत्पादन लागत पनि कम गर्ने कम्पनीले जनाएकाे छ । जसकारण कजरिया टाइल्सले आयातित भारतीय टाइलहरूको तुलनामा २०/२५ प्रतिशत कम मूल्यमा उत्पादनहरू उपलब्ध गराउँछ। कम्पनीले विभिन्न डिजाइन, रङ र साइजका विकल्पहरू प्रस्तुत गर्दै आइरहेको छ । दाग र मोइस्चर प्रतिरोध गर्न सक्ने क्षमताले तिनीहरूलाई आधुनिक घरहरूमा प्रयोगका लागि उपयोगी, आकर्षक र दीर्घकालिक प्रयोगको लागि उत्तम बनाउँछ । सिरेमिक टाइलहरू भुइँ र पर्खाल दुबैको लागि भरपर्दो विकल्प हुन् । कम्पनीका निर्देशक हिमांशु अग्रवालले भने, ‘हामीले नेपाली बजारमा पहिलो पटक भिट्रिफाइड टाइल्स ल्याउँदा व्यापक प्रशंसा पाएका थियौं । त्यसै सफलतामा आधारित भएर हामी अहिले अत्याधुनिक प्रविधिमा उत्पादन गरिएका सिरेमिक टाइलहरू बजारमा ल्याउँदैछौं । हामी पूर्ण विश्वासका साथ भन्न सक्छौं कि नेपाली बजारमा यी टाइलहरू पनि त्यत्तिकै रुचाइनेछन् ।’ नयाँ उत्पादनले आवासीय र व्यावसायिक स्थान दुवैका लागि उच्च गुणस्तरका विविध विकल्पहरू प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । स्टाइल, टिकाउपन र सजिलो मर्मतसम्भारमा ध्यान केन्द्रित गर्दै यी टाइलहरूले विभिन्न ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखिएको छ । कजरिया रमेश टाइल्स लिमिटेडले रमेश कर्प र भारत को नं. १ टायल निर्माता कजरिया सिरामिक्सको संयुक्त लगानीमा नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन कारखाना निर्माण गरिरहेको छ । ४०० करोडको लगानीमा निर्माण हुने यस परियोजनाले वार्षिक ५२ लाख मिलियन स्क्वायर मिटर टाइल्स उत्पादन गर्नेछ, जसले हजारौं रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउनेछ । यस परियोजनाले दिगो विकासमा जोड दिँदै स्थानीय सामग्रीहरूको प्रयोग गर्नेछ र उच्च गुणस्तरको किफायती टाइलहरू उपलब्ध गराउनेछ ।
नक्कली डाक्टर बनेर लुटपाट
काठमाडौं । नक्कली डक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीआरसीबीबाट गएको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका-४ आरुखर्कबाट पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाइ आफू डाक्टर भएको र उपचार गरिदिने भन्दै पीडितको घरमा गइ बेहोस बनाइ लुटपाट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । एक जना पीडितको कोठाबाट उनले सुनका गहनासहित तीन लाख रुपैयाँ लुटेको उजुरीपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको छ ।
बालेनको गुनासो- सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि बढाएन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो गुनासो गरेका हुन् । प्रमुख बालेनले दुई तिहाइको सरकारले केही पनि गर्न नसकेको बताए । उनले भने, ‘यसपालि दुईतिहाइको सरकार छ, त्यही पनि केही गरेकै छैन ।व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन ।’ प्रमुख बालेनले कोटेश्वरमा पहिलोपटक महोत्सव भएकोमा खुसी व्यक्त गरे । महानगरका अनुसार तीनकुनेको ४६ रोपनी जग्गामध्ये २५ रोपनी जग्गाका धनीले हालसम्म मुआब्जा लिन मानेका छैनन् । उनीहरूले अहिलेको चलनचल्तीको भाउमा मुआब्जा पाउने पर्ने माग गरेका छन् ।
९ लाख १४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ९ लाख १४ हजार ३ सय २.८० कित्ता बोनस सेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको सेयर शुक्रबार सूचीकृत भएको नेप्सेले जनाएको छ ।
औषधीको प्रयोग गरी तौल घटाउँदा स्वास्थ्यमा असर, धनको पनि नाश
‘तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने’, ‘कपालमा भरिसकेका रौँहरु फेरि पलाउने’, ‘अनुहारमा भएका चायाहरु हट्ने फेरि जवान हुने’ आदि कामका लागि विभिन्न सञ्चारमाध्यममा अनेकौँ विज्ञापनहरु हेर्न, पढ्न र सुन्न सकिन्छ । कतिपयले ती विज्ञापनमा विश्वास गरी त्यस्ता सामग्री किनेर प्रयोग गर्दा आर्थिक हिसाबले नराम्ररी ठगिनु मात्र परेको छैन, त्यसले स्वास्थ्यमा गम्भीर जटिलता पनि ल्याएको छ । असम्भव कुरामा विश्वास गर्नु हुँदैन भन्ने थाहा पाउँदापाउँदै पनि विज्ञापनको जालोमा धेरै मानिस फसिरहेका छन् । विशेषगरी मानिसमा रहेका केही कमजोर पक्षहरुलाई समात्न विज्ञापन गर्ने संस्था र गर्न लगाउने कम्पनीले अनेक आकर्षक कुराहरु गरेर झुक्याउन सफल हुन्छन् । त्यही कमजोर पक्षलाई पकडेर गरिने विज्ञापन माछा जालमा फसे झैं हामी फसिरहेका हुन्छौँ । उदाहरणका लागि ‘मोटो मानिसका लागि खानेकुरा कम नगरे पनि हुने, व्यायाम गर्न नपर्ने, नथाकिने, खाली एक क्यापसुल औषधि बिहान बेलुका खाए पुग्ने’ जस्ता विज्ञापनले त मुटुमा यसरी छुन्छ कि मोटा व्यक्तिहरु त्यस्तो औषधि जताबाट पाउन पनि लालायित हुन्छन् । त्यस्तै प्रकारले ‘कम्मर पेटी बाँधेर केही छन बसेपछि पसिना निस्कन्छ अनि कम्मर त एक इन्च घटिहाल्छ’ भन्ने जस्ता लोभलाग्दो कुरा विज्ञापनमा भनेपछि कम्मर घटाउन चाहने मानिस दौडेर त्यो पेटी किन्न तयार हुन्छ । त्यसरी नै ‘छाला गोरो पार्न जिन्दगी सफल पार्न’ भन्दै थरिथरिका क्रिमहरुको विज्ञापन गरिन्छ, त्यसले विरामी फाइदा नपुगे पनि सम्बन्धित कम्पनीलाई राम्रै आम्दानी हुन्छ । यति हुँदाहुँदै पनि हामीहरुमध्ये धेरैले विज्ञापनमा भनिएका कुराहरु कति सत्य हुन् भन्ने कुरामा कहिल्यै सोचेका हुँदैनौँ । मोटोपन घटाउन वा औषधि वा कम्मर घटाउन बेल्टले कति सहायता दिन्छ होला त ? शरीरभित्र रहेको बोसो एकैचोटी पगाल्ने कुनै औषधि हुँदैन । यदि त्यस्तो हुँदो त अमेरिकामा २५ प्रतिशत जनसंख्याले त्यो औषधि प्रयोग गर्थे होलान् । कम्मर पेटी बाँधेर पसिना निस्कँदा कम्मरको नाम ३४ इन्चबाट ३३ इन्च हुँदो हो त, त्यस्तो खालको कम्मर पेटीको उत्पादन गर्ने कम्पनी हजारौँको सङ्ख्यामा हुने थिए होला । किनभने एक दिनमा एक इन्च घट्ने कम्मर १० दिनमा १० इन्च घट्दैन थियो होला त ? शरीरको कम्मरको नाप १० दिनमा १० इन्च घट्न शरीरको तौल कति कम हुनुपर्छ होला ? १० दिनमा के आश्चर्यजनक रुपले ‘केही नगरिकन’ तौल कम होला र ? तैपनि किन मानिसहरुले विश्वास गर्छन् र प्रयोग गर्छन् । विज्ञापनमा भनेका कुरा एक दिन–दुई दिन वा एकै दिनमा दशौँ चोटी सुनेपछि जो कोहीलाई पनि ‘हो कि, हो कि’ जस्तो लाग्न थाल्छ । त्यसमाथि पनि साँच्चीकै कुनै मानिसले त्यसमाथि पनि सुडौल खालकी महिलाले आएर ‘आफू पहिला मोटी भएको, तर औषधि खाएर वा कम्मरपेटी लगाएर पातलो भएर जीवन नै अर्को भएको कुरा’ भनेपछि विश्वास नगर्ने पनि कसरी ?’ भन्ने भावना आउँछ । हो यही भावनालाई पकडिएका छन् विज्ञापन निर्माता कम्पनीहरुले । यदि साँच्ची नै यसरी औषधि र पेटीको कारणले पातलोपन आउँदो हो त डाक्टरहरु त्यसमाथि पनि मुटु रोग विशेषज्ञहरुले बिरामीलाई यिनै औषधी वा पेटी किन्न लगाउँथे । चिनीका रोग भएको मोटा व्यक्ति, मुटुको रोग भएर तौल घटाउनु भन्ने रोगीलाई खानेकुरा कम गर्ने, व्यायाम गर्ने आदिको ठाउँमा यस्ता विज्ञापनको बढी काम लाग्थ्यो होला । उमेर बढ्दै जाँदा जीवनशैलीका कारणले (विशेषगरी बौद्धिक काम गर्ने) व्यक्तिहरुलाई त यही पेटी र औषधि प्रयोग गर्नु भन्ने बारेमा विशेषज्ञले बोल्थे होलान् । मोटो मानिसलाई खानेकुरा कम खाएर र व्यायाम गरेर महिनौँ लाग्ने काम त औषधीको एउटा चक्कीले हुने भए किन शारीरिक र मानसिक दुःख गरिरहनु पथ्र्यो र ? यदि साँच्चै यस्तो हुँदो त बिहानबिहान उठेर ‘मर्निङ वाक’ वा जीम गर्नेहरुले बिहानको मीठो निद्रा छोडेर गर्मी, जाडो, पानी नभनी किन दुःख गर्थे होलान् ? आधुनिक समाजमा मानिसहरुलाई विश्लेषण गर्ने समय छैन, विज्ञापनमा भनेको कुरा सुन्दासुन्दा हो जस्तो लाग्छ र फेरि त्यस्ता गलत विज्ञापनहरुको विरुद्धमा कसैले नबोल्ने र नलाग्ने हुनाले मानिसहरुलाई त हो न हो यो कुरा साँच्चीकै जस्तो लाग्छ ? मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीको विचारमा यसरी औषधि प्रयोगबाट तौल घटाउँदा शरीरमा धेरै हानी गर्छ । यस्ता औषधिहरुले केही समयको लागि घटाए जस्तो हुन्छ तर वास्तवमा शरीरको पानी गएर तौल घटेको अनुभव हुन्छ । पसिना शरीरबाट गएर, पेटी बानेर ठूलो भइन्छ भन्ने त वाहियात विज्ञापन हो । विज्ञापनको अर्को पक्ष देखिन्छ विभिन्न थरिका सौन्दर्य सामग्रीमा । उमेर बढ्दै जाँदा हुँदै जाने शारीरिक भित्री र बाहिरी परिवर्तनहरु रोक्छन्, वा प्रकृतिबाट लिएर आफ्नो छालाको रङ फेर्न सकिने भन्ने गरी जसरी विज्ञापन दिइन्छ, त्यसले एउटा त गलत ज्ञान वा कुराहरु भनिरहेको हुन्छ, अर्को मानवीय दृष्टिकोणले पनि कुनै खास वर्णका मानिसहरुले सोही कारणले जीवनमा सफलता प्राप्त गर्न सक्दैनन् भन्ने जस्ता विचार पनि दिइरहेका हुन्छन् । शरीरको छालाको बनोट र रङ हामीहरुले जन्मेदेखि लिएर आएका हुन्छौँ । यसलाई बाहिरी वस्तुहरु लेपन गरेर रङ् परिवर्तन गर्न सकिँदैन । कुनै रोग लाग्यो भने जस्तो छालाको ‘ल्यूकोडर्मा’ जसमा छालाको रङ दिने वस्तु–मेलानिन कम हुँदै जान्छ भने छालाका रङ बदलिन्छ । तर छालाको रङ कालोबाट गोरो हुने वस्तु चाहिँ हुँदैन । तर ‘गोरो’ हुनुपर्ने र गोरो भएपछि केटा र केटीले एक अर्कालाई मन पराउँछन् भन्ने जस्ता विज्ञापन दिएर सौन्दर्य सामग्री बनाउने कम्पनीले मालामाल हुने कारण पनि हाम्रो विश्वास हो । डा. अरुणा उप्रेती विज्ञापनबाट प्रेरित भएर हामी शरीरको छालालाई सफा राखेर, व्यायाम गरेर, पोषणयुक्त खाना खाएर स्वस्थ राख्नको सट्टामा सौन्दर्य सामग्री किनेर, लेप लगाएर राम्रो (गोरी) देखिन चाहन्छौं । तर यस्ता सौन्दर्य सामग्रीहरुको प्रयोग कति ठीक हो, विज्ञापनमा भनिएका कुरा कति सत्य हो, लामो समयसम्म यसको प्रयोग गरेपछि के हुन्छ भन्ने बारेमा हामी कहिले सोच्दैनौं । छाला रोग विशेषज्ञ डा. बिमला ओझा भन्नुहुन्छ, ‘यस्ता विज्ञापनहरु गलत सौन्दर्य र वैज्ञानिक दृष्टिकोणले पनि ठीक छैन । मानिसको शरीर स्वस्थ रह्यो भने अनुहारको चमक आफैं आउनेछ । यस्ता विज्ञापनहरुले गलत सन्देश दिन्छन् ।’ त्यसरी नै विज्ञापन दिएर हाम्रो अर्थ व्यवस्थालाई कमजोर बनाउँदैछ खानेकुराको विज्ञापनले । विशेषगरी बच्चाहरुको खानेकुराको विज्ञापन विभिन्न रेडियो, टिभी, पत्रपत्रिकामा आउने यस्ता विज्ञापनहरुले गलत सूचना त दिइरहेका नै हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनले हानीकारक, प्रयोग नगर्ने, यस्तो किसिमको सूचना दिन नहुने जस्ता बनाएका नियमहरुलाई पनि बेवास्ता गरिरहेका छन् । फलफूलको रसहरु ताजा फलफूलले बनाइएका बट्टामा बन्द गरी केही बाहिरी वस्तु नमिसाइएको, स्वस्थ भनेर प्रचार गरिन्छ र फलफूलको सट्टामा राखिएको रस हामी साँच्ची नै फलफूलको रस भनेर ल्याउँछौं । तर विचार गर्नुस् त ? के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ताजा रहिरहन सक्छ ? अर्को कुरा फलफूलका रस बनाएर राख्दा त फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन् भने अर्कोतिर कहिले बनाएर राखेको र बासी फलफूलको रस चाहिँ सधैं ताजा रहन्छ भन्ने विज्ञापनमा सन्देश दिइन्छ र हामी विश्वास पनि गर्छौं । बिहान पकाएको बेलुका नखाने हामीहरु महिनौंदेखि बासी बट्टामा राखिएको फलफूलको रस ताजा झैं स्वाद मानेर खान्छौं र स्वस्थ भयौं भन्ठान्छौंँ । आर्थिक र स्वास्थ्य दुवै दृष्टिकोणले यसरी बट्टामा राखिएका वस्तुहरुबाट हामीले के फाइदा गर्न सक्छौं त ? विज्ञापनमा सुनिन्छ– ‘बढ्ने उमेरका बच्चाहरुका लागि घरको खाना मात्र पर्याप्त छैन । बढ्ने उमेरका बच्चाहरुलाई चाहिन्छ प्रोटिन र र अनेक किसिमका लवणहरु जुन यही फलफूलजन्य बट्टामा राखिएका वस्तुमा पाइन्छ । यो वस्तु किन्नु भयो भने तपाईंले सित्तैमा चम्चा, बाल्टिन, झोला, आदि पनि पाउनुहुन्छ ।’ अनि सित्तैमा पाइने वस्तुको लोभ र घरको खानाले बच्चालाई पोषण नपुग्ने भन्ने विश्वासमा परेर धेरैले त्यस्ता खानेकुरा किनेर ल्याउने गर्दछन् । मानिसहरुले यसमा विचार पुर्याएको देखिन्न कि त्यस्ता बट्टाहरुमा राखिएका भोजनहरु केबाट बनाइन्छन् ? प्रायः अङ्ग्रेजीमा साना अक्षरमा लेखिएका यी वस्तुहरुमा लेखिएको हुन्छ । प्रयोग गरिएका वस्तु– कोदो, चामल, गहुँ, जौ, दूध, चिनी आदि र त्यसमा यो पनि लेखिएको हुन्छ– अझ बढी क्याल्सियम मिसाइएको हुन्छ । यीमध्ये सबै वस्तु घरमा पाइन्छन् तर १० गुणा बढी मूल्य तिरेर किन्ने गरिन्छ । बाहिरका बट्टाका खानेकुरा स्वास्थ्यकर छैनन् । यस्तै साना शिशुहरुलाई खुवाइने पोषणका बारेमा त विश्व स्वास्थ्य सङ्गठन र युनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएका नियमहरुलाई एकातिर फालेर शिशुका पोषण र दूधको लागि विज्ञापन गरिन्छ । बच्चाहरुलाई दूध बनाउने कम्पनीहरुले पहिले त आमाको दूधभन्दा बट्टाको दूध शिशुलाई फाइदा गर्छ भनेर विज्ञापन गर्थे । पछि स्वास्थ्यकर्मीहरुले त्यसको विरुद्धमा आवाज उठाएपछि विश्व स्वास्थ्य सङ्गठनले यससम्बन्धी नियम बनाएपछि यस्ता सन्देशहरु दिन चाहिं छोडेका छन् तर अन्य तरिकाले विज्ञापन र गलत सन्देश दिने काम त अझै जारी छ । घरमा रहेको जाउलो, रोटी, आलु छोडेर विज्ञापनबाट प्रेरित भएर त्यसमा बढी पैसा तिर्ने गर्दछन् । यसरी विज्ञापनको प्रभावमा परेर धेरैजना हरेक पलमा ठगिरहेका हुन्छन् । विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका कुराहरु पनि किन्ने प्रवृत्ति छ । सही ढङ्गबाट विज्ञापन गर्ने नियम कार्यान्वयन तथा उपभोक्ताहरुमा स्वास्थ्यप्रतिको जनचेतनाको विकास नभएसम्म धेरै मानिसहरुले आर्थिक नोकसानीको साथै अनेक स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था रहिरहनेछ । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन् )
रेलको उपकरण जीटुजी विधिबाट खरिद गर्न सरकारको सहमति, यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय
काठमाडाैं । सरकारले रेलको उपकरण खरिद गर्दा सरकार तथा सरकार (जीटुजी) विधिबाट खरिद गर्ने सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्तिपरिषदको बैठकले रेलको सञ्चालन र मर्मतका लागि आवश्यक उपकरण खरिद गर्दा जीटुजी विधिबाट खरिद गर्न सहमति प्रदान गरेको हो । यसैगरी, उक्त बैठकले राष्ट्रिय खेलकुद परिषदको सदस्यमा शान्तिकुमारी चौधरी, आनन्द कुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्द बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै, मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमति नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसूर तोक्ने निर्णय पनि बैठकले गरेको छ । मंगलबारको बैठकले १२ वटा निर्णय गरेको छ । [pdf id=531070]
दशगजा वारिपारि पहेँलपुर तोरीबारी, छेकेन सीमाले
झापा । मेचीनगर नगरपालिका-७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा क्षेत्रमा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ । त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हानेको क्रिक्रेट बल कहिले नेपालतिर र कहिले भारतीय भूमिको पहेँलपुर तोरीबारीमा पुग्ने गर्छ । चार वर्षअघि नेपाल र भारत दुवै मुलुकले दशगजा क्षेत्र खाली राख्ने निर्णय गरेसँगै गैरीगाउँको दशगजा क्षेत्र बालबालिकाका लागि खेलमैदान जस्तै भएको छ भने स्थानीयवासीको गाईबाख्रा चराउने चरन बनेको छ । तीन दशकअघि सीमा अद्यावधिक गर्ने क्रममा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ गाडिएको थियो । गैरीगाउँको माझमा गाडिएको सो सीमा स्तम्भले स्थानीय बासिन्दालाई दुई देशको फरक भूगोलमा बाँडिदियो । अहिले गाउँको आधा भाग भारततिर परेको छ । स्थानीय कुलप्रसाद तिवारीको डेढ बिगाहा जग्गा त्यही बेलादेखि सीमा पारि भारतमा पर्यो । नेपाल र भारत दुवैतिर उनको खेतीपाती चलिरहेको छ । सीमा अद्यावधिक हुनुअघि दुवैतिरको जग्गाको उनीसँग नेपाली धनीपुर्जा थियो । उसबेला तिवारीले सरकारी मालपोत नेपालमै बुझाउनु हुन्थ्यो । तर, गैरीगाउँको माझमा सीमा स्तम्भ ठडिएपछि उनको जस्तै दर्जनौँ बासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय भूभाग ठहरियो । तिवारीको जग्गामा यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । तोरीबारीको माझमा रहेको दशगजामा स्थानीय बालबालिका विद्यालय छुट्टी हुनासाथ क्रिक्रेट, फुटबल, भलिबल र कबड्डी खेल्न दिनहुँ झुत्तिन्छन् । ‘खेल्दाखेल्दै कहिलेकाहीँ भारततिरका एसएसबी (भारतीय सशस्त्र सीमा सुरक्षा बल)का अङ्कलहरु आउनुहुन्छ, कहिले नेपालका सशस्त्रको अङ्कलहरु आउनुहुन्छ,’ काँकडभिट्टा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ठकुरी भन्छिन्, ‘दशगजा होस् कि बीसगजा होस्, हामीलाई खेल्न पाए भयो । अङ्कलहरुले राम्ररी खेल्नु भनेर हौस्याउनुहुन्छ । हामीलाई त उहाँहरुसँग केही डर लाग्दैन ।’ गैरीगाउँमा नेपाली धनीपुर्जा भएको पचासौँ बिगाहा जग्गा सीमा अद्यावधिकका कारण भारतीय भूमिमा परेको विवादास्पद प्रसङ्गले बेलाबेला सञ्चारमाध्यममा चर्चा पाउने गरेको छ । तर गाउँमा भने विवाद र भएको कुनै छनक छैन । नेपाली नागरिकता, जग्गा धनीपुर्जा र बिजुलीका मिटर रहेका दर्जनभन्दा बढी स्थानीयवासीको घर अहिले पनि भारतीय भूमिमा छ । ‘चार वर्ष अघिसम्म दशगजा क्षेत्रमा यतिबेला तोरीको फूलले पिल्लर नै छोपिएला जस्तो हुन्थ्यो,’ गैरीगाउँको दशगजामै आँगन जोडिएका ५१ वर्षीय श्याम बाँतर भन्छन्, ‘अहिले दशगजा खाली गराइएको छ । मेरो घरको आँगन नै दशगजामा परेको छ । मानिसहरुले दशगजामा खेतीपाती गर्न छाडेका छन् ।’ गैरीगाउँमा ३० वर्षदेखि बसोबास गर्दै आएका उनले रिक्सा चलाएर आर्जेको पैसाले जोडेको १० धुर जग्गामध्ये अढाई धुर दशगजामा परेको बताए । दशगजाको दुवैतर्फ ३०/३० फिट जग्गा खाली गराउने दुवै देशबीच सहमति भएको छ। सरकारी अधिकारीहरुले दशगजामा परेको आँगन पनि खाली गरिदिन आग्रह गरिरहेको उनको भनाइ छ । भारततिरबाट एसएसबीको गस्ती नियमित रुपमा दशगजा क्षेत्रमा आउने गरेको र घर कसको भनेर सोध्ने गरेको उनले जानकारी दिए । दशगजामा आँगन जोडिएको बाँतर परिवारलाई सीमाको बसोबास शान्त नै लागेको छ । कहिलेकाहीँ वारिपारि धन्धा गर्नेहरुसँग नेपाली सुरक्षाकर्मीहरुको घम्साघम्सी पर्नेबाहेक सीमावर्ती गैरीगाउँका बासिन्दाले अन्तरदेशीय भूगोलका कारण कुनै सकस अनुभव गरेका छैनन् । गैरीगाउँका ३१ वर्षीय टीका चौधरी हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरुको घर खेत सबै भारततिर परेको बताउँछन् । भारतीय भूमिमा परेको गैरीगाउँका बासिन्दाका बालबालिका पढ्नका लागि काँकडभिट्टाको सरकारी र निजी विद्यालय नै धाउने गर्छन् । चौधरी दिनहुँ दशगजा पार गरेर मेची भन्सार कार्यालयमा ‘लोड अनलोड’को मजदुरी गर्न आउने गर्छन् । भारततिर घर र जग्गा परे तापनि नेपालकै विद्युत् र पानी प्रयोग गरिरहेको चौधरीले बताए । दश वर्षअघि झापाको दक्षिणी गाउँ पृथ्वीनगरबाट सस्तोमा घडेरी खोज्दै गैरीगाउँमा सपरिवार बसोबास गर्न आएकी देवी पाण्डेले भारतीय सुरक्षा बल एसएसबीको गस्ती दशगजा नाघेर कहिल्यै पनि नेपालतिर नआएको बताइन् । पाण्डेको घर दशगजामै जोडिएको छ । ‘एसएसबीहरु दशगजा पारि नै डुल्छन्, प्यास लाग्यो भने सीमापारिबाटै पानी माग्छन्’, उनले भनिन्, ‘बोतलमा पानी भरेर लगिदिन्छौँ। नराम्रो कहिल्यै गरेका छैनन् ।’ नेपाली सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको एउटा टोलीले उनको घर छेउमै टहरा बनाएर रातोदिन पहरा दिने गरेको छ । सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले रातदिन पहरा दिएका कारण गैरीगाउँका बासिन्दाले सुरक्षित अनुभूति गरेको पाण्डेले बताइन् । उनका तीन छोराछोरी काँकडभिट्टा माध्यमिक विद्यालयमा पढ्ने गर्छन् । उनका पति भाडाको सवारी साधन चलाउने गर्छन् । ‘बसाइँ सरेर आएको बेला दशगजा भन्ने नै थाहा थिएन,’ उनले भनिन्, ‘घडेरीको पूर्वी सीमामा बडेमानको पिल्लर ठडिएको देख्दा सुरुमा निकै डर लागेको थियो । घडेरी त भारतमा पर्यो कि भनेर सोध्न जाँदा दशगजाबाट पश्चिमतिर नेपाल नै हो भनेर छिमेकीले मलाई आश्वस्त बनाएका थिएँ ।’ दशगजामै घर जोडिएको गैरीगाउँकी ६५ वर्षीया होमादेवी खनालले गाउँका बासिन्दा भारत र नेपाल जतातिर घरजग्गा परे तापनि मिलेर बसिरहेको बताइन् । ‘हिँड्ने बाटो र सौदा किन्ने बजार एउटै छ,’ उनले भनिन्, ‘भारततिर घर भएकासँग ऐँचोपैँचो चलिरहेकै छ। आउजाउमा कुनै अप्ठेरो छैन । खेतीपाती दुवैतिरकाले जता गएर पनि गरिरहेकै छन् । कुन भारत, कुन नेपाल भन्ने सीमा पिल्लरले मात्रै छुट्याएको छ ।’ गैरीगाउँका अधिकांश बासिन्दा खेतीपाती र मजदुरी गर्छन् । नेपालतिर बसोबास गर्दै आएका ७७ वर्षीय टङ्कबहादुर राई दिनहुँ दशगजा पार गरेर भारतीय भूमितिर परेको आफ्नो जग्गामा तरकारीखेती गोडमेल गर्न जान्छन् । उनले नेपाली धनीपुर्जा भएको आफ्नो १२ कट्ठा नम्बरी जग्गामध्ये सात कट्ठा मात्र दशगजा वारि रहेको र पाँच कट्ठा भारतीय भूमिमा परेको बताए । भारतीय भूमिमा रहेको जग्गामा उनले अहिले टमाटर र सिमी रोपेका छन् । मेचीको बगरमा रहेको उनको वर्षौंदेखिको भोगचलनको आठ कट्ठा बगरखेत समेत भारततिरै परेको छ । उक्त बगरखेतमा धानखेती हुँदै आएको छ । ‘जग्गाको धनीपुर्जा नेपालकै थियो, माझमा पिल्लर गाडिएपछि एकै रातमा सिमाना बदलिएर मेरो जग्गा भारततिर पर्यो,’ उनले भने, ‘ ‘अहिलेसम्म खनजोत गरेर खाइरहेकै छु । कसैले केही भनेको छैन । एकपटक एसएसबीहरु खेतमा आएर एउटा टमाटर खान पर्यो भनेका थिए । मैले एउटा मात्र किन दुई चारवटै खानुहोस् भनेको थिएँ ।’ सीमा क्षेत्रमा उत्पन्न हुने समस्याहरुको निराकरणका लागि सशस्त्र प्रहरी बलले स्थानीय वडाध्यक्षहरुको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गर्दै आएको छ । स्थानीयवासीले आफ्ना गुनासा र समस्याहरु समितिमार्फत सशस्त्र प्रहरी बलमा पुर्याउने गरेको मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओली बताउँछन् । झापामा भारतसँग सीमा जोडिएका २३ वटा वडाहरु छन् । बेलाबेलामा सशस्त्र प्रहरी बलको २ नं गण चन्द्रगढीले वडाध्यक्षहरुलाई सीमाका गुनासाहरुको सम्बोधन गर्नका लागि अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएको छ । ‘झापाको कचनकवल जस्ता केही सीमा क्षेत्रमा खेतीपाती गर्ने र बाली उठाउने विषयमा वारिपारिका बासिन्दाबीच विवाद हुने गरेको सुनेका छौँ,’ वडाध्यक्ष ओलीले भने, ‘तर, हाम्रो गैरीगाउँमा खेतीपातीका विषयमा भारततिरबाट समस्या आएको गुनासो सुनिएको छैन । त्यस्तो कुनै समस्या आइहालेछ भने पनि हामी सशस्त्र प्रहरी बलसँग मिलेर समाधानका लागि तत्कालै सहजीकरण गर्छौं ।’ रासस