चीनमा ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी
काठमाडौं । चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र ८० प्रतिशतभन्दा बढीले विदेशी लगानी विस्तार गरेको शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले देखाएको छ । चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले गरेको सर्वेक्षणअनुसार ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी छन् । सर्वेक्षणले बेल्ट एण्ड रोड सहकार्यमा भाग लिने देश र क्षेत्रहरूमा लगानीका अवसरहरू मन पराएको फेला पारेको सीसीपीआइटीका प्रवक्ता सुन जिओले पत्रकार सम्मेलनमा बताए । सर्वेक्षणमा सहभागी कम्पनीमध्ये झण्डै ७० प्रतिशतले बजारको अवसर खोज्न विदेशमा लगानी गरेको सनले बताए । त्यसमध्ये झण्डै ४० प्रतिशतले आफ्नो ब्रान्डको अन्तर्राष्ट्रिय मान्यता बढाउन तथा ३० प्रतिशतभन्दा बढीले उत्पादन र सञ्चालन लागत घटाउन लगानी गरेको सर्वेक्षणले बताएको छ ।
होटलमा नयाँ संरचना थपिँदा बैंकहरूको लगानी २ खर्ब ८ अर्ब
काठमाडौं । पछिल्लो समय होटल तथा पर्यटन क्षेत्र तंग्रिँदैछ । विभिन्न समस्याबाट थला परेको होटल तथा पर्यटन क्षेत्र पछिल्लो समय अवस्था सामान्य बनेपछि यस क्षेत्रमा गतिविधि बढ्न थालेको देखिन्छ । जसको पुष्टि बैंकहरूले पर्यटन क्षेत्रमा बढाएको ऋण लगानीले पनि गर्छ । देशभर ठूला होटल खुल्नेक्रम जारी छ । जसकारण पनि बैंकहरूको लगानी यस क्षेत्रमा बढेको जानकारहरू बताउँछन् । पछिल्लो तथ्याङ्कअनुसार बैंकहरूले होटल तथा पर्यटन क्षेत्रमा २ खर्ब बढी लगानी गरेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, माउन्टेनिङ, ट्रेकिङ, रिसोर्ट र्याफ्टिङ र क्याम्पिङ लगायतमा बैंकहरूले कर्जा लगानी गरेका हुन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार कात्तिकसम्म बैंकहरूले २ खर्ब ७ अर्ब ७३ करोड रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा लगानी गरेका छन् । गत वर्षको कात्तिकमा बैंकहरूले १ खर्ब ९० अर्ब ६७ करोड रुपैयाँ होटल तथा पर्यटनमा लगानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले चालु आवको ५ महिनामा ८.९४ प्रतिशत अर्थात् १७ अर्ब ६ करोड १७ लाख रुपैयाँ होटल तथा पर्यटनमा कर्जा बढाएका हुन्। यस अवधिमा कृषि विकास बैंकले होटल तथा पर्यटन क्षेत्रमा आक्रामक रूपमा कर्जा वृद्धि गरेको छ । गत कात्तिकसम्म बैंकले ३१.१३ प्रतिशत अर्थात् १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ बढाएर ६ अर्ब १७ करोड ३३ लाख रुपैयाँ पर्यटन क्षेत्रमा लगानी गरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७० करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । प्रभु बैंकको २५.८० प्रतिशत २१ अर्ब ८६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २४.५९ प्रतिशत १६ अर्ब १९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७.०७ प्रतिशत १८ अर्ब २९ करोड रुपैयाँ, एनएमबि बैंकको १४.९० प्रतिशत ८ अर्ब ४० करोड रुपैयाँ, एभरेष्ट बैंकको १४.८६ प्रतिशत ४ अर्ब २२ करोड रुपैयाँ होटल तथा पर्यटन क्षेत्रमा लगानी गरेका छन् । सानिमा बैंकको १३.१९ प्रतिशत ५ अर्ब ९३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १२.८५ प्रतिशत १० अर्ब ९४ करोड रुपैयाँ, प्राइम बैंकको १२.६१ प्रतिशत १७ अर्ब ७२ करोड रुपैयाँ, नेपाल बैंकको १२.२० प्रतिशत ९ खर्ब ११ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ७.४६ प्रतिशत ७ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल एसबीआई बैंकको ४.५९ प्रतिशत ६ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकको ३.४८ प्रतिशत १० अर्ब ९३ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १.९२ प्रतिशत ४ अर्ब ७८ करोड रुपैयाँ, हिमालयन बैंकको १.४९ प्रतिशत ११ अर्ब ५२ करोड रुपैयाँ कर्जा पर्यटनमा लगानी गरेका छन् । तर, समीक्षा अवधिमा एनआईसी एशिया बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने पर्यटन क्षेत्रमा जाने कर्जा घटाएका छन् । एनआईसी एशियाको १४.१४ प्रतिशत ५ अर्ब ७९ करोड रुपैयाँ, कुमारीको १०.६६ प्रतिशत घटेर १२ अर्ब ९५ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डको ४.१२ प्रतिशत घटेर १ अर्ब २५ करोड रुपैयाँ, सिटिजन्सको २.३८ प्रतिशत घटेर २ अर्ब ७९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाको ०.६८ प्रतिशत घटेर २३ अर्ब ९७ करोड रुपैयाँ होटल तथा पर्यटन क्षेत्रमा कर्जा लगानी गरेका छन् । कृषि विकास बैंकका नायब महाप्रबन्धक (डीजीएम) डा.बाबुकाजी थापा लगानीका क्षेत्र संकुचित भइरहेका बेला होटल तथा पर्यटन क्षेत्रमा आशा जगाएको हुँदा बैंकहरू लगानी गरिरहेको बताउँछन् । पछिल्लो समय नयाँ होटल तथा पर्यटकीय संरचना निर्माण भएकाले बैंकको लगानी बढेको उनको भनाइ छ । ‘लगानीका क्षेत्र संकुचित हुँदै गए । अब केमा माग्न आउँछन्, अनि केमा छ त्यसैमा कर्जा दिने हो । होटल व्यवसाय, पर्यटकको आगामनले राम्रो भएको देखिन्छ । त्यसैले हाम्रो बैंकले पनि होटल पर्यटनमा आक्रामक भएर लगानी गरेकै हो,’ उनले भने, ‘हालै एउटा पाँचतारे होटलमा एक अर्ब रुपैयाँ कर्जा दियौं । हिल्टन होटलदेखि पोखराका राम्रा राम्रा होटलमा कर्जा दिइरहेका छौं ।’ डीजीएम थापाका अनुसार सुरक्षित पनि भएकाले होटल तथा पर्यटन क्षेत्र लगानी बढाएको हो । लगानीको मुख्य क्षेत्र पर्यटन, जलविद्युत, कृषि, जडिबुटी नै हुन् । कच्चा पदार्थ, जनशक्ति, मेसिनरी सबै आयात गरेर उद्योग सञ्चालन गर्नुभन्दा यी क्षेत्रमा लगानी गर्दा देशका लागि पनि फाइदा हुने उनले बताए । ‘हामीले नयाँ होटलमा लगानी गरेका हौं, कुनै होटल सञ्चालनमा आइसके भने कुनै नयाँ वर्षमा सञ्चालनमा आउँदैछन्, कुनै होटल निर्माण भइरहेका छन्, पुराना होटलमा नियमित लगानी भइरहन्छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत (डीईओ) पवन रेग्मी पर्यटनसँग सम्बन्धित गतिविधि बढेका कारण बैंकहरूको कर्जा बढेको बताउँछन् । होटल व्यवसायमा नयाँ संरचना थपिएकाले पनि कर्जा बढेको हुन सक्ने उनको भनाइ छ । ‘एयरलाइन्स, होटल, ट्रेकिङ व्यवसाय, ट्राभल्स एजेन्सी पनि पर्यटन क्षेत्रभित्र पर्छन्, कोरोना समयमा पर्यटन व्यवसाय ठप्प थियो । त्यसपछिका वर्षमा विस्तारै पिकअप लिन थाल्यो, पछिल्लो समय पर्यटकहरूको संख्यामा पनि वृद्धि भएपछि लगानी गर्न व्यवसायीहरू पनि उत्साहित छन्, बैंकहरू पनि लगानी गर्न तयार भए,’ उनले भने, ‘विशेषगरी होटल व्यवसायमा नयाँ संरचनाहरू थपिएका छन् । केही थपिने क्रममा छन् ।’ डीईओ रेग्मीका अनुसार पछिल्लो समय बैंकहरूसँग पर्याप्त तरलता रहेकाले कर्जा लगानी बढाइरहेका छन् । ब्याजदर पनि कम रहेकाले व्यवसायीहरूको मनोबल अझै बढाउनुपर्ने उनको भनाइ छ । ‘पर्याप्त तरलता भएको समयमा पनि कर्जा लगानी गर्न सकेनन् भने माग पनि कम छ भनेर सन्देश जान्छ, कर्जाको ब्याजदर पनि घटेको छ,’ उनले भने, ‘अझै व्यवसायीहरूको मनोबल बढाउनुपर्ने छ, कोरोना अगाडि मनोबल टुटेको छ । अहिले पनि धेरै उद्योगहरू ५० प्रतिशतको हाराहारीमा चलेका छन् । अब विस्तारै बढ्दै जान्छ ।’
लेयर्स कुखुरापालक संघले तोक्यो अण्डाको मूल्य
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य तोकेको छ । शुक्रबार संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधारमानी शनिबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो । शनिबारदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिपेटी ३ हजार ६ सय रुपैयाँ र मध्यम अण्डाको मूल्य ३ हजार ५ सय रुपैयाँ तोकेको हो । संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १४० रुपैयाँ थप लाग्ने जनाएको छ। अण्डाको मूल्यमा यसअघि अन्यथा भएकोले सच्याइएको छ : सम्पादक
अमेरिकाले एक शताब्दीमा प्रयोग गरेको सिमेन्टको मात्रा चीनले ३ सालमै सक्यो
काठमाडौं । चीन ठूला आयोजना निर्माणमा विशेषज्ञ छ । चीनले अनौठा-अनाैठा परियोजनामा हात हाली सारा संसारलाई चकित पार्दै आइरहेको छ । पछिल्ला वर्षहरूमा उसले पूर्वाधारमा ठूलो लगानी गरेको छ । सन् २०११ देखि २०१३ सम्म चीनमा जति सिमेन्ट खपत भएको थियो, त्यति नै अमेरिकामा सन् १९०१ देखि २००० अर्थात् १०० वर्षमा खपत भएको अनुमान छ । प्रतिवेदन अनुसार सन् २०११ देखि २०१३ सम्म चीनले ६.४ गिगाटन सिमेन्ट प्रयोग गरेको थियो । एक गिगाटन १,०००,०००,००० टन बराबर हुन्छ । यस अवधिमा चीनले ‘द थ्री गर्जेस ड्याम’ निर्माण गर्यो, जुन विश्वको सबैभन्दा ठूलो जलविद्युत केन्द्र मानिन्छ । मध्य चीनको याङ्त्जे नदीमा रहेको यो बाँध बनाउन १६ मिलियन टन सिमेन्ट प्रयोग गरिएको थियो । १९०१ र २००० को बीचमा अमेरिकामा धेरै ठूल्ठूला भवन, बाँधलगायतका विभिन्न परियोजना बनाइयो । तर सो अवधिमा त्यहाँ जम्मा ४ दशमलव ५ गिगाटन सिमेन्ट खपत भएको थियो । कस्तो छ चीनमा सिमेन्टको माग ? आज चीन संसारको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक र उपभोक्ता हो । विश्वको ६० प्रतिशत सिमेन्ट चीनमा बनेको छ । विश्व खपतमा पनि यसको ६० प्रतिशत हिस्सा छ । गत वर्ष चीनले २ अर्ब १ करोड टन सिमेन्ट उत्पादन गरेको थियो भने बाँकी विश्वले २ अर्ब टन सिमेन्ट उत्पादन गरेको थियो । भारतको सिमेन्ट उत्पादन ४१ करोड टन रहेको छ । भियतनाम ११ करोड टनसहित तेस्रो र अमेरिका ९ करोड टनसहित चौथो स्थानमा छ ।
सुजुकीलाई विश्वव्यापी कम्पनी बनाएर अस्ताए ओसामु सुजुकी
काठमाडौं । सुजुकी मोटर कर्पोरेशनका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओसामु सुजुकीको ९४ वर्षको उमेरमा बुधबार निधन भएको छ । निधनको कारण लिम्फोमा बताइएको छ । कम्पनीले शुक्रबार यो जानकारी दिएको हो । ओसामुले चार दशकसम्म कम्पनीको नेतृत्व गरे । सुजुकीलाई विश्वव्यापी कम्पनी बनाउन उनकै योगदान थियो । ओसामु सन् १९७८ देखि २०२१ सम्म सुजुकी कम्पनीका अध्यक्ष, चेयरम्यान र सीईओ थिए । सुजुकीको नेतृत्वमा कम्पनीको बिक्री ३०० अर्ब येन (१.९ बिलियन) बाट ३ ट्रिलियन येनमा बढ्यो । यो दश गुणा वृद्धि उनको दूरदर्शिताको प्रमाण हो । ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गिफु प्रिफेक्चरमा भएको थियो । सुजुकी परिवारकी छोरीसँग विवाह गरेर १९५८ मा उनी सुजुकी मोटर कम्पनीमा आबद्ध भए । उनले आफ्नी श्रीमतीको पारिवारिक नाम ‘सुजुकी’ राखेका छन् । उनकी श्रीमती तत्कालीन अध्यक्ष शुन्जो सुजुकीकी छोरी थिइन् । १९७८ मा ओसामु कम्पनीको अध्यक्ष भए । उनले सन् १९२० मा सुजुकी लूम निर्माण कम्पनीको रूपमा सुरु भएको कम्पनीलाई जापानको प्रमुख अटोमेकरहरूमध्ये एकको रूपमा निर्माण गरे । धेरै कम्पनीसँग साझेदारी सुजुकी मोटरले आफ्नो वातावरणीय प्रविधिहरू सुधार गर्न २००९ मा फक्सवागन एजीसँग व्यापार गठबन्धन बनाएको थियो । तर, २०१५ मा नियन्त्रणमा विवाद भएपछि साझेदारी टुट्यो । सुजुकीले पछि २०१९ मा टोयोटा मोटर कर्पोरेशनसँग केस (कनेक्टेड, अटोनोमस, सेयर र इलेक्ट्रिक) प्रविधिहरूप्रति उद्योगको बढ्दो प्रवृत्तिको प्रतिक्रियास्वरूप गठबन्धन बनाएको थियो । यसको उद्देश्य सेल्फ ड्राइभिङ गाडीको सह-विकास गर्नु थियो । सुजुकीको नजर दक्षिपूर्वी एसिया धेरै जापानी अटो उत्पादकहरूले अमेरिका र चीनको बजारमा ध्यान केन्द्रित गरे, सुजुकीले भारत, दक्षिणपूर्व एशिया र हंगेरी जस्ता क्षेत्रहरूमा साना र किफायती कारहरू उत्पादनमा ध्यान केन्द्रित गरे । यो रणनीतिले कम्पनीलाई बजारहरूमा सफलता पाउन सहयोग गर्यो । तर, ठूला सवारीसाधनको मागलाई ध्यानमा राख्दै सुजुकी मोटरले २०१२ मा अमेरिकी अटोमोबाइल बजार र २०१८ मा चीनबाट बाहिरियो । यी चुनौतीहरूको बावजुद, कम्पनीले अन्य प्रमुख क्षेत्रहरूमा आफ्नो पकड कायम राखिरह्यो । २०२१ सम्म अध्यक्ष ओसामु सुजुकीले सन् २०१५ मा अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो छोरा तोशिहिरो सुजुकीलाई कम्पनीको नेतृत्व हस्तान्तरण गरे । तर, उनले सन् २०२१ सम्म कम्पनीलाई अध्यक्षका रूपमा निर्देशन दिन जारी राखे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रवर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवद्र्धनात्मक उडानमार्फत पहल गरिरहेको छ । यसैबीच, पोखरामा हुन लागेको ड्रागन बोट रेसका लागि चीनको छेन्दुबाट बिहीबार चार्टर उडान गरिएको छ । उडानमा एक सय २९ खेलाडीसहित सिचुवान विमान पोखरा उत्रेको थियो । नाट्टाको पहलमा पोखराबाट उत्तिकै सङ्ख्यामा यात्रु बोकेर प्रवर्द्धनात्मक कार्यक्रमका लागि सो विमान काठमाडौं अवतरण गर्यो । यसमा पत्रकार, पर्यटन व्यवसायी र प्रदेशका पर्यटनमन्त्रीहरूको सहभागिता रहेको थियो । यस उडानले बढी भार बोकेर जहाज उडान र अवतरण हुन नसक्ने भन्ने भ्रमलाई तोड्न सफल भएको व्यवसायीको भनाइ छ । पूर्ण क्षमतामा उडान र अवतरण भएसँगै विमानस्थल पूर्ण सुरक्षित रहेको सन्देश पनि प्रवद्र्धनात्मक उडानले दिएको छ । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट उडान अवतरणमा कुनै समस्या नरहेको बताए । उनले भने, ‘पोखरा विमानस्थलले एयरबसजस्ता ठूला जहाज सहजै सञ्चालन गर्न सक्छ भन्ने प्रवर्द्धनात्मक उडानले पुष्टि गरेको छ । अब यो पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ ।’ अधिकारीले विमानस्थलको प्रभावकारी उपयोगका लागि सरकारबाट नीतिगत सहयोग र निजी क्षेत्रबाट ठूलो लगानीको सदुपयोग गर्न अग्रसरता आवश्यक रहेकामा जोड दिए । नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र चलायमान बनाउन निकै समस्या भएको धारणा राखे। ‘पर्यटनमा ठूलो लगानी छ तर नियमित उडान नहुँदा पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार हुनसकेको छैन, जसले लगानी जोखिममा परेको छ । अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ’, उनले भने । यस विषयमा क्यानका पदाधिकारी र सम्बन्धित निकायहरूमा निरन्तर ध्यानाकर्षण गराउँदै प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए । पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले विमानस्थलमा नियमित उडानको गर्नु राज्यको दायित्व भएको बताए । ‘नागरिकको लगानी रहेको यो विमानस्थलमा उडान सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो । यात्रु खोज्ने काममा निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्छ र यसका लागि नागरिक तहबाट निरन्तर दबाब आवश्यक छ’, उनले भने, ‘अब विमानस्थलबारे गलत र भ्रमपूर्ण कुरा छर्न कुनै पनि सभ्य नागरिकलाई छुट छैन । सबैको सामूहिक सहकार्य र समन्वयको खाँचो छ ।’ पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नियमित उडानका लागि पहल भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘सञ्चालनको दुई वर्षसम्म चार्टर उडानमा सीमित विमानस्थललाई नियमित उडानमा लैजान पर्यटन सम्बद्ध सङ्घसंस्था, सञ्चारमाध्यम र नागरिक समाजले निरन्तर पहल गर्न आवश्यक छ । हामी आफ्नो तर्फबाट यसमा निरन्तर लागिरहेका छौँ । प्राविधिक र पूर्वाधारका चुनौतीहरू हट्दै गएकाले अब नियमित उडान हुने आशा छ’, उनले भने । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल नेपाल–चीन सहकार्यको उदाहरण मानिन्छ । करिब रु २२ अर्ब लागतमा निर्मित विमानस्थलको निर्माण कार्य चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले गरेको थियो । दुई दशमलव पाँच किलोमिटर लामो रनवे भएको यस विमानस्थलमा वाइडबडी जस्ता ठूला क्षमताका जहाजहरूलाई पनि सहज रूपमा अवतरण गर्न सकिन्छ । आधुनिक नेभिगेसन प्रणाली, अत्याधुनिक टर्मिनल भवन र दैनिक २० हजार यात्रुलाई सेवा दिने सक्ने यसका क्षमता रहेको प्राधिकरणले बताउने गरेको छ । गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवस्थित यस विमानस्थललाई अन्नपूर्ण सर्किट, मुक्तिनाथ र कैलाश मानसरोवरजस्ता विश्वप्रसिद्ध गन्तव्यमा जान सहज हुने अपेक्षा गरिएको छ । रासस
हिमालयन क्यापिटलको पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले पूँजी बजारको विकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत हालै कम्पनीले २०८१/०८/२३ देखि २०८१/०८/२८ सम्म कर्णाली प्रदेशको भैरवी गाउँपालिका, दैलेख, कुमाख गाउँपालिका सल्यान र भेरीगंगा नगरपालिका सुर्खेतका विविन्न विद्यालयका विद्यार्थीहरुलाई पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन क्यापिटल लिमिटेडका प्रमुख, अनुपालन विभागका निमेषप्रसाद अधिकारीबाट उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोषसम्बन्धि जानकारी प्रदान गरिएको थियो । साथै पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने उद्देश्यको साथ कार्यक्रम सञ्चालन गरिएको थियो । उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट विद्यार्थीहरूलाई लाभान्वित हुने विश्वास रहेको छ । कार्यक्रमका सहभागी विद्यार्थीहरूले यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोगजस्ता विषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए । साथै हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
विदेशी विद्यार्थीलाई विश्वविद्यालयको आग्रह : ट्रम्प नआउँदै फर्कनुस्
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ । देशभरका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सल्लाह जारी गर्दै नयाँ प्रशासनअन्तर्गत कडा नियमहरूको अपेक्षामा सावधानीपूर्वक आफ्नो यात्राको योजना बनाउन आग्रह गरेको सिएनएनले जनाएको छ । डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरेका थिए । उनले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रूपमा शपथ लिनेछन् । नोभेम्बर १८ मा अमेरिकी विदेश मन्त्रालय, शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तथ्यांकअनुसार २०२३–२०२४ शैक्षिक वर्षमा दुई सय १० भन्दा बढी मूल स्थानका ११ लाख २६ हजार ६९० अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी उच्च शिक्षा संस्थाहरूमा अध्ययन गरेका छन् । यो आँकडा अघिल्लो शैक्षिक वर्षको तुलनामा ७ प्रतिशतले बढी हो । ट्रम्पको शपथग्रहण अघि कर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले आफ्नो वेबसाइटमा नयाँ राष्ट्रपति प्रशासनअन्तर्गत आप्रवासन परिदृश्य परिवर्तन हुने सम्भावना रहेको जनाउँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आगामी वर्ष जनवरी २१ बाट सुरु हुने अर्को सेमेस्टर सुरु हुनुअघि फर्कन वा ‘यात्रा योजनाबारे सल्लाहकारसँग कुरा गर्न र ढिलाइका लागि तयार रहन’ सल्लाह दिएको छ । ‘शपथग्रहण पछि चाँडै यात्रा प्रतिबन्ध लागू हुने सम्भावना छ । यो प्रतिबन्धमा पहिलो ट्रम्प प्रशासनमा लक्षित देशहरू किर्गिस्तान, नाइजेरिया, म्यानमा, सुडान, तान्जानिया, इरान, लिबिया, उत्तर कोरिया, सिरिया, भेनेजुएला, यमन र सोमालियाका नागरिकहरू समावेश हुने सम्भावना छ । यस सूचीमा चीन र भारत जस्ता नयाँ देशहरू थपिन सक्छन् । यी ‘चिन्ताका क्षेत्रहरू’ बाहेकका अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई यात्रा प्रतिबन्ध वा लक्षित भिसा निलम्बनले प्रभावित गर्ने सम्भावना छैन’, कर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले भन्यो । कार्यालयले भनेको छ, ‘उल्लिखित देशहरूका अन्तर्राष्ट्रिय विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूले सन् २०२५ जनवरी २१ देखि सुरु हुने सेमेस्टरअघि नै अमेरिका फर्किनु राम्रो हुन्छ । यदि यो सम्भव छैन भने सल्लाहकारसँग आफ्नो यात्रा योजनाबारे कुरा गर्नुहोस् र ढिलाइका लागि तयार रहनुहोस् ।’ विद्यार्थी नेतृत्वको मिडिया साइट युएससी एनेनबर्ग मिडियाका अनुसार युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया अफिस अफ इन्टरनेसनल सर्भिसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई यात्रासँग सम्बन्धित ‘कुनै पनि चुनौतीबाट बच्नका लागि सबैभन्दा सुरक्षित तरिका’ जनवरी १३ मा वसन्त सेमेस्टर सुरु हुनुअघि अमेरिकामा शारीरिक रूपमा उपस्थित हुनु हो भनेर चेतावनी दिएको छ । राष्ट्रपति चुनावको नतिजापछि युसिएलएको आप्रवासन कानून तथा नीति केन्द्रले नोभेम्बर ६ मा विद्यार्थीहरूलाई दिएको सन्देशमा सन् २०२४ को राष्ट्रपति चुनावको नतिजाले संयुक्त राज्य अमेरिकाभरका आप्रवासी समुदायहरूका लागि गम्भीर प्रश्नहरू उठाएको बताएको छ । ‘आगामी ट्रम्प प्रशासनको नीति र भनाइले लाखौंँ आप्रवासीहरूमा दीर्घकालीन प्रभाव पार्नेछ । यसमा विद्यार्थी, कर्मचारी र प्राध्यापकको रूपमा क्यालिफोर्निया विश्वविद्यालय (युसी) को हिस्सा भएकाहरू पनि सामेल छन् । युसी नीतिअनुसार विश्वविद्यालयले न्यायिक वारेन्ट, सम्मन, अदालतको आदेश वा कानूनले अन्यथा आवश्यक नगरेसम्म गोप्य विद्यार्थी रेकर्डहरूमा रहेको आप्रवासन स्थिति वा सम्बन्धित जानकारी जारी गर्नेछैन’, युसिएलएले भन्यो । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले विद्यार्थीहरूलाई ‘नयाँ नीति/नियमहरूको भविष्यवाणी गर्ने सामाजिक सञ्जाल र समाचार रिपोर्ट वा हल्लाका आधारमा निर्णय नगर्न’ आग्रह गरेको छ । विश्वविद्यालयले विद्यार्थीहरूलाई हिउँदे बिदामा यात्रा योजनाको मूल्याङ्कन गर्नसमेत सल्लाह दिएको छ । ‘नयाँ प्रशासनले सन् २०२५ जनवरी २० मा शपथ लिनेछ । यात्रा र भिसा प्रक्रियामा प्रभाव पार्नसक्ने नयाँ कार्यकारी आदेशहरू त्यस मिति वा त्यसपछि कार्यान्वयन हुन सक्छन् । विद्यार्थी स्थितिमा अमेरिका फर्कन अमेरिकी दूतावास/कन्सुलेटमा नयाँ प्रवेश भिसाका लागि आवेदन दिनुपर्ने विद्यार्थीहरूले लामो प्रक्रिया समयको सम्भावनाको मूल्यांकन गर्नुपर्छ र विदेश यात्रा गर्नुपर्ने र नयाँ प्रवेश भिसा जारी हुन पर्खनुपर्ने भएमा वैकल्पिक योजना बनाउनुपर्छ । कुनै पनि प्रक्रियागत ढिलाइले विद्यार्थीहरूको योजनाअनुसार अमेरिका फर्कने क्षमतामा प्रभाव पार्न सक्छ’, यसले भनेको छ । ट्रम्पले सन् २०२४ को राष्ट्रपति अभियानका क्रममा आप्रवासन र मुद्रास्फीति लगायत विभिन्न आन्तरिक मुद्दा समाधान गर्ने वाचा गरेका थिए । उनले आफ्नो ‘अमेरिका पहिलो’ विदेश नीतिमा फर्कने संकेत गरेका छन् । उनले कानूनी अनुमति बिना अमेरिकामा बसिरहेका आप्रवासीहरूको सामूहिक निर्वासनका लागि राष्ट्रिय आपत्काल घोषणा गर्ने पनि पुष्टि गरेका थिए। रासस