विश्व अर्थतन्त्र २०२४: कमजोर वृद्धिदर, कृतिम बौद्धिकताको उत्कर्ष
काठमाडौं । सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू-राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए । युक्रेन-रूस युद्ध, मध्यपूर्वको विवाद, र अमेरिकाको राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः परिभाषित गर्यो । क्रिप्टोकरेन्सीले ऐतिहासिक उचाइ हासिल गर्यो भने फिनटेक क्षेत्रले नयाँ सम्भावनाहरू देखायो । विश्व तापमानमा ऐतिहासिक वृद्धि र प्राकृतिक प्रकोपहरूले जलवायु सङ्कटलाई थप गम्भीर बनाएको यो वर्ष आर्थिक, सामाजिक, र प्रविधिक दृष्टिले महत्वपूर्ण रह्यो । विश्व अर्थतन्त्रका महत्वपूर्ण घटना र उपलब्धीलाई समीक्षा गरिएको छ । कमजोर आर्थिक वृद्धि यो वर्ष कमजोर आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीति र नियन्त्रणकारी मौद्रिक नीतिको वर्ष रह्यो । विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले सन् २०२४ मा विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत र विश्व बैंकले २.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर यसवर्ष ३.२ प्रतिशत रहने छ । आईएमएफद्वारा प्रकाशित ‘वल्र्ड इकोनोमिक आउटलुक’ अनुसार भूराजनीतिक तनाव, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारण विश्वको आर्थिक वृद्धि कोभिड-१९ पूर्वको तुलनामा अझै कमजोर छ । यसवर्ष विकसित मुलुकको अर्थतन्त्र १.८ र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । यसवर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत र चीनको आर्थिक वृद्धिदर ४.८ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ । अघिल्ला वर्षहरूको तुलनामा विश्वको मुद्रास्फीतिमा सुधार हुँदै आएको छ । सन् २०२३ मा विश्वको उपभोक्ता मुद्रास्फीति ६.७ प्रतिशत रहेकोमा यसवर्ष ५.८ प्रतिशत रहने कोषले प्रक्षेपण गरेको छ । यसवर्ष भारतको मुद्रास्फीति ४.४ प्रतिशत र चीनको मुद्रास्फीति ०.४ अनुमान गरिएको छ । मुद्रास्फीतिमा क्रमिक सुधार देखिएसँगै अन्तर्राष्ट्रिय स्तरमा खुकुलो मौद्रिक नीति अवलम्बन गर्न थालिएको छ । अमेरिकी फेडरल रिजर्भले २०२३ जुलाईमा साढे ५ प्रतिशत पुर्याएको ‘फेडरल फण्ड रेट’लाई क्रमशः घटाउँदै २०२४ सेप्टेम्बरमा ४.७५ प्रतिशतदेखि ५ प्रतिशत कायम गर्यो भने २०२४ नोभेम्बरमा साढे ४ प्रतिशत देखि ४.७५ प्रतिशत कायम गरेको छ । युरोपियन केन्द्रीय बैंकले पनि २०२४ अक्टोवरमा निक्षेप सुविधा दरलाई २५ आधार विन्दुले घटाई ३.२५ प्रतिशत कायम गरेको छ । यसवर्ष मौद्रिक क्षेत्र व्यवस्थापनका लागि ठूलो अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकहरुले समेत कडा मौद्रिक नीति अबलम्बन गरे । जसले मुद्रास्फीति नियन्त्रण गर्न केहि मद्दत पुर्याए पनि सार्वजनिक वित्तमा भने दबाब सिर्जना गर्यो । ब्रिक्सद्वारा अमेरिकी डलरको निर्भरता घटाउन पहल गत अक्टोबरमा रूसका कजानमा सम्पन्न ब्रिक्स राष्ट्रहरूको १६औं सम्मेलनले अमेरिकी डलरप्रतिको निर्भरता घटाउने योजना माथि छलफल गरेपछि त्यसको चर्चा विश्वभरी चुलियो । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूले डलरको स्थानान्तरण गर्न खोजे ती देशहरुले महँगो भन्सार दर र व्यापार प्रतिबन्धसमेतको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । हाल विश्वमा अमेरिकी डलरको प्रभुत्व घटिरहेको छ, तर यो अझै पनि सबैभन्दा बढी प्रयोग हुने मुद्रा हो । डलरले विश्व केन्द्रीय बैंक रिजर्भको करिब ५९ प्रतिशत हिस्सा ओगटेको छ । ब्रिक्स राष्ट्रहरूले डलरको प्रयोग घटाउने प्रयास गरे पनि यो प्रक्रिया शुरु हुन अझै समय लाग्नेछ । यद्यपि ब्रिक्स राष्ट्रहरूले डिजिटल मुद्राको प्रयोग र साझा मुद्रा निर्माणको प्रस्तावलाई प्राथमिकता दिएका छन् । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ अक्टोबर १४ मा स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सले यसवर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार ड्यारन एसिमोग्लु, साइमन जोनसन, र जेम्स ए। रोबिन्सनलाई प्रदान गर्ने निर्णय गर्यो । यी तीनजना अर्थशास्त्रीले ‘सामाजिक संस्थाहरू कसरी निर्माण हुन्छन् र तिनले मुलुकको आर्थिक विकास तथा समृद्धिमा कस्तो प्रभाव पार्छन्’ भन्ने बारे अध्ययन गरेका थिए । बढी समावेशी संस्थाहरू भएका देशहरूमा समृद्धि सम्भव भएको तर शोषणकारी संस्थाहरू भएका देशहरू आर्थिक असमानतामा फसिरहेका निश्कर्ष उहाँहरुको अनुसन्धानको थियो । समावेशी संस्थाहरूले दीर्घकालीन लाभ पुर्याउने तर शोषणकारी संस्थाहरूले अल्पकालीन रूपमा सत्तामा रहेका व्यक्तिलाई मात्र फाइदा पुर्याउँछन् । दुई अमेरिकी बैंक डुबे सन् २०२३ मा अमेरिकामा ५ वटा बैंक बन्द भएकोमा यसवर्ष थप दुईवटा बैंक डुबे । अमेरिकाको ओक्लाहोमा राज्यको ‘द फस्र्ट नेसनल बैंक’ र पेन्सिलभेनिया राज्यको ‘रिपब्लिक फस्र्ट बैंक’ यसवर्ष बन्द भए । झुटा तथा भ्रामक बैंक रेकर्ड, ठगी, क्रिप्टोमा लगानी जस्ता कारण यी बैंकमा समस्या देखिएपछि अमेरिकाको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले टेकओभर गरेर व्यवस्थापन गरेको थियो । फस्टाउँदो ‘फिनटेक’ सन् २०२४ मा फिनटेक क्षेत्रमा प्रविधिको विकाससँगै त्यसले प्रयोगकर्ता आएको परिवर्तनका कारण ठूलो रूपान्तरण देखियो । अन्तरदेशीय (क्रस-बोर्डर) भुक्तानी क्षेत्रमा ‘ब्लकचेन’ र ‘स्टेबलकोइन’ प्रविधिको प्रयोगले अन्तर्राष्ट्रिय कारोबारलाई छिटो, सस्तो, र पारदर्शी बनाउँदै लगेको छ । डिजिटल वालेटहरू बहुआयामिक वित्तीय प्लेटफर्मका रुपमा उदाएका छन् । वालेटका रुपमा उदाएका ‘एप्पल पे’ ‘गुगल पे’ जस्ता प्लेटफर्महरु क्रिप्टोकरेन्सी कारोबार, क्रस–बोर्डर भुक्तानीलगायतका क्षेत्रमा आक्रामक रुपमा अघि बढिरहेका छन् । ‘ओपन बैंकिङ’ को अवधारणा, अमेजनजस्ता इकमर्स प्लेटफर्महरुले आफै भुक्तानी सेवा उपलब्ध गराउन थाल्नु, कृत्रिम बौद्धिकताको प्रयोगबाट लगानीको जोखिम विश्लेषणलगायतका प्रविधिमा आधारित विषयमहरु यसवर्ष चर्चामा रहे । यी प्रवृत्तिहरूले फिनटेक क्षेत्रलाई तीव्र विकास मात्र होइन, उपभोक्तामुखी र वातावरणीय रूपमा उत्तरदायी सेवाहरूलाई प्राथमिकता दिने नयाँ दृष्टिकोण विश्वव्यापी रुपमा स्थापित हुन थालेको छ । गुगललाई विश्वको जिडिपीभन्दा बढी जरिवाना रुसको एक अदालतले गत अक्टोबरमा गुगल कम्पनीलाई हालसम्मकै ठूलो रकम जरिवानाको फैसला गर्यो । युट्युवमा रुसका सञ्चारमाध्यामलाई प्रतिबन्ध लगाएपछि दुई अन्डेसिलियन (दुईको पछाडि ३६ वटा शून्य) बराबरको जरिवानाको फैसला रुसको अदालतले गरेको हो । यो जरिवाना रकम विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा पनि बढी हो । ऐतिहासिक बिन्दुमा क्रिप्टो बजार सन् २०२४ मा क्रिप्टोकरेन्सी बजारले ऐतिहासिक बिन्दु कायम गर्यो । यस वर्ष बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाँघ्यो । गतवर्षको तुलनामा बिटक्वाइनको मूल्य १२० प्रतिशत ले र इथरको मूल्य ५५ प्रतिशतभन्दा बढीले वृद्धि भयो । यस्तो वृद्धिको प्रमुख कारणमध्ये ‘बिटक्वाइन एक्सचेञ्ज–ट्रेडेड फन्ड’ लाई अमेरिकाले स्वीकृति दिनु, विटक्वाईनमा संस्थागत लगानीकर्ताको चासो बढ्नु र नयाँ क्रिप्टो नियमहरू लागु हुनु लगायत हुन् । नेपालको छिमेकी देश भुटानले यसवर्ष अमेरिकी डलर ३ करोड ५० लाख बराबरको बिटक्वाईन बेचेको विषय पनि चर्चामा रह्यो । ठूला मर्जर र एक्विजिसन सन् २०२४ मा व्यवसायिक क्षेत्रमा निकै महत्वपूर्ण प्राप्ति (मर्जर) र अधिग्रहण (एक्विजिसन) का सम्झौता भए । यसवर्ष ‘क्यापिटल वान फाइनान्सियल कर्पोरेशन’ले डिस्कभर फाइनान्सियल सर्भिसेजलाई ३५.३ अर्ब अमेरिकी डलर बराबरको स्टक-आधारित सम्झौतामा अधिग्रहण गर्ने घोषणा गर्यो । यस मर्जरले क्रेडिट कार्ड र उपभोक्ता बैंकिङ क्षेत्रमा ठूलो प्रतिस्पर्धी संस्था निर्माण गर्ने लक्ष्य राखेको छ । त्यस्तै, जोन्सन एन्ड जोन्सन (जे एन्ड जे) ले १३.१ अर्ब डलरमा शकवेभ मेडिकललाई अधिग्रहण गर्यो । जसले इन्ट्राभास्कुलर लिथोट्रिप्सी (आईभिएल) प्रविधिमा आधारित मेडिकल उपकरण निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ठानिएको छ । त्यस्तै, हेव्लेट प्याकार्ड इन्टरप्राइजले १४ अर्ब डलरमा जुनिपर नेटवक्र्सलाई गरेको अधिग्रहण, एक्सोन मोबिलले पायोनियर नेचुरल रिसोर्सेसलाई करिब ६० अर्ब डलरको स्टक-आधारित सम्झौताको अधिग्रहणलगायतका व्यवसायिक सम्झौताहरु चर्चामा रहे । साईबर हमला सन् २०२४ मा भएका विभिन्न साईबर हमलाले विश्वभरका धेरैवटा संस्था र महत्वपूर्ण सेवा प्रवाहमा अवरोध सिर्जना भयो । २०२४ जनवरीमा अमेरिकाको लोन डिपो कम्पनीमा र्यान्समवेयरु आक्रमण हुँदा उक्त कम्पनीको १ करोड ६० लाख भन्दा बढी ग्राहकको व्यक्तिगत जानकारी चोर्नुका साथै कम्पनीलाई करिब २ लाख ७० हजार अमेरिकी डलर बराबरको घाटा लाग्यो । चिनीयाँ ह्याकरहरुको समूह ‘भोल्ट टाईफुन’ ले अमेरिकाको ऊर्जा, पेट्रोलियम पाइपलाईनजस्ता महत्वपूर्ण पूर्वाधार परियोजनामा साईबर आक्रमण गरे । अमेरिकाको ‘चेन्ज हेल्थ केयर’ आक्रमण, अस्ट्रेलियाको ‘मेडि सेक्युअर’ डाटा चोरी, बेलायतको ‘एनएचएस’ आक्रमण, स्नोफ्लेक आक्रमणलगायतका घटनाले साईबर सुरक्षाको क्षेत्रलाई तरङ्गित बनायो । यसरी सन् २०२४ मा राजनीति, जलवायु, युद्ध, सूचना प्रविधिलगायतका क्षेत्रमा महत्वपूर्ण घटना घटे । अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले पुनरागमन गर्दै विश्व राजनीतिमा ठूला बदलावको सङ्केत दिए । उनको ‘अमेरिका फर्स्ट’ नीतिले अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अघि बढ्छ भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । जलवायु परिवर्तनको असरले सन् २०२४ लाई इतिहासकै सबैभन्दा तातो वर्ष बनायो । बढ्दो तापक्रम र प्राकृतिक प्रकोपहरूले वातावरणीय सङ्कटलाई थप जटिल बनाए । युक्रेन-रूस युद्धको तेस्रो वर्षमा द्वन्द्व अझै तीव्र बन्यो, र दुबै पक्षले ठूलो क्षति व्यहोर्नुपर्यो । मध्य पूर्वी देशको विवाद पनि उत्कर्षमा रह्यो ।
१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दराजमा १८ प्रतिशत छुट दिने
काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मुल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरुलाई एयरबड प्रदान गर्नेछ । ग्राहकहरुले दराजबाट न्यूनतम् १ हजार ८ सय रुपैयाँको खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफुले खरिद गरेको मुल्यमा १८ प्रतिशत, १ हजार ८ सय रुपैयाँसम्ममात्र छुट पाउनेछन् । बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको छ । यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
चौतर्फी धाउँदा निको नभएपछि अन्तिम गन्तव्य ‘अपाङ्ग बाल अस्पताल’, जसले पाउँछन् निःशुल्क सेवा
काठमाडौं । उदयपुरका तोकबहादुर विष्ट विभिन्न अस्पताल धाउन थालेको ५ वर्ष भयो । अहिले पनि उनको बास अस्पतालमै छ । १० वर्षका छोराको खुट्टाको हड्डीमा समस्या भएपछि उनी उपचारका लागि पूर्वका अस्पताल हुँदै काठमाडौंका विभिन्न अस्पतालमा पुगे । तर, छोराको खुट्टा अहिलेसम्म निको हुन सकेकाे छैन । अहिले उनी बनेपामा रहेको अपाङ्ग बालअस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी)मा छोराको उपचार गराइरहेका छन् । छोरालाई एक्कासि के भयो, कसरी यो अवस्था भयो भन्ने उनलाई अझै थाहा छैन। आजभन्दा ४ वर्ष अगाडि छोरा ६ वर्षका थिए । एक दिन अचानक खुट्टा दुख्यो, टेक्न मिल्दैन भन्दै रुन थाले । सधैं हिँड्दै, उफ्रिँदै गर्ने छोराले एक्कासि खुट्टा टेक्न सक्दैन भन्दै रुन थालेपछि तोकबहादुरलाई के भयो भन्ने पीर लाग्यो । एक/दुई दिन उनले ठीक होला नि भन्दै घरमा राखे तर, ठीक भएन । ‘कतै लडेर हो कि अथवा कसैले केही लडाएर हो, के भयो भन्ने नै थाहा भएन, एक्कासि छोरो रुन थालेपछी अस्पताल लिएँ,’ विकासन्यूजसँग कुरा गर्दै उनले भने । छोराको खुट्टामा समस्या देखिएपछि उनले सिराहाको मिर्चैया अस्पताल लगे । त्यहाँ पनि निको भएन । त्यसपछि उनले धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिए । त्यहाँ लिएपछि थाहा भयो खुट्टाको हड्डी भाँचिएको रहेछ । धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप उपचारका लागि काठमाडौं लैजान सल्लाह दियो । त्यसपछि उनी छोरा बोकेर काठमाडौं आए । सुरुमा उनले वीर अस्पतालमा छोरालाई देखाए । अप्रेसनका लागि त्यहाँ समयमा पालो पाउन सकेनन् । त्यसपछि उनी महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुगे । त्यहाँ पनि अवस्था उस्तै थियो । तर, उनले दिनहुँ अस्पताल धाएर अप्रेसनको पालो पाए । त्रिवि शिक्षण अस्पतालमा अप्रेसन गरेपछि चिकित्सकले अब निको हुने भन्दै घर जान भने । चिकित्सकले भनेजस्तै डेढ वर्ष जति छोराको खुट्टा निको भयो । फेरि छोरा हिँड्न थालेपछि उनी ढुक्क भए । तर उनको खुसी धेरै दिन टिकेन । केही समयपछि फेरि छोराले खुट्टा दुख्न थाल्यो भन्दै रुन थाले । त्यतिबेलासम्म टोपबहादुरसँग भएको पैसा सकिसकेको थियो । टिचिङ अस्पतालमा अप्रेसन गर्न पनि उनलाई आफन्तहरूले सहयोग गरेका थिए । त्यहाँ करिब अढाई लाख खर्च भएको थियो । मिर्चैया, धरान, वीर अस्पताल जाँदा कति पैसा खर्च भयो, हिसाबकिताब छैन । भएको पैसा सकियो छोराको खुट्टा निको भएन अब के गर्ने भन्दै उनी केही दिन घरमै बसे । घरमा बस्दा मन पोल्न थाल्यो । ‘अस्पताल जान पैसा थिएन, घरमा बस्न सकिनँ, छोराको यस्ताे अवस्था, हामीलाई त खाना खान, काम गर्न नै मन लागेन,’ तोकबहादुरले सुनाए । आफन्तहरूले पनि सहयोग गरिसकेकाले माग्ने कतै ठाउँ थिएन । उनले ललितपुरमा रहेको बी एण्ड बी अस्पताल राम्रो अस्पताल रहेको कुरा थाहा पाए । त्यसपछि फेरि छोरा बोकेर उनी काठमाडौं आए । उनी घरबाट आउँदा खल्तीमा २० हजारमात्र पैसा थियो । उनी बी एण्ड बी अस्पताल गए । त्यहाँ गएर उनले आफ्नो समस्या अस्पतालका कर्मचारीलाई सुनाए । एक जना चिकित्सकले विपन्न परिवारको बालबालिकाका लागि काभ्रेको बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रमा रोटरी क्लबले नि:शुल्क उपचार गराइरहेको बताए । त्यसपछि उनी छोरा काभ्रेको बनेपा पुगे । जहाँ अहिले उनका छोराको फेरि उपचार भइरहेको छ । ‘दुःखमा भौतारिरहेका बेला मैले सहयोग पाएको छु, अब निको हुन्छु कि भन्ने आशामा छु,’ उनी भन्छन्, ‘आर्थिक अभावले घर लैजान लागेको छोरालाई रोटरी क्लबको सहयोगमा उपचार गराउन पाउँदा मेरो लागि भगवान भेटिए जस्तो भएको छ, अब निको हुने नहुने भगवान भरोसा ।’ गोर्खाका विज्ञान अधिकारी अहिले १७ वर्षका भए । उनी ८ वर्ष हुँदादेखि नै उनको पनि अस्पतालकै बास हुन थाल्यो । कहिले काठमाडौं, कहिले चितवन । उनी अहिलेससम्म कति पटक अस्पतालमा पुगे, उनलाई नै थाहा छैन । पैसा सकियो तर, निको हुने अवस्था नदेखिएपछि उनलाई घरमै राखियो । हिँड्न नसके पनि उनी एउटा खुट्टाको भरले स्कुल पुग्थे । कहिले परिवारको सहयोगमा, कहिले साथीभाइको सहयोगमा त कहिले आफै पनि स्कुल पुग्थे । अहिले उनी कक्षा ९ मा अध्ययनरत छन् । पैसा नहुँदा र धेरै अस्पताल पुर्याउँदा पनि निको नहुँदा विज्ञान घरमै बसे । गत भदौमा गोर्खाको पालुङटारमा ‘अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र’ ले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । स्कुलमा शिविर भइरहेको बेला अस्पतालका एक जना कर्मचारीले उनलाई देखे । उनीसँग कुराकानी गरे । उनले धेरै कुरा भन्न जानेन् तर, धेरै अस्पताल जाँदा पनि सञ्चो नभएपछि घरमै बसेको बताए । त्यहीबेला उनकी आमालाई भेटेर ती कर्मचारीले बनेपामा अस्पतालमा ल्याउन सल्लाह दिए । त्यसपछि उनी आमासँग अस्पताल आए । अहिले उनी आमासँगै १ महिनादेखि अस्पतालमै छन् । विज्ञानलाई के कारण अस्पतालको बेडमा बस्नु पर्यो भन्नेबारे भने धमिलो सम्झना छ । उनी ट्याक्टरबाट झरेर यस्तो अवस्थामा पुगेका हुन् । ‘धेरै थाहा छैन, टयाक्टरबाट खसेर यस्तो भएको हो भन्ने अलि सम्झना छ, ‘ उनी भन्छन्, ‘अब पहिले जस्तो सपांग त हुन नसकुँला तर निको भएर घरमै बस्न पाए पनि हुन्थ्यो, कहिले कता कहिले कता अस्पताल बस्दा बस्दै थाकें ।’ उनलाई अस्पताल बस्दा कति खर्च भयो भन्ने थाहा छैन । तर चितवन र काठमाडौंका विभिन्न अस्पताल पुग्दा लाखौं खर्च भइसकेको छ । तोक, विज्ञानजस्ता जो आर्थिक अभावका कारण अपांगता भएर पनि उपचार पाउन सकिरहेका छैनन् । यस्ता व्यक्तिलाई रोटरी क्लब अफ पशुपतिले सहयोग गरिरहेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भइ उपचार पाउनबाट वञ्चित ६ सय बालबालिकाको उपचारका लागि कार्यक्रम सुरु गरेको रोटरीका अध्यक्ष मिलन केसीले बताए । उनले जन्मजातै अपांगता भएका र पछि विभिन्न दुर्घटनामा परी अपांगता भएका बालबालिकाको उपचारका लागि गएको यो अस्पतालसँग सहकार्य गरेर कार्यक्रम सुरु गरेको बताए । जसमा ६ सय अपांगता भएका बालबालिकाको अप्रेसन र ६० जनालाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने लक्ष्य रहेको छ । उनका अनुसार अहिलेसम्म १ सय २१ जनाको उपचार भइसकेको छ भने ६० जनाको उपचार हाल भइरहेको छ । यो परियोजनाको लागि ३ लाख ७५ हजार अमेरिकन डलर छुट्याइएको छ । रोटरी भनेको विश्वभर रहेको एउटा सामाजिक संस्था हो । यसको मुल उद्देश्य नै समाज सेवा हो । यसले काम गर्ने ७ वटा क्षेत्रमध्ये ‘रोग रोकथाम र उपचार’ पनि हो । जसअन्तर्गत रोटरी क्लब अफ पशुपतिले ‘शारीरिक अपांगता व्यवस्थापन नेपाल’ नामक परियोजना सञ्चालन गरेको छ । ग्लोबल ग्रान्डअन्तर्गत ‘द रोटरी फाउण्डेशन’को सहयोग र रोटरी क्लब अफ पशुपतिको सहकार्यमा सञ्चालित परियोजनाले यस अस्पतालसँग साझेदारी गर्दै परियोजना सञ्चालनमा ल्याएको छ । गएको जेठ २ गतेदेखि सुरु भएको परियोजना आर्थिक अवस्था न्युन भएका विपन्न परिवारका बालबालिकालाई स्वास्थ्य सहयोग गरिरहेको छ । यसरी चुनिन्छन् विपन्न परिवारका अपाङ्ग यस्तो समस्या भएर पनि जो अस्पताल पुग्दैनन्, उनीहरू कि थाहा नभएर कि त पैसा नभएर हो । अपाङ्ग बालअस्पताल तथा पुनःस्थापना केन्द्रले हरेक वर्ष वा महिनामा देशका सातवटै प्रदेशमा घुम्ती शिविर गर्छ । जहाँ अपाङ्गता भएका व्यक्तिहरूको खोजी गर्दै उपचारका लागि सल्लाह दिइन्छ । त्यो अवधिमा आर्थिक अभावका कारण उपचार नपाइ घरमै बसेका व्यक्तिहरू पनि सम्पर्कमा आउँछन् । यस्तो अवस्थामा अस्पतालले रोटरी क्लब अफ पशुपतिसँग सम्पर्क गरेर बिरामीको उपचार गरिदिन्छ । अप्रेसन गर्नुपर्ने बिरामीले बनेपामा रहेको अस्पतालमै पुग्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अस्पताल आउनदेखि उपचार खर्च र बिरामीसँगै एकजना कुरुवाको खर्च समेत यो क्लबले बेहोर्छ । खुसी हुँदै उपचार पाउनेहरू उपचार गराउने क्रममा पैसा सकिएर घर फर्कन लागेकाहरू अहिले उपचार पाउँदा निकै खुसी भएका छन् । सिन्धुपाल्चोककी निशा श्रेष्ठ १२ वर्षकी छोरी ल्याएर अस्पताल पुगेकी छिन् । छोरी सानो हुँदा खुट्टामा सानो पानीफोका जस्तै देखिएको थियो । छोरीले त्यसलाई कोतारेर फुटाइन् । त्यसपछि सुन्निन थाल्यो । अनि आमाले गाउँकै स्वास्थ्यचौकीबाट मुभ ल्याएर लगाइदिइन् । फेरि खुट्टा झन् बढ्दै गयो । निशाले भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा पुर्याइन् । त्यहाँ अप्रेसन गरेर खुट्टामा जम्मा भएको पीप निकालियो । दुईपटक अप्रेसन गर्दा पनि खुट्टा निको भएन । ‘भक्तपुरका चारवटा अस्पताल भर्ना गरें, धामीझाँक्री पनि धेरै लगाइयो तर निको भएन,’ उनले भनिन् । निको नभएपनि निशा गाउँ फर्किन् । उनका दिनहरू रुँदैमा बिते । खेल्दै गरेकी छोरी एकैछिनमा थन्कनुपर्दा निकै गाह्रो भयो । ‘भएको पैसा पनि सकियो, निको पनि भएन, मसँग अरू विकल्पै थिएन, ‘ उनी भन्छिन्, ‘रोटरी यो अस्पतालमा नि:शुल्क उपचार गरिदिन्छ भन्ने सुनेर आएकी थिएँ, अहिले छोरीको उपचार भइरहेको छ ।’ अहिले निशाको छोरीको स्वास्थ्यमा सुधार हुँदैछ । उनी अहिले खुसी छिन् । भन्छिन्, ‘मैले त हार खाइसकेकी थिएँ, अहिले छोरीको मुहार पनि हसिलो छ, अब केही सुधार हुन्छ कि भन्ने प्रतीक्षामा छु ।’ उदयपुरका प्रेमबहादुर श्रेष्ठ जन्मजातै अपाङ्गता छन् । उनका दुवै खुट्टा पछाडि फर्केका छन् । जस कारण उनलाई हिँड्नबस्न समस्या हुन्छ । उनको खुट्टामा धेरै औंलाहरू थिए । परिवारले केही अस्पतालमा देखाएपनि ठीक नहुने बताएपछि उनी घरमै थिए । अस्पतालबाट गएको घुम्ती शिविरले उनलाई पनि देख्यो । अहिले उनको उपचार भइरहेको छ । १६ वर्षीय प्रेमबहादुरका दुवै खुट्टाको अप्रेसन गरेर पछाडि फर्केको भागलाई सोझो फर्काउन मिल्ने बताएपछि अहिले उनी पनि खुसी छन् । भन्छन्, ‘सपांगजस्तै हिँड्न मिल्ने त हुँदैन थाहा छ तर सोझो भएर हिँड्न पाउनु नै मेरो लागि खुसीको कुरा हो ।’ अस्पतालका कार्यकारी तथा चिकित्सा निर्देशक डा. विवेक बाँस्कोटा यो अस्पतालले यस्तै विभिन्न संघ सस्थासँग समन्वय गरेर उपचार दिँदै आएको बताए । सन् १९८५ मा स्थापना भएको अपांग बाल अस्पताल तथा पुन: स्थापना केन्दले अपांगता भएका बालबालिकाहरू उपचार गर्दै आएको छ । कुनै पनि अपांगता भएका बालबालिका उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले अस्पताल सञ्चालनमा भएको बताउँदै बाँस्कोटाले अहिलेसम्म हजारौं बालबालिकाको उपचार गरिसकेको बताए । विपन्न वर्गका शारीरिक अपांगता भएका व्यक्तिलाई केन्द्रित गर्दै सञ्चालनमा आएको अस्पतालसँग रोटरी क्लब पशुपतिले साझेदारी गरेको छ । ‘६ सय ६० बालबालिकालाई उपचार गराउनु भनेको ठूलो कुरा हो,‘ उनी भन्छन्, ‘रोटरीले ती बालबालिकाको उपचार खर्च बेहोरिरहेको छ ।’
देशभर १ लाख ४२ हजार होटल तथा रेष्टुरेन्ट सञ्चालन, ३ लाख ८७ हजार व्यक्ति आवद्ध
काठमाडौं । देशभर १ लाख ४२ हजार २३३ आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानहरू अर्थात होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् । बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेकोे ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार उक्त संख्या बराबर देशभर होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेको पाइएको हो । सर्वेक्षणअनुसार होटल तथा रेष्टुरेन्टमा तीन लाख ८७ हजार ७४७ व्यक्ति संलग्न छन् । तथ्यांक कार्यालयले आतिथ्यता उद्योगमा सक्रिय रहेका व्यवसायी तथा साझेदारहरू, वेतलबी पारिवारिक सदस्यहरू र तलबी रोजगार व्यक्तिहरूलाई यो क्षेत्रमा संलग्न जनशक्तिका रूपमा विश्लेषण गरेको छ । एक लाख ६ हजार ४५९ यो क्षेत्रमा काम गर्ने तलबी कर्मचारी रहेको तथ्यांक कार्यालयले जनाएको छ । सर्वेक्षणअनुसार सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूले तलबी कर्मचारीहरूको लागि वार्षिक २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । त्यसैगरी, सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूमध्ये आर्थिक वर्ष २०७९/८० अनुसार २८ दशमलव ४ प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ । बाँकी ७१.६ प्रतिशत होटल तथा रेष्टुरेन्टले ऋण नलिई सेवा प्रवाह गरिरहेको देखिन्छ । तथ्यांक कार्यालय यस अघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ सर्वेक्षण गरिएको थियो । कार्यालयले त्यसको २० वर्षपछि ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ सर्वेक्षण गरेको हो । अहिलेको सर्वेक्षणमा तथ्यांक कार्यालयले सर्वेक्षणको दायरा फराकिलो पारेको जनाएको छ । ‘होटल तथा लज सर्वेक्षण- २०६०’ मा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठानहरु तारे होटल, रिसोर्ट, र गैरतारे होटलहरू मात्र सर्वेक्षणको दायरामा परेका थिए भने यस ‘राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षण- २०८०’ मा सर्वेक्षणको दायरालाई फराकिलो पारिएको छ । यस सर्वेक्षणको दायरामा नेपालस्तरीय औद्योगिक वर्गीकरणको खण्ड ‘आई’ अन्तर्गत पर्ने अल्पकालीन आवास सुविधा प्रदान गर्ने र भोजनसेवा उपलब्ध गराउने सबै प्रकारका प्रतिष्ठानहरूलाई समेटिएको छ । आवास सेवा प्रदान गर्ने तारेहोटल, गैरतारे होटल, रिसोर्ट, लज, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्रावास/होस्टेल र भोजन सेवा प्रदान गर्ने सबै प्रकारका रेष्टुरेण्ट तथा क्याटरिङ/पार्टी प्यालेसहरू सर्वेक्षणको दायराभित्र परेका छन् ।
सूर्यज्योति लाइफबाट एमडीआरटी-२०२५ का लागि ४० जना योग्य, २ जना बने सीओटी
काठमाडौं । अभिकर्ताहरूको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरू एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन् । उक्त ४० जनामध्ये गौरवकुमार शाही र दीपक सापकोटा कोर्ट अफ द टेबल (सीओटी) का लागि योग्य भएको कम्पनीले जनाएकाे छ । गौरवकुमार शाही सीओटीमा दोस्रो पटक छनौट हुन सफल भए । कम्पनीको कोशी प्रदेशबाट २ जना, मधेस प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १७ जना, गण्डकी प्रदेशबाट ५ जना, लुम्बिनी प्रदेशबाट ८ जना, कर्णाली प्रदेशबाट ५ जना र सुदूरपश्चिम प्रदेशबाट २ जना गरी जम्मा ४० जना सन् २०२५ को लागि छनौट भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) का लागि छनौट हुन सफल ४० जना सबैलाई मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताहरूको भेलामा सहभागी हुन अवसर प्राप्त गरेका अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे । सीईओ खत्रीले कम्पनीसँग आबद्ध भएका हजारौं कर्मठ, लगनशील र मेहनती अभिकर्ताहरूप्रति पनि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा उत्कृष्टता हासिल गर्न आग्रह गरे । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ, कुल लगानी ४ हजार १५२ करोड, जीवन बीमा कोष ३ हजार ६०५ करोड, जारी बीमालेख संख्या ३१ लाख , प्रशिक्षित अभिकर्ता संख्या ९९ हजार ५४५ र देशभर रहेका १७६ शाखा सञ्जालद्वारा सेवा प्रदान गरिरहेको छ । बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो आईएसओ ९००१-२०१५ प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न पनि सफल भएको छ ।
स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पे मार्फत भुक्क्तानी गर्न सम्झौता
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत ३ दशकदेखि नेपालीहरूलाई निरन्तर र गुणस्तरीय बैंकिङ सेवा दिदैं आएको एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको हो । यस सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।
मैनादेवी फाउण्डेशन र कुमारी जबबीच सहकार्य
काठमाडौं । वातावरणीय अभियानहरूमा क्रियाशील नेपालका अग्रणी गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेशन (एमडीएफ) र नेपालका अग्रणी रोजगारी पोर्टल तथा मानव संशाधन परामर्शदाता कुमारी जबबीच काठमाडौं ट्रयास कलेक्सन् रेस (केटीसीआर) २०२५ को लागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ । पुस २७ गते आयोजना हुने काठमाडौं ट्रयास कलेक्सन् रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान हो । यस कार्यक्रममा सहभागीहरू जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् र ५ किलोमिटरसम्म फोहोर सङ्कलन गर्नेछन् । यस अभियानको उद्देश्य स्वास्थ्य, समुहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई जोड्दै हरियालीको महत्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्नु हो । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘हामी केवल रोजगारीका अवसरहरू सिर्जना गर्ने मात्र नभई एक असल संसार निर्माण गर्ने अवसर पनि सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। यसै मान्यताअनुसार हामीले मैनादेवी फाउन्डेसनसँग सहकार्य गरेका छौँ । हाम्रो यस सहकार्यले नागरिक सचेतना बढाउँदै भावी पुस्ताको लागि सुरक्षित वातावरण तयार गर्नेछ भन्ने विश्वास छ ।’ मैनादेवी फाउण्डेशनका अध्यक्ष केपी खनालले यस सहकार्यलाई स्वागत गर्दै भने, ‘काठमाडौं ट्रयास कलेक्सन् रेस नेपालमा आशा र वास्तविक कामको प्रतीकका रूपमा विकसित हुँदै गएको छ। कुमारी जबसँगको यो सहकार्यले सफा, हराभरा र दिगो समुदाय निर्माणको हाम्रो प्रयासलाई थप बलियो बनाएको छ। हामी मानिसहरूलाई सकारात्मक परिवर्तन गर्न प्रेरित गर्दैछौँ ।’ यस वर्षको ट्रयास कलेक्सन् रेसमा ३०० भन्दा बढी स्वयंसेवकहरूको परिचालन हुने र ३,००० भन्दा बढी नागरिकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ । कुमारी जब एक दशकदेखि जनमानसमा सेवा पुर्याउँदै आएको छ र यस सहकार्यमार्फत रोजगार सिर्जनासँगै वातावरणीय सचेतना फैलाउन पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । मैनादेवी फाउण्डेशनले विगत तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ । तीनकुनेबाट बिहान ७ बजे सुरु भएर माइतिघरमा समापन हुने यस अभियानमा सहभागीहरूले दौडँदै फोहोर संकलन गर्नेछन् । संकलन गरिएको फोहोर काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गरिने आयोजकले जानकारी दिएका छन् ।
नेप्सेमा हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत भएको हो । हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।