विकासन्युज

पर्यटन बोर्डलाई एटीएम मेसिन जस्तै बनाइयो

काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाकादेखि नै विभिन्न संकटको सामना गर्दै आएको छ । त्यति हुँदाहुँदै पनि बोर्ड बजारीकरण र प्रमोशनमा अघि बढिरहेकै छ । बोर्डले सीमित ठाउँमा पर्यटकीय गतिविधिलाई विस्तार गर्दै आएको छ । हाम्रो उद्देश्य पनि पहिले विदेशी पर्यटक त्यसपछि मात्रै आन्तरिक पर्यटकलाई जोड दिने रहेको छ । त्यसतर्फ हामी लागिपरेका छौं । नेपालमा आन्तरिक पर्यटक इतिहास धेरै पुरानो छैन । पछिल्ला १०/१२ वर्षपछि मात्रै नेपालमा आन्तरिक पर्यटकको संख्या बढेको देखिन्छ । पछिल्ला दिनहरूमा स्थिर अवधारणा निकै महत्त्वपूर्ण भएर गएको छ । यसमा पनि हामीले विभिन्न निकायसँग सहकार्य गर्दै अघि बढेका छौं । पर्यटन क्षेत्रको कुरा गर्दा विशेषगरी होटलहरूको क्यापसिटी बढेको छ । अहिले होटलहरूले करिब ४० लाख पर्यटकलाई धान्न सक्ने अवस्था भइसकेको छ । तथापि सन् २०२४ मा १० लाख ५० हजारको हाराहारीमा पर्यटन भित्र्याउन सफल भयौं । सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्रिएका थिए । २०२४ मा ग्लोबल रिकोभरी ९७ प्रतिशत भएको छ । कतिपय मुलुकहरू २०२२/२३ मा भइसके पनि हाम्रोमा भर्खर रिकभर हुँदैछ । हामीले एक/दुई वर्षअघि विभिन्न कारणले मार्केटको प्रमोशन आक्रामक रूपमा गर्न सकेनौं । यदि गर्न सकेको भए यत्तिबेलासम्म रिकभर भइसकेका हुन्थ्यौं । भूकम्पछि पुन:निर्माण, त्यसपछि कोभिडको कारण यो क्षेत्रले एक किमिसले विश्राम लिनुपर्ने अवस्था आयो । विश्रामपछि पुनः सुरु भएको यो क्षेत्रले विस्तारै लय समातेको अवस्थामा सोचेजस्तो लक्ष्य हासिल गर्न सकेन । चुनौती नेपाल पर्यटन बोर्ड आफैमा सार्वजनिक र निजी साझेदारीमा चलेको संस्था हो । काम गर्न सहज हुन्छ भनेर बोर्डको प्राथमिकता सरकारी निकायमा बढी देखिन्छ । तर आउँदा दिनमा निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न चाहन्छौं । बोर्ड र बोर्डले गर्ने गतिविधिका बारेमा बाहिर वास्तविकताभन्दा फरक ढंगले आइरहेको देख्छु । नेपालमा पर्यटनको क्षेत्रमा बोर्डले मात्रै गर्नुपर्छ, बोर्डको मात्रै जिम्मेवारी हो भन्ने जुन भाष्य निर्माण हुन खोजिरहेको छ, त्यसमा परिवर्तन ल्याउनु जरुरी छ । पर्यटन क्षेत्रको उत्थानको लागि हामी सबैको उत्तिकै दायित्व र जिम्मेवारी छ । बोर्डले मुलतः नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रमा निजी क्षेत्रले जसरी ठूलो लगानी गर्नुभएको छ, उहाँहरूको लागि सहयोगी भूमिका खेल्दिने हो । उहाँहरूको विषयहरूलाई सहजीकरण गरिदिने हो । नेपाल पर्यटन बोर्ड एटीएम कार्डजस्तो भएको छ । प्रपोजल हाल्ने अनि पैसा आइहाल्छ भन्ने धेरैको सोच भएको देख्छु । भन्नैपर्दा यहाँ हरेक दिन ७०/८० देखि सय वटासम्म प्रपोजलहरू आइरहेको हुन्छ । जुन हामीले गर्न सक्ने अवस्थामा छैन । कहिलेकाहीं गर्न सकेनौंभन्दा दु:ख नमान्दिनुहोला । यो सार्वजनिक संस्था हो । बोर्डले धेरै क्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्ने छ । धेरै सेक्टरमा बजेट बाँडफाँट गर्नुपर्ने हुन्छ । धेरैले पर्यटन बोर्डका कर्मचारी विदेशमात्रै घुम्छन्, विदेशको मात्रै चासो हुन्छ भन्ने गरेको पाउँछु । विदेश कर्मचारीको चाहनाभन्दा पनि काम गर्न गएको हो । काम नै त्यही तोकेको छ । अझ कतिले त यो बोर्ड आवश्यक नै छैन बन्द गर्दिनुस् भन्नेसम्म सुनेको छु, हामीलाई के लाग्छ भने यी सबै कुराभन्दा बोर्डलाई बलियो बनाउन सबैको साथको खाँचो छ । सबैले यसमा योगदान गर्नुपर्छ । कहिलेकाहीं बोर्डले प्याकेज बनाएन भन्ने आउँछ । बोर्डले प्याकेज बनाउनेभन्दा निजी क्षेत्रले बनाएका प्याकेजलाई प्रवर्द्धन गर्ने हो । अर्को पछिल्लो समय स्थानीय तह, प्रदेश जताततै पर्यटक आओस् भन्ने खालको अपेक्षा बढेर गएको पाइन्छ । नेपालमा मुस्किलले १२ लाख पर्यटक भित्रिन्छन् । त्यो पनि सबै ठाउँमा पुग्ने सम्भावना छैन । पर्यटन व्यावसायिक सेक्टर भएकाे हुनाले जहाँ सम्भावना छ त्यहाँमात्रै जोड दिनुपर्छ भन्ने लाग्छ । पर्यटकलाई घरघर लानेभन्दा पनि पर्यटकबाट आएका आम्दानीलाई घरघरसम्म पुर्‍याउने हो । थुप्रै देशमा हेर्ने हो भने निश्चित क्षेत्रमा मात्रै पर्यटकीय गतिविधि हुन्छ । त्यस्तै, थुप्रै ठाउँमा भ्रमण वर्ष घोषणा गर्ने त्यसपछि पर्यटनमा कायापलट हुन्छ भन्ने बुझाइ छ । घोषणा आवश्यक छ त्यसले सबै क्षेत्रलाई चलायमान पनि बनाउँछ । त्यसभन्दा बढी हाम्रो ध्यान पर्यटन भित्र्याउनका लागि चाहिने आवश्यक तयारी अझ गर्नुपर्छ । आगामी कार्यदिशा विगतमा भएका विभिन्न गतिविधिबाट हामीले धेरै पाठ सिकेका छौं । विगतका वर्षहरूमा ‘ट्राभल ट्रेड फेयर’ मा हाम्रो सहभागिता धेरै हुन्थ्यो । जुन धेरै खर्चिलो हुने तर खासै उपलब्धि नहुने महसुस गरेका छौं । आगामी दिनमा त्यसमा हुने सहभागी घटाएका छौं । हामी जहाँ गएपनि पर्यटन क्षेत्रको विकास हुने गरी नै अघि बढ्ने नीतिलाई सारेका छौं । पछिल्लो समय प्रविधिको द्रुत विकास भएसँगै बोर्डका कामकारबाही एउटै डिजिटल प्लेटफर्मबाट गर्ने भन्ने सोच बनाएका छौं । विश्व यति गतिशील ढंगले अघि बढिरहेको छ, त्यसअनुसार भविष्यका लागि हामी तयार भएनौं भने पर्यटन क्षेत्रबाट सोचेजस्तो उपलब्धि लिन हामी असक्षम हुनेछौं । त्यसलाई ध्यान दिएर भविष्यमा थप पर्यटन भित्र्याउनका लागि हामीले विभिन्न कार्यक्रमहरू अघि सारेका छौं । हामीले दिर्घकालीनमा नतिजा आउने खालका कार्यक्रमहरू ल्याउने तयारी गरेका छौं । अबको तीन महिनाभित्रै काठमाडौं, पोखरा, चितवन र लुबिनीजस्ता ठाउँमा गएर कार्यक्रम गर्दैछौं । त्यसैगरी, हामीले एक/डेढ वर्षदेखि रोकिएका अन्तर्राष्ट्रिय मार्केटिङ प्रमोसनलाई अघि बढाउनेछौं । जनशक्ति विकासमा पनि हामीले विभिन्न पर्यटन व्यवसायी, एशोसिएसनहरूसँग समन्वय गरेर काम गर्नुपर्ने भएको छ । अहिले दैनिक चार/पाँच हजार जनशक्ति बाहिरिरहेको अवस्था छ । रोजगारको सिलसिलामा खाडी मुलुकदेखि विभिन्न देशमा जाने युवाको संख्या बढ्दो संख्यामा छ । यसले पर्यटन क्षेत्रले मात्रै नभएर दिर्घकालीन रूपमा देशले समेत ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । पूर्वाधारमा सुधार भएसँगै त्यो हिसाबले पर्यटक नेपाल भित्रनेछन् । तर पर्यटकलाई सेवा दिने दक्ष जनशक्ति कम हुँदै गएको छ । यसतर्फ सबैले सोच्नुपर्ने बेला भएको छ । निजी क्षेत्र र सरकारी दुबैमा डिजिटल इन्टरभेसनको आकर्षण बढ्दो छ । तर आज पनि धेरै चिज म्यानुअलमै गइरहेका छौं । तर हामीले बढ्दो ट्रेनलाई ग्रहण गर्नुपर्छ । सबै नेता, कर्मचारी भ्रष्ट हुन् भन्ने जुन नकारात्मकता बढेकाो छ कि त्यस्ता कुरालाई जति सक्दो छिटो बदल्न सकेनौं भने त्यसले हामीलाई अगाडि बढ्न दिँदैन । यहाँ धेरै राम्रा मान्छेहरू सक्रिय रूपमा लागिरहनुभएको छ । त्यसरी लाग्नेहरूलाई उत्साह प्रदान गरिदिनुहोला । हिजोका दिनमा निराशा हुनैपर्ने केही देख्दिनँ, अबको २ देखि पाँच वर्षको अवधिमा पर्यटन क्षेत्रले राम्रो फड्को मार्छ । (जोशी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् )

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

१२ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ ९१० अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ । कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, केहीलाई एक वर्ष तथा केहीलाई छ महिनाका निम्ति कालोसूचीमा राखेको जनाइएको छ । पाँचथरको फिदिमस्थित यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुम पश्चिमको चौरजहारीस्थित सडक विभाग, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, नेपाल वन निगम लिमिटेडलगायत १२ सार्वजनिक निकायले उक्त कार्यालयलाई कालोसूचीमा राख्न पत्राचार गरेका सूचनामा जनाइएको छ ।

यस्तो छ बिहीबारको तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु ३०, गोलभेँडा सानो (भारतीय)रु ५०, गोलभेँडा सानो (तराई) रु ४०, आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु १२०, गाजर (तराई) प्रतिकेजी रु ११०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु ३०, बन्दा (नरिवल) प्रतिकेजी रु ३०, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ५०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ४५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १२०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ६०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १२०, सखरखण्ड प्रतिकेजी ९०, बरेला  प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु ३०, पालुङ्गो साग प्रतिकेजी ९०, चमसुरको साग, रु ९०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ९०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु १००, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले (प्रतिकेजी रु ८०), सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १३०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किवि प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु १००, लसुन हरियो प्रतिकेजी रु २००, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ । रासस

सिटी एक्सप्रेसबाट ४२ हजार पठाउने निराजन ढकालले जिते १८ गुणा बढी पुरस्कार

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने विजेताको नाम घोषणा गरेको छ । कम्पनीले ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौं गुणा’ अभियानको विजेता घोषणा गरेको हो । सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर कलाकार जितु नेपाल र कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितीमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरिएको हो । जसअनुसार कोरियाबाट रेमिट्यान्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९ सय ९ रुपैयाँको १८ गुणा अर्थात् ७ लाख ५४ हजार ३ सय ६२ रुपैयाँ जिते । सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मंसिर ३० गतेसम्म चल्ने गरी ६० दिनसम्म उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५ सय रुपैयाँको सिटी पे वालेट टपअप प्रदान गरिएको थियो । जसअन्तर्गत १ हजार ६ सय २० जनाले वालेट टपअप, २४ जनाले स्मार्ट टिभी र ६ जनाले स्मार्टफोन जिते । सिटी एक्सप्रेसले विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटीपे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुरु गरेको छ । साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

कामना सेवा विकास बैंकद्वारा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गरगरेमार्फत रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ । रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी बैंकको सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनले हस्तान्तरण गरे । कम्प्युटर हस्तान्तरण गरिएकोमा कार्यक्रमको प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र रुद्रपुर खानेपानी संस्थाका अध्यक्ष नाम बहादुर केसीले धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. ३, ४ र ५ का वडा अध्यक्ष लगायत कामना सेवा विकास बैंकका बुटवल क्षेत्रीय प्रमुख खिमलाल भुसाल र खानेपानी संस्थाका समिति सदस्य एवम् कर्मचारीको उपस्थिति थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिनेछ ।

किसानद्वारा ११ करोडको धान बिक्री

राँझा । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए । ‘धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ’, कार्यालय प्रमुख लामिछानेले भने, ‘स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।’ धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए । ‘पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भने । मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताए । ‘गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ’, लामिछानेले भने, ‘गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।’ पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए । उनका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ । रासस

सन् २०२४ मा भित्रिए साढे ११ लाख पर्यटक, ९३ प्रतिशत पर्यटन पुनरुत्थान

काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड-१९ महामारी (कोरोना भाइरस) का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ । कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन खुम्चियो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो । उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका ८ सयभन्दा बढी चार्टड उडान, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल चिनियाँ ड्रागन फेस्टिबलका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेको छ । विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवद्र्धनलाइ प्राथमिकतामा राखेको बोर्डले उल्लेख गरेको छ । कुन महिनामा कति पर्यटक ? मार्च महिनामा सबैभन्दा बढी १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा १ लाख २४ हजार ३९३, अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६ पर्यटक नेपाल आएका थिए । डिसेम्बरमा ८९ हजार ७६५, नोभेम्बरमा १ लाख १४ हजार ५०१, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए ।