विकासन्युज

माछापुच्छ्रे बैंक र युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा, मूल्य १ हजार रुपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई बिक्रीमा राखिएको थियो । तर, खरिद गर्न इच्छुक नभएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकेर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ । यस्तै, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । लुवित्तका संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, ५० प्रतिशतसम्म पाइने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन रहेको छ । लुम्बिनी विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), कालिका पावर, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्तले पुस १९ गते र सूर्योदय वोमी लघुवित्तले पुस २१ गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ८कम्पनीको साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २९ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे बोलाएको छ । यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चुक्ता पुँजीको करसहित १.६८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.०९८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते डिल्लीबजार काठमाडौंमा ३०औँ वार्षिक साधारण सभा बिहान १० बजे डाकेको छ । यस्तै, हिमालयन डिष्टिलरीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते पर्सामा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । यस्तै, बोटलर्स नेपाल (तराई)ले ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । पुस २६ गते काठमाडौंमा ३८औँ वार्षिक साधारण सभा दिउँसो १२ गते डाकेको छ । यस्तै, कालिका पावरले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते भरतपुर चितवनमा ११ बजे साधारण सभा बोलाएको छ । यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते पोखरा, बुद्धचोकमा १५औँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तले चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न माघ ४ गते नुवाकोटमा १२औँ वार्षिक साधारण सभा साढे ११ बजे आह्वान गरेको छ । यस्तै, सूर्योदय वोमी लघुवित्तले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते १३औँ वार्षिक साधारण सभा ११ बजे डाकेको छ ।

होटलमा साढे ५ खर्ब लगानी, १० अर्ब बढी विदेशी

काठमाडौं । नेपालको होटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ रहेको छ । तथ्याङ्ककअनुसार होटल उद्योगमा साढे १० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । नेपालमा १ लाख ४२ हजार २२३ होटल/रेस्टुरेन्ट रहेको तथ्याङ्क छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र समेटिएको थियो । डा रेग्मीका अनुसार यस पटकको सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्राबास/होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ/पार्टी प्यालेसको विस्तृत सङ्कलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको हो । देशभरका डेढ लाख होटलमध्ये १ हजार १२१ होटलमा पूर्ण विदेशी लगानी रहेको छ । जसमध्ये १ हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ । देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो । सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्‍याएको योगदानको मापन गर्न सहज हुने विश्वास लिइएको छ । विसं २०७९ साउन १ देखि २०८० असार ३० गतेसम्म सर्वेक्षण गणना गरिएको थियो । पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्याङ्क सङ्कलन पूर्णगणना विधिबाट गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । तथ्याङ्कअनुसार १० करोड रुपैयाँभन्दा बढी स्थायी सम्पत्ति भएका होटल/रेस्टुरेन्ट सङ्ख्या ४९३ छन् । तीमध्ये बागमतीमा २१४ छन् । १ करोडदेखि १० करोड रुपैयाँ सम्म सम्पत्ति भएका होटल ८ हजार ७३२ छन् । २ लाखभन्दा कम लगानीमा खुलेका होटल/रेस्टुरेन्ट ६७ हजार ५२१ छन् । तथ्याङ्कमा देशभरि सञ्चालनमा रहेका होटल/रेस्टुरेन्टमध्ये १ लाख ३७ हजार ७१६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ । जसको सम्पत्ति ४ खर्ब १८ अर्ब ६२ करोड रुपैयाँ हाराहारी छ । नेपाली नागरिकको संयुक्त लगानीमा ३ हजार ३२७ होटल/प्रतिष्ठान सञ्चालनमा छन् । जसमा १ खर्ब १४ अर्ब रुपैयाँ लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल/रेस्टुरेन्ट रहेको छ । सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवन सेवा गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको सङ्ख्या १ लाख ५ हजार ४५९ रहेको छ ।

आज पनि अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, अन्य मुद्राको भाउ घट्यो

काठमाडौं । नयाँ वर्ष २०२५ को दोस्रो दिन पनि अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत हिजो पुस १७ गते खरिदर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आज युरोपियन यूरोको एकको खरिदर १४१.५३ रुपैयाँ र बिक्रीदर १४२.१५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.२५ रुपैयाँ र बिक्रीदर १७२.०० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.७० रुपैयाँ र बिक्रीदर १५१.३६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.६२ रुपैयाँ र बिक्रीदर ८४.९९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.०७ रुपैयाँ र बिक्रीदर ९५.४९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१६ रुपैयाँ र बिक्रीदर १००.६० रुपैयाँ, जापानी येन १० को खरिददर ८.७२ रुपैयाँ र बिक्रीदर ८.७६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७३ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९९ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२३ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५८ रुपैयाँ र बिक्रीदर ३०.७१ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३५ रुपैयाँ र बिक्रीदर १२.४० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.६० रुपैयाँ र बिक्रीदर ४४५.५५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६२.७२ रुपैयाँ र बिक्रीदर ३६४.३१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.६३ रुपैयाँ र बिक्रीदर ३५७.१९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०२४ मा विश्वभर ठूला हवाई दुर्घटना, हवाई सुरक्षामाथि प्रश्न खडा

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए । बैंककबाट फर्कँदै गरेको उक्त विमानमा चालक दलका ६ सदस्यसहित एकसय ८१ जना सवार थिए । सियोलबाट करिब २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर सिमेन्टको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । यसअघि डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको एम्ब्रेयर इआरजे १९० एआर विमान कजाकिस्तानको अक्ताउ विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । वर्षको उत्तरार्धमा भएका दुई ठूला विमान दुर्घटनामा २१७ जनाले ज्यान गुमाए । विमान दुर्घटनामा सन् २०२४ मा इरानी राष्ट्रपति इब्राहिम रइसी र अफ्रिकी देश मालीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिम जस्ता विशिष्ठ व्यक्तिको मृत्यु भयो । मे २० तारिख (जेठ ७ गते) इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस्तै जुन ११ (जेठ २९ गते) मालीका उपराष्ट्रपति चिलिमिको सैन्य विमान दुर्घटनामा मृत्यु भएको थियो । नयाँ वर्ष २०२५ को सुरुआत हुँदै गर्दा सन् २०२४ एयरलाइन्सका लागि दुःखद् सावित भयो । यस वर्षभित्र ठूला ठूलासहित धेरै सङ्ख्यामा विमानहरु दुर्घटनामा परेका थिए । डिसेम्बर महिनामा मात्रै ६ वटा ठूला विमान दुर्घटना भएका छन् । ती दुर्घटनामा २३४ जनाको मृत्यु भएको छ । लगातारको विमान दुर्घटनाले हवाई क्षेत्रमा सुरक्षा प्रोटोकल र प्राविधिक समस्यामाथि प्रश्न उठ्न थालेको छ । यस्तै गत डिसेम्बर २२ मा दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । उक्त विमानमा सवार ब्राजिलका व्यापारी लुइज क्लाउडियो गालेज्जीको श्रीमती, तीन छोरी र अन्य आफन्तसहितको दुर्घटनामा मृत्यु भएको हो । डिसेम्बर २४ मा एयर क्यानाडाको विमान अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको थियो । उक्त विमानमा आगो लागेको थियो । यसैगरी गत डिसेम्बर २२ मा पपुवा न्यू गिनीमा विमान दुर्घटनाग्रस्त हुदाँ विमानमा सबार सबै ५ जनाको मुत्यु भएको थियो । उत्तरी तटीय उड्डयनद्वारा सञ्चालित एक आइल्याण्डर २२ डिसेम्बरमा पपुवा न्यू गिनीमा दुर्घटनाग्रस्त भएको थियो । अर्जेन्टिनामा बम्बार्डियर च्यालेन्जर ३०० अर्जेन्टिनाको सान फर्नान्डो एयरपोर्ट नजिक दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको थियो । अमेरिकन विमान कामाका एयर एलएलसीद्वारा सञ्चालित कामाका एयर होनोलुलुको ड्यानियलअन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको हो । अगष्त नौ मा ब्राजिलको भिनहेडोको भिनहेडोमा विमान दुर्घटनाग्रस्त हुदा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो । सन् २०२४ मा नेपाल पनि विमान दुर्घटनाबाट टाढा रहन सकेन । जुलाई २४ तारिख (साउन ९ गते) गते सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुदाँ १८ जनाको मृत्यु भएको थियो । यस्तै अगष्त ७ (साउन २३ गते) काठमाडौंको शिवपुरी क्षेत्रमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको थियो । सन् २०२३ मा यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७२ जनाकै निधन भएको थियो । यो दुर्घटना आन्तरिक उडानमा हालसम्मकै ठूलो हो । बुद्ध एयरका अप्रेसनल डाइरेक्टर क्याप्टेन आरके शर्मा समग्रमा वर्ष २०२४ विश्वव्यापी रुपमा हवाई दुर्घटनाका हिसावले दुःखद् रहे पनि नेपालमा भने केही सुधार भएको बताउँछन् । ‘नेपालका लागि वर्ष २०२४ सुखद नै मान्नुपर्छ । तर, विश्वव्यापी रुपमा हेर्दा वर्षको समाप्ती हुनैलाग्दा निरन्तर ठूला घटना हुनुले समग्र वर्षलाई हवाई दुर्घटनाका हिसावले दुखःद् मानिन्छ,’ उनले भने । नेपालको हकमा हवाई सुरक्षा अभिवृद्धि भएको मान्न सकिने उनको धारणा छ । यद्यपि, सौर्य एयर र एयरडाइनेस्टी हेलिकप्टर दुर्घटनाले पुनः एकपटक झस्काएको छ । यसबाट एभिएसन सेफ्टी र सेक्युरिटीका साथै व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नेतर्फ एयरलाइन्सहरुको ध्यान जान जरुरी रहेको क्याप्टेन शर्माको भनाइ छ । सन् २०२४ मा विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या सकारात्मक बढोत्तरी भइरहेको छ । निरन्तर बढेको हवाई यात्रु चापले यस क्षेत्रको आकर्षणसँगै सेफ्टी र सेक्युरिटीलाई मजबुद बनाउनुपर्ने दबाव बढेको छ । हवाई क्षेत्रका जानकार अच्युत पहाडी पनि समगमा सन् २०२४ एभिएसनका हिसाबले दुःखद् वर्ष साबित भएको बताउँछन् । ‘विश्वव्यापीरुपमा ठूला ठूला हवाई दुर्घटना भए । नेपालमा पनि सौर्य एयरलाइन्स र एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भए । यसरी हेर्दा एभिएसनलाई सन् २०२४ फापेन । दुर्घटना मात्रै हैन मानवीय क्षति पनि धेरै भएको छ । यसले हवाई सुरक्षामाथि प्रश्न खडा गरेको छ,’ उनले भने । सन् २०२४ को अन्तिम महिनाका केही हवाई दुर्घटनाले हवाई क्षेत्रमा संशय पैदा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमले बताए । समग्रमा सन् २०२४ लाई बिदाई गर्दैगर्दा एभिएसनले नराम्रो क्षति बेहोर्न पुगेको उनले उल्लेख गरे । ‘एभिएसनमा नेपालको सन्दर्भमा राम्रो रहेपनि विश्वव्यापी रुपमा हेर्दा दुःखद् वर्षको रुपमा रह्यो,’ पूर्वमहानिर्देशक गौतमले भने, ‘दुर्घटनाबाट पाठ सिकेर हवाई सुरक्षालाई कसरी बलियो बनाउने भन्नेतर्फ राज्य र सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।’ अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले सन् २०३० सम्म मानवजन्य मृत्यु हुने दुर्घटना शून्यमा झार्ने लक्ष्य लिएको छ । अहिले वार्षिक १० प्रतिशत हवाई यात्रु बृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घको तथ्याङ्कलाई उधृत गर्दै पूर्वमहानिर्देशक गौतमले विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या झण्डै ५ अर्ब पुगेको बताए । सन् २०१९ मा ४ अर्ब ५० करोड हवाई यात्रु पुगेका थिए । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हवाई यात्रु बढेका हिसावले सकारात्मक लिन सकिए पनि सन् २०२४ मा भएका केही हवाई दुर्घटनाले एभिएसन क्षेत्रलाई खिन्न बनाएको बताए । ‘नेपालको सन्दर्भमा सन् २०२३ को तुलनामा सन् २०२४ दुर्घटनाको सङ्ख्याको हिसावले सुधारात्मक रहे पनि विश्वव्यापी रुपमा हेर्दा वर्षको अन्तिम महिनामा धेरै सङ्ख्यामा भएका विमान दुर्घटनाले एभिएसन क्षेत्रलाई झस्क्काएको छ,’ उनले भने । उडान सुरक्षा र यात्रु बढोत्तरीका हिसाबले सुधार हुँदै गएको सूचना अधिकारी भूलको भनाइ छ । नेपालमा पनि हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तराष्ट्रिय हवाई यात्रुको सङ्ख्या ७.९ प्रतिशतले बृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कुल ८७ लाख ६० हजार ३०२ हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२४ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ४४ लाख ४९ हजार १३३ पुगेको थियो । प्राधिकरणका अनुसार नेपालमा हालसम्म १०८ हवाई दुर्घटनामा ९५९ जनाको मृत्यु भएको छ । विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । वर्षको अन्त्यतिर दक्षिण कोरिया र कजाकिस्तानमा भएका दुई ठूला विमान दुर्घटनाले समग्रमा हवाई उड्डयनको क्षेत्रलाई निरास बनाएको छ । यो घटनाले विश्वव्यापी रुपमै हवाई उडान कति सुरक्षित छ भन्ने प्रश्न तेर्सिएको छ । यसरी सन् २०२४ मा ठूला विमान दुर्घटनामा ४ सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । अधिकांश दुर्घटना खराब मौसम र मानवीय कमजोरीले हुने गरेको विज्ञहरु बताउँछन् ।

‘भेरिएसन’ नहुँदा महाकाली पुल निमार्णको काम प्रभावित, बाढीले ९ करोड क्षति

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्णको काम प्रभावित बनेको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि ‘भेरिएसन’ नभएका कारण काम प्रभावित भएको पुल निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताए । ‘नयाँ डिजाइन गत वर्ष चैतमै स्वीकृत भएको हो, अहिलेसम्म भेरिएसन भएको छैन,’ इन्जिनियर पाण्डेयले भने, ‘भेरिएसनका लागि पटक पटक ताकेता गर्दा पनि हुन सकेको छैन ।’ उनले समयमै भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुन सक्ने बताए । ‘नयाँ डिजाइनको भेरिएसन नहुँदा स्वीकृत हुने बित्तिकै भेरिएसन हुने आशामा गाइडबन्डको काम गरियो, महाकालीको बाढीले गाइडबन्ड नै बगाएपछि अहिले क्षतिपूर्ति नपाउने अवस्था आएको छ। बर्खा अगावै गाइडबन्डको काम गर्न नसकिए बाढीले ठूलो क्षति हुन्छ,’ उनले भने । गत भदौ अन्तिम साता महाकाली नदीको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर गाइडबन्ड भत्काएको छ । गाइडबन्ड कटान हुँदा ९ करोड रुपैयाँको क्षति भएको इन्जिनियर पाण्डेयले बताए । निर्माण कम्पनीले अब तत्काल काम सुरु गर्न नसकिने भन्दै महाकाली पुल आयोजनासँगै प्रधानमन्त्री कार्यालयसम्म पत्र पठाएको छ । महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको दुवैतर्फ ६ सय मिटर चौडा र २ हजार ८ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ । सुरुमा पोखरीको गाइडबन्ड २५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो  । ठूला ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गरी ग्राभेल र कङ्क्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको हो । त्यसपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । बर्खाअगावै भत्किएको गाइडबन्ड निर्माण हुन नसके बस्ती नै जोखिममा पर्ने स्थानीयहरू बताउँछन् । भीमदत्त नगरपालिका-१३ का वडाअध्यक्ष रामबहादुर बोहराले समयमा गाइडबन्ड निर्माण हुन नसके १३ नम्बर वडाका १ हजार १ सय बढी स्थानीय विस्थापित हुने बताए । ‘गत भदौको बाढीले महाकाली नदी बस्तीतर्फ सोझिएको छ, सरकारले तत्काल भुजेला खोला र गाइडबन्ड निर्माणको काम गर्नुपर्छ, नभए बर्सातमा ठूलो जोखिम छ,’ उनले भने । भदौ अन्तिम साता महाकालीमा भीषण बाढी आएको थियो । त्यसबेला बाढीले महाकाली नदी बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडा प्रभावित बनेका थिए । भीमदत्त नगरपालिका–१२ का वडाअध्यक्ष भूपेन्द्रसिंह रावलले तत्काल काम सुरु गर्न नसके अर्को बाढीले गत वर्षको भन्दो ठूलो क्षति हुन सक्ने बताए । ‘हामी त अहिलेदेखि नै त्रासमा बस्नुपर्ने अवस्था आएको छ, त्यसकारण पुल निर्माण कम्पनीले तत्काल काम सुचारु गरोस्, सरकारले आयोजनामा देखिएको समस्या समाधान गरी ठूलो क्षति हुनबाट रोक्नुपर्छ,’ उनले भने । पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माणको काम गत वर्ष नै सकिए पनि पुलसँगै निर्माण हुने अन्य संरचना निमार्ण हुन बाँकी छन् ।

३१ हजार पर्यटकले भ्रमण गरे अन्नपूर्ण, फस्टायो होटल व्यवसाय

काठमाडौं । विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार ८६६ विदेशी पर्यटक आएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार ४९९ पुरुष, १२ हजार ३६२ महिला र ५ अन्य व्यक्ति रहेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार सार्क राष्ट्रका १ हजार ५६७ पुरुष र २८७ महिला यहाँ आएका थिए । त्यस्तै, अन्य राष्ट्रका १६ हजार ९३२ पुरुष, १२ हजार ७५ महिला र अन्य ५ विदेशी पर्यटक आएका थिए । फ्रान्स, इजरायल, जर्मनी, बेलायतलगायत देशका नागरिक बढी आएका केन्द्रका इन्चार्ज गुरुङले बताए । कोरोना महामारीले थला परेको यस क्षेत्रमा केही वर्षदेखि क्रमशः पर्यटक बर्सेनि बढ्दै गएको पाइन्छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा ९ हजार ६१९ बढी विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा २१ हजार २४७ विदेशी पर्यटक आएका थिए । सोमध्ये १२ हजार ९८१ पुरुष र ८ हजार २६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । यस केन्द्रका इन्चार्ज गुरुङका अनुसार सन् २०२३ मा १२२ देशका नागरिक यस पदमार्गमा आएका थिए । त्यस्तै, सन् २०२२ मा १५ हजार ९ सय विदेशी पर्यटक यहाँ आएका थिए । सोमध्ये १० हजार ३६४ र ५ हजार ५३६ महिला रहेका केन्द्रले जनाएको छ । सन् २०२२ यसको तुलनामा सन् २०२३ मा ५ हजार ३४७ विदेशी पर्यटक बढी आएका थिए । सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा बढी फ्रान्सका २ हजार १२ जना रहेका थिए । केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार ६२७ पर्यटक बढी आएका थिए । सन् २०२१ मा १ हजार ५६२ पुरुष र ७११ महिला गरी २ हजार २७३ पर्यटक आएका थिए । त्यस्तै, सन् २०२० मा एक हजार ९७६ पर्यटक आएका थिए । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६४७ पर्यटक, सन् २०१८ मा २९ हजार ४८४ पर्यटक तथा सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए । सन् २०१७ देखि पर्यटक आगमन वृद्धि हुँदै गएकामा सन् २०२० मा कोरोना सङ्क्रमणका कारण पदमार्ग क्षेत्र प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहर नगरपालिका-७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएका छन् । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन् । साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न, संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायत हेर्नका लागि पनि पर्यटक यहाँ आउने गरेका छन् । यस पदमार्गमा पर्यटक आगमन हुँदा यहाँ होटल व्यवसाय फस्टाएको छ ।

तराईमा हुस्सु, यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । शुक्रबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।