रसुवागढी हाइड्रोले ३.२५ अर्ब कमाउने, सेयरधनीलाई लाभांश कहिले ?
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले व्यावसायिक रूपमा बिजुली उत्पादन सुरु गरेको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको डेढ महिनापछि कम्पनीले व्यापारीक रुपमा विद्युत उत्पादन शुरु गरेको कम्पनी सचिव नरनथा न्यौपानेले जानकारी दिए । उनका अनुसार पुस १७ गते कम्पनी र प्राधिकरणका पदाधिकारीसहितको बैठकले पुस १६ गतेदेखि लागू हुनेगरी आयोजनाबाट उत्पादित विद्युतको व्यापारीक उत्पादन शुरु भएको हो । आयोजनाबाट वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुनेछ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । ‘लामो समयसम्मको हाइड्रोलोजी र खोलाको बहावको तथ्याङ्क राखिएको हुन्छ । यसमा आयोजना निर्माणको समयमा पनि तथ्याङ्क छ । त्यही अनुमान अनुसार पीपीए सम्झौता गरिएको हुन्छ,’ कम्पनी स्रोतले भन्यो, ‘त्यसै आधारमा बैशाखदेखि चैतसम्म उत्पादन हुने अनुमानित बिजुलीको तथ्याङ्कका आधारमा आम्दानी उल्लेख गरिएको हो । यदि भविष्यमा खोलाको बहाव परिवर्तन भयो भने आम्दानी पनि सोही अनुसार घटबढ हुन सक्छ ।’ पीपीएको सम्झौता अनुसार वर्षमा ४/५ महिना मात्रै १११ मेगावाट बिजुली उत्पादन हुने कम्पनी स्रोतको भनाइ छ । अन्य समयमा पानीको बहाव घटेर उत्पादन पनि घट्ने बताइएको छ । सबैभन्दा कम चैतमा २८/२९ मेगावाटमा मात्रै बिजुली उत्पादन हुने देखिन्छ । ‘परिक्षण गर्दा ५५ मेगावाट उत्पादन भएको थियो भने एक डेढ महिनामा ३९ मेगावाटमा झरिसकेको छ । यो घट्दै गएर चैतमा २९ मेगावाटमा भर्छ । पीपीएमा पनि यही नै उल्लेख गरिएको छ,’ कम्पनी स्रोतले भन्यो । कम्पनीले व्यावसायिक उत्पादन सुरु गरेको भएपनि तत्काल लाभांश पाउने सम्भावना न्यून रहेको छ । विभिन्न संस्थासँग लिएको ऋणको किस्ताबन्दी तिर्ने र बाँकी रहेको रकम सेयरधनीहरूलाई वितरण गर्ने कम्पनी स्रोतको भनाइ छ । ‘कर्मचारी सञ्चय कोष, लगायत अन्य संस्थासँग ऋण लिँदा बिजुली उत्पादन भएपछि किस्ताबन्दी तिर्ने सहमति छ, १० वर्षको किस्ताबन्दी छ, किस्ता संख्या समान भएपनि लागत बढेको छ,’ स्रोतले भन्यो, ‘किस्ता रकमको आधारमा मात्रै सेयरधनीलाई लाभांश दिने/नदिने थाहा हुन्छ । यो वर्ष लाभांश दिन मिल्दैन । किनभने मध्यतिर मात्रै उत्पादन भएको छ । अर्काे वर्षदेखि वर्ष थाहा हुन्छ । यदि थोरै रकम मात्रै रह्यो भने २/३ वर्षको नाफा एकैपटक सेयरधनीलाई वितरण गर्नुपर्ने अवस्था हुन सक्छ ।’ १११ मेगावाटको उक्त जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण सम्पन्न भएको हो । गत मंसिर ६ गते मात्रै आयोजनाबाटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेका अनुसार टिमुरे (तातोपानी)स्थित विद्युत गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौं २२० केभी केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ तय गरी सोही आधारमा ५० प्रतिशत स्वपूँजी (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको हो । आयोजना निर्माण अगाडि बढाउने समयमा मुख्य रुपमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन भएको कारण संसोधित अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रुपैयाँ कायम गरिएको थियो । आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिकको ब्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ छ । निर्माण अवधिको ब्याज करिब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनामा चिलिमे जलविद्युतको ३२.७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक सेयर छ । आयोजनाले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको हो । आयोजनामा कर्मचारी सञ्चाय कोषले ऋण प्रवाह गरेको छ । निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकताको १५.५ प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरु ( प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरुको ४.५ प्रतिशत, आयोजना प्रभावित रसुवाबासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण सेयर रहेको छ ।
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटको समयमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो । यसअघि पुष १६ गते बैतडी, बझाङ, डडेल्धुरा र डोटीमा भूकम्प गएकाे थियो ।
नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच सम्झौता भएको छ । पौष ०८ गते नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम-०४, कदम चौकमा रहेको सुनैना हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्वन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।
रास्वपा सभापति लामिछानेसहित प्रतिवादीको थुनचेक बहस जारी
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरुको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ । मंगलबार र बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको बहस सुरु हुने जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिए । प्रतिवादीहरुको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनचेक बहस सुरु भएको थियो । बधुबार भएको बहसमा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए । जिल्ला न्यायाधिवक्ता काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु हुने बताए । ‘प्रतिवादी तर्फका कानुन व्यवसायीहरुको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ’, उनले भने । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनचेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ । नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।
ग्लोबल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्नेछ : अध्यक्ष ढकाल
काठमाडौं । ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । आजदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो । १८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे । कर्मचारीहरूले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको बताए । नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने जानकारी दिए । ‘सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीहरुलाई म के भन्न चाहन्छु भने यो एउटा सानो इण्डिभिजियल कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम सुरु गरेको व्यक्तिले १८/२० वर्षको बीचमा नेपालको सबैभन्दा ठूलो बैंक, सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा ठूलो ब्यालेन्ससाइड भएको सानो इनिसिएशन लिएर इमान्दार हिसावले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्नेकुरा आज प्रमाणित भएको छ’, उनले भने । १८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पौष २४ गते बुधबारसम्म रहनेछ ।
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्रीको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रबद्र्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन् । अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् । यसैगरी, नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममासमेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो । विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ । हाल देशका सातै प्रदेशका एक हजार तीन सय ८६ विद्यालयमा कार्यक्रम लागू भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले रोग निरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउने गत साउन २७ गते योजना तथा कार्यक्रममा घोषणा गरेका थिए । सोही कुरालाई मद्दत मिल्ने गरी हाल निर्देशिका परिमार्जन गरेर विद्यालय स्वास्थ्य दूत थप्न लागिएको हो । पाँच सय विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्नेछन् । उनीहरुलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत स्थानीय तह र विद्यालयका नर्सहरुले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन् । ‘हामीलै नागरिकको स्वास्थ्य सुधार गर्न बालबालिका तहबाटै काम हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौं’, मन्त्री पौडेलले भने, ‘यसले बालबालिका र उनीहरुमार्फत समुदायको स्वास्थ्य जानकारी वृद्धि हुने अपेक्षा गरेका छौं ।’ मन्त्रालयले यस वर्ष प्रयोगका रुपमा लागू गर्ने र अगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । विद्यालयमार्फत सचेतना थप प्रभावकारी हुन्छ भन्ने मन्त्रीज्यूको विश्वास छ, उनले भने, त्यसैलाई आधार मानेर नयाँ व्यवस्था गरिएको हो । अहिले विद्यालय नर्स कार्यक्रमका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ । तीनवटै तह मिलेर बालबालिकाको तहसम्म सचेतना फैलउने काम गर्दा प्रभावकारी हुने विश्वासका साथ मन्त्री पौडेलले विद्यालय दूत कार्यक्रम अघि बढाएको उनको निजी सचिवालयले जनाएको छ ।
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, फ्रान्सका नागरिक बढी आउने
मनाङ । घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्यांक नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच जना अन्य विदेशी नागरिक यहाँ आएका तथ्यांक रहेको इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामासमेत निस्कने गरेका इकाईअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उनका अनुसार तीन वर्षको वार्षिक तथ्यांकअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छ । प्रमुख भुजेलले भने, “अन्य देशको तुलनामा यहाँको भ्रमणमा फ्रान्सका नागरिक बढी आएको पाएका छौँ ।” सन् २०२४ मा तीन हजार तीन सय १६ जना फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । उहाँका अनुसार इजरायलका तीन हजार छ, जर्मनीका दुई हजार तीन सय ५५, युकेका एक हजार नौ सय र भारतका एक हजार आठ सय ३१ नागरिक यहाँ आएका छन् । हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताए । बाइस हजार ३९ पर्यटक थोराङ्रा भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार आठ सय २७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उनले जानकारी दिए । दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताए । त्यस्तै दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्कम रूपमा कम हुन्छ । सन् २०२३ मा २१ हजार दुई सय ४७ पर्यटक भित्रिएको तथ्याङ्कमा अभिलेखीकरण छ । सन् २०२३ मा १८ हजार ८३ विदेशी नागरिकले थोराङ्रा भञ्ज्याङ, तिलिचो ताल, गङ्गापूर्ण ताल, आइसलेकलगायत हिमतालको भ्रमणका गरेका छन्, भने तीन हजार एक सय ६४ विदेशी नागरिकले मनास्लु पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ मा पनि सबैभन्दा बढी फ्रान्सका नागरिक आएको इकाईका प्रमुख भुजेलले जानकारी दिए । सन् २०२२ मा १५ हजार आठ सय ५५ विदेशी नागरिकले मनाङ भ्रमण गरेका थिए । यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौंँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम विस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । यसका साथै अमेरिका, अष्टे«लिया, चीन, रसिया, नेदरल्याण्ड, पोल्याण्डलगायत एक सय २५ देशका नागरिक यहाँ आउने गरेका इकाईका प्रमुख भुजेलले उल्लेख गरे । कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गर्दछन् । यहाँ आउने अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएका छन् । काठमाडौंबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु गरिन्छ । रासस
यसरी रुपान्तरण हुँदैछ चन्द्रागिरि ‘स्मार्टसिटी’मा : ‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ सडक चोक पहिचान
काठमाडौं । के तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? अथवा चन्द्रागिरिवासी कहाँ जाँदै ? नगरवासी हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनुपर्दैन । यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सेवा अथवा सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ । साथै चन्द्रागिरिवासीलाई भेट गर्न जाँदै हुनुहुन्छ भने चिन्ता लिनुपर्दैन । यी कामका लागि नगरपालिकाले पहिलो पटक ‘गुगल प्लस कोड’ सहित सडक, चोक पहिचान, तथा ‘डिजिटल’ घर नम्बरको ‘प्लेट’ टाँस कार्यको शुभारम्भ गरेको छ । जिपिएस/जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरण तयार भएको छ । यसबाट नगरवासीले ‘अनलाइन’ बाट नगरका सेवा उपयोग गर्न पाउने छन् भने नगरका चोक सडकको पनि पहिचान एवं घर नम्बर ‘डिजिटल’ भएका छन् । नगरप्रमुख घनश्याम गिरीले भने, ‘जिपिएस/जिआइएस प्रणालीमार्फत नगर प्रोफाइल कार्यान्वयनमा आएको छ । ‘गुगल प्लस कोड’ सहितको प्रोफाइलले सडक चोकको पहिचान तथा घर नम्बर प्लेट ‘डिजिटल’ तयार भएको छ । यसबाट चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ मा रुपान्तरण हुन सहयोग मिल्नेछ । नगरवासीले घरमा बसेर नगरबाट प्राप्त हुने सबै सेवा पाउने सहज हुनेछन् । कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने सजिलो हुनेछ । विश्वको कुनै पनि स्थानबाट चन्द्रागिरिमा भएका विकास निर्माण, व्यक्तिको घर,सडकको बारेमा सजिलै जानकारी लिन सक्नेछन् ।’ ‘डिजिटल’ घर नम्बर तथा सडक चोकको नामकरणको महत्व जिपिएस/जिआइएस प्रणालीमा नगरपालिका भित्रका सबै घरधुरीको तथ्यांक सङ्ग्रह गरिएको छ । यसका लागि नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको थियो । नगरका वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोनसर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरिएको थियो । पहिलो चरणमा लगभग १९ हजार घरमा ‘गुगल प्लस कोड’सहितको सडक चोक पहिचान तथा ’घर नम्बर ‘डिजिटल टाँस गर्ने नगरपालिकाले तयारी थालेको छ । पछिल्लो जनगणनाअनुसार नगरमा लगभग ३५ हजार घर रहेका छन् । विभिन्न चरणमा तथ्याङ्कको भेरिफिकेशन गरिएको थियो । तथ्यांक संकलन पश्चात् बनेका घरधुरीलाई जिपिएस/जिआइएस प्रणालीमा आवद्ध गर्न सकिने प्रवाधान समेत राखिएको जनाइएको छ । ड्रोनबाट लिइएका तस्बिरलाई ‘डिजिटाइज’ गरिएको थियो । ती ‘डिजिटाइज’ तस्बिरलाई अस्थायी नम्बर समेत दिइएको थियो । घरधनिको सोही नम्बर अथवा फोन नम्बरका आधारमा सडक, चोक तथा घरको पहिचान हुने जनाइएको छ । नगरका हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन भएका थिए । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गरेका थिए । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, ‘गुगल प्लस कोड’सहितको सडक, चोक पहिचान तथा ‘डिजिटल’घर नम्बरले नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी आउने छ । सेवासंग प्रविधिको लिंक भएको छ ।’ नगर ‘प्रोफाइल’ तयार गर्नेक्रममा व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली घरधनीले भरेका थिए । व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिएका थिए । यसमा विद्यालय, मठ मन्दिर, सार्वजनिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण संकलन भएका छन् । घर तथा बाटोघाटाका ‘लोकेसन’ पनि व्यक्तिगत विवरणमा उल्लेख छन् । नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली’ को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गरेको जनाइको छ । सोही घर नम्बरका आधारमा जिपिएस /जिआइएस ट्रयाक गरिएको । अब टोल टोलमा ‘डिजिटल बोर्ड’ रहने छन् । जिपिएस/जिआइएस ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिने छ । नगरपालिकाले अनलाइनमार्फत सेवा प्रवाह गर्नेछ । यसले नगरपालिकाको सेवा प्रवाहमा चुस्त हुने अपेक्षा लिइएको छ । अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त रु भन्ने जिज्ञासामा नगरप्रमुख गिरीले भने ‘नगरवासीका लगभग सबै विवरण ‘डिजिटाइज’ भएका छन् । हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ । यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन् । यसलाई एसेप्ट गरिन्छ । यसैका आधारमा सेवा प्रवाह हुन्छ । कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत सेवा प्रवाह हुन थालेका छन् ।’ नगरपालिकाले अनलाइनबाट घर नक्शा पास व्यवस्था प्रणाली (इबिपिएस) कार्यान्वयनमा ल्याइसकेको छ । उनले भने, ‘जिपिएस/जिआएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार भएको छ । ‘गुगल प्लस कोड’ सहितको यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थापनमा कोसेढुङ्गाको काम गर्नेछ । व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ । नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ । नगरवासीले बिना झन्झट सेवा सुविधा पाउने छन् । हामी ‘स्मार्ट सिटी’ बनाउने काममा लागेका छौँ ।’ नगरलाई ‘स्मार्ट सिटी’मा रुपान्तरण गर्ने उनको चुनावी घोषणापत्रमा उल्लेख छ । यसबाट नगरपालिका र नगरवासी दुवैलाई फाइदा पुग्ने जनाइएको छ । नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ । विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ । नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए । के हुन्छ फाइदा ? नगरपालिकका प्रशासकीय अधिकृत अर्यालका अनुसार जिपिएस/जिआइएस प्रणालीले स्थानको मात्र लोकेशन मात्र नभई नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवालाई सहज , सरल र एकीकृत एवम् त्रुटिरहित बनाउन उपयोग गर्न सहयोग पुर्याउनेछ । उनले भने, ‘नागरिकलाई प्रविधमैत्री बनाउँदै प्रविधिको उपयोगमा अभ्यस्त गराउन यसले सहयोग पुर्याउँछ । नगरपालिकाले आफ्ना सबै सेवा प्रवाहका क्रियाकलापलाई डिजिटाइज गर्दै अटोमेसन लैजाने तयारी गरेको छ ।’ हालसम्म घरनक्शा पास प्रणाली , राजश्व प्रणाली न्यायिक समिति सञ्चालन प्रणाली, नगरपालिपालिका, वडा कार्यालय, सबै स्वास्थ्य सस्था, विद्यालय समेतको एकीकृत डिजिटल हाजिरी प्रणाली जस्ता प्रणाली सञ्चालनमा आएका छन् ।