संकटमा हेटौंडा सिमेन्ट उद्योग, ३ महिनादेखि उत्पादन बन्द
बागमती । हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मंसिर पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन’, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।’ ‘अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ’, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ, यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइै नै हाल्यो’, उनले भने । उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताए । उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ । ‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ’, उनले भने, ‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन । यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।’ आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थुप्रिएको छ । ‘विद्युत् उपभोग त गर्यो तर महसुल बुझाउन सकिएनौँ’, उनले भने, ‘अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न सकिए पनि करिब ३०/४० करोड जति बक्यौता बाँकी छ होला ।’ त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको कथन छ । विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरणहरु पुरानो भइसकेका र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ । ‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ’, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौं । त्यसमा मेकानिक लगिरहनुभएको छ, धेरै कामहरु सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।’ त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ । एकपछि अर्काे समस्यासँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो । सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ । उपकरणको मर्मत कार्य सम्पन्न भएर यही पुस महिनाको दोस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत गर्न अझ समय लाग्ने भएकाले उत्पादनमा ढिलाइ भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए । ‘उद्योगको क्लिनिकलर मेसिनलगायतका उपकरणको मर्मत कार्य अझै भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले पुसको दोस्रो सातासम्ममा मर्मत सकिन्छ र त्यसलगतै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योगको उत्पादन सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ । उद्योगसँग आर्थिक समस्याका बाबजुत पनि उपकरणको मर्मत कार्यसम्पन्न हुने बित्तिकै सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्ररुपमा भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए । रासस
‘सबैले ईभी चढौं, ठाउँठाउँमा चार्जिङ स्टेशन बनाऔं’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताए । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागि हुँदै घिसिङले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए । निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए । यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताए । पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गरे । उनले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी ¥यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताए । पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिदबिक्री भएको बताए । विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने उनकाे भनाइ छ । उनले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको उल्लेख गरे । घिसिङले विद्युतीय चार्जिङ स्टेशनहरु मुलुकभर बनाउन जरुरी रहेको बताए । सरकारले निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको उल्लेख गरे । ‘इलेक्ट्रिकल भेकलमा ट्रान्सपोटेसन भएको छ । यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको छ । विद्युतको माग बढाउने अभियान हो । अभियानलाई ठूलो सहयोग पुगेको छ,’ उनले भने । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे । सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए । उनले विद्युतीय सामग्रीहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
एमएडब्लू वृद्धिले यसै साता ‘दिपल एस०७ एल’ सार्वजनिक गर्ने
काठमाडौं । एमएडब्लू वृद्धिले इलेक्ट्रिक एसयूभी दिपल एसय०७ को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ । थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभीलाई यसै साता सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एसय०७ हालसम्म सात सयभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ । एस०७ एलले अद्वितीय ईभी अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्याउने वश्विास कम्पनीको छ । थप रेन्ज र पावरफुल पर्फमेन्स दिपल एस०७एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जसले सिङ्गल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड एक सय ८० किलोमिटर प्रति घण्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्ने कम्पनीले जनाएको छ । अत्याधुनिक डिजाइन र प्रविधि एस०७एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्ने कम्पनीले जनाएको छ । क्याबिनमा क्वालकम स्नेपड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाउनेछ । यसबाहेक दिपल एस०७एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड् सेफ्टी ड्राइभिङ, एसाय २.५ जस्ता फिचरहरू रहनेछन् । सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्ल्यान्ड स्पट मनिटरिङ, ट्रान्सपेरेन्ट च्यासिस सहितको ३६० डिग्री पानोरामिक क्यामेरा पनि रहेको कम्पनीले जनाएको छ । यी अत्याधुनिक प्रविधि, शक्तिशाली पर्फमेन्स र फ्युचरिस्टिक डिजाइनमार्फत दिपल एस०७एललले नेपालको इलेक्ट्रिक मोबिलिटीमा पुनः एकपटक क्रान्ति ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
नबिलले गर्यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण
सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । नबिलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको शिविर कार्यक्रममा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए । यो शिविर कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरेको थियो । जुका, भिटामिन, र आइरन चक्की जस्ता औषधिहरू पनि उपलब्ध गराइएको थियो । राउटे समाज मुख्यतः सुर्खेत तथा कर्णाली प्रदेशका आसपासका जिल्लाहरूमा बसोबास गर्दै आएको छ । यस समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली, र सरसफाइको अभावका कारण विभिन्न रोगहरू देखा पर्ने समस्या रहेको कारण यो समाजलाई केन्द्रित गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । स्वास्थ्य शिविरले राउटे समुदायका व्यक्तिहरूको स्वास्थ्य जाँच, सरसफाइको महत्वबारे जागरूकता, र स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराएको उनले बताए । ‘राउटे समुदायको विशिष्ट सांस्कृतिक मान्यता र जीवनशैलीलाई सम्मान गर्दै, उनीहरूको स्वास्थ्य सुधारका लागि यो शिविर सञ्चालन गरिएको हो, शिविरले स्वास्थ्य सचेतना बढाउने र सेवा पहुँचलाई थप सुदृढ बनाउने छ,’ उनले भने । स्वास्थ्य शिविरमा राउटे समुदायको मुखिया तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले नेपालकै लोपोन्मुख जातीको बस्तीमा आएर स्वास्थ्य शिविर चलाउनु सराहनीय कार्य रहेको बताए । राउटेहरूको समग्र विकासको लागि गाउँपालिका लगायत समग्र प्रदेश र संघीय सरकारको नै मुख्य जिम्मेवारी रहेको उनले बताए । विपन्न समाजको सामाजिक उन्नयनमा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्दा अझ सजिलो भएको उनले बताए । उनले नबिल बैंकको यस सहयोगको लागि धन्यावाद दिँदै आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताए । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । भविष्यमा पनि समाजको समग्र सुधारका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ ।
६ महिनामा सेयरबाट ९ अर्ब ८२ करोड पुँजीगत लाभकर संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२को ६ महिनामा सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । पुस मसान्तसम्म सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख १२ हजार ३५४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो । ६ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर र सबैभन्दा कम पुस महिनामा पुँजीगत लाभकर संकलन भएको सिडिएससीले जनाएको छ । सिडिएससीका अनुसार मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख २३ हजार ५१४ रुपैयाँ लाभकर उठेको छ । यस्तै पुस महिनामा ५८ करोड ७ लाख ८५ हजार ४५८ रुपैयाँ लाभकर उठेको छ । साउन महिनामा ४ अर्ब २७ करोड ५३ लाख ९१८ रुपैयाँ, भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार ६०७ रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार ४६५ रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार ३८९ रुपैयाँ संकलन भएको छ । सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।
१३ वर्षमा पनि बनेन कन्काई पुल, ५ पटकसम्म म्याद थप
झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ । पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहेका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए । उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो । पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए । उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।
जलवायु परिवर्तनको असर : चैतमा फल्ने काफल पुसमै पाक्न थाल्यो
तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो ?’, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने । केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ । यस वर्ष पुसमै काफच चाख्न पाएको पुनले जानकारी दिए । यहाँ पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो । जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ । ‘यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन”, उनले भने, “यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।’
कवाड व्यवसाय सहज सञ्चालन गर्ने वातावरण बनाइदिन मधेश प्रदेशको आग्रह
काठमाडौं । मधेश प्रदेश सरकारले कवाड व्यवसायीको सम्मान, मर्यादा र जीविकोपार्जनप्रति सदाशयता प्रकट गर्दै सरल तथा सहज ढङ्गले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ । कवाड व्यवसायी समाज नेपालले मुख्यमन्त्री सतिशकुमार सिँहलाई ज्ञापनपत्र बुझाएपछि उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले विज्ञप्तिमार्फत यस्तो आग्रह गरे । विधि तथा प्रक्रियाअनुसार सम्बन्धित सरकारी निकायमा दर्ता गरी करसमेत तिर्ने दायित्व निर्वाह गर्दै आएका कवाड व्यवसायी र यस व्यवसायमा आश्रित श्रमिकलाई रोजगारविहीन बनाउने गरी महानगरपालिकाले गरेको भनिएको व्यवहार चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ । व्यवसायलाई सुरक्षित, जोखिमरहित तथा मर्यादित बनाउन मापदण्ड निर्धारण गरेर कडाइका साथ पालना गराउने विकल्प रहँदा पनि घरघर पुगेर पुनः प्रयोगयोग्य फोहोर सङ्कलन, निर्यात र प्रशोधन गर्ने कवाड व्यवसायीलाई विस्थापित गराउने प्रयास उचित नभएको विज्ञप्ति जनाइएको छ ।