विकासन्युज

डीएभी कलेजको तेस्रो बीसीए अन्तर-कलेज फुटसल कप सम्पन्न

काठमाडौं । ललितपुरस्थित डीएभी कलेजले तेस्रो बीसीए अन्तर-कलेज फुटसल कप पुष २९ देखि माघ २ गतेसम्म भव्य रूपमा सम्पन्न गरेको छ । डीएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागीता रहेको थियो । टुर्नामेन्टको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पी जङ्ग कार्की, डीएभी कलेजका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकायका सहायक डिन चिरञ्जीवी आचार्य, डीएभी कलेजका चिफ एकेडेमीक एडभाइजर एसोसिएट प्रोफेसर मनोजकुमार चौधरी, शिलापत्र डटकमका अध्यक्ष विनय खकुरेल, त्रिशुली भिल्लाका जनरल म्यानेजर सन्देश दवाडी र बीसीए कलेजका एकेडेमिक हेड शशि भूषण चतुर्वेदी सहभागी भई खेलाडीहरूलाई हौषला प्रदान गरेका थिए । उद्घाटन सत्रमा सहभागी कलेजहरूका प्रतिनिधि शिक्षक र कर्मचारीहरूसमेत उपस्थित भई खेलमा थप रौनकता प्रदान गरेका थिए । बीसीए कलेजहरू बीच नेपालमै प्रथम पटक आयोजना गरिएको बीसीए कप मेन्स इन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिँदै तेस्रो संकरण आयोजना गरिएको डीएभी कलेजले जनाएको छ । यस वर्ष नागार्जुन कलेजले डीएभी बीसीए अन्तर-कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रूपैयाँ हात पार्‍याे । प्रथम विजेता टोलीलाई त्रिशुली भिल्लाले समेत फ्री र्‍याफ्टिङ प्याकेज प्रदान गर्‍याे । त्यसैगरी, रनर-अप स्थान हासिल गर्दै पास्कल कलेजले ७५ हजार रूपैयाँसहित रनर-अप ट्रफी हात पार्‍याे । उक्त प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अर्वाड जित्न सफल भए । विजेता र उपविजेता दुवै टोलीलाई मेडलसहित मेरीट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष अनिल केडियालगायत कलेजका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । टुर्नामेन्टलाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र मधुकर आचार्यको योगदान रहेको थियो । टुर्नामेन्ट अवधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरू गरी करिब पाँच हजार दर्शकहरूको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता डीएभी इभेन्ट क्लबको आयोजना र डिएभी कलेजको सर्मथनमा सञ्चालन गरिएको हो । टुर्नामेन्टको सञ्चालन विभागीय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी ईभेन्ट क्लबका प्रेसीडेन्ट र रहिता शाक्य, भाइसप्रेसीडेन्ट मनश्री शाक्य र सेक्रेटरी महेश्वर सिलवालले गरेका थिए ।

सेयर बजारमा ५ अर्बको कारोबार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा झरेको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार २९६ कम्पनीको १ करोड १७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार सिन्धु बिकास बैंकको भएको छ । सिन्धुको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बोटर्लस नेपाल, विन नेपाल लघुवित्त र मन्दाकीनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै बिहीबार पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

थाइल्यान्डमा नम्बर वान बन्यो ‘नेटा’

काठमाडौं । चिनियाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाइल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै, ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो। नेटा ब्रान्डल अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै आएको छ । आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितिलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ । नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरूलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रीपछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिँदै आएको कम्पनीको दाबी छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरू नेपालमा पनि बिक्रि वितरण गर्दै आइरहेको छ । नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहान व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८० बढी किलोमिटर दायरा छ र यो सीएटीएका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । १८५ मिलिमिटर ग्राउन्ड क्लियरन्स रहेकाले गाडीले चालकलाई सुरक्षा महसुस गराउने कम्पनीको दाबी छ । कम्पनीका अुनसार सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ ।

आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल चयन

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल सर्वसम्मतिले चयन भएका छन् । कम्पनीको माघ २ गते बसेको बैठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरिएको जनाएको छ । अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पुर्‍याउने विश्वास लिएको छ।

अडानीले अम्बानीलाई पछि पारे, रियालन्स इन्डस्ट्रिजसँगको गत वर्षको सम्झौता दोब्बर

काठमाडौं । भारत तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले २०२४ मा लगानीकर्ताहरूलाई नकारात्मक प्रतिफल दियो । दश वर्षभन्दा बढी समयपछि पहिलो पटक यस्तो भएको हो । यसका साथै मर्जर र प्राप्तिको सन्दर्भमा पनि अडानी समूहले रिलायन्स इन्डस्ट्रीजमाथि अग्रता लिएको थियो। बिजनेस स्ट्यान्डर्डको रिपोर्टअनुसार गौतम अडानीका कम्पनीहरूले गत वर्ष ६.३२ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका थिए भने रिलायन्सले केवल ३.१४ अर्ब डलरको मर्जर र अधिग्रहण सम्झौतामा हस्ताक्षर गर्न सफल भएको थियो । २०२३ को तुलनामा अडानीको सम्झौता २६५.३ प्रतिशतले बढेको छ भने रिलायन्सको सम्झौता ६४.२ प्रतिशतले घटेको छ । रिलायन्स भारतकाे दोस्रो ठूलो औद्योगिक घराना हो भने अडानी समूह तेस्रो ठूलो औद्योगिक घराना हो । टाटा समूह पहिलो नम्बरमा छ । विगत ६ वर्षदेखि रिलायन्स र अडानी समूहबीच मर्जर र अधिग्रहणमार्फत आफ्नो क्षेत्र विस्तार गर्न प्रतिस्पर्धा भइरहेको छ । सन् २०२४ मा देशमा कुल ९८.७ बिलियन मूल्यको एमएन्डए सम्झौताहरू भएका थिए, जसमध्ये शीर्ष ५ सूचीबद्ध कम्पनीहरूको हिस्सा लगभग १५.२८ प्रतिशत छ । आम्दानीको हिसाबले शीर्ष १० समूहहरूको हिस्सा १६ प्रतिशत छ । यदि हामीले विगत पाँच वर्षको तथ्याङ्क हेर्‍यौं भने रिलायन्सले २०२० मा २६.०८ अर्ब डलरको एमएन्डए सम्झौता गरेको थियो । त्यसपछि कम्पनीले आफ्नो खुद्रा र दूरसञ्चार उद्यममा रहेको आफ्नो हिस्सेदारी बेचेको थियो । २०२२ मा अडानी समूहले १६.५६ अर्ब डलरको सम्झौता गरेको थियो । यसमा सिमेन्ट क्षेत्रमा समूहको प्रवेश समावेश थियो । सन् २०२४ मा जेएसडब्ल्यूले २.३२ अर्ब डलरको सम्झौता गरेको थियो भने टाटा समूहले १.६६ अर्ब डलरको एमएन्डए सम्झौता गरेको थियो । बिर्ला एभीले १.६४ अर्ब डलरको सम्झौता गरेको थियो । यसैगरी, लार्सन एण्ड टुब्रोले ०.२७ अर्ब डलरको सम्झौता गरेको थियो । निजी इक्विटी र सार्वभौम लगानीकर्ताहरू एमएन्डएमा महत्त्वपूर्ण खेलाडीको रूपमा देखा परेका छन् । सन् २०२३ मा भारतीय कम्पनीहरूले कुल ८३.२ अर्ब डलरको सम्झौता गरेका थिए भने सन् २०२२ मा यो संख्या १९३.२ अर्ब डलर थियो । यो सन् २०२१ मा १४१.६ अर्ब डलर, २०२० मा ११५.४ अर्ब डलर र २०१९ मा ११६.३ अर्ब डलर थियो ।

अमेरिकामा धेरै खर्च भएपछि नेपालमै जमे अल्बर्ट, बाँचिरहेका छन् तनावरहित र आनन्दमय जीवन

काठमाडौं । अल्बर्ट ग्रिनवुड हाल ५६ वर्षका भए । उनले आफ्नो करिअरभर राम्रो तलब दिने जागिर गरे तर, उनी अमेरिकामा बढ्दो मुद्रास्फीतिप्रति चिन्तित थिए । अवकाशपछि जीवन कठिन हुनेछ भन्ने डरले उनलाई गाजेको थियो । बढ्दो खर्चबाट थकित ग्रिनवुडले धेरै अमेरिकीहरूजस्तै विदेश जाने निर्णय गरे । ग्रिनवुड नेपाल आएका हुन्, यहाँ थोरै अमेरिकीहरू बस्छन् । उनकी श्रीमती काठमाडौंमै हुर्केकी थिइन् । उनी आफ्नो परिवारसँग नजिक रहन र कम लागतमा राम्रो जीवन बिताउन यहाँ सरेका हुन् । धेरै अमेरिकीहरू आजकल अवकाश लिनको लागि सस्तो ठाउँ खोजिरहेका छन् । ग्रिनवुड सन् २०२३ मा यहाँ आएका हुन् । त्यसबेलादेखि उनको बचत र अवकाश आम्दानीले जीवनलाई कम तनावपूर्ण र रमाइलो बनाएको छ । ग्रिनवुड दर्जनौं अमेरिकीहरूमध्ये एक हुन् जो अवकाश पछि विदेशमा बसोबास गरिरहेका छन् । उनले अमेरिकामा अवकाशको लागतको बारेमा चिन्ता व्यक्त गरे । धेरै अमेरिकीहरू अवकाशको लागि पूर्ण रूपमा तयार छैनन् । धेरै सेवानिवृत्तहरू भन्छन् कि उनीहरूको बचत प्रायः पर्याप्त हुँदैन । न्यूयोर्क र बोस्टनमा अध्ययन ग्रिनवुड फिलाडेल्फियामा हुर्केका थिए । उनले आफ्नो कलेज शिक्षा न्यूयोर्क र बोस्टनमा गरे । उनले एमबीए गरेका छन् । धेरै ब्रान्ड व्यवस्थापन र व्यवसाय विकास कार्यहरू उनले सम्हालेका छन् । आफ्नो करिअरको केही वर्षभित्रै उनले राम्रो कमाउन थाले । त्यसपछि उनी न्यूयोर्क सहरको एक एसियाली खाद्य कम्पनीको बिक्री प्रमुख बने । ग्रिनवुडले ५५ वर्षको उमेरमा अवकाश लिए । ग्रिनवुडलाई थाहा थियो कि उनी अमेरिकामा आरामसँग अवकाश लिन सक्छन् । तर, उनी बढ्दो स्वास्थ्य सेवा लागतको बारेमा चिन्तित थिए । उनले कम्पनीबाट स्वास्थ्य बीमा पनि लिएका थिए, तर त्यो त्यति राम्रो थिएन । उनी न्यूयोर्कको जाडो र देशको राजनीतिक वातावरणबाट पनि थकित थिए । उनी र उनकी ३९ वर्षीया श्रीमती आईभीएफमार्फत बच्चा चाहन्थे । तर, यसको लागत ६० हजार डलर (८३ लाखभन्दा बढी) अनुमान गरिएको थियो । बढ्दो घर भाडाले उनीहरूलाई अन्य विकल्पहरू पनि विचार गर्न बाध्य बनायो । उनी न्यूयोर्क सहरको उत्तरमा रहेको वेस्टचेस्टर काउन्टीमा रहेको एउटा सानो घरको भाडा प्रति महिना ३ हजार ५०० डलर (४ लाख ८४ हजार ५००) तिर्थे । भाडा र अरू सबै कुराको बीचमा राम्रो तलब हुँदा पनि बचत गर्ने धेरै ठाउँ थिएन । उनलाई न्यूयोर्कको सामाजिक वातावरण धेरै आक्रामक लाग्यो । उनी अवकाशमा बाँच्न सक्षम हुन सक्थे होला । तर, उनी कुन स्तरमा यो काम गर्छन् भन्ने सोचमा थिए । २०२३ मा श्रीमतीसँग नेपालमा बसोबास ग्रिनवुड र उनकी श्रीमती अवकाशपछि नेपाल जान चाहन्थे । केही वर्षको आर्थिक योजनापछि उनीहरू मे महिनाकाे पहिलाे दिनै यहाँ आए । काठमाडौं आउनुभन्दा एक वर्ष अगाडि ग्रिनवुडले आफ्नो घर बेचेका थिए । उनले सबै महत्त्वपूर्ण काम पहिले नै सम्पन्न गर्ने प्रयास गरे । उनले आफ्ना बिरालाहरूलाई नेपाल कसरी लैजाने भनेर पनि निर्णय गरिसकेका थिए । उनी आफ्नी श्रीमतीमार्फत प्राप्त गरेको दीर्घकालीन भिसालाई अन्तिम रूप दिँदै राजाको दरबार नजिकै भाडाको घरमा केही समय बसे । उनले सहरको एक भव्य क्षेत्रमा बगैंचासहितको चार बेडरुम भएको घर लगभग १,१५० डलर (१ लाख ५९ हजार १९७ रुपैयाँ) मा भाडामा लिए । अमेरिकाकाे तुलनामा यहाँ भाडामात्र सस्तो नभइ खानाको मूल्य लगभग आधा छ । जबकि औषधिहरू प्रायः एक तिहाइ मूल्यमा उपलब्ध हुन्छन् । ग्रिनवुड र उनकी श्रीमतीले बिजुलीमा महिनाको ३५ डलर (करिब ५ हजार रुपैयाँ) खर्च गर्छन्, जुन सधैं लगभग उस्तै रहेको उनको भनाइ छ । उनीहरूको मोबाइल योजना प्रति महिना लगभग ७ डलर (करिब एक हजार ) छ । उनी फोहोर व्यवस्थापनको लागि हरेक छ महिनामा २२ डलर (३ हजार रुपैयाँ) तिर्छन् । ग्रिनवुडले लगानीबाट प्रति महिना लगभग ३ हजार (४ लाख १५ हजार) कमाउँछन् । उनले आफ्नो अवकाशमा यात्रालाई महत्त्व दिएका छन् । यसमा थाइल्याण्ड, जापान र सिंगापुरको यात्रा समावेश छ । उनले लामो पैदल यात्रा, लेखन र सामुदायिक संलग्नताको दिनचर्या अपनाएका छन् । बालबालिका हुर्काउन अमेरिकाभन्दा यहाँ सस्तो र सुरक्षित छ । आईभीएफ उपचारको लागत लगभग ३ हजार डलर (४ लाख १५ हजार रुपैयाँ ) छ । काठमाडौंमा बालबालिकाको स्वास्थ्य सेवा राम्रो छ । उनकी श्रीमतीका आफन्तीहरू उनीहरूनजिकै बस्छन् जसले आफ्नो बच्चाको हेरचाह गर्न मद्दत गर्न सक्छन् । उनीहरूले कसरी आरामदायी रहने भन्ने बारेमा मार्गदर्शन दिइरहेका छन् ।

चितवन महोत्सवमा स्काईवेलले बेच्यो १ करोडको गाडी

काठमाडौं । चितवन महोत्सवको अवसरमा स्काईवेलले एक करोड रुपैयाँ बराबरको गाडी बेचेको छ । स्काईवेलका लागि नेपालको आधिकारिक विक्रेता जी मोटर्सले चितवन महोत्सव, २०८१ को अवसरमा कम्पनीको उच्च रेन्ज (६२० किलोमिटर) दिने स्काईवेलले ईटी फाइभ बेचेको जनाएको हो । महोत्सवमा नै गाडीको बुकिङ र डेलिभरी गरिएको कम्पनीले जनाएको छ । महोत्सवमा उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण भने नेपालको बाटो सुहाउदो १९७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र सबैभन्दा बढी रेन्ज दिने भएकाले नै आकर्षण रहेको कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक पारसमणी गेलालकाअनुसार उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण भनेको नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड किल्यरेन्स भएको गाडी हो । युरोपियन बजारमा निकै अब्बल प्रमाणितसहित बिक्री वितरण भइरहेकाले स्काईवेलमा खास आकर्षण देखिएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । महोत्सवको अवसमार प्रबन्ध निर्देशक गेलालले आगामी दिनमा चितवन क्षेत्रको बजारलाई नै मुख्य आधार क्षेत्र बनाएर स्काईवेलको सेल्स, शोरुम्, सर्विश र पार्ट्सहरू उपलब्ध गराउने बताएका छन् । चितवनका ग्राहकलाई सहज रूपमा सेल्स, सर्भिस उपलब्ध गराउने प्रतिबद्द्ता ब्यक्त गरेका गेलालले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको प्रीमियम ईटी५ नेपाली बजार एबम ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटी फाइभ एसयूभी बिक्री–बितरण भइसकेका छन् भने चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ । ईटी फाइभ, बिई इलाभेन मोडेलसँगै हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयुभी बिक्रीका लागी उपलब्ध रहेका छन् ।

नेपाल एसबीआई बैंकको सीईओ बने रामकुमार तिवारी, २६ वर्षको बैंकिङ अनुभव

काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले नेपालको एसबीआई बैंककाे सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल बिहीबारबाट सुरु हुनेछ । यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए । यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए । उनको कार्यकाल बुधबारबाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । उनीसंग २६ वर्षको बैंकिङ अनुभव रहेको छ ।