कवाड व्यवसाय सहज सञ्चालन गर्ने वातावरण बनाइदिन मधेश प्रदेशको आग्रह
काठमाडौं । मधेश प्रदेश सरकारले कवाड व्यवसायीको सम्मान, मर्यादा र जीविकोपार्जनप्रति सदाशयता प्रकट गर्दै सरल तथा सहज ढङ्गले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ । कवाड व्यवसायी समाज नेपालले मुख्यमन्त्री सतिशकुमार सिँहलाई ज्ञापनपत्र बुझाएपछि उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले विज्ञप्तिमार्फत यस्तो आग्रह गरे । विधि तथा प्रक्रियाअनुसार सम्बन्धित सरकारी निकायमा दर्ता गरी करसमेत तिर्ने दायित्व निर्वाह गर्दै आएका कवाड व्यवसायी र यस व्यवसायमा आश्रित श्रमिकलाई रोजगारविहीन बनाउने गरी महानगरपालिकाले गरेको भनिएको व्यवहार चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ । व्यवसायलाई सुरक्षित, जोखिमरहित तथा मर्यादित बनाउन मापदण्ड निर्धारण गरेर कडाइका साथ पालना गराउने विकल्प रहँदा पनि घरघर पुगेर पुनः प्रयोगयोग्य फोहोर सङ्कलन, निर्यात र प्रशोधन गर्ने कवाड व्यवसायीलाई विस्थापित गराउने प्रयास उचित नभएको विज्ञप्ति जनाइएको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँका, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टीतेल १५६ रुपैयाँ कायम भएको छ । निगमका अनुसार भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाइएको हो। इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले मूल्य बढेर आएको जनाइएको छ ।
ओली र देउवाप्रति बालेनको ब्यङ्ग्य- अब खोलासँगै टुँडिखेल पनि कार्यकर्तालाई दिने भए
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाप्रति ब्यङ्य प्रहार गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उनीहरुलाई अध्यादेशका विषयमा ब्यङ्ग्य प्रहार गरेका हुन् । उनले भनेका छन्, ‘अब खोलामात्र होइन, टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ, बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
स्वास्थ्यकर्मीलाई सेयरमा लगानी गर्न प्रोत्साहन, ५ लाखको पोर्टफोलियो हुनेले सेवा लिन सक्ने
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागि हुन सकिन्छ । यसमा बार्षिक सेवा शुल्क पुर्ण रुपमा निःशुल्क गरिएको छ । लगानीमा भएको नाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिने बताएको छ । साथै नाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ । यो योजनामा सहभागि हुने स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई निःशुल्क बीमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै सेयर बजार सम्बन्धि निःशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।
रविलाई धरौटीमा छुटाउन प्रभु बैंकको ग्यारेन्टी, कति पाउँछ कमिसन ?
काठमाडौं । रवि लामिछानेलाई छुटाउनका लागि प्रभु बैंक ग्यारेन्टी बसेको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश गरेपछि प्रभु बैंक ग्यारेन्टी बसेको हो । प्रभु बैंकको ग्यारेन्टीसँगै लामिछाने हिरासतबाट छुटेका हुन् । बैंकले काठमाडौं जिल्ला अदालतलाई रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ । बैंकले अदालतलाई धरौटी रकम तिर्ने गर्छ । तर, बैंकले सोबापत् निश्चित कमिसनले लिने अभ्यास पनि छ । कमिसनको विषय भने लिखित रुपमा खुलाउँदैनन् । कतिपयलाई त्यसलाई ऋणमा रुपान्तरण गरेर ब्याज पनि लिने गरेका छन् ।
रविले पटक-पटक चेक काटेको देखियो, गाडी किन्न साढे ९३ लाख ऋण (आदेशको पूर्णपाठ)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडिया प्रालिकामा हुँदा पटक–पटक बैंकको चेक काटेके देखिएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार धरौटीमा छुटाउन आदेश दिँदै पटकपटक बैंकको चेक काटेको बताएको हो । लामिछाने र जीबी राईको नाममा संयुक्त ऋण खाता खोली ४६ लाख ९८ हजार फोर ह्विलर लोन र ४६ लाख ४८ हजारको इको सेभेन स्टार भ्यान लोन गरेर कुल साढे ०३ लाख रूपैयाँ ऋण लिएको देखिएको अदालतको आदेशमा उल्लेख छ । लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० स्वर्णलक्ष्मी सहकारीमा ऋण भुक्तान गरेको विषय पनि आदेशमा उल्लेख छ । ’स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु भनी कसूरमा इन्कार रही बयान गरेको देखिएतापनि प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १,८०,००० थान सेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग बमोजिम यस प्रालिमा बिक्रीमा रहेको सेयर मध्ये १,८०,००० सेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई सेयर लिएको देखिँदा निजले उक्त प्रालिको सेयर खरिद गरिलिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रालिको सेयर होल्डर एंव प्रबन्धक निर्देशक समेत रहेको देखियो,’ आदेशमा भनिएको छ । लामिछानेले उक्त सेयर ’स्वेट सेयर’मार्फत भनी बयान दिएका थिए तर उनले सेयर खरिद गरेको प्रमाण उल्लेख रहेको अदालतले आदेशमा लेखेको छ । आदेशको पूर्णपाठ [pdf id=534560]
बीवाईडीको ‘याङवाङ यू नाइन’ सुपरकार जो ६ मिटर उफ्रिन सक्छ (भिडियोसहित)
काठमाडौं । विश्व अटोमोबाइल बजारमा हलचल मच्चाएको चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले आफ्नो ‘याङवाङ यू नाइन’ सुपरकारको नयाँ भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा चालकविहीन गाडीले पानीले भरिएको खाल्डो र सडकमा रहेका काँटीजस्ता अवरोध १२० किमी/घण्टाको गतिमा पार गरेको छ । याङवाङ बीवाईडीको प्रिमियम इलेक्ट्रिक ब्रान्ड हो र यू नाइन यसको दोस्रो मोडल हो । यसमा डिसअस-एक्स नामक विशिष्ट सस्पेन्सन प्रणाली छ, जसले गाडीलाई उफ्रन र तीन पाङ्ग्रामा पनि चल्न सक्षम बनाउँछ । यू नाइन ६ मिटर माथिसम्म उफार्न सस्पेन्सन सिस्टम प्रयोग गरेर सहजै पार गर्ने कम्पनीले जनाएकाे छ । याङवाङ यू नाइन फेब्रुअरी २०२४ मा चीनमा १.६८ मिलियन युआन (२ लाख ३० हजार अमेरिकी डलर) मा लन्च गरिएको थियो । यू नाइन एक पूर्ण-विद्युतीय सुपरकार हो जुन बीवाईडीको ईफोर प्लेटफर्ममा आधारित छ । यो ९६० किलोवाट र १ हजार ६८० टर्कको संयुक्त शक्तिको साथ चार विद्युतीय मोटरहरूद्वारा सञ्चालित छ । यसले २.३६ सेकेन्डमा ०-१०० किमी/घण्टाको गति लिन सक्छ र ९.७८ सेकेन्डमा ४०० मिटर ड्र्याग रेस गर्न सक्छ । अन्य सुपरकारहरूभन्दा फरक यो लिथियम निकल म्याङ्गनीज कोबाल्ट अक्साइड (एनएमसी) ले सुसज्जित छैन तर सस्तो लिथियम आइरन फस्फेट (एलएफपी) प्याकले सुसज्जित छ । यसमा ब्याट्री क्षमता ८० किलोवाट छ । यो सुपरकार १० मिनेटमै ३० प्रतिशत चार्जबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीको छ । बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे । सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डस्ट्रीमा प्रवेश गरेको थियो । २००८ मा बीवाईडीकाे बिक्री बढ्न थाल्यो । २०१२ सम्ममा माग बढेपछि उत्पादन बढ्यो । कम्पनीका सीमित मोडलमात्र थिए । २०१६ मा कम्पनीले अडीका प्रख्यात डिजाइनर वोल्फगाङ एगरलाई बोर्डमा भित्र्यायाे । एगरले सयौं कार इन्जिनियरहरू ल्याए र बीवाईडीको मोडलहरूको मुहार पूर्ण रूपमा परिवर्तन गरे । हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । सान्दर्भिक सामग्री : अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
भूमि अध्यादेश : बढ्न सक्छ घरजग्गा कारोबार, चलायमान हुन सक्छ अर्थतन्त्र
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकले मंगलबार नै पाँच वटा अध्यादेश प्रमाणिकरणका लागि पठाए पनि पौडेलले चार वटालाई प्रमाणिकरण गरेर भूमि अध्यादेश रोकेका थिए । भूमि अध्यादेश रोकेको एकदिनमै राष्ट्रपति पौडेलले त्यसलाई पनि जारी गरेका हुन् । भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ । अध्यादेशमा सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जासहित उपलब्ध गराउने व्यवस्था गरिएको छ । भूमि आयोगले गरेको सिफारिसका आधारमा कामलाई तीव्रता दिने हिसाबले अध्यादेशमार्फत् सरकारले फाष्ट ट््रयाकमा काम अगाडि बढाएको हो । लामो समयदेखि घरजग्गा क्षेत्रमा मन्दी छ । कित्ताकाट अेपक्षाकृत ढंगले नहुँदा घरजग्गा कारोबार नै सुस्त छ । घरजग्गा क्षेत्र सुस्त बन्दा त्यसको प्रभाव अन्य क्षेत्रमा पनि परेको छ । यसको समग्र असर देशको अर्थतन्त्रमा परेको छ । सरकारले भूमि अध्यादेश ल्याएसँगै अब घरजग्गा कारोबारमा सुधार भएर देशको अर्थतन्त्र पनि चलायमान हुने विश्वास धेरैको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन् । नेपाल सरकारको सिफारिसमा हालै राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै सावधानी र मिहिनेताका साथ अध्यादेश सिफारिस गरिएको बताए । ‘यी अध्यादेशले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्तरुपमा प्रकट भएको छ, यो पूर्ण सहमतिमा अध्यादेश आएको छ,’ उनले भने । उनले सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझावसमेतका आधारमा अध्यादेश ल्याइएको जनाउँदै अन्य विधेयकको तयारी भएको र संसद् सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताए ।