विकासन्युज

ओम मेगाश्री फर्मास्युटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सेयरमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गर्ने छ । कम्पनीले ५४ हजार कित्ता सेयर कर्मचारी कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ । १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । आवेदन धितोपत्र बोर्डबाट आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

नेपाल पुनर्बीमाले १२ विषयका विज्ञको सूचि तयार गर्दै, खुलायो आवेदन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा विज्ञका लागि आवेदन खुलाएको छ । कम्पनीले विज्ञको सूचि राख्न लागेकाले आवेदन खुलाएको हो । कम्पनीले विभिन्न १२ विषयको विज्ञको सूचि तयार गर्न लागेको  जनाएको छ । इच्छुकले कम्पनीको वेवसाइटमा गएर फम डाउनलोड गरेर आवेदन दिने सकिने पनि कम्पनीले सूचनामा उल्लेख गरेको छ । कम्पनीले पुनर्बीमा, कानून, दाबी भुक्तानी, बीमाङ्की, खरीद ठेक्का व्यवस्थापन, चिकित्सक, बीमा सर्भेयर, चार्टर्ड एकाउन्टेन्ट, आईटी, प्रशासनिक, वित्त र बजार व्यवस्थापन सम्बन्धी विज्ञका लागि आवेदन खुलाएको हो । पनर्बीमाका लागि बीमा क्षेत्रमा व्यवस्थापक वा सो सरह पदमा रही कम्तिमा १० वर्ष कम गरेको हुनुपर्ने छ । विद्यावारिधि गरेको हकमा ९ वर्ष काम गरेको भए पुग्ने कम्पनीले जनाएको छ । कानूनका लागि मान्यता प्रप्त शिक्षण संस्थाबाट कानून विषयमा स्नातकोत्तर उपाधि हा्ँसिल गरेको हुनुपर्ने छ । अधिवक्ता भएर व्यवस्थापकी वा सो सरह बीमा वा वित्तीय क्षेत्रको कानूनसँग सम्बन्धित कम्तिमा १० वर्ष कार्यअनुभव भएको हुनुपर्ने । दाबी पदका लागि स्नातक तहको उपाधि हासिल गरेको र बीमा कम्पनीमा दाबी व्यवस्थापन कार्यमा व्यवस्थापकीय पदमा १० वर्ष काम गरेको हुनुपर्ने छ । बीमाङ्की पदका लागि स्नातकोत्तर र बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ । ठेक्का व्यवस्थापनका लागि स्नातकोत्तर तहको उपाधि हासिल गरेको र सार्वजनिक खरिद कार्यमा १० वर्षको अनुभव भएको हुनुपर्ने छ । चिकित्सक पदका लागि चिकित्सा विज्ञानमा स्नातकोत्तर हासिल गरेको र बीमा क्षेत्रमा ५ वर्ष काम गरेको हुनुपर्ने । सर्भेयर पदका लागि नेपाल बीमा प्राधिकरणबाट सर्भेयरको ईजाजत पाएको र १० वर्ष बीमा सर्भेयर कार्य गरेको हुनुपर्ने छ । आईटी पदका लागि सूचना प्रविधि वा कम्प्यूटर विज्ञानमा स्नातकोत्तर गरेको र ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । चार्टर्ड एकाउन्टेन्टका लागि सीए उत्तिर्ण गरेको र बीमा क्षेत्रमा ५ वर्ष अनुभव भएको हुनु पर्ने । प्रशासनिक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र ५ वर्षको अनुभव हुनुपर्ने छ । यसैगरी, वित्त लगानीका लागि व्यवस्थपन विषयमा स्नातकोत्तर पास गरेको वा चार्टर्ड फाइनान्स एनालाईसिसको उपाधि हासिल गरेको हुनुपर्ने छ । यस्तै, बजार व्यवस्थापनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र बीमा क्षेत्रको सम्बन्धीत विभागमा ५ वर्ष काम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय अस्वभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले समितिले हाल सिमेन्टको मूल्यमा अस्वाभाविक मूल्य वृद्धि भएको निष्कर्षमा समिति पुगेकाले तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए । उनले सिमेन्टको मूल्यको विषयमा आवश्यक अध्ययन गरी सात दिनभित्र जवाफ पेश गर्न समेत निर्देशन दिए । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक अध्ययन गरी अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न निर्देशन दिए ।

माघ महिनामा नै उपत्यकासहित देशभर बढ्न थाल्यो तापक्रम

काठमाडौं । जाडो मध्यको महिनाहो माघ । विगतमा माघ महिनामा धेरै नै जाडो हुने गर्दथ्यो । तर, यस वर्ष भने माघ महिनामा नै गर्मि सुरु भएको महशुस हुन थालेको छ । सामान्यतया माघ महिनामा काठमाडौं उपत्यकामा अधिकतम तापक्रम १८ देखि २० डिग्रि सेल्सियस हुने गर्दथ्यो । तर, यस वर्ष भने २४ डिग्रीसम्म पुगेको छ । काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए । कारणबारे उनले भने, ‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।’ उनले अब बढ्ने समय पनि हुन लागेको बताए । न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो रेसियो’मा भने नबढ्ने उनले बताए । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनले बताए । विभागले आज साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ ।

रवि लामिछाने आज १० बजे अदालत हाजिर हुने, थुनछेक बहस आजै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले उनको श्रीमति निकिता पौडेलको जिम्मामा छोडेको छ । अदालतले रास्वपाका सभापति लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको हो । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान भएको थियो । आज बिहीबार थुनछेक बहस हुने भएको छ । आदेशमा लामिछानेलाई भोलि बिहान १० बजे उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाइको हो । बिहीबार पहिला सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।

पहाडबाट तराईमा बसाइँसराइँले ठूलो समस्या ल्याउँदै, कित्ताकाटले खेतियोग्य जग्गा सखाप

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बसाइँसराइँ ठूलो चुनौतीको रुपमा देखा परेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक प्रादेशिक आर्थिक गतिविधि अध्ययनले हिमाली र पहाडी जिल्लाहरुबाट तीव्र रुपमा तराईका जिल्लामा बसाइँसराइँका कारण खेतीयोग्य जमीन बाँझो हुदै जानु र तराईका जिल्लाको खेतीयोग्य जमिन बसोबासका कारण खण्डित हुदै जानु ठूलो समस्यामा देखा परेको देखाएको हो । यस्तै, उत्पादनमुलक क्षेत्रमा युवाको आकर्षण घट्दै जानु अर्को ठूलो समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को नतिजा अनुसार गरिबीको रेखामुनि रहेको जनसंख्या सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ३४.१६ प्रतिशत रहेको र गरिबीसँगै प्रदेशमा भौगोलिक विकटता, न्यून साक्षरता र न्यून भौतिक पूर्वाधारको विकास पनि चुनौतीका रुपमा रहेको अध्ययनमा उल्लेख गरिएको छ । सुदूरपश्चिम प्रदेशमा जलविद्युतको उच्च सम्भावना भएपनि लगानीको अभावले नयाँ जलविद्युत परियोजना कार्यान्वयनमा ल्याउन नसकिएको र २०८० फागुनसम्म सुदूरपश्चिममा जम्मा १ सय ७१ मेगावाट मात्र विद्युत उत्पादन भएको अध्ययनमा उल्लेख छ । प्रदेश अर्थतन्त्रमा शिथिलता र दीगो आर्थिक वृद्धिदर हुन नसक्दा प्रदेशको आर्थिक अवस्था सुधार हुन नसकेको र धेरै तथा गुणस्तरीय रोजगारी सिर्जना गर्नसक्ने द्वितीय क्षेत्रको प्रादेशिक अर्थतन्त्रमा योगदान पछिल्लो केही वर्षदेखि घट्दै गइरहेको देखाएको छ । प्रदेशमा मानव पुँजी निर्माण गर्न व्यवसायिक, प्राविधिक र बजारमुखी शिक्षा तथा सीपको विकास एवम्तालिम, स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धन, सहकार्य तथा साझेदारी प्रवद्र्धनमा समस्या रहेको अध्ययनमा उल्लेख छ । यस्तै, सक्रिय उमेर समूहको बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेशमा प्रदेशमै स्वरोजगार तथा रोजगारको अवसर प्रदान गर्ने कार्य चुनौतीपूर्ण रहेको र राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशको साक्षरता दर ७६.२० प्रतिशत मात्र रहेको छ । भौगोलिक विकटता तथा न्यून भौतिक पूर्वाधारका कारणले पहाडी तथा हिमाली जिल्लाहरुमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधा पु¥याउन कठिन रहेका देखिएको छ । भौगोलिक विकटता तथा जलवायु परिवर्तनका कारणले हुने भू–क्षय, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण रहेको अध्ययनमा उल्लेख छ । प्रदेशमा पर्याप्त सम्भावनाहरु हुँदाहुदै पनि कृषिको आधुनिकीकरण, औद्योगिकीकरण र व्यवसायीकरणका लागि आवश्यक पुँजी, ज्ञान, दक्ष जनशक्तिको अभाव रहेको छ । प्रदेशको कुल खेती गरिएकोक्षेत्रफलमध्ये ४६.१ प्रतिशत क्षेत्रफल सिँचाइको लागि आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ भने केवल २८.८ प्रतिशत क्षेत्रफलमा वर्षैभरि सिंचाई सुविधा उपलब्ध रहेको छ । कृषि उत्पादनहरुको सहज संकलन, भण्डारण र बजारीकरणको अभाव रहेको उल्लेख छ । यस प्रदेशमा अथाह सम्भावना भएका क्षेत्रहरुको उत्खनन, प्रशोधन र अध्ययन अनुसन्धानको कमीले प्रादेशिक औद्योगिक र उद्यमशीलता विकासको गति न्यून रहेको। नेपालमा दर्ता भएका कुल ठुला उद्योगमध्ये सुदूरपश्चिम प्रदेशमा सञ्चालन गर्न स्वीकृति पाएका उद्योगको संख्या अत्यन्तै न्यून रहेको बुझिएको छ । पहाडी जिल्लाहरुलाई तराईका जिल्लाहरुसँग जोड्ने विभिन्न योजनाहरु निर्धारित समयमै सम्पन्न नहुँदा पहाड र तराई बीचकोअन्तरआवद्धता मजबुत हुन नसकिरहेको अध्ययनमा उल्लेख छ ।

१५ सीईओ कारवाहीमा : कालोसूचीमा परेकालाई कर्जा, सहुलियतपूर्ण ऋणमा मिलेमतो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १५ वटा बैंक तथा वित्तीय संस्थाका प्रमख कार्यकारी अधिृकतलाई कारवाही गरेको छ । नियामक राष्ट्र बैंकले सात वटा विकास बैंक र ८ वटा वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई कारवाही गरेको हो । राष्ट्र बैंकले लुम्बीनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकका सीईओलाई कारवाही स्वरूप सचेत गराएको हो । यस्तै, वित्त कम्पनी अन्तर्गत समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइ.सि.एफ.सि फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सीईओलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले उनीहरुलाई पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको नभएको भन्दै कारवाही गरेको बताएको छ । सो सम्बन्धि परामर्शदाताले पेस गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी राष्ट्र बैंकमा पेस गरेको प्रतिवेदनमा खुलाइएअनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको बताएको छ । यस्तै, राष्ट्र बैंकले गरिमा विकास बैंकलाई सचेत गराइएको छ । राष्ट्र बैंकले बैंकलाई स्थलगत निरीक्षणको क्रममा कालोसूची रही रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्षण कर्जा प्रवाह गरेको पाइएकाले संस्थालाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को खण्ड (क) बमोजिम सचेत गराइएको बताएको छ । यस्तै, राष्ट्र बैंकले कर्णाली डेभलपमेण्ट बैंकलाई पनि कारवाही गरेको छ । बैंक नगद जरिवानामा परेको छ । संस्थाको मिति २०८१ पुस ९ गतेको पत्रबाट सो संस्था निक्षेपकर्ताको बचत रकम भुक्तानी गर्न असफल भएको हुँदा संस्थालाई राष्ट्र बैंकले यसअघि नै समस्याग्रस्त घोषणा गरिसकेको छ । राष्ट्र बैंकले सो बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरिएको र सोही ऐनको दफा ८६ ग. को उपदफा (१) बमोजिम संस्थाको सञ्चालन तथा व्यवस्थापन राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहमार्फत आफ्नो नियन्त्रणमा लिएको उल्लेख गरेको गरेको छ । यस्तै, राष्ट्र बैंकले पोखरा फाइनान्सको सञ्चालक समितिलाई पनि कारवाही गरेको छ । स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिले आफै वा आफू अन्तर्गतका समितिहरु मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुग्न गएको हुँदा सो सम्बन्धमा संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजम सचेत गराइएको उल्लेख गरेको छ । राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई पनि सेचत गराएको उल्लेख गरेको छ । संस्थाले मिति २०८१ मंसिर ०८ देखि २०८१ पुस १३ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३/०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा. निर्देशन नं. २१/८० को बुँदा नं. ७ ( संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम संस्थालाई पहिलो पटकका लागि ९ हजार १०६ रुपैयाँ जरिवाना गरेको बताएको छ । पछिल्लो समय एकपछि अर्को वित्तीय संस्था राष्ट्र बैंकको कारवाहीमा परेका छन् । बैंकिङ क्षेत्रले पछिल्लो समय ठूलो सकस भोगिरहेको छ ।

जनताको जीउको सुरक्षामा अब्बल नगर, ‘मेयर जनता स्वास्थ्य कार्यक्रम’ को प्रभाव बढ्दै

काठमाडौं । ‘म स्वस्थ छु, मलाई केही भएको छैन, किन स्वास्थ्य जाँच गर्ने ?’ भन्ने धेरै जनाको मानसिकता छ । अझ कति जना त चिकित्सककहाँ गएर जाँच गराउँदा अनावश्यक रोग देखाइदिन्छ भनेर जानै नखोज्ने प्रवृत्तिका हुन्छन् । हाम्रो आफ्नै ‘ओभर कन्फिडेन्ट’ को कारणले पछि गएर ठूलो रोगको शिकार हुनुपर्छ भन्ने हेक्कासमेत हामीले राखेका हुँदैनौं । पछिल्लो समय अस्पताल तथा स्वास्थ्य संस्थामा गएर हेर्ने हो भने मृगौला फेल, मुटुरोग, क्यान्सरजस्ता जटिल रोगका बिरामीको संख्या बढ्दो क्रममा छ । यी र यस्ता रोगको समयमै पहिचान हुन सके थोरै खर्चमा सही उपचार गर्न सकिन्छ । पछि ढिला भएर थाहा पाउँदा खर्चिलो हुनुका साथै बिरामीलाई बचाउन समेत गाह्रो पर्न जान्छ । यस्तै खालका समस्यालाई मध्यनजर गरी महालक्ष्मी नगरपालिकाले ‘मेयर जनता स्वास्थ्य कार्यक्रम’ सुरु गरेको छ । गत वर्षको नगरसभाबाट यो कार्यक्रम सञ्चालन गर्ने भएर पारित भएपनि कार्यविधि नबन्दा यो कार्यक्रम सुरु भएको थिएन । वैशाखमा कार्यविधि बनेपछि मात्रै यो कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाअनुसार यो कार्यक्रम पुस १९ गते वडा नं ५ बाट शुभारम्भ भएको थियो । हाल ७ वटा वडामा यो कार्यक्रम सुरु भइसकेको छ । अब बाँकी ३ वडामा पनि छिट्टै सुरु हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीले बाहिरी रूपमा स्वस्थ र बलियो देखिने व्यक्तिलाई पनि शरीरभित्र केही न केही रोगले सताइरहन सक्ने भएको हुँदा नागरिकले समयमै स्वास्थ्य चेकजाँच गरुन् र स्वास्थ्यप्रति सचेत रहुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरेको बताए । नसर्ने सुषुप्त रूपमा लुकेर रहेका रोगको पहिचान नभएका ३० वर्षभन्दा माथिका नागरिकलाई यो कार्यक्रमले लक्षित वर्गको रूपमा लिएको उनको भनाइ छ । लामो समयदेखि नियमति औषधी सेवन गरिरहने नागरिकले नियमति स्वास्थ्य जाँच गरेर आफ्नो स्वास्थसम्बन्धी जानकारी लिएपनि अन्य नागरिकले भने आफू स्वस्थ छु भन्ने आत्मविश्वासले वेवास्ता गर्ने गरेको देखिएको अधिकारी बताउँछन् । उनले भने, ‘जसले नियमित आफ्नो स्वास्थ्यको चेकजाँच परीक्षण गर्नुभएको छैन, जसले आफू स्वस्थ छु भन्नुहुन्छ, उहाँहरूको शरीरमा पनि रोग हुन सक्छ । त्यस्तो नागरिकले आफ्नो स्वास्थ्य समयमै परीक्षण गरेर स्वस्थ शरीर बाँच्ने र स्वस्थ शरीर बाँचेका नागरिकको स्वस्थ सहरका रूपमा महालक्ष्मीलाई रूपान्तरण गर्नुपर्छ भनेर यो कार्यक्रमको सुरुवात गरिएको हो ।’ स्वास्थ्य जाँच गर्न आइपुगेका नागरिकमा केही न केही औषधी खानुपर्ने, थप स्वास्थ्य परीक्षण गर्नुपर्ने, खानपान जीवनशैलीमा ध्यान दिनुपर्ने देखिएको अधिकारीले बताए । यो कार्यक्रमको प्रभावकारिता बढ्दै जानुका साथै स्वास्थ्य केन्द्रमा चेकजाँच गराउन आउने नागरिक बढ्दो क्रममा रहेको उनले बताए । ‘यो कार्यक्रम सुरु भएपछि थुप्रै नागरिक स्वास्थ्य संस्थामा लामबद्ध लागेर बस्नुभएको छ,’ अधिकारीले भने, ‘कतिपय नगरपालिकाले बनाएको स्वास्थ्य संस्था त कतिपय नेपाल सरकारले स्थापना गरिएका स्वास्थ्य केन्द्रमा जाँच गर्ने नागरिकको उपस्थिति उत्साहजनक छ । यसले हाम्रो स्वस्थ नागरिक र स्वस्थ नगरपालिका बनाउने लक्ष्य पूरा हुने देखिएको छ ।’ अति आवश्यक कार्यक्रम पाँच वर्षअघि बागमती प्रदेशले ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यो कार्यक्रमको उद्देश्य पनि नसर्ने रोगको समयमै पहिचान, रोगथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण थियो । ३० वर्षभन्दा बढी उमेर समूहलाई लक्षित यो कार्यक्रमअन्तर्गत १६ किसिमका स्वास्थ्य परीक्षण हुने भनेर सञ्चालनमा ल्याएको थियो । यो कार्यक्रमले केही हदसम्म सकारात्मक सन्देश दिएपनि प्रभावकारी भने हुन सकेन । गत वर्ष भरतपुर महानगरपालिकाले ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सुरु गर्‍यो । यो कार्यक्रमको उद्देश्य पनि नसर्ने रोगको समयमै पहिचान गरी त्यसलाई न्यूनीकरण गर्ने नै हो । यस कार्यक्रममा जेष्ठ नागरिक, अपांगता, अशक्तता भएका नगरबासीलाई समेटेको छ । स्थानीय सरकार प्रदेश सरकार, पालिका स्तरमा यो कार्यक्रमको आवश्यकता धेरै देखिन्छ । आवश्यकताअनुसार स्थानीय तहमा यस्ता कार्यक्रम सुरु भएपनि त्यसले निरन्तरता भने पाउन सकेको देखिँदैन । ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रमले सबै तहमा समेट्न नसकेको पछिल्लो समय नगरबासीले पनि यस्ता कार्यक्रमको आवश्यकता महसुस गर्ने गरेको अधिकारी बताउँछन् । ७ वडामा सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवाली नगरपालिकामा यो कार्यक्रमको आवश्यकता महसुस गरेर नै सञ्चालनमा ल्याएको सुनाउँछन् । उनका अनुसार प्रत्येक वडामा महिनाको एक दिन नि:शुल्क रूपमा यो कार्यक्रम सञ्चालन हुन्छ । यो कार्यक्रम नगरपालिकाको वडा नं १, २, ३, ५, ८, ९ मा सुरु भइसकेको छ । अब बाँकी वडामा पनि छिट्टै सुरु हुने उनले बताए । यो स्वास्थ्य कार्यक्रमअन्तर्गत ३० वर्षभन्दा बढी उमेरसमूहका नागरिकले पिसाबबमा प्रोटिन, रगतमा ग्लुकोज, पिसाबमै सुगरको लेभल, ब्लड प्रेसरको लेभललगायत विभिन्न टेस्ट नि:शुल्क रूपमा गर्न सक्छन् । यी जाँचबाट समस्या देखिएमा चिकित्सकबाट थप उपचारको आवश्यक सल्लाह दिने काम हुने ज्ञवालीले बताए । कार्यक्रमको सुरुवाती चरण भएकाले धेरै नगरबासीले अहिले पनि यो कार्यक्रम थाहा नपाएको हुनसक्ने भएकाले यसलाई थप प्रचारप्रसार गर्ने तयारीमा नगरपालिका रहेको ज्ञवाली बताउँछन् । उनका अनुसार कार्यक्रम सुरु गर्दा नगर प्रमुखको अध्यक्ष्यतामा गठित स्वास्थ्य व्यवस्थापन समितिमार्फत सरोकारवालाहरूलाई कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । त्यसपश्चात नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई बोलाएर कार्यक्रम सञ्चालन गर्‍यो । त्यस्तै, कार्यक्रमलाई नगरबासीसामु पुर्‍याउन नगरपालिकाले महिला स्वास्थ्य सेविकालाई खटाएको छ । महिला स्वास्थ्य सेविकाले प्रत्येक नगरबासीको घरमा गएर यसबारे जानकारी दिने गरेको ज्ञवालीले बताए । त्यस्तै, वडाअध्यक्ष, जनप्रतिनिधिले पनि यस कार्यक्रमको प्रचारप्रसार गरेर सेवा लिन आउने वातावारण बनाइरहेको उनको भनाइ छ । ‘अहिले आफ्नै नेटवर्कबाट यो कार्यक्रमको प्रचार-प्रसार भइरहेको छ, महिला स्वास्थ्य सेवकसेविकाबाट घरघरमा सन्देश जाने गरेर स्वास्थ्य संस्थामा बोलाउने काम भइरहेको छ,’ उनले भने । पालिकास्तरमा यस्ता कार्यक्रम अतिआवश्यक औंल्याउँदै ज्ञवालीले यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैको साथको अपेक्षा गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुनाए । यो कार्यक्रमपछि नगरबासीले आफ्नै घरदैलोको स्वास्थ्य संस्थाबाट नि:शुल्क सेवा पाएसँगै उनीहरूबाट सकारात्मक प्रतिक्रियाहरू आउने गरेको उनले बताए । ज्ञवालीका अनुसार यस कार्यक्रमका लागि महानगरले ८ लाख रुपैयाँ बजेट छुट्याएको छ । तर यो बजेट पर्याप्त नभएको उनले बताए । ‘नगरपालिकाले छुट्याएको बजेटले केही रकम खरिद गर्‍याैं, केही मौजुता सामग्री प्रयोगमा ल्यायौं । कार्यक्रम सुरु भएदेखि नै यसको प्रभावकाारिता बढ्दै गएको हुँदा यो बजेट पर्याप्त नहुने हामीले महसुस गरेका छौं, यसलाई बढाउनुपर्ने देखिन्छ,’ उनले भने । नगरपालिकाद्वारा सञ्चालित अन्य स्वास्थ्य कार्यक्रम महालक्ष्मी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । पहिले घर-घरमै गएर यो सेवा दिने गरेको भएपनि पछिल्लो समय भने कुनै एक ठाउँ तोकेर बाआमालाई भेला गराएर स्वास्थ्य कार्यक्रम गर्ने गरेको छ । जेष्ठ नागरिकहरूको सुगरको लेभल, ग्लुकोज ब्लड प्रेसरलगायत जाँच हुन्छ । ज्ञवालीका अनुसार जेष्ठ नागरिकलाई नगरपालिकासँग उपलब्ध रहेका औषधीसमेत बाँड्दै आइएको छ । यो कार्यक्रम १० वटै वडामा सञ्चालन भइरहेको छ । नगरपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरभित्रका कोही पनि बालबालिका खोप लगाउनबाट नछुटुने भनेर स्वास्थ्य स्वं सेविकालाई घरघरमै गएर खोजेर खोप लगाउने गरेको छ । त्यसका साथै सरकारले अभियानकै रूपमा सञ्चालनमा ल्याएको एचपीपी खोप कार्यक्रमलाई नगरपालिकाले साथ दिँदै १० देखि १४ वर्षका किशोरीहरुलाई एचपिपी खोप कार्यक्रमको अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ । खोप कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले वडाअध्यक्षहरुको अध्यक्षमा गठित खेप समन्वय समिति स्वास्थ्य सेविकाहरु परिचालन गरिसकेको छ । स्वास्थ्य सेविकाबाटमार्फत कुन-कुन स्कुलमा को जाने भनेर स्वास्थ्यकर्मी परिचालन गरिसकको ज्ञवालीले बताए । नगरपालिकाका अनुसार यही माघ २२ गतेदेखि स्कुल स्कुलमा गएर खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्कुल नजानेलाई पनि स्वास्थ्य संस्थामा खोप लगाउने कार्यक्रम पनि पूरा भएर तयार अवस्थामा छ । नगरपालिकाले सञ्चालन गरिरहेको अर्को स्वास्थ्य कार्यक्रम हो- ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम । गर्भवती महिलालाई लक्षित गरेर यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।अल्ट्रासाउण्डमार्फत् बच्चाको अवस्था के छ भनेर हेर्न सकिन्छ । यो कार्यक्रमको लागि नगरपालिकाले स्थानीय नर्सलाई तालिम दिने गरेको छ । यो कार्यक्रमअन्तर्गत महिनाको एक पटक तालिमप्राप्त नर्स स्वास्थ्य संस्थामा गएर गर्भवती महिलालाई नि:शुल्क सेवा दिने हो । नगरपालिकाले सुत्केरी महिलालक्षित ‘उपमेयरसँग सुत्केरी भेटघाट’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि कार्यविधि पनि बनिसकेको ज्ञवालीले जानकारी दिए । सुत्केरी महिलालाई थोरै भए पनि प्रोत्साहन होस् भनेर यो कार्यक्रम सुरु गर्न लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिले नगरभित्र कति सुत्केरी महिला छन् त्यसको तथ्यांक स्वास्थ्य संस्थाबाट लिने काम भइरहेको छ । नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यायामशालासमेत सञ्चालनमा ल्याएको छ । हाल वडा ६ र ९ मा यो कार्यक्रम सञ्चालनमा छ ।