काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म हुने गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको जिकिर गरे । उनले विचौलियाहरूको पहुँच नेतृत्व तहको शयनकक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।
पहिला–पहिला राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा 'यो बन्ला कि त्यो बन्ला' भन्ने कौतुहलता हुने गरेको स्मरण गराउँदै अहिले भने 'विचौलियाको क्यान्डिडेट' भनेर खुल्लमखुल्ला बहस र छलफल हुने अवस्था देखिएको उनले उल्लेख गरे ।
महामन्त्री थापाले भने, 'प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको विचौलियाका कारणले हो । विचौलियाहरू-म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ-प्रधानमन्त्रीको बेडरुमसम्म पुग्न थालेका छन् । मलाई अहिलेसम्म थाहा थिएन। पहिला–पहिला गभर्नरको बारेमा छलफल हुँदा ‘गभर्नर यो बन्ला कि त्यो बन्ला, यसले बनाउला कि त्यसले बनाउला’ भन्ने हुन्थ्यो ।'
महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्थालाई पुँजीवादी व्यवस्था नभएको भन्दै नागरिक बलियो भएमात्रै राज्य बलियो हुने धारणा पनि राखे ।