विकासन्युज

गोल्यान ग्रुपले सोलारबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने, भारतको प्रोजिल ग्रिन इनर्जीसँग सहकार्य

काठमाडौं । नेपालमा स्थापित व्यावसायिक समूह गोल्यान ग्रुपले सोलारबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । भारतीय सोलार कम्पनी प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य गर्दै गोल्यानले बिजुली उत्पादन गर्न लागेको जानकारी दिएको हो । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गोल्यान ग्रुपले बिजुली उत्पादनका लागि भारतीय कम्पनीसँग सहमति भइसकेको बताउँदै  नेपालमा सोलार बिजुलीको आवश्यकता र महत्त्वका विषयमा जानकारी गराएको छ । प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ, जुन  देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी युगको एक महत्वपूर्ण कदम हुनेछ।  शिखर सम्मेलनमा बोल्दै प्रोजिल ग्रिन इनर्जीका अध्यक्ष  शोवित वैजनाथ रायले नेपालमा स्वच्छ ऊर्जा र दिगोपनाका लागि बिजुली उत्पादन गर्न सहकार्य गर्न पाउँदा खुसी भएको बताए । उनले भने, ‘नेपालको स्वच्छ ऊर्जा र हरियाली भविष्यका लागि यो सहकार्यले मद्दत गर्नेछ ।’ गोल्यान ग्रुपले आगामी १८ महिनासम्म नेपालमा सोलारबाट ५ सय मेगावाट बिजुली  निकाली सक्ने दाबी गरेको छ । कार्यक्रममा बोल्दै विद्युत नियामक आयोगका अध्यक्ष रामप्रसाद धितालले  नेपालको नवीकरणीय ऊर्जामा उत्साह थपिएको बताए । यस्तै, कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले अर्को वर्ष नेपालमा अर्को वर्ष नेपालमा एक हजार बिजुली उत्पादन गर्न सकिने बताए । गोल्यान ग्रुपले भारतकै रिनर्गो डेभलपर्स साझेदारीमा नेपालगञ्जमा २० मेगावाटको सोलार प्लान्ट स्थापना गरिसकेको छ । यसरी उत्पादन गर्दै आएको बिजुली विद्युत प्राधिकरण र विभिन्न व्यावसायीक उपभोक्तालाई बिक्री गर्ने जनाएको छ ।  कार्यक्रममा इप्पानका अध्यक्ष कार्कीले गोल्यान समूहले ५ सय मेगावाट विद्युत उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताए । ‘हामीले चाहेमा र सरकारले बाटो खुला गरिदिएमा अर्को वर्षमा १ हजार मेगावाट ऊर्जा उत्पादन गर्न सक्छौं भन्ने लाग्यो,’ उनले भने, ‘यस्तो भएमा मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्यून मात्रै किन्नुपर्ने अवस्था आउने छ ।’ अहिले ८ सय मेगावाटको टेण्डर भइसकेपनि  मुद्दा मामिलाका कारण यसमा धेरै समस्या सिर्जना भएको भन्दै यस्ता समस्या हटाउन सरकारले हस्तक्षेप गर्नुपर्ने बताए । विद्युत विधेयक बन्दै गरेको तर यसमा सौर्य ऊर्जाको विषय नसमेटिएकाले त्यसलाई समेट्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सोपानका अध्यक्ष डा. सन्दीप शाहले ऊर्जाको विकासमा सौर्य ऊर्जाको भूमिका उल्लेख्यनीय हुने बताए । उनले नेपालका केही क्षेत्रहरू सोलार ऊर्जा उत्पादनका लागि निकै उपयुक्त रहेको समेत बताए । ट्रान्समिसन लाइनको समेत सहज पहुँच गराएर मुस्ताङ लगायतका ठाउँबाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने उनको भनाइ छ । सौर्य ऊर्जा उत्पादनका लागि केही समस्याहरू समेत रहेकाले सरकारले नीतिगत रुपमा त्यस्ता समस्याहरूलाई समाधान गर्नुपर्नेमा उनको जोड छ । गोल्याण पावर तर्फबाट प्रोजिल ग्रिन ईनर्जी नेपालका सञ्चालक  प्रवीण अर्यालले नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने दिशामा निर्णायक कदम चालेको बताए । विश्वस्तरीय ऊर्जासम्बन्धी सोलुसनहरू उपलब्ध गराउनु  तथा समृद्ध र दिगो भविष्यको सहयाेग पुर्‍याउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।

आईसीएफसी फाइनान्सको ऋणपत्रमा पहिलो दिनमै २ गुणा बढीको पर्‍यो आवेदन

काठमाडौं । आईसीएफसी फाइनान्सले बुधबारबाट निष्कासन गरेको ऋणपत्रमा मागभन्दा दुई गुणा बढीको आवेदन परेको छ । कम्पनीका अनुसार ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ मा मागभन्दा २ः११ गुणाले आवेदन परेको हो । बुधबार उक्त ऋणपत्रमा २५ करोड २९ लाख ४३ हजारले आवेदन दिएका छन् । कम्पनीले ३० करोड रुपैयाँबराबरको सात वर्षे विकास ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर- २०८८’ जारी गरेको हो । जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गरेको छ । कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। । बाँकी १ लाख २० हजार इकाइको कम्पनीले सार्वजनिक निकाष्सन गरेको हो । सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १ लाख १४ हजार इकाइमा सर्वसाधारण खरिद आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन् । ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरू र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।

इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो- २०२५ मा ईभीको प्रभुत्व, भिनफास्ट र बीवाईडीमा धेरै आकर्षण

काठमाडौं । दिल्लीमा हालै सम्पन्न भएको इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) को प्रभुत्व देखिएको छ । धेरै कम्पनीहरूले नयाँ मोडेलहरू सार्वजनिक गरेका छन् । भारतको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीमा लगभग २ सय नयाँ उत्पादनहरू प्रस्तुत गरिएको थियो । १७ देखि २२ जनवरीसम्म चलेको यस कार्यक्रममा १ हजार ५०० भन्दा बढी कम्पनीहरूले भाग लिएका थिए  । यसैगरी, ८ लाखभन्दा बढी मानिसहरूले यस प्रदर्शनीमा सहभागी भएका थिए । प्रदर्शनीको सफलता देखेर सरकारले अब यसलाई हरेक वर्ष आयोजना गर्ने विचार गरिरहेको छ। अहिलेसम्म यो हरेक दुई वर्षमा हुने गर्थ्यो । भियतनामी कम्पनी भिनफास्टले पहिलो पटक भारतमा आफ्नाे कारहरू प्रस्तुत गर्‍यो । यसैबीच, चिनियाँ ईभी कम्पनी बीवाईडीले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी पनि अनावरण गरेको छ । जेएसडब्ल्यू एमजी मोटर इन्डियाले आफ्नो नयाँ शक्तिशाली एसयूभी मगेस्टर प्रस्तुत गरेको छ । वेभ मोबिलिटीले सौर्य ऊर्जाबाट चल्ने मिनी कार लन्च गरेको छ । जेबीएमले विद्युतीय बसहरू ल्याएको छ । यसैगरी, हुन्डाई र टीभीएसले नयाँ यातायात समाधानहरूमा सँगै काम गरिरहेका छन् र उनीहरूले यसको झलक पनि दिए । भिन्फास्टका नयाँ विद्युतीय सवारीसाधन भियतनामी कम्पनी भिनफास्टले दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ सेभेन र भीएफ सिक्स लन्च गरेको छ । कम्पनीले यी गाडीहरू यस वर्षको अन्त्यसम्ममा भारतमा बिक्रीको लागि उपलब्ध हुने बताएको छ । यी भारतमा भिनफास्टका पहिलो गाडीहरू हुनेछन् । कम्पनीले भारतमा बनेका विद्युतीय सवारीसाधनहरू पश्चिम एसिया र अफ्रिकामा बेच्न चाहन्छ । बीवाईडी सीलायन सेभेनको बुकिङ खुल्ला चीनको लोकप्रिय ईभी कम्पनी बीवाईडीले इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो सीलायन सेभेन एसयूभी अनावरण गर्नुका साथै यसको बुकिङ पनि सुरु गरेको छ । कम्पनीले सेलेरोन सिक्स, बीवाईडी सुपर प्लग-इन हाइब्रिड ईभी र याङवाङ यू एट पनि प्रदर्शन गरेको थियो । मारुतिको पहिलो ईभी सार्वजनिक भारतको सबैभन्दा ठूलो कार निर्माता मारुतिले आफ्नो पहिलो इलेक्ट्रिक सवारी ई- भिटारा एसयूभी प्रदर्शन गर्‍यो, जुन यस वर्षको अन्त्यतिर लन्च हुने जनाइएको छ ।  यो कार मारुतिको मूल कम्पनी सुजुकी मोटर र टोयोटाले संयुक्त रूपमा विकास गरेका हुन् । केही कार निर्माताहरूले इलेक्ट्रिक सवारीका साथै प्लग-इन हाइब्रिड कार, फ्लेक्स-फ्युल मोडल, हाइड्रोजन फ्युल सेल सवारी र ग्यासमा आधारित कारहरू पनि प्रदर्शन गर्ने योजना बनाएका छन् । टाटा मोटर्सको पवेलियन टाटा मोटर्सको पवेलियनमा विभिन्न सेग्मेन्टका १८ नयाँ मोडेलहरू प्रस्तुत गरिएको थियो । यसमा नयाँ टाटा सिएरा र ह्यारियर ईभी पनि समावेश छन् । हुन्डाईको क्रेटा ईभी हुन्डाई मोटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक संस्करण, क्रेटा ईभी अटो एक्स्पो २०२५ मा लन्च गर्‍यो, जसको सुरुवाती मूल्य १७.९९ लाख भारु रहेको छ । कम्पनीले आगामी वर्षहरूमा भारतभरि ६०० वटा द्रुत चार्जिङ स्टेशनहरू स्थापना गर्ने जनाएकाे छ । किया इभी सिक्स फेसलिफ्ट किआ इन्डियाले इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो अल्ट्रा-स्पेशल इलेक्ट्रिक कार ईभी सिक्सको २०२५ फेसलिफ्ट मोडेल प्रस्तुत गर्‍यो, जसले केही कस्मेटिक परिवर्तनहरूसँगै सुधारिएका सुविधाहरू र दायरा प्रदान गर्दछ । इलेक्ट्रिक मर्सिडिज बेन्ज यस वर्षको अटो एक्स्पोमा लक्जरी कार कम्पनीहरूले पनि आफ्ना नयाँ इलेक्ट्रिक मोडेलहरू प्रस्तुत गरे । मर्सिडिज-बेन्जले आफ्नो इलेक्ट्रिक एसयूभी ईक्यूएस मेबच लन्च गरेको छ, जसको मूल्य २.६३ करोड भारु छ । जेबीएमका नयाँ विद्युतीय बस जेबीएमले अटो एक्स्पो २०२५ मा ४ वटा नयाँ विद्युतीय बसहरू प्रस्तुत गर्‍यो । यसमा लक्जरी कोच ग्यालेक्सी, इन्टरसिटी बस एक्सप्रेस, लो फ्लोर इलेक्ट्रिक मेडिकल मोबाइल युनिट ई-मेडिलाइफ र ई-स्काइलाइफ समावेश छन् । हुन्डाई र टिभीएसले नयाँ उत्पादनहरू ल्याउँदै हुन्डाई मोटर कम्पनीले भारतको लागि नयाँ यातायात समाधानहरू सिर्जना गर्न टीभीएस मोटर कम्पनीसँग साझेदारीको घोषणा गरेको छ । यद्यपि, अहिलेसम्म कुनै आधिकारिक सहमति भएको छैन । हुन्डाईले एउटा कन्सेप्ट मोडेल पनि प्रदर्शन गर्‍यो। एका र वेबबाट उत्पादन एका मोबिलिटीले एउटा इलेक्ट्रिक ट्रक र ६ सिट भएको सार्वजनिक यातायात सवारी साधन प्रदर्शन गरेको थियो । सोही समयमा वेभ मोबिलिटीले सौर्य ऊर्जाबाट चल्ने मिनी कार इभा लन्च गर्‍यो । यो तीन सिट भएको कार तीन फरक मोडेलमा उपलब्ध छ । नयाँ इलेक्ट्रिक स्कुटरहरू बेंगलुरुमा आधारित न्यूमेरोस मोटर्सले १.०९ लाख भारुमा आफ्नो ई-स्कुटर डिप्लो म्याक्स लन्च गरेको छ । गोदावरी इलेक्ट्रिक मोटर्सले दुई नयाँ इलेक्ट्रिक स्कुटरहरू बजारमा ल्याएको छ । एसएमएल इसुजुको इलेक्ट्रिक डी-म्याक्स प्रदर्शनमा व्यावसायिक सवारीसाधन निर्माता एसएमएल इसुजुले व्यावसायिक बसहरूको लागि हिरोई.ईभी प्लेटफर्म सुरु गरेको छ । यो अप्रिल-जुनमा सुरु हुने अपेक्षा गरिएको छ । इसुजु मोटर्स इन्डियाले आफ्नो डी-म्याक्स बीईभीको अवधारणा मोडेल पनि प्रदर्शन गर्‍यो । यो पिकअप ट्रकले व्यावसायिक र यात्रु दुवै आवश्यकताहरू पूरा गर्नेछ ।

महानगर यातायातले ४० बस थप्दै, ९० बसले दिनेछन् नयाँ रुटमा सेवा

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायात प्रालिले ४० वटा नयाँ बस थपेको छ । विगत ९ वर्षदेखि ठूला बसहरूमार्फत् सेवा दिँदै आएको यस यातायात कम्पनीले यात्रुको सेवालाई मध्यनजर गर्दै थप ४० वटा नयाँ बस सञ्चालन गर्ने जानकारी दिएको हो । कम्पनीले टाटा मोटर्सका ४० वटा बस बिहीबारदेखि सञ्चालनमा ल्याउने भएको हो । कम्पनीले ४० वटा बस थपसँगै नयाँ रुट पनि सञ्चालन गर्ने जानकारी दिएको छ । कम्पनीका अध्यक्ष मधुसुदन उपाध्याय अधिकारीले सेवा विस्तारसँगै नयाँ रुटमा पनि सेवा दिने जानकारी दिएका छन् । हाल यस यातायातले ५० वटा बसबाट सेवा दिँदै आएको छ । सर्वसाधारणले सार्वजनिक यातायातमा खेप्नु परेको सास्ती न्यून गर्न अत्याधुनिक सुविधायुक्त ४० वटा बसले सेवा दिन लागेको अधिकारीले जानकारी दिएका हुन् । यात्रुलाई सुरक्षित, आनन्ददायी र मनोरन्जनात्मक यात्रा गराउन महानगर यातायात प्रालिले २०७२ मा चक्रपथमा बस सेवा सुरु गरेको थियो । अब त्यसलाई बिस्तार गर्ने योजना कम्पनीले बनाएको हो । सुरुमा १६ करोड लगानीमा ४० वटा बस सञ्चालन गरेको यस कमपनीले त्यसपछि १० वटा बस थपेको थियो । अब कम्पनीको कुल बस संख्या ९० हुनेछ । ४० सिट क्षमताको महानगर यातायात ठूलाे र सुविधायुक्त छ । बसमा जीपीएस ट्रयाकिङ सिस्टमसहित मोबाइल एप सुविधा पनि दिइएको छ । सो सुविधामार्फत् बस कहाँ छ भनेर मोबाइलमै हेर्न सकिने व्यवस्था पनि गरिएको छ ।  

एसियाली देशका बीमा क्षेत्रका नियामक निकायहरूको वार्षिक बैठक सम्पन्न

काठमाडौं । एसियाली देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको संस्थाको १९औं वार्षिक बैठक तथा सम्मेलन, २०२४ र बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक, २०२४ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण, अन्तर्राष्ट्रिय बीमा पर्यवेक्षक संघ, एफिर र अन्तर्राष्ट्रिय सेटलमेन्ट बैंकको वित्तीय स्थिरता संस्थानको संयुक्त आयोजनामा बैठक तथा सम्मेलन सम्पन्न भएको हो । बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक माघ ७ र ८ गते तथा एफिर वार्षिक बैठक तथा सम्मेलन माघ ८ र ९ गते भएको थियो । बैठक तथा सम्मेलनको पहिलो दिन सहभागीहरूलाई स्वागत गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले एसिया–प्रशान्त क्षेत्रका देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको बैठक तथा सम्मेलन नेपालमा आयोजना भएकोमा खुशी व्यक्त गरे । अध्यक्ष दहालले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण आइपर्ने जोखिमबाट पर्ने वित्तीय नोक्सानीलाई सम्बोधन गर्नका लागि एसिया–प्रशान्त क्षेत्रमा साझा बीमा पद्धति विकासको आवश्यकता औंल्याए । कार्यक्रमको सभापतित्व एफिरका अध्यक्ष तथा अष्ट्रेलियाली प्रुडेन्सियल नियमन प्राधिकरणका महाप्रवन्धक पिटर कोहिहागेन तथा वित्तीय स्थिरता संस्थान, अन्तर्राष्ट्रिय सेटलमेन्टका लागि बैंकका अध्यक्ष फर्नाण्डो रेस्टोईले गरेका थिए । दोस्रो दिनको कार्यक्रममा जापानको वित्तीय सेवा एजेन्सका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री शिगेरू अरिजुमीले विश्व बीमा बजारको विकास सम्बन्धी विशेष सम्बोधन गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय प्रणाली, वित्तीय साक्षरता, वित्तीय पहुँच, विकासको श्रृङ्खला, वित्तीय क्षेत्रमा अवलम्बन गरिएका नीतिगत सिद्धान्त, चुनौती र अवसर लगायतका विषयमा जानकारी दिनुभएको थियो । बैठक तथा सम्मेलनमा जलवायु परिवर्तन, प्राकृतिक विपद् र प्रविधिमा भएको विकासका कारण उत्पन्न हुने जोखिमहरूलाई सम्बोधन गर्न जोखिममा आधारित पूँजी, मूल्य तथा नियमन पद्धतीको विकास र नियामक निकायहरूको भूमिकाका सम्बन्धमा छलफल भएको थियो । एसिया–प्रशान्त क्षेत्रका नेपाल, युनाइटेड अरब इमिरेट्स, भारत, चीन लगायतका देशहरुमा केही समय अघि प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भएका क्षतिलाई सम्बोधन गर्न बीमाको भूमिका तथा बीमा मार्फत भौगोलिक विकटता तथा आर्थिकरूपले पछि परेका बर्गहरूमा बीमाको पहुँच विस्तारका साथै प्यारामेट्रिक बीमा र अन्य जोखिम व्यवस्थापनका लागि विभिन्न मुलुकहरूले अवलम्न गरेका विधिहरूका बारेमा छलफल भएको थियो । यसैगरी, विश्वभर तीब्र गतिमा हुँदै आएको आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अन्य प्राविधिक विकासका कारण सिर्जित जोखिमहरूलाई सचेतापूर्वक सन्तुलितरूपमा सम्बोधन गर्न नियामकीय निकायहरूको भूमिका, प्राकृतिक विपद्को जोखिमको वित्तीय रक्षावरणमा एसिया–प्रशान्त क्षेत्रमा एकीकृत पद्धतिको विकास, समावेशी बीमा मार्फत जलवायु परिवर्तनका जोखिमलाई अवसरमा बदल्ने सम्भावना लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण सिर्जना हुने जोखिमहरूलाई आगामी दिनमा कसरी सम्बोधन गर्दै अघि बढ्ने भन्ने सम्बन्धमा एसिया–प्रशासन्त क्षेत्रका देशहरू लगायत एसियाली विकास बैंकले कार्यान्वयन गर्दै आएका नविनत् विधि तथा कार्यक्रमहरूका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाल लगायत सहभागी देशका प्रतिनिधिहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, नियामक निकायहरूको भूमिका, प्रोटेक्सन ग्याप घटाउने विधि, महाविपत्तिको समयमा सिर्जना हुने जोखिम रक्षावरण लगायतका विषयमा प्रस्तुती गरेका थिए । बैठक तथा सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन, ८७ अर्ब ३२ करोड रुपैयाँ बढीको आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको छ । चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ । चालु आवको छ महिनामा आठ अर्ब नौ करोड रुपैयाँ बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड तथा ३६ करोड २० लाख रुपैयाँ बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । आव २०८०/८१ को छ महिनामा ८८ अर्ब ७८ करोड रुपैयाँ बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । रासस

भारतको प्रयागमा महाकुम्भमेला : पानीमुनि २५ हजार सिसी क्यामेरा जडान, १० करोड बढीले गरे स्नान

प्रयागराज । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ । यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दू धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गममा स्नान गर्ने गर्छन् । मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ । हिन्दू धर्माबलम्बीहरुको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् ।  उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले एक सय ४४ वर्षपछि परेको महाकुम्भमेलाको विशेष महत्व रहेको भन्दै प्रयागराज महाकुम्भको अद्भुत आनन्द लिन सबैमा आह्वान गरे । उनले सीमापार धार्मिक पर्यटन प्रवद्र्धनका लागि महाकुम्भमेला उपयोगी बन्ने विश्वास व्यक्त गरे । मेलाको रौनक मेलामा स्नान गर्न आउने तीर्थालु भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । मेलालाई दृष्टिगत गर्दै भारत सरकारले २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । मेलाको आकर्षणका रुपमा इलाहवाद सडकका चोकचोकमा सूचनामूलक ब्यानर, पोष्टर र झिलीमिली बत्तीले झकिझकाउ पारिएको छ । तीन नदीको सङ्गमस्थलमा दायाँ र बायाँ किनारमा तीर्थालु भक्तजनका लागि बासस्थानका निम्ति स्तर अनुसारको सुविधासम्पन्न अस्थायी ‘टेन्ट हाउस’हरु निर्माण गरिएका छन् । रातको समयमा टेन्ट हाउस क्षेत्रमा झिलीमिली बत्तीले मेलाको रौनकलाई थप बढावा दिएको छ । मेलामा बास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर रहेका छन् । एक लाखभन्दा बढी टेन्ट स्थापना गरिएको छ । मेलामा नागाबाबा, अघोरी बाबाको भिन्न आकर्षण देखिन्छ । मेलाको सुरक्षालाई मध्यनजर गर्दै नदीको पानीमुनि २५ हजारभन्दा बढी सिसी क्यामेरा जडान गरिएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मेलामा पुग्ने तीर्थालुको सहजताका लागि प्रयागराज विमानस्थलबाट सात हजारभन्दा बढी बसको व्यवस्था गरिएको छ । पाँच सय ५० सटल बस, १३ हजारभन्दा बढी रिक्सा, १३ हजार ट्रेन, तीन हजार विशेष ट्रेनको व्यवस्था मिलाइएको छ । यसैगरी, मेला क्षेत्रमा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन् । सरकारी र निजी गरी ६ हजार शय्याको व्यवस्था छ । एयर एम्बुलेन्ससहित सडक एम्बुलेन्सको व्यवस्था गरिएको छ । हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने प्रबन्ध समेत गरिएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत महाकुम्भमेला अवलोकन गर्न पुग्ने बताइएको छ । दश करोड बढीले स्नान गरे महाकुम्भमेलामा हालसम्म १० करोडभन्दा बढी व्यक्तिले पवित्र स्नान गरेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । दैनिक एक करोड हाराहारी भक्तजन महाकुम्भ पुगिरहेका छन् । मेलाको आज १०औँ दिनमा पनि तीर्थालुको उत्तीकै घुइँचो रहेको छ । पवित्र नदीहरूको सङ्गममा स्नान गर्दा पापमोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ । दैनिक एकदेखि डेढ करोड भक्तजनले गङ्गा स्नान गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ज्योतिषीहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय तय गरेका छन् । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य पाँच दिन शुभ रहेको बताइएको छ । कुम्भमेला हिन्दू धर्मावलम्बीको एक महान् स्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले उल्लेख गरेका भए पनि हालसम्म जम्मा पाँचवटा स्थान मात्र पत्ता लागिसकेका छन् । ती पाँच स्थानमध्ये भारतका चार ठाउँमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा लाग्दछ भने एक कुम्भस्थल नेपालमा पर्दछ । कुम्भमेला हुने स्थलहरुमा इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड) र चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) रहेका छन् । के हो महाकुम्भमेला यो मेला एक स्थानमा प्रत्येक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थमा कुम्भमेलाको वर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो व्यक्ति कुम्भमा स्नान गर्दछ त्यो सम्पूर्ण पापबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । भारतका चार कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ । कुम्भमेला भारतको तीन ठाउँमा लाग्ने गरेको थियो । तर २०५९ वैशाख १ गतेदेखि नेपालको सुनसरी जिल्लास्थित चतराधाममा समेत लाग्न थालेको छ । ‘डिजिटल’ महाकुम्भ भारतको संस्कृति मन्त्रालयका अनुसार महाकुम्भमेलामा विज्ञान प्रविधिको पनि भरपुर उपयोग गरिएको छ । प्रयागराज महाकुम्भमा अध्यात्म र नवप्रवर्तनको असाधारण मिश्रणका रुपमा ‘सेट’ गरिएको छ । आधुनिक प्रविधिलाई अँगालेर उच्च–टेक सुरक्षा उपायहरुदेखि डिजिटल भूमि ‘आवंटन’हरु र ‘इमर्सिभ भर्चुअल’ वास्तविकता अनुभवहरु, महाकुभ्भ २०२५ ले भक्तहरुलाई पूर्वाधार, सुरक्षा र डिजिटल सेवाहरुमा व्यापक तरिकाका साथ महाकुम्भ परम्परा र प्रविधिबीचको मेलमिलापको नमूना बनेको छ । भक्तजनको सुरक्षाका लागि विशेष साइबर सुरक्षा व्यवस्था सुरु गरिएको छ । साइबर सुरक्षा उत्तर प्रदेश सरकारले प्रिन्ट, डिजिटल र सोसल मिडियासहित प्रत्येक प्लेटफर्म प्रयोग गर्ने निर्णय गरेको छ । एआई, फेसबुक, एक्स र इन्स्टाग्राम जस्ता प्लेटफर्महरू शोषण गर्ने गिरोहहरूको अनुसन्धान गरिरहेका छन् । व्यापक जनचेतना अभियानका लागि मोबाइल साइबर टोली पनि तैनाथ गरिएको छ । उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले प्रयागराज महाकुम्भले ऐतिहासिक रेकर्ड बनाएको बताउँदै धार्मिक पर्यटन अभिवृद्धिमा टेवा पुग्ने धारणा रारे । वनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले १२ वर्षपछि लाग्ने कुम्भमेलामा हिन्दू नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गरे । आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले महाकुम्भ मेलाले क्षेत्रीय धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउने बताए । महाकुम्भमेलामा पहिलो दिन मकर सङ्क्रान्तिका दिन महामण्डलेश्वरले शाही स्नान गर्ने चलन छ । त्यसो त श्रीपञ्चमी, शिवरात्रि र पूर्णिमा पनि शाही स्नान गर्ने प्रचलन छ । उक्त दिन शाही स्नानका कारण केही समय सर्वसाधरण भक्तजनका लागि केही असुविधा हुने समेत आयोजकको भनाइ छ । अन्य दिन भने भक्तजनहरुले सहज रुपमा महाकुम्भ स्नान गर्नेगरी विभिन्न घाटहरु निर्माण गरिएको छभने घाटसम्म पुग्नका लागि मोटरबोट तथा डुङ्गाहरु पर्याप्त मात्रामा उपलब्ध छ। महाकुम्भको इतिहास पुरानो छ । केही ग्रन्थहरुका अनुसार सत्ययुगमा पहिलो महाकुम्भमेला आयोजना भएको मानिन्छ । जसको सुरुआत शङ्कराचार्यले गरेका थिए । जानकारहरुका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा तीर्थालुहरु महाकुम्भ मेला गइरहेका छन् । साथीभाइ, परिवार र समूह बनाएर नेपालीहरु प्रयागराजमा स्नानका लागि गएका हुन् । समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे । यस समयमा राक्षस र देवताहरूबीच भयानक युद्ध भयो । जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ । त्यसबेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा १२–१२ बर्षको अन्तरालमा कुम्भमेला आयोजना गरिएको पाइन्छ । रासस

३०० बढी उद्योग खारेज, नयाँ उद्योग दर्तामा पनि उच्च गिरावट

फाइल फोटो बाँके । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ दुई सय ३८ उद्योग तथा फर्म खारेज भएका छन् । ‘चालु आर्थिक वर्षको छ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलकलगायत उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म दुई सय ३८ गरी जम्मा तीन सय ४६ उद्योग तथा फर्महरु खारेज भएका छन्’, प्रमुख बुढाथोकीले भने, ‘लगतकट्टा (खारेजी) का साथसाथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदै आएका छन् । तर पछिल्ला केही वर्षदेखि लगातार खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ ।’  प्रमुख उद्योग अधिकृत बुढाथोकीका अनुसार छ महिनाको समय अवधिमा विभिन्न प्रकृतिका तीन सय ६८ नयाँ उद्योग र वाणिज्यतर्फ चार सय १० नयाँ फर्म दर्ता भएका छन् । ‘कार्यालयको तथ्याङ्कमा विगत चार-पाँच वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको सङ्ख्या बढेको छ’, उनले भने, ‘आर्थिक मन्दी, बैङ्कको चर्को ब्याज, खुला सिमानालगायत कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरुले गुनासो गर्नुहुन्छ ।’युवाहरुले उद्योग सञ्चालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना गरे पनि विविध कारणले गर्दा उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसकेका कारण खारेज गर्नु परेको उनले भने। प्रमुख बुढाथोकीले भने, ‘युवाहरुले केही गर्छु भनेर उद्योग स्थापना गरे पनि उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसक्दा खारेज गरेर वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नुहुन्छ । कार्यालयका प्रशासन अधिकृत सुशील ढकालका अनुसार चालु आवको छ महिनाको समयमा उद्योगतर्फ ६ सय २७ र वाणिज्यतर्फ एक हजार दुई सय ५६ फर्म नवीकरण भएका छन् । त्यसैगरी, पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तन, नामसारी, ठेगाना परिवर्तनलगायत उद्योगतर्फ तीन सय ४० र वाणिज्यतर्फ चार सय ७७ संशोधन गरिएको छ । त्यसैगरी, वाणिज्यतर्फ नयाँ फर्म दर्ता हुनेभन्दा खारेज गर्नेकै सङ्ख्या बढिरहेको छ । उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्राइभेट फर्म ६ सय ३४ र साझेदारी फर्म १४ गरी कुल ६ सय४८ नयाँ फर्म दर्ता भएका थिए । आर्थिक वर्ष ०८०/८१ मा प्राइभेट फर्म चार सय ५० र साझेदारी फर्म १२ गरी चार सय ६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९/८० मा तीन सय १२ प्राइभेट फर्म खारेजीमा परेका थिए । केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमशः दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो । कार्यालयको तथ्याङ्कले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको देखाएको हो । नयाँ दर्ता-स्थापना भएका उद्योगहरुमा एक सय सात महिला र दुई सय ८६ जना पुरुष गरी जम्मा तीन सय ९३ जना उद्यमी छन् भने ६ सय २० जना महिला र आठ सय ८१ पुरुष गरी कुल एक हजार पाँच सय एकजनाले रोजगारी पाए छन् । नयाँ उद्योग दर्ता, नवीकरण, संशोधन लगायतबाट यस चालु आवको पुससम्ममा उद्योगतर्फ रु ४० लाख ४४ हजार र वाणिज्यतर्फ ७६ लाख ६१ हजार पाँच सय ८५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो । गत आवमा विभिन्न प्रकृतिका सात सय ६० नयाँ उद्योग दर्ता भएका थिए भने दुई सय ३० उद्योग खारेज भएका थिए । आर्थिक वर्ष २०७९/८० मा आठ सय ७६ उद्योग दर्ता भएका थिए भने एक सय ६० उद्योग खारेजी भएका थिए । त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा एक सय ३८ उद्योग खारेज भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा दुई हजार तीन सय ४१ उद्योग दर्ता भएकामा ९६ उद्योग खारेज भएका थिए । कार्यालयका अनुसार नयाँ दर्ता गरिएका उद्योगमा ८१ करोड ६५ लाख ७५ हजार रुपैयाँ र वाणिज्यतर्फ ५७ करोड ९५ लाख ३१ हजार रुपैयाँ बराबरको पुँजी लगानी छ । रासस