सूर्यविनायक-धुलिखेल सडक तीव्रगतिमा निर्माणको माग, दैनिक ५ घण्टा सडक बन्द गर्ने
भक्तपुर ।अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो । भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुले आयोजनासँग माग गरेका छन् । आयोजनाले भक्तपुर काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुसँग सडक निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्न प्रस्ताव राखेपछि नगरप्रमुखहरुले यो प्रस्तावलाई भने अस्वीकार गरेका छन् । राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगरप्रमुखहरुको भनाइ छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताए । निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने भन्दै उनले सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्ग वरपरका टहरा विना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्ने बताए । आयोजनासँग भएको छलफलमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गर्दै सूर्यविनायक–धुलिखेल राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने बताए । जनतालाई समस्या नपर्नेगरी स्थलगत अवालोकन गरेर मात्र आंशिक रुपमा बाटो बन्द गर्नुपर्ने उनको भनाइ थियो । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले सडक निर्माणको काम गर्ने निर्माण व्यवसायीले जनतालाई समस्या नपर्नेगरी गर्नुपर्ने बताए । उनले सडक मर्मत र वैकल्पिक बाटोको समेत आवश्यक व्यवस्था पनि निर्माण व्यवसायी वा सडक विभागले नै गर्नुपर्नेमा जोड दिए । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रात्रिकालीन समयमा सडक निर्माणको काम गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए । सूर्यविनायक धुलिखेल सडक ७.५ किमीको विस्तारका लागि कुल रु तीन अर्ब ८८ करोडमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको हो । रासस
एआई प्रवर्द्धनमा ५ सय अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ओपनएआई, सफ्टबैंक र ओरेकलबाट ५ सय अर्ब अमेरिकी डलरको लगानीको घोषणा गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले तीन कम्पनीहरू स्टारगेट नामक नयाँ एआई पूर्वाधार कम्पनीमा साझेदारी गर्न तयार रहेको बताएका हुन् ।जसले देशभरका डाटा सेन्टरहरूसहित एआईको अर्को पुस्तालाई शक्ति दिन भौतिक र भर्चुअल पूर्वाधार निर्माण गर्नेछ । कम्पनीहरूले सय अर्ब डलरको लगानीबाट सुरु गर्नेछन् । जसमा आगामी चार वर्षमा परियोजनामा पाँच सय अर्ब डलरसम्म लगानी गर्ने योजना छ ।
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताइन् । ‘उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ । यसका लागि बैंकसँग सम्झौतासमेत गरिसकिएको छ’, उनले भनिन्, ‘उद्यमीले बैंकबाट लिएको रु पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ । यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ ।’ उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ । वडा–वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिनाब्याज ऋण पाउने भएपछि उत्साहित भएका छन् । नगरपालिकाले गरेको सिफारिसअनुसार निवेदकको धितो मूल्याङ्कन गरेर बैंकले ऋण प्रदान गर्ने प्रभु बैंक हलेसी शाखाका प्रमुख तीर्थराज विष्टले बताए।यसैबीच, एघार वडा रहेको उक्त नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरु गरेको छ । रासस
लसुन प्रतिकिलो ३०० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, गोलभेँडा सानो भारतीय रु ३० आलु रातो प्रतिकेजी रु ४४, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई) प्रतिकेजी रु ४०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ७०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ७०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १४०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ३५, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ५०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३२० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, सजिवन रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ६०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १००, हरियो धनिया प्रतिकेजी रु ३०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन, जता हेर्यो उतै हराभरा
महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हेर्यो उतै हराभरा छ । सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नङ्ग्रा खियाएका तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदीउकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट हलहली बढ्दैछन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका ११ हजार बोट हुर्कदैछन् । बगैँचाभित्र तरकारी बाली लहलह छ । यो बगरमा कुष्माढीका दुई सय एक भूमिहीन किसानको मेहनत हाँसेको छ ।गौशाला नगरपालिकाले भूमिहीन किसानको परिवार सङ्ख्याका आधारमा चार कट्ठादेखि १० कट्ठासम्म जग्गा छुट्याइदिएपछि २०७८ को अन्त्यतिर खनजोत थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समुन्नति कार्यक्रम, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र गौशाला नगरपालिकाको साथले किसानको हौसला बढेको छ । हराभरा बगरमा कतै गहुँ लहलह बढ्दैछ । कतै आलु धमाधम खनिँदै छ । किसानले जैविकखेती गर्ने हुँदा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा पर्छन् । अहिले यहाँका किसानलाई उपभोक्ता ग्राहकलाई आलु तौलेर दिन भ्याइनभ्याइ छ । ‘आलु लिने धेरैजसो खेतमै आइपुग्छन्’, आलुखेतीका किसान चन्द्रकला महरा भन्छिन्, ‘बगरखेती थालिकन गुजाराकै चिन्ता लिनुपरेको छैन’, बगरखेतीमा कुष्माढीका मुसहर, चमारसहितका गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति संलग्न छन् । यहाँका किसानलाई गौशाला नगरपालिकाले नदीउकास क्षेत्रभित्रका चार किलोमिटर क्षेत्रभित्र विद्युतीकरण, दुई वटा डिपबोरिङ र सिँचाइका लागि छ वटा पोखरी निर्माण गरी दिएको छ । यसैगरी समुन्नति कार्यक्रमले मलका लागि गड््यौलाखेती गर्न सिकाएको छ । यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चले खेतीमा प्राविधिक र बीउबिजनको सहयोग गरेपछि आफूहरुलाई खेतीमा जाँगर बढेको किसान कामेश्वर महतो बताउँछन् । ‘हामीसँग आफ्नो जग्गा थिएन, नगरपालिका र अरु संस्थाको सहयोगले खेती गर्ने जग्गा र अन्य सहयोग पायौँ, अब कसैकहाँ मजदुरी गर्न जान परेको छैन’, महतो भने, ‘हामी मजदुरलाई बगरखेतीले किसान बनायो ।’ बगरखेती गर्न थालेपछि कहिल्यै धन सञ्चय नगर्ने जाति समुदायको परिचय बनेका मुसहर पनि उम्दा किसानमा दरिएका छन् । मधेसमा मुसहरका लागि ‘न राख्ने अन्न, न साँच्ने धन’ भन्ने आहानै छ । कृषि कार्यमा पोख्त मानिने मुसहरको किसानका खेतमा मजदुरी गरेर गुजारा चलाउने स्थापित परिचय छ । पछिल्लो कालमा सनीखोलाको नदीउकास जग्गा पाएपछि आफ्नै खेती थालेका मुसहर अन्न र नगद सञ्चय गर्न सक्षम भएका छन् । ‘नदीउकास बगर पाएको पहिलो वर्ष त ढुङ्गा, गेग्य्रान खोस्रेर छेउ लाउँदै बित्यो, दोस्रो वर्षदेखि फसल लिन पाएका छौँ’, कुष्माढीका मुसहर समुदायकी ३५ वर्षीया कविता सदा भन्छिन्, ‘अब जहान परिवारको प्रतिपाल यही बगर खोस्रेर पुग्छ ।’ पहिलेको बलौटे ढड्यान जग्गा नियमितको खनजोत, सिँचाइ र जैविक मलले अब उर्बर जग्गा बनेको छ । उत्तरतिर वनक्षेत्रसँगै जोडिएको यो जग्गामा वनक्षेत्र, खोल्साखोल्सी र खोलाले बगाएर ल्याएको पाँगो माटोले रोपिएका फलका रुख दुई वर्षमै हुर्केका र बालीनाली पनि हलक्क बढ्ने गरेको गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामी बताउँछन् । केही पहिलेसम्मका गरिब बगरखेतीले राम्रा किसान बनेका र उनीहरुको मेहनतले नदीउकास क्षेत्र हराभरा देखिँदा जग्गा बाँडिएको कुराले निकै सन्तोष दिने गरेको गौशालाका नगरप्रमुख डा दीपेन्द्र महतोको भनाइ छ । बगरखेतीका किसानलाई नगरपालिकाले गरेको सहयोग खेर नगएको हुँदा यस कामले आफूलाई निकै हौस्याएको डा महतो बताउँछन् । ‘किसानका साथमा नगरपालिका छ, मेहनत किसानले गर्छन्, साथ हाम्रो रहन्छ’, डा महतोले भने । यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले पनि आफ्नो संस्थाबाट बगरखेतीका किसानलाई साथ सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । ‘हाम्रो मेहनत सफल भएको छ, सबैको साथ रहीरहे हामी बगरमा सुन फलाउँछौँ’, कुष्माढीकी किसान बिना पासवान भन्छिन् । सनीखोलाको बगरखेती अवलोकन गर्न टाढाटाढाबाट किसान समूह त्यहाँ पुग्ने गरेका छन् । रासस
कवाड व्यवसायीमाथिको धरपकड बन्द गर्न जसपाको माग
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीमाथि भइरहेको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसपाले बुधबार विज्ञप्ति जारी गर्दै कवाड व्यवसायीलाई काठमाडौं महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गर्नु निन्दनीय कार्य रहेको भन्दै यस्ता कार्य बन्द गरी व्यवसायिक सुरक्षाको वातावरण बनाउन माग गरेको छ । ‘महानगरले कवाड व्यवसायीलाई गालीगलौज र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु अत्यन्त गलत र नियन्दनीय कार्य भएकोले यस्ता कार्यलाई यथाशीघ्र बन्द गरी कवाड व्यवसायीहरुको सुरक्षाका साथै स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भौतिक अधिकारको प्रत्याभूति गराउन जसपा सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । देशभर सञ्चालिन उद्योगलाई आवश्यक कच्चापदार्थ उपलब्ध गराउनाका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा हाल कवाड व्यवसायमा निम्न आयस्तर भएका व्यक्तिहरु आबद्ध रहेको र खासगरी अधिकांश मधेशी समुदायको उपस्थिति रहेको यस क्षेत्रका व्यवसायी वर्षौंदेखि कानुनसम्मत तवरले काठमाडौं उपत्यकामा व्यवसाय तथा सेवा गर्दै आएको र लाखौँलाखलाई रोजगार प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकका लागि आकर्षक योजना
काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको छ । यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने कम्पनीकाे विश्वास छ । कम्पनीका अनुसार यस नयाँ योजनाअन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेनईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । यस योजनामा माउन्टेन ईभीको लागि ९.९९ लाख रूपैयाँ र टीएमवानको लागि ५.९९ लाख रूपैयाँसम्मको डाउनपेमेन्ट पनि समावेश छ। जसले विद्युतीय सवारीसाधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने छ। यसकासाथै, ग्राहकहरूले आर्थिक वर्ष २०८१/८२ को लागि एकवर्षको नि:शुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरूको आनन्द लिन सक्नेछन् । घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि नि:शुल्क पाउनेछन् । यसमाथि अझै मूल्य थप्न यो योजनाले नि:शुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप-अप बेस्टभ्यालुएसन बोनस पनि समेट्छ । यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारी साधनहरूलाई अझ पहुँच योग्य र किफायती बनाउने लक्ष्य राखेको छ । यो सीमित-समयको अफर माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य स्थिर रहेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४२ पैसा कायम भएको छ । बुधकार अमेरिकी डलर एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम थियो । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ५९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्री दर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।