विकासन्युज

निर्माण व्यवसायीले काठमाडौं बन्द गर्न सक्छन् ? हुन सक्छ अर्बौंको क्षति

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राजधानी काठमाडौं प्रवेश गर्ने नाका बन्द गर्ने चेतावनी दिएपछि अहिले यो विषय चौतर्फी बहस भएको छ । महासंघले १४ बुँदे मागसहित पाँच चरणको आन्दोलन गर्ने अन्तर्गत राजधानी काठमाडौंका पूर्वी पश्चिम नाका बन्द गर्ने घोषणा गरेपछि अहिले यो विषयमा चर्चा भइरहेको छ । निर्माण कार्य हुने सिजनमै सिमेन्ट उद्यमीहरूबाट बिना ठोस कारण नै खुलेआम कार्टेलिङ एवं कालोबजारी गरी सिमेन्टका साथै डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धि, भुक्तानी अभाव, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विगतका सहमति कार्यान्वयन, निर्माण आयोग गठनसहितका बुँदामा केन्द्रित रही आन्दोलन गर्ने निर्णय महासंघले गरेको छ । महासंघका अनुसार पहिलो चरणमा माघ ३ गतेदेखि ७ गतेसम्म व्यवसायीहरूले प्रधानमन्त्री, विकासे मन्त्रालयका उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू विभिन्न राजनीतिक दलका सम्बन्धित संघीय सरकारी निकायहरू, प्रदेश महासंघले सम्बन्धित प्रदेश मुख्यमन्त्रीलाई र जिल्ला संघले सम्बन्धित् प्रमुख जिल्ला अधिकारीलाई माग पूरा गराउन यहीं माघ १५ गतेभित्र माग पूरा गर्न अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको छ । दोस्रो चरणमा माघ १८ देखि माइतीघर मण्डलामा धर्ना दिने, तेस्रो चरणमा माघ २० देखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने, चौथो चरणमा माघ २१ देखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरू ठप्प पार्ने र अन्तिम चरणमा त्यसपछि राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने महासंघले गत साता नै पत्रकार सम्मेलनमा बताएको थियो । राजधानीका नाका बन्द गर्न सम्भव छ ? महासंघले काठमाडौंका पूर्वी पश्चिम नाका बन्द गर्ने घोषणा गरेपछि अहिले यसको चौतर्फी आलोचना समेत भइरहेको छ । महासंघले काठमाडौं बन्द गर्न सक्ला त भन्ने प्रश्न पनि अहिले उब्जिरहेको छ । एकदिन काठमाडौं बन्द हुँदा अर्बौं क्षति हुन सक्ने विश्लेषकहरु बताउँछन् । महासंघका अध्यक्ष रवि सिंहलाई विकासन्यूजले यही विषयमा जिज्ञासा राखेको छ । उनी भन्छन्, ’सकभर त यो अवस्था नआओस् भन्ने चाहान्छौं । तर आइहाल्यो भने अवस्था हेरेर राजधानी प्रवेश गर्ने पश्चिमी नाका नागढुङ्गादेखि पूर्वी नाका धुलीखेलकाभ्रेसम्म आवतजावत हुने सवारीसाधन बन्दा गछौं ।’ उनले सिमेन्टको मूल्यवृद्धिका कारण हाल देशभरका नागरिक पीडित बनेको बताए । ’सिमेन्टको मूल्यवृद्धिका कारण हाल देशभरका नागरिकहरु नै पीडित बनेका छन् र निर्माण सामग्री विक्रेताहरूले नै हामीलाई समर्थन गरिरहेका छन् । हामीसँग आन्दोलनमा देशैभरका नागरिकको साथसहयोग रहन्छ । जसले गर्दा नाका बन्द गर्ने हाम्रो प्रयास सम्भव छ हुनेछ,’ उनले भने । अध्यक्ष सिंहले बिक्रेताहरूले मोरङ र सुनसरीमा निर्माण सामग्रीको सटर नै बन्दा गरेको जानकारी दिए । यस्तै, सुनसरीमा सडक जाम गरेको र कैलाली कञ्चनपुरतिर आन्दोलन गरिरहेको जानकारी दिए । उनले भने, ’हाम्रो उद्देश्य भनेको नाका बन्दा गर्नेभन्दा पनि सरकारको दृष्टि नपुगेको भएर खबरदारी गर्ने नै बढी केन्द्रित हो । तर हामी यस्तो अवस्था सिर्जना हुन नदिन अझै लागिरहेका छौं । अल्टीमेटम दिएका छौं । नाकाभन्दा अगाडि माइतीघर र प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ गर्ने कार्यक्रम छ ।’ उनले आगामी १५ गतेसम्मको अल्टिमेटम दिएको र सम्बोधन गरिएन भने १८ गतेदेखि आफूहरूका आन्दोनका कार्यक्रमहरू सशक्त ढंगले अगाडि बढाइने जानकारी दिए । २६ हजार बढी सवारी ठप्प काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार गत आवमा उपत्यकामा जम्मा ९४ लाख ३७ हजार २ सय १० सवारीसाधन आवतजावत भएका छन् । पश्चिमी नागढुङ्गा नाकामा जम्मा ५५ लाख ६ हजार ४ सय ४० सवारीसाधन आवतजावत भएका थिए भने पूर्वी नाका भक्तपुरबाट ३३ लाख ४५ हजार ६ सय २ सवारीसाधन आवतजावत भएका थिए । यस्तै, मुडखु नाकाबाट १ लाख १७ हजार ४ सय २८ सवारी साधन आवतजावत भएका थिए । यस्तै, फर्पिङ नाकामा ४ लाख ७ हजार ७ सय ४० सवारीसाधन आवतजावत भएका थिए । यस्तै साँखु नाकामा भने कुनै पनि सवारीसाधन आवतजावत नभएको उपत्यका ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै, चालु आव सुरु भएयता काठमाडौं उपत्यकामा हालसम्म जम्मा ९७ लाख २० हजार ५ सय ३८ सवारीसाधन आवतजावत भएका छन् । उपत्यकाका विभिन्न नाकाहरुबाट सवारीसाधन आवतजावत भएका छन् । जसमा नागढुङ्गा नाकाबाट ५४ लाख ५८ हजार ८ सय ३३ सवारीसाधन आवतजावत भएका छन् । यस्तै, भक्तपूर नाकाबाट ३४ लाख ६९ हजार ७ सय २ सवारी साधन आवतजाावत भएका छन्। यस्तै, मुड्खु नाकाबाट १ लाख १३ हजार ४ सय ७७ सवारीसाधन आवतजावत भएका छन् । फर्पिङ नाकाबाट ५ लाख ९२ हजार २ सय ७८ सवारीसाधन आवतजावत भएको जनाइएको छ । साँखु नाकाबाट ८६ हजार २ सय ४८ सवारीसाधन आवतजावत भएका उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । वार्षिक ९७ लाख सवारी आवतजावत हुने नाकाबाट मासिक पौने ८ लाख र दैनिक २६ हजार बढी सवारी आवागमन हुन्छन् । अब महासंघले २६हजार बढी सवारीको आवागमन ठप्प गर्ने निर्णय गरेको हो । मानव अधिकार आयोग भन्छ : महासंघलाई अधिकार छैन राष्ट्रिय मानव अधिकार आयोगले निर्माण व्यवसायीका जति पनि मागहरू छन् ती सरकार तथा सम्बन्धित निकायले गम्भीरतापूर्वक सम्बोधन गरी समाधान गर्नुपर्ने बताएको छ । समस्याको विकल्प बन्दा हड्ताल मात्रै नभएको आयोगले जनाएको छ । आयोगका सदस्य हन मिहिर ठाकुरले समस्याको समाधान बन्द मात्रै नभएको बताए । ‘राजमार्ग भनेको सबैको साझा हो । कुनै एक ठाउँ अर्को ठाउँमा आवतजावत गर्ने अधिकारलाई संविधानले मौलिक अधिकारका रूपमा संरक्षण गरेको छ । यो अधिकारको सम्मान गर्नु सबैको दायित्व हो,’ उनले भने । सदस्य ठाकुरले मागहरू सक्ने जति सरकारले सम्बोधन गरिदिनुपर्ने बताउँछन् । उनका अनुसार यसमा राष्ट्रिय मानव अधिकार आयोगले पनि समन्वयात्मक भूमिका खेल्न तयार छ । बाटोघाटो बन्दा गर्दा नागरिकको अधिकारमा असर पर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘बन्दको राजनीति राम्रो होइन । सरकारले यसको समाधान खोज्नुपर्छ ।’ उनले यदि आन्दोलन नै गर्नुपर्ने अवस्था आएमा सांकेतिक रूपमा आन्दोलन गर्न आग्रह गरे ।उनले मानव अधिकार आयोग भनेको सबैको अधिकारको सुनिश्चितता गर्ने संवैधानिक निकाय भएको र यसले जीवन, समानता, स्वतन्त्रता र मर्यादा यो मानव अधिकार भएको बताए । यस्तै, अमेरिका, चीन, जापानलगायत विकसित राष्ट्रहरूमा पनि आन्दोलन हुने गरेको तर उनीहरूले कालोपट्टी मात्रै बाँध्ने चलन रहेको उनले सुनाए । ठाकुरले भने, ‘पहिले-पहिले सरकारबाट मानव उल्लघंन हुन्थ्यो । सरकारको प्रशासन सेना, प्रहरीलगायतले मानव उल्लघंन गर्थे र अझै पनि कहिलेकाही गर्छन् । तर अब संसारभरि नै ठूला-ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू छन्, निर्माण गर्ने उद्योग व्यवसासीहरू छन् । उनीहरूको बजेट नै नेपालको बजेटभन्दा सयौं करौडौं गुणा ठूलो छ । अझै भन्ने हो भने उनीहरूले ठूलो उत्पादन गर्छन् ।’ उनले नेपालमै पनि ठूला कम्पनीहरू रहेका र ती कम्पनीका व्यवसायीहरूले मानव अधिकारको हनन् गरिरहेका बताए । उनले मानव अधिकारको हननलाई नियन्त्रण गर्न लागि नेपाल सरकारले गत वर्षको पुसमा राष्ट्रिय कार्ययोजना तयार गरेको जानाकारी दिए । उनका अनुसार मानव व्यवसायी र मानव अधिकारसम्बन्धि राष्ट्रिय कार्ययोजना, २०८० बनेको छ । कार्ययोजना उद्योग व्यवसायी र उद्यागीले पालना गर्नेुपर्ने नागरिक र उपभोक्ताका अधिकारहरू छन् । उद्योगी र व्यवसायीहरूबाट हनन् नहोस् भनेर कार्ययाजेना बनाइएको उनको भनाइ छ ।

५२ अंकले बढ्यो सेयर बजार, सबै उपसमूहमा हरियाली

काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा कायम भएकोा छ । आज ३२२ स्टकको ९० हजार ६९६ पटक कारोबारमा एक करोड ७६ लाख ९२ हजार ८१९ सेयर खरिद-बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहमै हरियाली देखिएको छ । सबैभन्दा धेरै अन्य उपसमूहको परिसूचक बढेको छ । उक्त उपसमूह ४.२४ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ १.३२, विकास बैंक २.७४, वित्त ०.८९, होटल तथा पर्यटन २.७१, जलविद्युत २.१२, लगाानी ३.८२, जीवन बीमा १.८९, उत्पादन ०.०८, माइक्रोफाइनान्स १.०७, म्युचल फण्ड ०.४९, नीर्जीवन १.०० र व्यापार २.४५ प्रतिशतले बढेको छ । मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्टी पावर सेयरको कम्पनीमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, बारही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.२१ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६१ करोड ३६ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको ४१ करोड २९ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ । अन्य कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख ९५ हजार, सीईडिबी होल्डिंग्स २९ करोड ४२ लाख र सप्तकोशी विकास बैंकको २५ करोड ८ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

बृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा, उत्पादन क्षमता ८० मेट्रिक टन

  काठमाडौं । केडिया व्यावसायिक समूहअन्तर्गतको एक विश्वसनीय ब्राण्ड वृज एडिटिभ्सले आफ्नो नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । वृज एडिटिभ्सले बुधबार काठमाडौंमा रहेको आफ्नो कार्यालय हात्तीसारमा पत्रकार सम्मलेनको आयोजना गरी टायल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाटरप्रूफिङ सिस्टम, टायल ग्राउट र रेडी मिक्स प्लास्टर बजारमा ल्याएको घोषणा गरेको हो । यो घोषणा बृज एडिटिभ्सको नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकता पूरा गर्न नवीन समाधान प्रदान गर्ने प्रतिबद्धताको हिस्सा हो । सय वर्षभन्दा बढी भइसकेको नेपाली व्यवसायमा उक्त कम्पनी विश्वासिलो र भरपर्दो हिस्सा ओगटेको वृज उडिटिभ्स्ले विगत ३ वर्षदेखि अत्याधुनिक प्रविधिबाट स्वदेशी उत्पादनलाई जोड दिँदै आएको छ । कम्पनीका उत्पादनहरू निर्माणलाई मजबुत, दीगोपन र उच्चस्तरको स्थायित्व प्रदान गरिरहेको कम्पनीले दाबी गरेको छ । यस्तै देशभरि सुरक्षित पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । वृज एडिटिस प्रालिका प्रबन्ध निर्देशक रञ्जन कुमारले भने, ‘हामी आज केडिया अर्गनाइजेसन उद्योगले सामना गरिहेका चुनौती पूरा गर्न विशेष रूपमा तयार गरिएका नयाँ निर्माण सामग्री बजारमा ल्याउन पाउँदा उत्साहित छाैं । नवीनता र गुणस्तर हाम्रो प्रत्येक कार्यको केन्द्रमा छन् । यो नयाँ उत्पादन शृङ्खला नेपालको निर्माण अभ्यास सुधार गर्न हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’ यस नयाँ सुरुवातसँगै वृज एडिटिभ्स प्रालि नेपाली निर्माण सामग्री उद्योगमा आफ्नो स्थान कायम जारी राखेको छ । नयाँ उत्पादन शृङ्खलाले उच्च गुणस्तरका समाधान मात्र प्रदान गर्दैन, आफ्नो विश्वासमा सुनिश्चितसमेत गर्दछ ।’ बजारमा आएका नयाँ उत्पादन टायल एडिसिभ : उच्च प्रदर्शन गर्ने टायल एडिसिभ, जुन सबै प्रकारका टायलिङ कार्यका लागि मजबुत र लचिलो टायल फिक्सेसन सुनिश्चित गर्दछ । टायल फिक्स:  यो एक पोलिमर मोडिफाइड, भित्ताको टायलका लागि सिरामिक टायलहरूको एडहेसिभ हो, जुन आन्तरिक क्षेत्रमा प्रयोग गरिन्छ । यो सिमेन्टमा आधारित सतहमा ठाडो (भित्तामा) आवेदनको लागि उपयुक्त छ । यसलाई सुक्खा मिक्स मोर्टारको रूपमा आपूर्ति गरिन्छ, जसमा आवेदनअघि पानी थप्न आवश्यक हुन्छ र यो भिट्रिफाइड टायलहरू, भारी मार्बल / ग्रानाइट आदि जस्ता घना र चिल्लो कंक्रीट सतहहरूमा टायल टाँस्न अत्यन्तै उपयुक्त हुन्छ । फ्लोर हार्डनर : फ्लोर हार्डनर विशेष प्रकारको सामग्री हो, जुन कंक्रिटको सतहलाई अधिक टिकाउ र प्रतिरोधी बनाउन प्रयोग गरिन्छ । यो सामान्यतया उच्च यातायात क्षेत्रमा औद्योगिक फ्लोर, गोदाम र पार्किङ स्थलमा प्रयोग गरिन्छ । जहाँ कंक्रिटको सतहलाई घर्षण, प्रभाव र रासायनिक पदार्थबाट बचाउन आवश्यक हुन्छ । रिपेयर कंक्रिट: उन्नत कंक्रिट मर्मत समाधानले मौजुदा संरचनामा रहेका फाँट र क्षतिलाई सम्बोधन गर्दछ, जसले तिनको आयु बढाउँछ । ब्लक मोर्टार : ब्लक मोर्टार एक विशेष प्रकारको मोर्टार हो, जुन ब्लकले संरचना निर्माण गर्दा तिनलाई आपसमा जोड्न प्रयोग गरिन्छ । यो सामान्यतया सिमेन्ट, बालुवा र पानीको मिश्रणबाट तयार गरिन्छ । जसले बलियो बन्धन र स्थायित्व सुनिश्चित गर्छ । वाटरप्रफिङ सिस्टम : यो उन्नत वाटरप्रूफिङ समाधान भित्र र बाहिर दुवै प्रकारका एप्लिकेसनका लागि पानीको छिर्कनविरुद्ध उत्कृष्ट सुरक्षा प्रदान गर्दछ । टाइल ग्राउट : विशेष गरी टाइलमा रहेको खाली स्थानमा भर्न र टायल तथा कंक्रिट संरचनाको दीर्घकालीन स्थिरता सुनिश्चित गर्न बलियो बनाउन डिजाइन गरिएको हुन्छ, जसमा तीन प्रकारको टायल ग्राउट रहेको छ। रेडी मिक्स प्लास्टर : रेडी मिक्स प्लास्टर पूर्वमिश्रित प्लास्टर हो, जुन निर्माणस्थलमा तुरुन्त प्रयोग गर्न तवार हुन्छ । यसलाई सिमेन्ट, बालुवा र रासायनिक एडिटिभको मिश्रणबाट तयार गरिन्छ । जसले प्लास्टरको गुणस्तर र प्रदर्शन सुधार गर्छ । कम्पनीको उत्पादन क्षमता ८० मेट्रिक टन यस कम्पनीको स्थापना सन् २०२२ मा भएको थियो । यो नेपालमा मजबुत र दिगोपन प्रदान गर्ने निर्माण समाग्रीहरूको अग्रणी निर्माता हो । यसले औद्योगिक र आर्थिक विकासमा विगत १०० वर्षदेखि योगदान पुर्‍याउँदै आएको छ । यस कम्पनीको दैनिक उत्पादन क्षमता ८० मेट्रिक टन रहेको छ । यसले निर्माण उद्योगलाई नवीन र टिकाउ प्रदान गरी सबैको माझ लोकप्रिय हुने लक्ष्य राखेको छ ।

डिशहोम इन्टरनेट वार्षिक जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर अफर

काठमाडौं । डिशहोमले आफ्नो सबै इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित नि:शुल्क राउटरको अफर ल्याएको छ । यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो । पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् । नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सकिने छ।

बीवाईडीको ‘सीलायन सेभेन ई एसयूभी’ भारतमा सार्वजनिक

काठमाडौं । बीवाईडी भारतले सीलायन सेभेन ई एसयूभी सार्वजनिक गरेको छ । बीवाईडी भारतले भारत मोबिलिटी ग्लोबल एक्स्पो- २०२५ मा सीलायन सेभेन ई एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरेको हो । बीवाईडी भातरले पूर्ण विद्युतीय एसयूभीको को बुकिङ सुरु भइसकेको जनाएको छ। शक्ति र नवप्रवर्तनको मेल सीलायन सेभेनमा ८२.५६ किलोवाट हावर्स ब्लेड ब्याट्री रहेको छ । यो ईभी प्रिमियम र परफर्मेन्स भेरियन्टमा उपलब्ध छ । परफर्मेन्स भेरियन्ट: ३९० किलोवाट (६९० एनएम), ०-१०० किमि/घण्टा ४.५ सेकेन्डमा, ५४२ किमि दायरा प्रिमियम भेरियन्ट: २३० किलोवाट (३८० एनएम), ०-१०० किमि/घण्टा ६.७ सेकेन्डमा, ५६७ किमि दायरा यो एसयूभी वोल्फग्याङ एगरले डिजाइन गरेका हुन्, जसमा एयरोडायनामिक ‘ओसियन एक्स’ शैली, १५.६ इन्चको घुम्ने टचस्क्रिन समावेश छन् । प्रविधिको मुख्य विशेषता भीटीओएल (भेइकल-टु-लोड) क्षमता जसले विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । स्मार्ट टोर्क कन्ट्रोलले ह्यान्डलिङ सुधार्छ । यसको आधिकारिक मूल्य फेब्रुअरी १७ मा सार्वजनिक गरिने जनाइएको छ ।

टाटा समूहको ‘टीसीएस’को ब्रान्ड मूल्यांकन २१ अर्ब डलर, विश्वकै दोस्रो आईटी सेवा कम्पनी

काठमाडौं । टाटा समूहको आईटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस)को ब्रान्ड मूल्याङ्कन २१.३ अर्ब डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यससँगै यो दोस्रो ठूलो विश्वव्यापी आईटी सेवा ब्रान्ड बनेको छ । ८२६ प्रतिशतको वृद्धि कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै विगत १५ वर्षमा आफ्नो ब्रान्ड मूल्याङ्कन ८२६ प्रतिशतले बढेको बताएको छ । सन् २०१० मा टीसीएसको मूल्याङ्कन २.३ बिलियन डलर थियो । कम्पनीले नवप्रवर्तन, ग्राहक सन्तुष्टि र रणनीतिक मार्केटिङको पहलले यो स्तरको विकास सम्भव भएको जनाएको छ । २० अर्ब डलर नाघ्ने दोस्रो कम्पनी ब्रान्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष डेभिड हेगले ब्रान्ड फाइनान्सले दुई दशकदेखि टीसीएसलाई पच्छाउँदै आएकाे बताए । उनले भने, ‘ब्रान्ड फाइनान्समा हामीले लगभग दुई दशकदेखि टीसीएसलाई पछ्याउँदै आएका छौं । कम्पनीले आफ्नो व्यवसायलाई कसरी नवीनता दिइरहेको छ र आफ्नो ब्रान्डलाई कसरी बढाइरहेको छ भन्ने कुराबाट म निरन्तर प्रभावित छु ।’ उनले टीसीएसको निरन्तर प्रयासले उनीहरूलाई एक कोसेढुङ्गामा पुर्‍याएको बताए । उनले भने, ‘ ब्रान्ड मूल्यमा २० अर्ब डलरको ऐतिहासिक अंक पार गर्ने उद्योगको दोस्रो कम्पनी टीसीएस बनेकाे छ । ब्रान्डलाई गर्वका साथ अगाडि बढाउने सबै ६ लाख कर्मचारीलाई बधाई छ ।’ ब्रान्ड मूल्य नौ गुणा बढ्यो टाटा कन्सल्टेन्सी सर्भिसेजका प्रमुख मार्केटिङ अधिकृत अभिनव कुमारले टीसीएसको ब्रान्ड मूल्य नाै गुणाले बढेको जानकारी दिए ।उनले सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद पनि दिएका छन् । दौडहरूको प्रायोजन टीसीएसले विश्वभर १४ प्रमुख दौडहरूलाई प्रायोजन गर्दै आएको छ । जसमा न्यूयोर्क, लन्डन, बोस्टन, शिकागो जस्ता सहरहरू समावेश छन् । अब यसमा सिड्नीको नाम पनि थपिएको छ । यसमा प्रत्येक वर्ष ६ लाखभन्दा बढी धावकहरू संलग्न हुन्छन् र यसले फ्युचर एथलीट प्रोजेक्ट जस्ता पहलहरूलाई पनि समर्थन गर्दछ । कम्पनीले जगुआर टीसीएस रेसिङसँग पनि साझेदारी गरेको छ, जसले विश्वको पहिलो पूर्ण-विद्युतीय रेसिङ शृङ्खला, एबीबी एफआईए फर्मुला ई वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्छ ।

के एलियनले अस्ट्रेलियाको पहाडमा घर बनाएका थिए ? वैज्ञानिकहरूले सुल्झाए १४ सय वर्ष पुरानो रहस्य

काठमाडौं । अष्ट्रेलियाको मेलबर्न सहरको पहाडमा बनेका १ हजार ४०० वर्ष पुरानो रहस्यमय ‘एलियन रिंग’ को रहस्य वैज्ञानिकहरूले सुल्झाएका छन् । वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि यी वास्तवमा वुरुन्डजेरी वोइ-वुरुङ नामक आदिवासी समुदायका मानिसहरूको समयमा बनाइएका प्राचीन स्मारकहरू हुन् । यो आदिवासी समुदाय यस ठाउँको परम्परागत मालिक हुन् । अहिलेसम्म स्थानीय मानिसहरू यी अनौठा औंठीहरू देखेर छक्क पर्थे । उनीहरूले ती घरहरूलाई एलियनहरूले बनाएका वा प्राकृतिक रूपमा सिर्जना गरिएका संरचनाहरू ठान्थे । अस्ट्रेलियाली पुरातत्वमा प्रकाशित एक अध्ययनले यी एलियन घेराहरूको बारेमा नयाँ जानकारी प्रदान गरेको छ । द सनको रिपोर्ट अनुसार अष्ट्रेलियाको पूर्वी भाग न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा एक पटक ४०० भन्दा बढी यस्ता संरचनाहरू थिए । आज यीमध्ये लगभग १०० वटा मात्र बाँकी छन् । यो विश्वास गरिन्छ कि जब युरोपेलीहरूले यो भूमि कब्जा गरे उनीहरूले त्यस्ता धेरै घेरा नष्ट गरे । प्राचीन समयमा बनाइन्थ्यो औंठी प्राचीन समयमा आदिवासीहरूले माटो खनेर सयौं मिटर चौडा ठूला घेराहरू बनाउँथे । यी कुराहरू आज पनि आदिवासी मानिसहरूका लागि ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिन्छन् । वुरुन्डजेरी वोइ-वुरुङ संस्कृतिका विज्ञहरू भन्छन् कि यी औंठीहरू युरोपेली कब्जा, उपनिवेशवाद र त्यस समयका मानिसहरूको जीवन जस्ता विषयवस्तुहरूलाई प्रतिबिम्बित गर्न प्रयोग गरिन्छ । वुरुन्डजेरी वोइ-वुरुङ मानिसहरूले २०२२ मा नयाँ पुरातात्विक उत्खननको नेतृत्व गरे, जसले गर्दा यी नयाँ खुलासाहरू भएका छन् । यी औंठीहरू आदिवासी पुर्खाहरूको लागि एक औपचारिक भेटघाट स्थल मानिन्छन् । यसलाई पहिलो पटक सन् १९७९ मा पुरातत्वविद् डेभिड फ्रान्केलले उत्खनन गरेका थिए । यस प्रारम्भिक उत्खननमा लगभग १६६ वटा कलाकृतिहरू फेला परेका हुन् । अनुसन्धानले देखाएको छ कि घेराहरू ५९० देखि १ हजार ४०० वर्ष पहिलेको बीचमा सिर्जना गरिएको थियो । अनुसन्धानले देखाउँछ कि त्यस समयका मानिसहरू आगो बाल्ने र ढुङ्गाका औजार बनाउने गर्थे । यो अध्ययनले अष्ट्रेलियाको पुरातत्वको बारेमा वैज्ञानिकहरूको बुझाइ बढाउँछ । दक्षिण अष्ट्रेलियाको भिक्टोरियाको सडबरी वरिपरि पाँचवटा घेराहरूको संग्रह छ । यी घेराहरू सयौं मिटर चौडा छन् र माटो खनेर र ढिस्को बनाएर सिर्जना गरिएका हुन् । आदिवासीहरूले औंठी बनाउन ढुङ्गाको विशेष प्रयोग गर्थे।

सीजी मोटर्सले नेपालमा सार्वजनिक गर्‍यो आयन भी, मूल्य ६५ लाख रुपैयाँ

काठमाडौं । सीजी मोटर्सले आयन भीको औपचारिक रूपमा सार्वजनिक गरेको छ । सीजी मोटर्सले मंगलबार आयन भी सार्वजनिक गरेको हो । चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले बुधबार उद्घाटन गरेको कार्यक्रममा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु, र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो । कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरे । आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको कम्पनीले जनाएको छ । उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ । आयन भी एलिट र लक्जरी गरी दुई भेरियन्टमा उपलब्ध छ । एलिट भेरियन्टले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ, जुन ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रीबाट सञ्चालित छ । लामो यात्रा चाहनेहरूका लागि लक्जरी भेरियन्टले ६५० किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्ने सिजी मोटर्सले जनाएकाे छ । यसमा सबैभन्दा बढी ७५.३ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्री समावेश छ । दुवै भेरियन्टमा १५ विभिन्न स्मार्ट ड्राइभिङ फङ्क्शन, म्यागजिन ब्याट्री, ७ एयरब्याग र फराकिलो तथा आरामदायी इन्टेरियर रहेको छ । यो एसयूभीले फाइभ स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ । आयन भीको मूल्य एलिट भर्जनको ६४ लाख ९९ हजार रहेको छ भने भने लक्जरी भर्जनको ६९ लाख ९९ हजार रुपैयाँ छ । आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सले आयन भीका साथ सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ । नेपालको २४० स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ ।