विकासन्युज

बबई नदीमा अवैध मोटरबोट सञ्चालन,  रोक लगाउन प्रशासनको आदेश

काठमाडौं । दाङको बबई नदीमा अवैध रूपमा बाँध निर्माण गरी पानीको बहाव रोक्दै मोटरबोट सञ्चालन गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार एक आदेश जारी गर्दै उक्त गैरकानुनी गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार पर्यटन विभागमा व्यवसाय दर्ता नगरी मोटरबोट चलाइएको, नदीको प्राकृतिक बहाव अवरुद्ध गरिएको, र बोट हेर्न पुलमा भीड जम्मा हुँदा सार्वजनिक सुरक्षामा जोखिम बढेको देखिएकाले यो कदम चालिएको हो । प्रशासनले कानुन र आवश्यक अनुमति नपाउञ्जेल यस्ता गतिविधि नगर्न चेतावनी दिँदै अवज्ञा भए कानुनी कारवाही हुने जनाएको छ ।

ट्यारिफ युद्धको बीचमा चीनलाई खुसीको खबर, निर्यातमा १२.४ प्रतिशत वृद्धि, आयातमा गिरावट

काठमाडौं । चीनको निर्यातमा मार्च महिनामा वार्षिक आधारमा १२.४ प्रतिशतको वृद्धि भएको छ । त्यही समयमा आयातमा ४.३ प्रतिशतको गिरावट आएको छ । अमेरिकाले चीनबाट आयात गरिने वस्तुहरूमा शुल्क वृद्धि गरेसँगै सरकारले यो जानकारी दिएको हो । विश्वको दोस्रो ठूलो अर्थव्यवस्था चीनको निर्यात सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च) मा वार्षिक आधारमा ५.८ प्रतिशतले बढेको छ भने आयातमा ७ प्रतिशतको गिरावट आएको छ ।  चीनको अमेरिकासँगको व्यापार नाफा मार्च महिनामा २७.६ अर्ब डलर रह्यो, जहाँ निर्यातमा ४.५ प्रतिशतको वृद्धि देखियो । वर्षको पहिलो त्रैमासिकमा (जनवरी–मार्च) अमेरिका र चीनबीचको व्यापार सरप्लस (निर्यातको मूल्य आयातको मूल्यभन्दा बढी भएको अवस्था) ७६.६ अर्ब डलर रहेको छ । चीनमाथि भारी ट्यारिफ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै संशोधित व्यापार नीतिअनुसार चीनले अमेरिका पठाउने अधिकांश निर्यातमा १४५ प्रतिशतसम्मको शुल्क भोगिरहेको छ । यद्यपि निर्यातमा सबैभन्दा बढी वृद्धि चीनका दक्षिण-पूर्वी एसियाली छिमेकी देशहरूतर्फ भएको देखिन्छ, जहाँ मार्चमा चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको छ । अफ्रिकातर्फको निर्यात पनि ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चीनको सीमा शुल्क प्रशासनका प्रवक्ता ल्यू डालियाङले भने, 'चीनले जटिल र गम्भीर परिस्थितिको सामना गरिरहेको छ, तर घुँडा टेक्ने छैन ।'  उनले चीनका विविध निर्यात विकल्पहरू र विशाल घरेलु बजारतर्फ इशारा गर्दै यो कुरा बताएका हुन् । जब उनीसँग चिनियाँ आयात घटेकोबारे सोधियो तब उनले भने, 'चीन लगातार १६ वर्षदेखि विश्वको दोस्रो ठूलो आयातकर्ता रहँदै आएको छ, जसले विश्व आयातमा आफ्नो हिस्सा करिब ८ प्रतिशतबाट बढाएर १०.५ प्रतिशत पुर्‍याएको छ ।’  'वर्तमान र भविष्यमा चीनको आयात वृद्धि क्षेत्र निकै ठूलो छ र विशाल चिनियाँ बजार सधैं विश्वका लागि ठूलो अवसर हो,’ल्यू डालियाङले थपे । शी भियतनामको यात्रा गर्दै चीनका राष्ट्रपति सी जिनपिङ सोमबार क्षेत्रीय दौरा अन्तर्गत भियतनामको भ्रमणमा जाँदै छन् । उनी मलेसिया र कम्बोडिया पनि जाने कार्यक्रम छ । यसबाट उनलाई एसियाली देशहरूसँग व्यापार सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ । यद्यपि अमेरिकाले यस निर्णयलाई गत हप्ता ९० दिनको लागि ट्यारिफ स्थगित गरिसकेको छ। भियतनाममा गत महिना चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको थियो, जबकि आयातमा २.७ प्रतिशतको गिरावट देखिएको थियो । यद्यपि  सी जिनपिङको यात्रा पहिलेदेखि नै तय गरिएको थियो, तर अमेरिका र चीनबीचको व्यापार युद्धको सन्दर्भमा यो यात्रा अझै महत्त्वपूर्ण बन्न पुगेको छ ।

काठमाडौंमा हल्का वर्षा, ठूलो वर्षा हुने सम्भावना छ त ?

काठमाडौं । काठमाडौं उपत्यकालगायतका मलुकका विभिन्न स्थानमा पानी परेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।  माहाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको बताए । 'अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन', उनले भने, 'बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।' माहाशाखाले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।  देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको र मेघगर्जन तथा चट्याङ, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।  

नेपालमा सीमा पार भुक्तानीका लागि एनसीएचएल र मास्टरकार्डबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भुक्तानी प्रविधि क्षेत्रमा कार्यरत विश्वप्रसिद्ध कम्पनी मास्टरकार्डबीच नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि मास्टरकार्ड प्रयोग गरेर क्युआर भुक्तानी गर्न सहमति भएको छ । दुबै संस्थाले एनसीएचएलको नेपालपे क्यूआर र इन्टरअपरेबल क्युआर मर्चेन्टहरूमार्फत अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरूलाई 'स्थानीय जस्तै भुक्तानी' गर्न सहज र सुगम बनाउने उद्देश्यले सहमति गरेका हुन् । यो सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्थानीय क्युआर मर्चेन्टहरूमा मास्टरकार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्ने अतिरिक्त सुविधा प्रदान गर्नेछ । नेपालपे क्यूआर र इन्टरअपरेबल क्युआर नेटवर्कमा हाल करिब १० लाख मर्चेन्टहरू आबद्ध छन् भने मास्टरकार्डले ३.१ अर्बभन्दा बढी कार्डहरू विश्वभर जारी गरिसकेको छ ।  यो सहकार्यले नेपालमा भित्रिने अन्तर्राष्ट्रिय कारोबारमा पर्यटन क्षेत्रलाई ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

एआईबाट अश्लील तस्बिर बनाउने ४ जना पक्राउ, दुई वर्ष जेल सजाय हुने

काठमाडौं । जापान प्रहरीले आफ्नो प्रकारको पहिलो कारबाहीमा जेनेरेटिभ एआई प्रयोग गरेर सिर्जना गरिएका अश्लील तस्बिरहरू बेच्ने आरोपमा चार जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता र स्थानीय मिडिया रिपोर्टहरूले मङ्गलबार बताएका छन् । पोस्टरहरू बनाएर अनलाइनमा बेच्ने आरोप लागेका चार जनालाई ‘अश्लील तस्बिरहरू बेच्ने शङ्कामा सोमबार पक्राउ गरिएको’, टोकियो प्रहरीका प्रवक्ताले एएफपीलाई बताए । उनीहरूले गत अक्टोबरमा लिलामी साइटहरूमा धेरै पटक बेचेका थिए । प्रवक्ताका अनुसार यस्तो आपराधिक कार्यका लागि उनीहरूले दुई वर्ष जेल सजाय, २५ लाख येन (१७ हजार पाँच सय डलर) सम्म जरिवाना वा दुवैको सामना गर्नुपर्नेछ । सार्वजनिक प्रसारक एनएचके र अन्य मिडिया आउटलेटहरूले संदिग्धहरूले वास्तविक संसारमा अवस्थित नभएका नग्न वयस्क महिलाहरूको तस्बिरहरू सिर्जना गर्न निःशुल्क एआई सफ्टवेयर प्रयोग गरेको बताएका छन् ।  तिनीहरूले ‘खुट्टा खुला’ जस्ता शब्दहरू समावेश गरी सङ्केतहरू प्रयोग गरेका छन् । बीसदेखि ५० वर्षको उमेरका चारजनाले प्रत्येक पोस्टर केही हजार येन (लगभग २०–५० डलर) मा बेचेका थिए । मङ्गलबारका रिपोर्टहरूले एआई–निर्मित अश्लील तस्बिरहरू कथित रूपमा बेच्ने जापानको पहिलो गिरफ्तारी भएको बताएको छ । यसलाई प्रहरीले तुरुन्तै पुष्टि गर्न सकेन । डिपफेक सहित दुर्भावनापूर्ण उद्देश्यहरूका लागि एआईको प्रयोगमाथि विश्वभर चिन्ता बढ्दै गइरहेको छ, जसले मानिसहरूको वास्तविक फोटो, भिडियो वा अडियोलाई झूटो समानताहरूमा परिवर्तन गर्दछ । डच एआई कम्पनी सेन्सिटीको सन् २०१९ को अध्ययन अनुसार अनलाइनमा लगभग ९६ प्रतिशत डिपफेक भिडियोहरू गैर–सहमति पोर्नोग्राफी हुन् र तिनीहरू मध्ये धेरैजसोमा महिलाहरू चित्रित गरिएका छन् । रासस

छविलाल जोशीलाई थुनामा पठाउनुको कारण खुलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आदेश जारी गरेको हो । जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन पेश गर्न आदेश दिइएको हो । गत साता बुटवलस्थित उच्च अदालत तुलसीपुर इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसविरुद्ध जोशीले उक्त आदेश बदर गराई आफूलाई थुना बाहिर राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालतसँग कारण स्पष्ट पार्ने प्रतिवेदन माग गरेको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशी हाल थुनामै रहेका छन् । रुपन्देही जिल्ला अदालतको थुनामै राख्ने आदेशलाई उच्च अदालतले समेत सदर गरेपछि उनी कारागारमा छन् ।

परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालन

काठमाडौं । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ ।  अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरे । ल्याबमार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ । बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिटी वन हार्ट वल्र्डवइडले आर्थिक सहयोग गरेको हो । यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संल्गन जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए । ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्त्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे । अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै उनले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए । उनले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत घोषणा गरे । २०१६ सालमा स्थापित अस्पतालले हाल झण्डै पाँच सय शैय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ । मन्त्री पौडेलले जिम्मेवारी सम्हालेयता अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवा अन्तर्गत  निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरु गरेको निर्देशक श्री अधिकारीले बताए ।  पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको निर्देशक अधिकारीले बताए । बर्थिङ सेन्टरको क्षमता वृद्धि अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरेका छन् । यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ । दुई मिडवाइफ अधिकृत थपिए पछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए । प्रसुति सेवामा सरकारी विशिष्टकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सके जति सेवा दिन सकिएको थिएन । अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ ।  

प्रा.डा. खड्ग केसीले सम्हाले त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खड्ग केसी नयाँ उपकुलपति बनेका छन् । प्रधानमन्त्री एवं त्रिवि कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रा.डा. केसीलाई अर्को व्यवस्था नहुञ्जेलसम्म उपकुलपतिको कार्यभार दिइएको हो । केसीले जिम्मेवारीबारे प्रतिक्रिया दिँदै भने, 'मैले उपकुलपतिको पत्र बुझिसकेको छु, अब कार्यभार सम्हाल्छु ।' यसअघि उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पदबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।