काठमाडौं । सरकारले २०८२ सालका लागि ८८ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार शनिबार र चाडपर्व गरी कुल ८८ दिन बिदा पर्नेछ ।
यस वर्ष ५२ दिन शनिबार र थप ३६ दिन विभिन्न धार्मिक, सांस्कृतिक पर्व तथा राष्ट्रिय दिवसहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
राजपत्रअनुसार सार्वजनिक बिदाको सूचीमा १३ दिन प्रमुख पर्वका बिदा, ३ दिन क्षेत्र विशेषका लागि, २ दिन महिला कर्मचारीका लागि, १ दिन शिक्षण संस्थाका लागि, ४ दिन काठमाडौं उपत्यकाका लागि, ४ दिन जात्रा तथा पर्वका लागि, ६ दिन राष्ट्रिय दिवस, १ दिन अपाङ्गता भएका कर्मचारीका लागि, २ दिन सार्वजनिक जन्मजयन्ती तथा ३ दिन विशेष धर्मावलम्बीका लागि छुट्टाइएको छ ।
नयाँ वर्ष वैशाख १ गते, चण्डी पूर्णिमा, वैशाख पूर्णिमा, साउन २४ गते जनै पूर्णिमा, साउन ३१ गते कृष्ण जन्माष्टमी, असोज ६ गते घटस्थापना, असोज १३ देखि १८ गतेसम्म फूलपातीदेखि द्वादशीसम्म दशैंको बिदा दिइनेछ ।
कार्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा रहनेछ । कार्तिक १० गते छठ पर्व, मंसिर १८ गते धान्य पूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होछार, माघ १ गते माघे संक्रान्ति, माघ ५ गते सोनाम ल्होछार, फागुन ३ गते महाशिवरात्रि, फागुन ६ गते ग्याल्पो ल्होछार, फागुन १८/१९ मा पहाडी तथा तराईमा होली र चैत १३ गते राम नवमीको अवसरमा सार्वजनिक बिदा हुनेछ ।
साउन २५ गते गाईजात्रा (उपत्यका), भदौ १० गते हरितालिका तीज र भदौ ३० गते जितिया पर्वमा महिला कर्मचारीलाई बिदा दिइनेछ । भदौ १५ गते गौरा पर्व, भदौ २१ गते इन्द्रजात्रा, चैत ४ गते घोडेजात्रा उपत्यकामा मनाइने भएकाले तिनमा उपत्यका क्षेत्रलाई लक्षित बिदा दिइएको छ ।
वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, माघ १६ गते शहीद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक बिदा दिइनेछ ।