छविलाल जोशीलाई थुनामा पठाउनुको कारण खुलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले आदेश जारी गरेको हो । जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन पेश गर्न आदेश दिइएको हो ।

गत साता बुटवलस्थित उच्च अदालत तुलसीपुर इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउन आदेश दिएको थियो ।

त्यसविरुद्ध जोशीले उक्त आदेश बदर गराई आफूलाई थुना बाहिर राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालतसँग कारण स्पष्ट पार्ने प्रतिवेदन माग गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशी हाल थुनामै रहेका छन् । रुपन्देही जिल्ला अदालतको थुनामै राख्ने आदेशलाई उच्च अदालतले समेत सदर गरेपछि उनी कारागारमा छन् ।

Share News