होन्डाले अमेरिकाका २ लाख ९० हजारभन्दा बढी गाडी फिर्ता बोलाउने
काठमाडौं । होन्डाले अमेरिकामा २ लाख ९४ हजार ६१२ गाडीहरू फिर्ता बोलाउने भएको छ । यी गाडीहरूमा रहेको इन्जिन अचानक बन्द हुने वा पावर गुमाउने समस्या समाधान गर्न यस्तो निर्णय गरिएको हो । २०२२-२०२५ अकुरा एमडीएक्स टाइफ-एस, २०२३-२०२५ होन्डा पाइलट र २०२१-२०२५ कुरा टीएलएक्स टाइप-एस गाडी फिर्ता बाेलाउन लागेको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले बुधबार जानकारी दिएको छ । फ्युल इन्जेक्सन इलेक्ट्रोनिक कन्ट्रोल युनिट (एआई-ईसीयू) मा रहेको सफ्टवेयर त्रुटिले गाडीको इन्जिन बन्द हुन वा पावर गुमाउन सक्छ । यसले दुर्घटनाको जोखिम बढाउने सम्भावना रहेको अमेरिकी यातायात सुरक्षा नियामकको भनाइ छ । अब होन्डाका डिलरहरूले एफआई-ईसीयूको सफ्टवेयर निःशुल्क पुनःप्रोग्राम गर्ने जनाइएको छ ।
सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग
सिरहा । यहाँका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । स्वास्थ्य सामग्री प्राप्त गर्नेमा जिल्लाको धनगढीमाई नगरपालिका—९ स्थित नैनपुर अस्पताल, सुखीपुर नगरपालिका–८ स्थित आधारभूत अस्पताल र अर्नमा गाउँपालिका–१ महनौरस्थित महनौर अस्पताल रहेका छन् । संस्थाले बुधबार तीन वटै पालिकाका प्रमुखसहित जनप्रतिनिधि, समाजसेवी तथा स्वास्थ्य कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरी समग्री हस्तान्तरण गरेको थियो । स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच र सुधारमा योगदान पुर्याउने उदेश्यसहित आफ्नो संस्थाले सिरहासहित देशका अन्य जिल्लामा पनि स्वास्थ्य उपकरण, औषधीजस्ता समग्री सहयोग गर्दै आएको ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नेपालका महासचिव मो मेराज खानले बताए । ‘यस संस्थाले विशेषगरी दलित, अति विपन्न र आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई प्रत्यक्षरूपमा लाभ पुर्याउने उद्देश्यसहित सरकारी अस्पताललाई प्राथमिकतामा राखेर सहयोग गर्दै आइरहेको छ’, महासचिव खानले भने, ‘त्यसैअनुरुप यहाँका अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।’ महासचिव खानले अमेरिकन सहयोगमा सञ्चालित यस परियोजना मधेश प्रदेशका सिरहा, महोत्तरी र सर्लाहीसहित देशभरका ४२ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै सामाजिक सेवाका कार्यमा सक्रिय रहँदै आएको जानकारी दिए । संस्थाले दिएका सामग्री तथा उपकरणले अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ । रासस
द्वन्दका कारण अफ्रिकाले वार्षिक १८ अर्ब अमेरिकी डलर गुमाएको छ : अफ्रिकी संघ
काठमाडौं । केन्याका राष्ट्रपति विलियम रुटो अफ्रिकी संघ संस्थागत सुधारका समर्थक हुन्। उनले द्वन्द्वले अफ्रिकालाई यसको क्षमताबाट वञ्चित गरिरहेको बताए । महादेशले द्वन्दका कारण वार्षिक अनुमानित १८ अर्ब अमेरिकी डलर गुमाइरहेको उनको भनाइ छ । लाखौं मानिसहरूलाई विस्थापित गरिरहेको छ । रुटोले अफ्रिकाले हाल ३ करोड ५० लाख आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू ८९ लाख शरणार्थीहरू, ११ लाख शरणार्थीहरू र १० लाख राज्यविहीन व्यक्तिहरूलाई आश्रय दिएको छ । अप्रिल र जुन २०२४ को बीचमा मात्र अफ्रिकाभरि कुल १ हजार आतंकवादका घटनाहरू रेकर्ड गरिएका थिए । जसको परिणामस्वरूप ४ हजार ८१८ जनाको मृत्यु भएको थियो ।
याडियाको नयाँ ईभी स्कुटर सार्वजनिक, मूल्य २ लाख ३५ हजार
काठमाडौं । याडियाको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि याडिया ब्राण्डको आयात तथा बिक्रीकर्ता कुजु नेपालले बिहीबार ईपोक विद्युतीय स्कुटर सार्वजनिक गरेको हो । उक्त ईभी स्कुटरको मूल्य २ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उक्त ईपोक ईभी स्कुटर नेपाली उपभोक्ताका लागि आधुनिक, आकर्षक र वातावरणमैत्री इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्प भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार ईपोक ईभी आधुनिक सहरी यात्रुको आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो । सो स्कुटरमा ३ हजार वाट टीटीएफएआर ह्वील हब मोटर जडान गरिएको छ । यसैगरी, १५० एनएम टर्क रहेको छ जसले उकालाेसहित सहरी सडकमा राम्रो पफर्मेन्स दिन्छ । यो स्कुटर १६ डिग्रीसम्मको ढलान चढ्न सक्षम रहेकाले नेपालका सडकहरूको लागि उपयुक्त स्कुटर भएको कम्पनीले जनाएको छ । १२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने गरी डिजाइन गरिएको छ, जसले यसको मोटर प्रदर्शनमा कुनै असर नगरी उत्कृष्ट टिकाउपन (दीर्घकालीन भरपर्दो क्षमता र पावर, चुनौतीपूर्ण अवस्थाहरू)मा पनि स्थिर प्रदर्शन दिने कम्पनीको दाबी छ। एक पटकको चार्जमा १५० किमीसम्मको यात्रा गर्न सकिने उक्त स्कुटर आरामदायक डिजाइन गरिएको छ । १७० मिमी ग्राउण्ड क्लियरेन्स रहेको सो स्कुटरमा अगाडिको र पछाडिको डिस्क ब्रेकहरू रहेको छ । कम्पनीले सो स्कुटरको ब्याट्री र मोटरमा २ वर्ष वा २० किलोमिटर वारेन्टी प्रदान गरेको छ । याडियाले लगातार ७ वर्षसम्म विश्वकै नम्बर १ इलेक्ट्रिक स्कुटर ब्रान्डको उपाधि पाएको छ। यसले १० करोडभन्दा बढी युनिटहरू बिक्री गरिसकेको छ र १०० भन्दा बढी देशहरूमा उपस्थिति रहेको छ। याडिया ईपोक अब नेपालभरका आधिकारिक डिलरशिपहरूमा विभिन्न रंगहरूमा पलब्ध भइसकेको कम्पनीका निर्देशक उमिद श्रेष्ठले जानकारी दिए । देशभर १५ डिलरशिपहरूको सञ्जाल र २०२५ को अन्त्यसम्म १० थप डिलरशिपहरू थप्ने योजनासहित कम्पनीले नेपालको विद्युतीय मोबिलिटी क्रान्तिमा योगदान दिने लक्ष्य राखेको उनको भनाइ छ ।
शितलहर र चिसोले जनकपुरवासीको जनजीवन प्रभावित, उडानमा समस्या
काठमाडौं । मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो ।अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ । हुस्सु दिउँसो मात्रै खुलने गरेको स्थानीयहरु बताउँछन् । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या छ । अहिलेको मौसमले बालबालिकाहरुलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ । केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन् । बाक्लो हुस्सु/कुहिरोका कारण जनकपुरमा विमानहरुले उडान भर्न सकेको छैन । स्थानियहरु आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जसका कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ ।
कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आईसीयूमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताए । आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आइसीयुमा ल्याएको उल्लेख गर्दै उनले अब छिटै नै लयमा फर्किने दाबी गरे । ‘सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि काम गरिरहेको छ । हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो । अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौँ,’ उनले भने ।अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानूनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको उनको भनाइ छ । आइटी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको सुब्बाको भनाइ छ । मन्त्री गुरुङले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताए । अध्यादेशले यसको प्रवन्ध गरिएको र आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको उनको भनाइ छ । यस महिनाभित्र एआईको पोलिसी बनाइसक्ने उनले जनाकारी दिए ।
आइटी क्षेत्र दैनिक जीवनको महत्त्वपूर्ण अंग बनिसक्यो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्त्वपूर्ण अंग बनिसकेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्त्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए । उनले नेपालले तीब्रताका साथ विकासका कामहरुअघि बढाइरहेको उल्लेख गर्दै आइटीइ क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताए । उनले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको बताए । देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको बताए । प्रतिकूल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन सरकारले काम गरिरहेको बताए । सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउन चाहेको बताए । उनले भने, ‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्वपूर्ण अंग बनिसकेको छ । नेपाल अगाडि बढ्दैछ । अझ तिब्रताका साथ अगाडि बढ्न चाहिरहेको छ । यस बीचको केही अन्तरालको बहुत्तै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ ।’ प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसावले सरकारल अघि बढेको बताए । पूर्वाधार बिना देशको विकास हुन नसक्ने बताएका हुन् ।
यातायात कार्यालयद्वारा ६ महिनामा २९ करोड एक लाख राजस्व संकलन
बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधीमा रु २९ करोड एक लाखभन्दा बढी राजस्व संकलन गरेको छ । नयाँ सवारी दर्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु २९ करोड एक लाख ७५ हजार छ सय ५१ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट रु १७ करोड ३८ लाख २१ हजार एक सय ४९, सवारी करबाट रु चार करोड ५३ लाख ६८ हजार तीन सय ३१, यातायात क्षेत्रको आम्दानीबाट रु चार करोड ५६ लाख ७० हजार आठ सय ११, संघीयता तर्फ रु एक करोड ८१ लाख २५ हजार एक सय ८० तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व संकलन भएको छ । यस्तै चालु आव को सो अबधीमा मोटरसाईकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पो/ई-रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अबधीमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । यस्तै सो अवधीमा दुई हजार नौ सय ८४ नविकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नविकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व संकलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।