विकासन्युज

भरतपुर अस्पतालमा बिरामी आफैले रिपोर्ट लिनसक्ने, लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य

भरतपुर । चितवनको सङ्घीय भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने व्यवस्था गरेको छ । अस्पतालले एक मेसिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफै लिन मिल्ने व्यवस्था गरेको हो। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले परीक्षण रिपोर्ट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्न मेसिन जडान गरिएको बताए । । उनका अनुसार करिब ७ लाख रुपैयाँमा मेसिन खरिद गरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । अस्पतालका इञ्जिनीयर चन्द्रमणि बस्यालले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताए । उनले भने, ‘नमूना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिन्छ ।’ क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको परीक्षण सफल भएसँगै बिरामीको सेवा सुरु गरिएको उनले बताए । मेसिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले जानकारी दिए । उनका अनुसार थप एउटा मेसिन पनि थप खरिद गर्ने अस्पतालको योजना रहेको छ । रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने उनले बताए । अस्पतालले प्रयोगशालामा नमूना सङ्कलन गर्दा बिलसँगै क्युआर कोड दिने गरेको छ । सोही क्युआर कोड मेसिनमा देखाएपछि मेसिनले रिपोर्ट दिने गर्दछ । रिपोर्ट तयार हुन लाग्ने समयपछि मेसिनमा गएर क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न र प्रिन्ट गरेर लैजानसमेत सकिने व्यवस्था गरिएको छ । मोबाइल प्रयोगकर्ताले क्युआर कोड मोबाइलमै स्क्यान गरेर पनि रिपोर्ट हेर्न सकिने बस्यालले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बिरामीको चाप अधिक भएपछि स्वचालित मेसिन ल्याइएको बताए । उनले भने, ‘हामीले बिरामीलाई थप सहज रुपमा सेवा दिन यो मेसिन प्रभावकारी हुने विश्वास लिएका छौं ।’ पछिल्लो समय भरतपुर अस्पतालले आफ्नो सेवामा धेरै सुधार गर्दै आएको छ । अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले बहिरंग सेवा लिने गरेका छन् । अस्पतालको थप सेवाका लागि चार वटा भवन निर्माण हुँदै गरेको उनले बताए । अस्पतालमा ट्रमा सेन्टर, सरुवा रोग नियन्त्रण भवन, क्याथ ल्याब र नर्सिङ कलेज निर्माणको क्रममा रहेका छन् । यी भवन निर्माणको काम सम्पन्न भएसँगै बिरामीलाई थप सहज हुने प्राडा पौडेलको भनाइ छ ।

रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटन व्यवसाय ठप्प

रसुवा । पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोंच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रूपमा चिसो बढेपछि पर्यटक आउनेक्रम कमी भएको हो । सामान्यतया हरेक वर्षको जाडो मौसममा पर्यटकको आवागमन कमी हुने तथा फागुन १५ गतेपछि क्रमिक रूपमा यो वृद्धि हुँदै जाने भएपनि यसवर्ष माघको पहिलो हप्तादेखि मौसम गडबडी भएसँगै जिल्लाको जनजीवन कष्टकर बनेको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान गजुरेलले जानकारी दिए । जिल्लामा अत्यधिक चिसो बढेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको बताउँदै अध्यक्ष गजुरेलले तामाङ सम्पदा पदमार्गअन्तर्गत गतलाङ पार्वतीकुण्ड र थुमनको नाकथली क्षेत्रसहित गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्रमा भ्रमण गर्न चाहने प्रकृतिप्रेमी पदयात्री तथा तीर्थयात्रीको अभावमा पर्यटन व्यवसाय करिब बन्द अवस्थामा पुगेको स्पष्ट गरे । जिल्लाको उकाली-ओराली, भञ्ज्याङ-चौतारी, ताल-तलैया, दुर्लभ वन्यजन्तु, स्थानीय संस्कृतिसहित रहनसहन, नाँचगान, पानी-झर्ना, निकुञ्जभित्रका संरक्षित बन तथा वनस्पतिलगायत सम्पदाले आकर्षित गरी पर्यटक आउने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले जानकारी दिए । यसैगरी, पवित्र तीर्थस्थल गोसाइँकुण्डको स्नान गर्नाले मनोकांक्ष पूरा हुने धार्मिक विश्वासहित तीर्थयात्री तथा विशेषगरी उत्तरगयाको डाँडाँगाउँस्थित लामो तथा ठाडो भाँगेझर्ना हेर्न आउने पर्यटक पनि बढ्दै गएको उत्तरगया गापा वडा नं २ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीले बताए ।

३३ औं औद्योगिक व्यापार मेला पोखरामा जारी

पोखरा । गण्डकी प्रदेशको राजधानी अर्थात् ‘नेपाली पर्यटनको राजधानी’ पोखरामा ३३ औं औद्योगिक व्यापार मेला जारी छ । ‘घुमौं मधेश, बुझौं मधेश’ को स्टलले मधेश चिनाउने काम गरिरहेको ‘घुमौं मधेश, बुझौं मधेश’ का कार्यक्रम संयोजक विकास ठाकुरले जानकारी दिए । ‘घुमौं मधेश, बुझौं मधेश’ को स्टल नम्बर १ मा ब्यानर, फ्लेक्स र अङ्ग्रेजी नेपाली दुवै भाषामा प्रकाशित बुकलेटका माध्यमबाट मधेशमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रबाट जानकारी दिइएको छ । ‘यो महोत्सवमा स्टल राखेपछि पोखरावासीहरूले मधेश घुम्ने इच्छा व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘मधेशका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनुभएको छ ।’ मधेश प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेश बुझौं मधेश’ को स्टलमा हालसम्म हजारौं मानिसले अवलोकन गरेका छन् भने आगुन्तकहरूलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ । माघ १० गतेको उद्घाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मधेश प्रदेशले प्रस्तुत गरेका दुई स्वागत नृत्य (मिथिलाको झिँझिया र थारू नृत्य) र वितरण गरेको मधेश चिनाउने ४० गन्तव्य भएको बुकलेट सबै उपस्थित अतिथि र दर्शकदीर्घाको हात–हातमा देखेपछि आयोजक संस्थालाई ‘मधेशसँग सिक्नुस्- मेलामा केके राख्नुपर्छ र कसरी आयोजना गर्नुपर्छ’ भनेर मधेश प्रदेश सरकारको स्टल र ‘घुमौं मधेश, बुझौं मधेश’ को सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरेका थिए । आयोजक मधेश प्रदेश सरकारका तर्फबाट पोखरामा आयोजित महोत्सवमा मधेश प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको व्यापक प्रचार गरिएको हो । उद्घाटन सत्रमा नाट्टा मधेश प्रदेशका अध्यक्ष तथा पर्यटन तथा हवाई यातायात समिति मधेश प्रदेशका संयोजक मोहन शर्माले हिमाल, पहाड र मधेश जोड्नका लागि यस्ता कार्यक्रमको विशेष भूमिका रहने बताएका थिए । दर्शकको चाप बढेपछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने छ ।

अमेरिकन एयरलाइन्स दुर्घटना : १८ जनाको शव फेला, खोजी कार्य जारी

काठमाडौं । अमेरिकाको वाशिङ्गटन डीसी नजिकै अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको छ । उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० यात्रु र ४ जना चालक दलका सदस्यहरू थिए । प्रहरी अधिकारीहरूले अहिलेसम्म १८ जनाको शव फेला परेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान बम्बार्डियर कम्पनीको सीआरजे ७०० मोडलको थियो र वाशिंगटनबाट कान्सास गइरहेको थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो । बचाव तथा खोजी कार्य अहिले पनि जारी छ । स्थानीय समयअनुसार राति ९ बजे रीगन वाशिङ्गटन नेशनल एयरपोर्टको नजिक यो दुर्घटना भएको हो । उक्त विमानले रीगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो । दुर्घटनापछि ठूलो संख्यामा उद्धार टोली, १० भन्दा बढी एम्बुलेन्स र ट्रक घटनास्थलमा पुगेका छन्। रीगन एयरपोर्टले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूरानो ट्वीटर) मा घोषणा गर्दै सबै उडानहरू हालका लागि स्थगित गरिएको जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सन् २०२४ मा टोयोटाको १ करोड ८ लाख गाडी बिक्री

काठमाडौं । टोयोटा मोटरले सन् २०२४ मा १ करोड ८ लाख गाडी बिक्री गरेको छ । कम्पनीले बिहीबार घोषणा गर्दै लगातार पाँचौं वर्ष विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल निर्माता बनेको जानकारी गराएको छ । जापानी अटोमोबाइल कम्पनी टोयोटाको विश्वव्यापी बिक्रीमा ३.७ प्रतिशत गिरावट आएको छ । यसमा साना गाडी निर्माता डाइहात्सु र ट्रक निर्माता हिनो मोटर्सको बिक्री पनि समावेश छ । टोयोटाको बिक्री घट्नुको मुख्य कारण जापानमा भएको ठूलो गिरावट हो ।डाइहात्सुमा प्रमाणीकरण परीक्षण प्रक्रियासम्बन्धी विवादका कारण कम्पनीलाई ठूलो असर परेको थियो । जापानमा दोहोरो अंकको गिरावटका कारण विश्वव्यापी बिक्रीमा असर परेको छ। जापानबाहेक अन्य अन्तर्राष्ट्रिय बजारमा टोयोटाको बिक्री राम्रो देखिएको छ । फक्सवागन दोस्रो स्थानमा जर्मन अटोमोबाइल कम्पनी फक्सवागन समूहले यस वर्ष दोस्रो स्थान हासिल गर्‍यो । २०२४ मा यसको बिक्री २.३ प्रतिशतले घटेर ९० लाख गाडीमा सीमित भयो । कम्पनीले चीनमा बढ्दो प्रतिस्पर्धा र लागत कटौतीको चुनौती सामना गरिरहेको छ । हाइब्रिड गाडीको माग बढ्यो, इलेक्ट्रिक गाडीको बिक्री कम टोयोटाको हाइब्रिड गाडीहरू कुल बिक्रीको ४०.८ प्रतिशतले बिक्री भएको छ, जुन हालसम्मकै उच्च हो । ब्याट्री–इलेक्ट्रिक गाडीको बिक्री भने जम्मा १.४ प्रतिशतमात्र रह्यो । चीनमा भने मूल्य प्रतिस्पर्धाका कारण टोयोटाको बिक्री ६.९ प्रतिशतले घटेको छ । टोयोटाले हाइब्रिड गाडीहरूमा राम्रो सफलता हात पार्दा पनि जापान र चीनमा मूल्य प्रतिस्पर्धाका कारण केही कठिनाइहरू सामना गर्नु परेको छ । तर, करोड ८ लाख गाडी बिक्री गर्दै टोयोटाले फेरि पनि विश्वको नम्बर १ अटोमोबाइल निर्माता बन्ने स्थान सुरक्षित गरेको छ । सान्दर्भिक सामग्री :  २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने चीनमा हरेक वर्ष १ करोड २८ लाख ईभी बिक्री निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने

विपत र व्यापारिक चार्टरमा सेनाका हेलिकोप्टर : ८ लाख बढी भाडा, ४७ वर्ष अघिदेखिको बक्यौता बाँकी

काठमाडौं । कुनै पनि आपतविपद् पर्दा होस् या रमाइलोको लागि घुम्न जानका लागि नै किन नहोस् प्रायः प्रयोग हुने भनेको हेलिकोप्टर हो । अझ बढी विपदमा प्रयोग हुने भनेको नेपाली सेनाको हेलिकोप्टर हो । नेपाली सेनासँग अहिले ८ वटा हेलिकोप्टर छन् । जसको भाडादर प्रतिघण्टाको फरकफरक छ । जसमा सबैभन्दा बढी भाडा एम.आई.१७ हेलिकोप्टरको पर्छ । यो हेलिकोप्टरको प्रतिघण्टा शुल्क ८ लाख ५७ हजार २ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । ‘एम.आइ.१७’ बलियो, भरपर्दो तथा बहुउद्देश्यीय हेलिकोप्टर हो । यो हेलिकोप्टर नेपाल, भारत, चीन, अमेरिका, अफ्रिका लगायतका देशमा प्रयोग बढी हुन्छ । यो हेलिकप्टरको मर्मत सम्भारका लागि सेनाले प्रतिघण्टा २ लाख ५९ हजार ९ सय २४ छुट्याउने गरेको छ भने प्रतिघण्टा उडानका लागि ९ हजार ४५ सय रुपैयाँको हवाई इन्धन लाग्ने गर्छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो ए.एल.एच. । पहाडी भेगमा उद्धार तथा सैनिक आपूर्तिका लागि यो हेलिकोप्टरको प्रयोग गरिन्छ । योे हेलिकोप्टरको प्रतिघण्टा भाडादर ३ लाख ७० हजार २ सय ९२ रुपैयाँ निर्धारण गरिएको छ । जसको प्रतिघण्टाको मर्मतसम्भार खर्चमा १ लाख ४१ हजार ६६ रुपैयाँ खर्च छुट्याइन्छ भने प्रतिउडान ५० हजार ४ सय रुपैयाँ इन्धन खर्च लाग्छ । यस्तै, अगष्टा हेलिकोप्टरको प्रतिघण्टा ४ लाख ३८ हजार ४ सय ५४ रुपैयाँ भाडा लाग्छ । यो हेलिकोप्टरको मर्मत सम्भारमा १ लाख ५१ हजार ४७ रुपैयाँ खर्च लाग्छ भने इन्धनमा प्रतिघण्टा ६३ हजार खर्च हुन्छ । नागरिक उड्यन प्राधिकरणलाई हेलिकोप्टरले प्रति उडान १ हजार १ सय रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था । यी सबै खर्च काट्दा यो हेलिकोप्टरको पनि ४ लाख ३८ हजार बढी भाडा पर्न जान्छ । ईक्युरेलको प्रतिघण्टा उडान भाडा २ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ निर्धारण गरिएको छ । यो हेलिकोप्टरको प्रतिडान मर्मत सम्भार गर्न ७४ हजार ८ सय ७० खर्च लाग्छ भने प्रति उडानमा २० हजार ७ सय ९० हवाइ इन्धन लाग्ने गर्छ । बेल हेलिकोप्टरको प्रतिघण्टा उडान शुल्क २ लाख २९ हजार ५ सय २७ निर्धारण गरिएको छ । जसको प्रतिउडान मर्मत सम्भारका लागि ७० हजार ९ सय ५० रुपैयाँ लाग्छ भने प्रतिघण्टाको उडानमा २१ हजार ५ सय ४६ इन्धन खर्च लाग्छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- स्काईट्रक जसको प्रतिघण्टा शुल्क ३ लाख ४६ हजार ५ सय १ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । प्रतिघण्टा उडान गरेबापत् यस हेलिकोप्टरको मर्मत सम्भारका लागि ६० हजार ४ सय ७५ रुपैयाँ लाग्छ भने प्रतिघण्टा उडानमा ६० हजार ४ सय ८० बराबरको इन्धन खर्च लाग्छ । यस्तै, ट्रेनर जहाजको प्रतिघण्टा ९८ हजार ६ सय १८ रुपैयाँ भाडा लाग्छ । जसको प्रतिउडान मर्मतका लागि २ हजार ३ सय २३ रुपैयाँ खर्च लाग्छ भने १० हजार ७ सय १० रुपैयाँको इन्धन लाग्ने गरेको छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- कासा २३५ । जसको प्रतिघण्टा उडान शुल्क ७ लाख ३४ हजार ४३ निर्धारण गरिएको छ । यो हेलिकोप्टरका लागि प्रतिघण्टा उडान गरेपछि मर्मतमा ९४ हजार ९ सय २३ रुपैयाँ लाग्छ भने ७५ हजार ६ सय रुपैयाँको इन्धन लाग्छ । नेपाली सेनाका हवाइ सेवा प्रमुख आशिष नरसिंह राणाका अनुसार देशमा कुनै प्राकृतिक विपत् तथा कुनै समस्या तथा मनोरञ्जनका लागि पनि मानिसले सेनाको हेलिकोप्टर चार्टर गर्दै आएका छन् नेपाली सैनिक विमान चार्टर विकास समितिले चार्टर गरेबापतकाे आयव्ययको हिसाब राख्दै आएको छ । समितिको गत आवको मौज्दातसमेत यो वर्ष ६७ करोड १९ लाख ३१ हजार आम्दानी रहेकोमा २९ करोड ३ लाख ४६ हजार रुपैयाँ खर्च भई ३८ करोड १५ लाख ८५ हजार रुपैयाँ मौज्दात रहेको बताइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ७ व्यक्ति, संस्था एवम् निकायबाट चार्टर भाडा ४९ लाख ६१ हजार रुपैयाँ र २०३४/३५ देखि २०७८/७९ सम्मको बक्यौता ७ करोड १७ लाख ३ हजार समेत गरी ७ करोड ६६ लाख ६४ हजार असुल हुन बाँकी रहेको देखिन्छ । बक्यौता रकम जरिवाना समेत गरी असुल गर्न महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ ।

अमेरिकन एयरलाइन्सको विमान आकाशमा हेलिकप्टरसँग ठोक्कियो, विमानमा ६० यात्रु र ४ क्रु सदस्य

काठमाडौं । अमेरिकाको वाशिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको छ । फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले यसबारे जानकारी दिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । यो दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रीगन वाशिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको हो । हेलिकप्टरसँग ठोक्किएपछि विमान पोटोम्याक नदीमा खसेको बताइएको छ । रीगन एयरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्स (पहिलाको ट्वीटर) मा लेख्दै हालका लागि सबै उडानहरू रोकिएको जानकारी दिएको छ । अमेरिकन एयरलाइन्सले पुष्टि गरेको छ कि विमानमा ६० यात्रु र ४ क्रु सदस्य सवार थिए । वाशिङ्टन डीसीको आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको छ । विमान हेलिकप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।  

ऊर्जा उत्पादनमा पुँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

काठमाडौं । ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ ‘नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पुँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए । राजदूत भण्डारीले बङ्गलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको उपयोग गर्न पनि आग्रह गरेको उक्त राजदूतावासले जनाएको छ । कार्यशालाका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको लगानी वातावरण, अवसर र प्राथमिकताका क्षेत्रबारेमा विस्तृत जानकारी दिँदै ऊर्जा, पर्यटन, कृषि, सूचना तथा सञ्चार प्रविधि, शहरी पूर्वाधार, स्वास्थ्य, खानी तथा खनिजलगायत प्राथमिकताका क्षेत्रमा लगानी गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरे । दूतावासका अनुसार बङ्गलादेश लगानी विकास प्राधिकरणका कार्यकारी सदस्य डा. खान्डोकर अजिजुल इस्लामले बङ्गलादेशका लगानी प्राथमिकता बारे अवगत गराउँदै पारस्परिक लाभका क्षेत्रमा लगानी सम्बन्धलाई सुदृढ पार्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेशनल बैंक लिमिटेडका अध्यक्ष तथा बङ्गलादेश उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अब्दुल अवल मिन्टुले नेपालसँगको व्यापारबारे आफ्ना दृष्टिकोण साझा गर्दै दुई देशीय आर्थिक सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।