काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई सम्बोधन गर्ने राज्यको तयारी रहेको उल्लेख गर्दै शिक्षकहरूलाई अविलम्ब वार्तामा बस्न र विद्यालय फर्कन आह्वान गरेका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागहरू सम्बोधन गरिने बताए ।
'विद्यालय शिक्षा विधेयक हाल संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउने प्रक्रिया चलिरहेको बेला यति धेरै शिक्षकहरू सडकमा आन्दोलनमा आउनु आवश्यक छैन । भर्ना अभियान सुरु भइसकेको छ, कृपया विद्यालय फर्कनुस्, भर्ना गराउनुस्, एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस्,' प्रधानमन्त्री ओलीले भने, '५२ प्रतिशत विद्यार्थी एसईईमा असफल भएको भन्ने मेरो भनाइप्रति चित्त नदुखाउनुस्, गुणस्तरीय शिक्षाका लागि लाग्नुस् । शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन । त्यसैले अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्वहरू सल्बलाएका बेला आन्दोलनको उपयुक्त समय पनि होइन ।'
समृद्धि र अग्रगतिका लागि बौद्धिक सक्रियता देखाउन प्रधानमन्त्रीको आग्रह
नेकपा (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरू विरुद्ध प्राध्यापकहरूले बौद्धिक रूपमा सक्रियता देखाउनुपर्ने आवश्यकता औँल्याए ।
'प्राध्यापक जस्तो सचेत वर्गले लोकतन्त्र र तानाशाहीका बीचको भेद छुट्याउन नसक्ने भन्ने कुरै हुँदैन,' उनले भने, 'कोही पनि सचेत नागरिक आफ्नो समाज कस्तो बनाउने भन्ने सन्दर्भमा तटस्थ रहन सक्दैन । लोकतन्त्रको प्रयोगबाट मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्न आवश्यक छ ।'
उनले ‘मिसन २०८४’ लाई अराजकतावाद, प्रतिगमन, असभ्यता र देशलाई अँध्यारो यात्रातर्फ फर्काउने प्रयासविरुद्धको अभियानको रूपमा चित्रण गर्दै, प्राध्यापकहरूले लेखेर, बोलेर, बौद्धिकताको प्रदर्शन गरी साथ दिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले शिक्षालाई सबैको पहुँचभित्र कसरी पुर्याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने विषयमा चिन्तन गर्न आग्रह गरे । साथै, ज्ञानको आर्जन, संकलन र सम्प्रेषणमा प्राध्यापकहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने पनि स्मरण गराए ।
'यस सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनको पृष्ठभूमिमा भएको हो । त्यसैले अब उच्च शिक्षाको क्षेत्रमा आवश्यक सुधारका लागि अझ सक्रिय भूमिका खेल्नुपर्छ,' ओलीले भने ।