विकासन्युज

विश्वकै सबैभन्दा धनी ‘वाल्टन परिवार’, ४१४.१ अर्ब डलर नेटवर्थ

काठमाडौं । आयका आधारमा सबैभन्दा ठूलो कम्पनी वालमार्टको प्रवर्तक वाल्टन परिवार विश्वकै सबैभन्दा धनी परिवार मानिन्छ । यो परिवारका तीन सदस्य विश्वका धनीहरूको सूचीमा ११ औं, १२ औं र १३ औं स्थानमा छन् । साथै परिवारका थप दुई सदस्यहरू पनि धनीहरूको सूचीमा छन् । यी पाँच जनाको कुल नेटवर्थ ४१४.१ अर्ब डलर छ । वालमार्टमा वाल्टन परिवारको ४७ प्रतिशत हिस्सेदारी छ । वालमार्टको स्थापना सन् १९६२ मा साम वाल्टनले गरेका थिए। अहिले यो कम्पनी विश्वकै सबैभन्दा ठूलो रोजगारदाता हो, जसमा २१ लाखभन्दा बढी कर्मचारी कार्यरत छन्, जुन धेरै देशहरूको जनसंख्याभन्दा बढी हो । वाल्टन परिवारको सम्पत्ति ब्लूमबर्ग बिलियनेयर इन्डेक्स अनुसार साम वाल्टनका छोरा जिम वाल्टन १२० अर्ब डलर सम्पत्तिसहित ११औं स्थानमा छन् । उनका भाइ रोब वाल्टन ११७ अर्ब सम्पत्तिसहित १२औं स्थानमा छन् । उनकी बहिनी एलिस वाल्टन ११७ अर्ब सम्पत्तिसहित १३औं स्थानमा छन् । एलिस वाल्टन विश्वकै सबैभन्दा धनी महिला हुन् । साम वाल्टनका दिवंगत छोरा जोन वाल्टनका छोरा लुकास वाल्टन ४१.३ अर्ब सम्पत्तिसहित ३७औं स्थानमा छन् । जोन वाल्टनकी विधवा क्रिस्टी वाल्टन १८.८ अर्ब सम्पत्तिसहित ११६औं स्थानमा छिन् । जोन वाल्टनको निधन २००५ मा एक हवाई दुर्घटनामा भएको थियो, जसपछि क्रिस्टी वाल्टनलाई वालमार्टमा करिब २ प्रतिशत हिस्सेदारी प्राप्त भएको थियो । वालमार्टको १९ देशहरूमा १० हजार ५०० भन्दा बढी स्टोरहरू छन् । यसको व्यापार डिस्काउन्ट कल्चर (छुट प्रणाली) मा आधारित छ, जसका कारण आर्थिक मन्दीमा पनि यसको स्टक उच्च प्रदर्शन गरिरह्यो । २०२३ मा वालमार्टको आय ६४८.१ अर्ब डलर रहेको थियो ।

युवा उद्यमीले सुनाए सफलताका कथा : हजार लगानी, लाख बढी तलब

काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपामा भएको नेपाल स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सत्रको तेस्रो सत्र ’मेरो उद्यमशील यात्रा’ शीर्षकको सामूहिक छलफल कार्यक्रममा बोल्दै वक्ताहरूले पहिचानसहितको काम र परिणामसहितको कर्तव्यलाई आत्मसात गर्नुपर्ने बताएका छन् । दायित्वका संस्थाका संस्थापक अध्यक्ष पुकार मल्ल आफू पढाइको सिलसिलामा मुलुकबाहिर गएको र त्यहाँ विश्व बैंकदेखि विभिन्न क्षेत्रमा काम गर्दा देशकै लागि केही गर्नुपर्छ र आफ्नो छुट्टै पहिचान बनाउनुपर्छ भनेर स्वदेश फर्किएको अनुभव सुनाएका छन् । उनले भने, ‘पहिला बाहिर हुँदा सुखी भएको खुसी नभएको र अहिले पहिलाको भन्दा धेरै खुसी भएको तर सुखी नभएको महसुस हुन्छ । नेपालमा युवा पुस्ताले पहिचानसहितको काम र परिणामसहितको कर्तव्यलाई आत्मसात गरेर अगाडि बढनु नै आजको आवश्यकता देखिन्छ ।’ अहिले देशमा उद्यमशीलताका लागि निरन्तर काम गरिरहेको जानकारी गराउँदै भने, ’शासकीय प्रणालीमा तल्लो तहको काम र अवसरमा समान पहुँच पुर्‍याउनका लागि निरन्तर सकृय छु । श्रमको सम्मानसहित देशमै बसेर केही गर्न चाहने युवालाई राज्यले सहजीकरण गर्नैपर्छ ।’ उनले सिमान्तकृत समुदायलाई आर्थिक रुपमा सम्पन्न बनाउनु नै अहिलेको उद्यमशीलताको मुख्य उद्देश्य रहेको समेत बताएका छन् । गाउँपालिका राष्ट्रिय संघका अध्यक्ष लक्ष्मी पान्डेले स्टार्टअप अहिलेको महत्वपूर्ण विषय भएका उल्लेख गर्दै कांग्रेसले यसलाई अभियानकै रुपमा अगाडि बढाएकोमा प्रशंसा गरेकी छन् । यस किसिमका अभियानले उद्यम गर्न चाहने युवा पुस्तालाई सेतुको रूपमा काम गर्ने र उद्यमका लागि सहजीकरणको वातावरण निर्माण हुने बताएकी छन् । उनले थपिन्, ’अहिले स्थानीय सरकारले अनुसूची ८ अनुरूप महिला उद्यमका लागि सहजीकरण गर्न ऐन संशोधनका लागि प्रयत्नरत छौं । अहिले स्थानीय सरकारले जनतासँग सहजै जोडिनका लागि प्रयत्नशील छौं । स्थानीय सरकारले दिएको अधिकारलाई भरपुर रुपमा प्रयोग गर्नको पनि आह्वान गर्दछु ।’ ई-गर्भनेन्स बोर्डका सीईओ दिपेश विष्टले अन्य देशमा कम्पनी दर्ता गर्न प्रतिस्पर्धा हुने तर नेपालमा त्यसका लागि अति नै झन्झटिलो प्रकृया भएको कारण कानुनी सहजताका लागि राज्यले पहल गर्ने बताएका छन् । कानुनी सहजताले मात्रै नपुग्नै बताउँदै उनले भने, ‘कानुनी सहजता मात्रै भएर पुग्दैन । हामीले आईटी जानेको दक्ष जनशक्ति पनि तयार गर्नुपर्ने छ ।’ उनले आईटी फिल्डमा कति कमाउन सकिन्छ भनेर तथ्यांक प्रस्तुत गर्दै भने, ‘काठमाडौंमा आईटी अफिसरको औसत तलब मासिक ४० हजार रुपैयाँको हाराहारीमा छ र आईटी परियोजना प्रबन्धकको तलब प्रति महिना ५० हजारदेखि एक लाखसम्म रहेको छ । अर्कोतिर सफ्टवेयर विकासकर्तामा मध्य-स्तर सफ्टवेयर विकासकर्ताहरूले प्रति महिना ५० हजारदेखि ८० हजारको बीचमा कमाउने गरेको पाइन्छ । सफ्टवेयर इन्जिनियर, वरिष्ठ सफ्टवेयर इन्जिनियरहरूले प्रति महिना एक लाख २० हजारदेखि एक लाख ८० हजार वा सोभन्दा बढी पनि कमाउने गरेको पाइन्छ ।’ उनले अहिले डाटा महत्त्वपूर्ण भएकाले संरक्षणका लागि सरकारले नीति पनि बनाउँदै गरेको जानकारी दिए । नयाँ युवालाई व्यवसायमा संलग्न गराउने सवालमा उनले आइटी नै पढनुपर्छ भन्ने नभएको बताए । लगानी गरेर आईटी फिल्डका युवालाइ रोजगारी दिन सकिनेसमेत उनले बताए । उनले नेपालमा आगामी पाँच वर्षमा आईटी क्षेत्र र उद्यममा ठूलो आर्थिक रुपान्तरण हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, रानीमहल रिसोर्टका सञ्चालक टंकनाथ घिमिरेले वैदेशिक यात्रा त्यागेर नेपालमै बसेर व्यवसाय गर्नुपर्छ भन्ने सोच आएर आफू स्वदेश फर्किएको अनुभव जानकारी गराएका छन् । उनले भने, ‘विदेशबाट नेपाल फर्किँदा गाउँमा कोहिपनी युवा नरहेको र अब आफू पनि देशमै बसेर युवावर्गलाई देशमै बस्नपर्छ भन्ने प्रेरणा दिनको लागि प्रयत्न गरिरहेको छ ।’ उनले व्यवसायमा चुनौती रहेका उल्लेख गर्दै आफ्नो अनुभव बाँडे, ‘मैले १० हजारबाट सुरु भएको उद्यम-व्यवसायको यात्रालाई अहिले चार करोडभन्दा बढीको बनाउन सफल भएको छु । कामको लागि गरिने मेहनत, कमिटमेन्ट भएमा सम्भावना रहेछ भन्ने उदाहरण म नै हो । योजनासहित काम गर्दा नै म सफल भएँ।’ सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले आफू हिमाली जिल्लामा जन्मेर विविध चुनौतीको सामना गरेर व्यवसाय गरेर अगाडी बढेको बताएकी छन् । उनले भनिन्, ‘मुस्ताङ जिल्लाजस्तो पर्यटन क्षेत्र भएको ठाउँमा स्याउको सुकुटी, ड्राइ एप्पल, होटल सञ्चालन गरेर सफलताको यात्रामा अगाडि बढेको हो ।’ २०७० सालमा उद्योग दर्ता गरेर भौतिक संरचना बनाउँदा पैसा नभएको र आँट गरेर अगाडि बढ्यो भने सम्भावनालाई सजिलै क्यास गर्न सकिने उनले जानकारी दिइन्। तीन तहको सरकारको कारण एउटै निकायलाइ सहजै रूपमा अधिकार नदिएको कारण उद्योगी व्यावसायी प्रताडीत भएकोसमेत उनले बताएकी छन् ।

एकै मञ्चमा पाँच महिला उद्यमीको अनुभव : यसरी बन्न सकिन्छ सफल व्यवसायी

काठमाडाैं । महिला उद्यमीहरुले अब महिलालाई उद्यममा आकर्षित गर्नका लागि कानुन निर्माणको पक्षमा पनि ध्यान दिनुपर्ने बताएकी छन् । नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरुले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानुन आवश्यक भएको सुझाएका छन् । सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेका सम्मेलनको दास्रो दिनको दास्रो सत्रमा बोल्ने वक्ताहरुले राज्यको विभेदपूर्ण नीति परिवर्तन गर्नुपर्ने बताएका हुन् । सामूहिक छलफल कार्यक्रममा बोल्दै जेसीआई नेपालकी अध्यक्ष रजनी थापाले समय अनुसार महिलाहरुले आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘महिला उद्यमीले समय अनुसार परिस्थितिलाई सहजरुपमा सामना गर्ने क्षमता विकास गर्दै लैजानु पर्दछ ।’ आफू उद्यमी भइरहँदा कामप्रतिको इमानदारीताका साथै सक्छु भन्ने कमिटमेन्ट पनि हुनुपर्ने अध्यक्ष थापाले बताइन । उनले थपिन्, ‘राज्यको पोलिसी महिलाको नाममाभन्दा पनि पुरुषको नाममा धेरै छ । सम्पत्ति भएको व्यक्तिले सहजै धितो राखेर सम्पत्ति राखेर ऋण लिन सक्छ त्यसका साथै व्यवसाय पनि गर्दछ । त्यसकारण महिलामैत्री कानुन आवश्यक छ ।’ त्यसैगरी विद्यालय शिक्षामा पनि उद्यमी बन्ने पाठ्यक्रम समावेश गर्नुपर्ने उनको राय थियो । अध्यक्ष थापाले महिलालाई उद्यमी बन्न प्रेरित गर्न राज्यले सहजीकरण गर्नुपर्ने समेत बताइन । बीआईडी नेपालका नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रुपमा फड्को मारेको बताएकी छन् । उनले भनिन्, ‘नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्याराहरु भए पनि काम गर्दै जाँदा चुनौती सामाना गर्ने क्षमता पनि हुने र मिहनत गरे सफल असम्भव हुँदैन ।’ पछिल्लो समय महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म नै आर्थिक रुपान्तरणमा योगदान गरिरहेकोसमेत उनले बताएकी छन् । उनले उद्यम गर्नका लागि उद्यम सेन्टरको पनि स्थापना हुनुपर्ने समेत बताइन् । उनले थपिन्, ‘अहिले महिला उद्यमसिलताले सहरदेखि गाउँसम्म आर्थिक रुपान्तरणको योगदान गरिरहेको छ । अहिले महिला उद्यमीको सहभागीताले आफ्नो आन्तरिक खर्च धान्नका लागि केही न केही गर्दा अरुमा भर पर्नुपर्ने हुँदा सजिलो भएको छ ।’ युजी केक्सकी संस्थापक निकिता आचार्यले आफुले २०१२ मा सानो लगानीमा सुरु गरेको व्यवसायले अहिले ठूलो फड्को मारेको बताइन् । उनले थपिन्, ‘हामीले तालिम दिएका धेरै जना अहिले आत्मनिर्भर भएको र कयौं सफल उद्यमीको रुपमा समेत परिचित हुनुहुन्छ ।’ उनले समाजमा पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको उल्लेख गर्दै आचार्यले भनिन्, “महिलालाई उद्यमप्रती उत्प्रेरित बनाउन राज्यले विभिन्न नीति त ल्याएको छ । तर महिलाहरु त्यसमा समावेश भएका छैनन् । महिलालाई उद्यममा सहज प्रवेशको लागि राज्यले आफ्ना कानुन र नीतिमा सुधार र परिवर्तन गर्न आवश्यक छ ।” त्यसैगरी एनआरएनकी पूर्व अध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले भनिन्, “मैले नेपालको एक गाउँबाट सुमद्रपारीको सहरमा पुगेर यहाँसम्मो परिचय बनाउन थुप्रै चुनौती र कठिनाइको सामना गर्नुपरेको थियो । हामीले विदेशमा पनि नेपाली महिलाहरुलाई उद्यमशीलताका लागि प्रेरित गरेका थियौं ।” उनले नेपालमा सहज रुपमा उद्यम गर्नका लागि राज्यले विश्वास पनि नगर्ने परिस्थिति भए पनि अहिले सहज भएको बताएकी छन् । उनले भनिन्, “उद्यम दर्तादेखि धेरै विषयमा झन्झट भएकाले त्यसका लागि सहजीकरण गर्न अवश्यक रहेको छ ।” त्यस्तै नेपाल रिपब्लिक मिडीयाकी सीईओ समृद्धी ज्ञावलीले आन्तरिक उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन समस्या रहेको बताएकी छन् । उनले अवसरको सदुपयोग गर्न सकेमा सफल उद्यमी बन्न असहज नहुने बताएकी छन् ।  

इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो

काठमाडौं । प्यालेस्टिनी लडाकू समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी गरेको छ । गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजना अनुसार नै उहाँलाई रिहा गरिएको हो। अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि आजै रिहा गरिनेछ ।उत्तरी गाजा पट्टीको जबालियाको एक मञ्चमा हमास लडाकूहरूले परेड गरेपछि सैन्य पोशाकमा सजिएका बर्जरलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको थियो । इजरायली सेनाले बर्जर इजरायल फर्किएको र उहाँको ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ पछि परिवारको जिम्मा लगाइने बताएको छ । यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायलीहरू आर्बेल येहुद, बर्जर र गादी मोसेस रहेको जनाएको थियो । हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो । रासस

यामाहा नेपालले महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजन गर्ने

काठमाडौं । यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजको टाइटल प्रायोजन गरेको छ । नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने कम्पनीले जनाएको छ । त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपालमा क्रिकेटको विकासमा योगदान पुर्‍याउन पाउँदा उत्साहित भएको बताए । अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो ।

सहकारीप्रति कठोर बन्यो सरकार : कर्मचारीको दोष सञ्चालकमाथि, ५ करोड जरिवानादेखि पदबाट हटाउनेसम्म

काठमाडौं । सरकार सहकारी संघ संस्थाप्रति थप कठोर बनेको छ । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सहकारी संस्थालाई जारी गरिएको निर्देशनलाई संशोधन गर्दै सरकारले सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीप्रति थप कठोर बनेको हो । यसअघि तीन पटक संशोधन भइसकेको सो निर्देशनलाई चौथो पटक संशोधन गर्दै सरकारी विभागले सहकारी संस्थालाई थप कडाइ गरेको हो । चौथो निर्देशनमा विभिन्न दफाहरू संशोधन गरिएको छ । सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र सोअन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनद्वारा सहकारी संस्थाहरूमा हुने वित्तीय कारोबारको स्वच्छता एवं पारदर्शिता कायम गर्दै सहकारी वित्तीय प्रणालीलाई संरक्षण गर्न सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ पको उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्वीकृतिमा सहकारी विभागले यो निर्देशन जारी गरेको उल्लेख गरेको छ । निर्देशनमा १६ वटा दफालाई संशोधन गरिएको छ । संस्थामा उच्च पदमा रहेका र उच्च पदमा नरहेका उच्च व्यक्तिको अभिलेख निज पदबाट अवकाश वा मुक्त भएको मितिले १० वर्षसम्म कायम राख्नुपर्ने व्यवस्था गरेको छ । यसअघि पाँच वर्षमात्रै राख्नुपर्ने व्यवस्था थियो । यस्तै, सहकारी संस्थाले शंकास्पद कारोबारसम्बन्धी प्रतिवदेन पठाउँदा संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार हुने अवस्था देखिएमा व्यवस्थापक प्रमुख कार्यकारी अधिकृतले सोको यकिन गरी अन्य कर्मचारीबाट प्रतिवेदन पठाउनु पर्ने व्यवस्था गर्ने र सोको जानकारी सञ्चालक समितिलाई दिनुपर्ने व्यवस्था गरेको छ । निर्देशनमा ऐन, नियमावली तथा यो निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने संस्था र त्यस्तो संस्थाका कर्मचारी तथा पदाधिकारीलाई ऐनबमोजिमको कारबाही हुने उल्लेख छ । बमोजिम कारबाही गर्दा विभागले कम्तीमा १५ दिनको समय दिई ऐनको दफा ७ फको उपदफा (५) बमोजिम स्पष्टिकरण सोध्नेछ उल्लेख छ । सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नपाइएमा ऐन, नियमावली तथा निर्देशनको पालना नभएको अवस्था, उल्लङ्घनको मात्रा र सोबाट पर्न सक्ने प्रणालीगत प्रभावलगायतका विषयको गाम्भीर्यका आधारमा विभागले कर्मचारीसँगै संस्थाका पदाधिकारी तथा सञ्चालकलाई समेत कारवाही गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि कर्मचारीलाई मात्रै रहेको कारवाहीको व्यवस्था अब सञ्चालक र संस्थाका पदाधिकारीलाई पनि थप गरिएको हो । सहकारी संघसंस्थाले त्यस्तो कर्मचारी तथा पदाधिकारीलाई कारवाही नगरेमा विभागले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारवाही गरी त्यसरी कारवाही नगर्ने संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनाको अवस्था, विषयको गम्भीर्यता र सहकारी संघ संस्थाको प्रकृतिअनुसार १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म वरिवाना वा पदबाट हटाउने वा दुवै कारवाही हुन सक्ने व्यवस्था गरिएको छ । [pdf id=537239]

एमएडब्लू वृद्धिले थप १ सय स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने

  काठमाडौं । दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसनहरू स्थापना गरेको छ । पर्यावरणमैत्री यातायात अपनाउने प्रतिबद्धताअनुरूप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको हो । निकट भविष्यमा थप १०० चार्जिङ स्टेशनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको छ । सीसीएसटु-कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम हो । यस रणनीतिक विस्तारसँगै एमएडब्लू वृद्धिले नेपालको ईभी इकोसिस्टमलाई सुदृढ बनाउन लागेको हो । बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमहरूलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । फोटोन नेपाल र एमएडब्लू वृद्धि ग्रुपको बारेमा फोटोन नेपाल सञ्चालन गर्ने एमएडब्लू वृद्धि एमएडब्लू समूह र वृद्धि समूह बीचको साझेदारी हो जसले सन् २०१४ देखि नेपालभरि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ । एमएडब्लू वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगन जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै सेवा दिँदै आइरहेको छ ।  

डाइपर आयात हुँदा बाहिरियो १ अर्ब रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पौष मसान्तसम्म १ अर्ब रुपैयाँको डाइपर आयात भएको छ । चालु आवको पौष मसान्तसम्म १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ बढीको डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त डाइपर आयात हुँदा ३४ करोड ८२ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । नेपालमा १५ वटा देशहरूबाट डाइपर आयात हुने गरेको छ । अस्ट्रेलिया, भारत, डेनर्माक र चीन जस्ता मुलुकहरूबाट डाइपर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै भारतबाट ६९ करोड रुपैयाँ बढीको आयात भएको छ । साथै चीनबाट ४५ करोड र डेनर्माकबाट ५९ लाख रुपैयाँ बढीको डाइपर आयात भएको विभागले जनाएको छ ।