२७औं वर्षमा प्रवेश गर्यो सिद्धार्थ हस्पिटालिटी, धनगढीमा पाँचतारे होटल बनाउने
काठमाडौं । सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश गरेको छ । नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरु भएको थियो । हाल यस कम्पनी देशभर फैलिएको छ । सिद्धार्थ हस्पिटालिटीले २७औं वार्षिकोत्सवकाे अवसरमा २०३० सम्म स्वदेश तथा विदेशमा गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको जनाएकाे छ । कम्पनीले उक्त योजनालाई ‘भिजन २०३०’ नाम दिएकाे छ । उत्कृष्ट सेवा प्रदान गरेकाे भन्दै दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट दुई पटक कम्पनी सम्मानित भएकाे छ । साथै कर्णाली प्रदेश सरकारबाट पनि उत्कृष्ट एचआर प्राक्टिस (मानव संसाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो । साथै सिद्धार्थले ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरु गरेको छ । सिद्धार्थले धनगढीमा पाँचतारे होटलकाे याेजना अगाडि सारेकाे छ । यसअन्तर्गतका विभिन्न आउटलेटमा २ हजार ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । सिद्धार्थ भिलासा कम्पनीकाे पाँचतारे होटल हाे । यसैगरी, सिद्धार्थ वैभव चारतारे र सिद्धार्थ बाटिका तीनतारे होटल सञ्चालनमा आएकाे छ । सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान मंगलबारदेखि सुरु गरेको छ । विश्व क्यान्सर दिवसका अवसरमा यो अभियान सुरु गरिएको हाे । सिद्धार्थ हस्पिटालिटीका अनुसार खानामार्फत क्यान्सर रोगविरुद्ध लड्न जागरुकता जगाउनका लागि ‘विशेष स्वस्थकर मेनु’को तयार गरिनेछ । अभियानअन्तर्गत नै सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका होटल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषण खानासम्बन्धी जानकारी दिने कार्डहरू राखिने जनाइएकाे छ ।
सम्पदा लघुवित्तले १७० जना सदस्यलाई दियो सीपमूलक तालिम
काठमाडौं । सम्पदा लघुवित्तले ४ वटा शाखा कार्यालयमार्फत आवद्ध सदस्यहरूलाई सीपमूलक तालिम दिएको छ । शाखा कार्यालयहरू साँगाचौक सिन्धुपलान्चोक, ध्यामपेशाल, गोरखा, तुनिहवा रुपन्देही र सितापुर सप्तरीमा विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गरिएको हाे । शाखा कार्यालय साँगाचौकमा फिनेल ह्याण्डबास ट्वाइलेट क्लिनर तालिम सञ्चालन भएको र उक्त तालिममा ५० जना सदस्यहरूको सहभागिता रहेको थियो । यसैगरी, ध्यामपेशालमा उन्नत जातको बाख्रापालन तालिममा ५८ जना, तुनिहवामा लहरे तरकारी खेती तालिममा २६ जना र सीतापुरमा लहरे तरकारी खेती तालिममा ३६ जना गरी जम्मा १७० जना सहभागी सदस्यलाई सीपमूलक तालिम कार्यक्रम प्रदान गरिएकाे थियाे । तालिममा स्थानीय निकाय गाँउपालिका र नगरपालिकाका कृषि तथा पशुसेवा विभागका कर्मचारी प्रशिक्षहरूद्वारा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई तालिमपश्चात तालिमको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । वित्तीय संस्थाले हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालयमार्फत १ लाख ७८ हजार जना सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । हाल लगानीमा रहेको कर्जा रकम लगभग १० अर्बको हाराहारीमा रहेको छ ।
सामान्य अंकले घट्यो नेप्से, ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार १ करोड ९१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिन्स्योरेन्सको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै, हिमालयन पावरको पार्टनरको २६ करोड, सीइनर्जी पावर डेभलपमेन्टको २२ करोड, ग्रीन डेभलपमेन्ट बैंकको २० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै, सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
एनआरएनएको आइसीसी र एनसीसीबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) र राष्ट्रिय समन्वय परिषद् (एनसीसी)बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रियामा संघको वर्तमान अवस्था, आसन्न १० औं एसिया प्रशान्त एवं १६ औं यूरोप क्षेत्रीय सम्मेलन, दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन र विभिन्न क्षेत्रमा आयोजना गर्न लागिएका क्षेत्रीय बैठकहरू, गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन, सामाजिक सुरक्षाकोष वा वैदेशिक रोजगार, संघको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण तथा लगायत विभिन्न समसामायिक विषयवस्तुमा घनीभूत छलफल भएको थियो । भर्चुअल माध्यमबाट भएको उक्त अन्तरक्रियामा ५० एनसीसीका ६ सय भन्दा बढी गैरआवासीय नेपालीहरू उक्त अन्तरक्रियामा जोडिएका थिए । २०८१ माघ १९ गते तदनुसार ३१ जनवरी २०२५ देखि २०८१ माघ २० तदनुसार २ फेब्रुअरी २०२५ सम्म भएको तीनदिने कार्यक्रममा मध्यपूर्व, अफ्रिका, यूरोप, अमेरिकाज् एसिया प्रशान्त तथा ओसियाना क्षेत्रका एनसीसीका पदाधिकारीहरूले संघको लक्ष्य, उद्देश्य तथा वर्तमान परिस्थिति, ११ औं महाधिवेशनपश्चात बनेको डा बद्री केसी नेतृत्वको कार्यसमितिका कामकारबाही, ११ औं कार्यसमितिसँग असन्तुष्ट रहेको समूहका गतिविधि, बृहत एकता, आसन्न क्षेत्रीय सम्मेलन, एनसीसीको निर्वाचन, संघको सदस्यता र आगामी अक्टोबरमा हुने १२ औं महाधिवेशन र विश्व सम्मेलनका सम्बन्धमा आफ्ना सुझाव तथा धारणा व्यक्त गरे । ६ वटै क्षेत्रमा फरक-फरक समय हुने भएकोले यस अन्तरक्रिया कार्यक्रमलाई सबैको अनुकूल हुने गरेर समय निर्धारण गरी सञ्चालन गरिएको थियो । विशेषतः उक्त अन्तरक्रियामा मध्यपूर्व तथा अफ्रिका क्षेत्रका एनसीसी प्रतिनिधिहरुले मध्यपूर्व लगायत विश्वका विभिन्न देशमा वैदेशिक रोजगार तथा स्वरोजगारमा रहेका नेपाली पासपोटबहाक नागरिकलाई गैरआवासीय नेपालीको परिभाषाभित्र नराख्ने प्रावधान ल्याउन लागेको भन्ने विभिन्न समाचार सञ्चारमाध्यममा आइरहेकोले त्यस सम्बन्धमा संघले पैरवी र खबरदारी गर्नुपर्नेमा अधिकांश वक्ताहरुले जोड दिए । यस्तै, नेपाली विद्यार्थीहरुलाई पनि एनआरएनको परिभाषामा समेट्न सरकारको ध्यानाकर्षण गराउन एसिया प्यासफिक र ओसिनिया क्षेत्रका एनसीसीले सुझाएका छन् । अन्तरक्रियामा आगामी मार्च महिनामा आयोजना गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन र आसन्न १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी, सम्मेलनमा समावेश गर्ने विषयवस्तुमा छलफल भएको थियो । यस्तै, लामो रस्साकस्सीपश्चात प्राप्त गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि संघले थप पहल गर्नुपर्नेमा यूरोप र अमेरिकाज् क्षेत्रका एनसीसीका वक्ताहरूले जोड दिएका थिए । संविधानमै परिकल्पना गरिएको व्यवस्था पनि सरकारले पूर्ण रुपमा नदिँदा ८० लाख गैरआवासीय नेपालीहरु निराश भएको निष्कर्ष वक्ताहरुको थियो । वंशजको नागरिकता नै आफ्नो बटमलाइन भएपनि हाल प्राप्त उपलब्धिलाई संरक्षण गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि संघले खबरदारी गरिरहनुपर्नेमा एनसीसी पदाधिकारी तथा प्रतिनिधिहरूले सुझाएका थिए । अन्तरक्रियामा क्रममा धारणा राख्ने सम्पूर्ण एनसीसीका पदाधिकारी तथा प्रतिनिधिहरुले संघको सदस्यता खुला भइसकेको र एनसीसीको निर्वाचनमा केन्द्रित हुनुपर्ने वर्तमान अवस्थामा, वर्तमान कार्यसमितिले सबै पक्षलाई समेटेर मिलिजुली रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । सदस्यता नवीकरणको सम्बन्धमा पनि एनसीसीका प्रतिनिधिहरूले चासो राखेका थिए । सो अवसरमा विभिन्न देशहरुमा सदस्यता वितरण सुरु भइसकेको र बाँकी देशहरूमा छिट्टै सदस्यता खुल्ने जानकारी दिइएको थियो । एनआरएनको अन्तरक्रिया कार्यक्रममार्फत संघको वर्तमान अवस्था, विभिन्न क्षेत्रीय सम्मेलन र आगामी योजनाहरूका बारेमा गम्भीर छलफल गरी निम्नानुसार सुझाव संकलन गरिएको छ । १.सर्वोच्च अदालतको दुवै फैसलाको अध्ययन र अन्तर्य मनन गर्दै बृहत एकताको लागि पहल गर्नुपर्ने २. गैरआवासीय नेपाली नागरिकतका पूर्ण कार्यान्वयनको लागि संविधानमा परिकल्पित व्यवस्थाको पालना गर्न र सरकारलाई निरन्तर खबरदारी गराउनुपर्ने ३. ११ औं महाधिवेशनपछि असन्तुष्ट बनेको समूहलाई संवाद र समन्वयमार्फत बृहत् एकतामा ल्याउन हदैसम्मको प्रयास गर्नुपर्ने ४. आसन्न १० औँ एसिया प्रशान्त एवं १६ औं यूरोप क्षेत्रीय सम्मेलन, दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन र विभिन्न क्षेत्रमा आयोजना गर्न लागिएका क्षेत्रीय बैठकहरुमा सहकार्य समन्वय गर्ने ५.संघको सदस्यता खुला भईसकेको अवस्थामा सदस्यता नविकरण प्रावधान पनि राख्नुपर्ने तथा एनसीसीको निर्वाचनमा केन्द्रित हुनुपर्ने वर्तमान अवस्थामा सबै पक्षलाई समेटेर मिलिजुली रूपमा अघि बढ्नुपर्ने गैरआवासीय नेपाली संघको अन्तरक्रिया कार्यक्रमले संघको अवस्था र आगामी योजनाहरूको बारेमा गम्भीर छलफल गरेको छ । सबै क्षेत्रका प्रतिनिधिहरूले एकता र सर्वोच्च अदालतका फैसलाहरूको सम्मान गर्दै संघको भविष्यका लागि सकारात्मक कदम उठाउनुपर्नेमा जोड दिएका छन् । साथै १२ औं महाधिवेशन र विश्व सम्मेलन त्यसपूर्व एनसीसीको निर्वाचन लगायतमा केन्द्रित हुनुपर्नेमा छलफल कार्यक्रमले दिशानिर्देश गरेको छ ।
फेसबुक-इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि फेसबुक, इन्स्टा लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको खण्डमा प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् । अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि आह्वान गरिएको बताउँदै मन्त्री गुरुङले नआएको खण्डमा चल्न नदिने चेतावनी दिएका हुन् । नेपालमा उनीहरुले आफ्नो प्लेटफर्म चलाएबापत सहयोग गर्नुपर्ने उनको भनाइ छ । टिकटक मात्र नेपालमा दर्ता भएको र नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोग गरिरहेको गुरुङको भनाइ छ । सञ्चारमन्त्री गुरुङले देशमा साइबर क्राइमका घटनाहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम नियन्त्रण गर्ने ऐनको मस्यौदा तयार गरिरहेको बताए । आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र चालु अधिवेशनमै पेश गर्ने उनले बताए । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए । मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक पेश गरिएको उनले बताए । केहीले विरोध गरेको भए पनि लोकतन्त्रमा बिरोध हुनु स्वभाविक रहेको उनको भनाइ छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको बताए । देशको बारेमा मनपरी भन्न पाउने कुरा नै लोकतन्त्र हो भनेर कसैले भने त्यो स्वीकार्य नहुने उनले बताए । जनताको सूसुचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सरकार सचेत रहेको उनले बताए । जनताको अभिव्यक्ति स्वतन्त्रता र वाकस्वतन्त्रताको प्रत्याभूति हुनुपर्छ भन्नेमा सरकार गम्भीर रहेको गुरुङले बताए । अराजकतालाई अन्त्य र नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ थियो । लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाएर मात्रै नेपालीहरुको समृद्धिको यात्रा सहज हुने कुरालाई बुझेर नै विधेयक ल्याइएको उनको भनाइ छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्यसम्बन्धी सम्झौता भएको छ । बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालय समझदारी भएको हो । समझदारी पत्रमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समीर शेखर बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमालले हस्ताक्षर गरेका हुन् । सीईओ रिमालले यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताउनुका साथै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सीमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे । सम्झौता कार्यक्रममा बोल्दै डीसीईओ बज्राचार्यले उक्त साझेदारी व्यवसायका लागि मात्र नभई नवीन कार्य र प्रभावका लागि भएको बताए । यसका साथै उनले कम आय भएका मानिसहरूको वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केन्द्रित उत्पादनहरू विकास गर्ने प्रतिबद्धता जाहेर गरे । यसले दिगो विकासलाई टेवा पुर्याउने उनको दाबी छ । यसैगरी, सीईओ रिजालले सहकार्यबाट नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवर्द्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजिएको उल्लेख गरे । जसले लघु बीमा सम्बन्धि वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्ने उनको भनाइ छ । कार्यक्रममा इन्स्योरेन्सका डीसीईओ अनिल राज गिरी, प्रमुख विकास अधिकृत मनोजकुमार चौधरी र विकास बैंकका ट्रान्जेक्सन हेड राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।
विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने
काठमाडौं । लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो पूर्ण विद्युतीय कार (ईभी) सार्वजनिक गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीले मंगलबार यसबारेमा घोषणा गर्दै यस वर्ष राजस्व र मुख्य आम्दानी कम्तीमा ५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको बताएको छ। फरारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेनेडेटो भिग्नाले प्रतीक्षित ईभी अक्टोबर ९ मा इटालीको मारेनेल्लोस्थित मुख्यालयमा आयोजना हुने क्यापिटल मार्केट्स डे कार्यक्रममा प्रदर्शन गरिने जानकारी दिए । फरारीले लामो समयदेखि आफ्नो ईभी सार्वजनिक गर्ने समय भनेर संकेत गर्दै आएको थियो । सीईओ भिग्राले ‘अनौठो र नवप्रवर्तनीय तरिकाले सार्वजनिक गरिने’ भन्दै कारको विस्तृत विवरण दिन अस्वीकार गरे । ६ नयाँ मोडल सार्वजनिक गर्ने योजना फरारीले यस वर्ष छवटा नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको छ । सीईओ भिग्नाका अनुसार यो योजना अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीति वा व्यापार युद्धको जोखिमले प्रभावित हुने छैन । फरारीले सन् २०१९ देखि हाइब्रिड मोडलहरू आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । २०२३ मा कम्पनीका ५१ प्रतिशत कार बिक्री हाइब्रिड मोडलका थिए । मंगलबार फरारीले घोषणा गरेअनुसार २०२५ मा मुख्य आम्दानी २.६८ अर्ब युरो (२.७७ अर्ब डलर) पुग्नेछ । २०२४ को २.५६ अर्ब युरोभन्दा वृद्धि हुने अनुमान छ। सेयर मूल्यमा ७.६ प्रतिशतले वृद्धि मिलान स्टक एक्सचेन्जमा फरारीका सेयर मूल्य मंगलबार ७.६ प्रतिशतले बढेको थियो । ’दृढ वृद्धि’ को अपेक्षा कस्टुमाइजेसन, बलियो उत्पादन संयोजन र मूल्य निर्धारण क्षमताले २०२४ को मुख्य आम्दानी १२ प्रतिशतले बढाएको छ । ‘यी मजबुत आधारहरूमा हामी २०२५ मा अझ बढी वृद्धि हुने अपेक्षा गर्छौं,’ भिग्नाले भने । उनका अनुसार फरारीले २०२६ को उच्च लाभ लक्ष्य एक वर्ष अगावै प्राप्त गर्ने सम्भावना छ । फरारीका ग्राहकहरूले सामान्यतः कार कस्टुमाइज गर्ने गर्छन्, जसमध्ये मुख्य रूपमा रङ, लिभरी र कार्बन प्रयोग जस्ता सुविधाहरू पर्छन् । फरारीका वित्तीय प्रमुख (सीएफओ) एन्टोनियो पिक्का पिक्कनले बताएअनुसार २०२३ मा कस्टमाइजेसन सेवाबाट कुल राजस्वको १९ प्रतिशत योगदान थियो, जुन २०२४ मा २० प्रतिशतले वृद्धि भएको छ। चीन र अमेरिकी बजारमा अवसर फरारीले २०२४ मा अमेरिकी ग्राहकहरूलाई थप कारहरू डेलिभर गरेपछि राम्रो नतिजा प्राप्त गरेको छ । तर सीईओ भिग्नाका अनुसार भविष्यमा सम्भावित ट्यारिफहरूलाई ध्यानमा राखेर अमेरिका पठाइने कारहरूको ढुवानी बढाउने कुनै योजना छैन । २०२३ मा १३ हजार ७५२ कार अमेरिकामा डेलिभर गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा ८९ वटा बढी हो । हाल फरारीले चीनमा कुल डेलिभरी १० प्रतिशतको सीमामा राख्ने नीति लिएको छ । भिग्नाका अनुसार चीनमा ईभी लोकप्रिय भएकाले नयाँ विद्युतीय कार त्यहाँका लागि ठूलो अवसर बन्न सक्छ । साथै पेट्रोल कारभन्दा ईभीमा कम कर लाग्ने भएकाले पनि चीनमा बजार विस्तार गर्न मद्दत पुग्नेछ । सान्दर्भिक सामग्री : १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको बुधबार निरीक्षण गर्दै उनले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् । ‘ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमा गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्’, मन्त्री खड्काले भने । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले प्रतिबद्धता जनाए । तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले पाँच सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । एक सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल बाँधेपछि एक सय ८३ हेक्टरको हुनेछ । तालको वरपर पैदलमार्ग निर्माण गर्न एक हजार एक सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म नौ सय रोपनी अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए । अनुगमनमा ऊर्जामन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत पुगेका थिए ।