विकासन्युज

एमएडब्लूको पोर्टफोलियो २ अर्ब ५३ करोड, बैंकको भन्दा उच्च एनपीए

काठमाडौं । उद्योगी विष्णुकुमार अग्रवालले नेतृत्व गरिरहेको एमएडब्लू हायर पर्चेज कम्पनीको आम्दानी केही घटेको देखिएको छ ।  सन् २०२३ को तुलनामा २०२४ मा केही घटेको देखिएको हो । एमएडब्लू हायर पर्चेजले २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीको आम्दानी १० लाख अर्थात् ०.२२ प्रतिशतले घटेको देखिन्छ । २०२५ को पहिलो त्रैमासमा भने यस कम्पनीले १० करोड रुपैयाँ आम्दानी गरेको देखिएको हो । यस्तै, २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ भने बढ्दै गएको देखिएको छ । २०२३ मा ४९ करोड ४० लाख रुपैयाँको खुद नेटवर्थ रहेको यस कम्पनीको २०२५ सम्म आइपुग्दा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । सार्वजनिक विवरणका अनुसार एमएडब्लूको कुल पोर्टफोलियो २ अर्ब ५३ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसअघि अर्थात्  २०२४ मा यस कम्पनीको कुल पोर्टफोलियो २ अर्ब ४८ करोड ४० लाख, २०२३ मा २ अर्ब ३७ करोड ३० लाख र २०२२ मा २ अर्ब ५५ करोड ५० लाख रुपैयाँ थियो । २०२२ को तुलनामा पोर्टफोलियोमा गिरावट देखिए पनि २०२५ मा २०२३ र ०२४ को तुलनामा बढेको देखिएको हो । कम्पनीले आफ्नो कुल पोर्टफोलियोभन्दा बढी ऋण लिएको छ । रेटिङ एजेन्सी इक्राका अनुसार कम्पीले कुल २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।  जुन रकम पोर्टफोलियोभन्दा कम हो । कम्पनीले दीर्घकालीन ऋणका लागि एल डबल बी प्लसको रेटिङ पाएको छ भने अल्पकालिन ऋणका लागि ए फोर प्लसको रेटिङ प्राप्त गरेको छ । हालसम्म कम्पनीसँग कुल २ अर्ब ६८ करोड ५० लाख रुपैयाँबराबरको सम्पत्ति रहेको देखिएको छ । सन् २०२४ सम्म कुल २ अर्ब ६० करोड ८० लाख रुपैयाँ सम्पत्ति कम्पनीसँग थियो । यस्तै, कुल नन् पफर्मिङ लोन (एनपीए) बढ्दै गएको देखिन्छ । २०२४ मा ४.१९ प्रतिशतको अनुपातमा रहेको एनपीए २०२५ मा आइपुग्दा ४.३६ प्रतिशत पुगेको छ । यसले कम्पीको ब्याज आम्दानी मार्जिन पनि घटेको छ । २०२४ मा ८.०८ प्रतिशत रहेको कम्पनीको खुद ब्याज मार्जिन २०२५ मा ८.०३ प्रतिशतमा झरेको छ । सो ऋणका लागि रेटिङ गराएपनि कम्पनीले सबै ऋण भने उपभोग नगरेको बताएको छ । एमएडब्लूका डाइरेक्टर गोपाल अग्रवालका अनुसार कम्पनी अघिल्लो आर्थिक वर्षको तुलनामा यो त्रैमासमा केही सूचक दबाबमा रहे पनि आर्थिक वर्षको अन्तिममा सन्तुलन हुने बताउँछन् । उनका अनुसार कम्पनीको एनपीए बैंकको तुलनामा केही बढी भएपनि अन्य हायर पर्चेज कम्पनीको तुलनामा भने कम हो । कम्पनीले हायर पर्चेज कर्जा पनि प्रवाह गर्दै आएको छ । कम्पनीले प्रवाह गरेको कर्जा असुल गर्न चुनौती देखिएको विज्ञप्तिमा उल्लेख छ । सन् २०११ मा स्थापना भएकोको कम्पनीको मुख्य कार्यालय मोरङमा रहेको छ भने मुख्य शाखा काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट यसको सम्पूर्ण कामहरु भइरहेका छन् । यो कम्पनीले दुई पाँग्रे सवारी साधन र व्यावसायिक सवारी साधन बिक्री गर्दै आएको छ । यस कम्पनीमा एमएडब्लू प्राइभेट लिमिटेडको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसको नेतृत्व अग्रवालले नै गरिरहेका छन् । थप अपडेट : ८ः२१ बजे

अडानी ग्रुपलाई किन ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठग’ भनियो ? हिन्डेनबर्गको खुलासा यस्तो

काठमाडौं । अमेरिकी रिसर्च तथा लगानी कम्पनी हिन्डेनबर्ग रिसर्चको एक रिपोर्टका कारण अडानी ग्रुपको मार्केट क्याप १५० अर्ब डलरले घटेको थियो । हिन्डेनबर्ग रिसर्चले एक अन्तर्वार्ताका क्रममा अडानी ग्रुपलाई किन निशाना बनाइयो भन्ने बारेमा खुलासा गरेको छ । अहिले हिन्डेनबर्ग कम्पनी बन्द भइसकेको छ । कम्पनीका संस्थापक नथान एन्डरसनले कानुनी वा अन्य जोखिमका कारण व्यवसाय बन्द नगरेको बताए । अन्तर्वार्ताका क्रममा उनले भने, ‘हामी कुनै कानुनी वा अन्य जोखिमका कारण हाम्रो व्यवसाय बन्द गरिरहेका छैनौं र हामीले जारी गरेका सबै रिपोर्टहरूमा अझै पनि दृढ छौं ।’ एन्डरसनका अनुसार हिन्डेनबर्गको जनवरी २०२३ मा प्रकाशित अडानी ग्रुपविरुद्धको रिपोर्ट विभिन्न समाचारमाध्यमहरूमा ग्रुपबारे आएका समाचारहरूको परिणाम थियो । हिन्डेनबर्गले अडानी ग्रुपलाई ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठगी’ गरेको आरोप लगाएको थियो । अडानीविरुद्धको रिपोर्टपछि भारतमा चर्चित हिन्डेनबर्ग गौतम अडानी र उनको समूहविरुद्ध रिपोर्ट प्रकाशित गरेपछि हिन्डेनबर्ग रिसर्च भारतमा व्यापक चर्चाको विषय बन्यो । यद्यपि अडानी ग्रुपले रिपोर्टमा लगाइएका सबै आरोपहरूको पटक-पटक खण्डन गर्‍यो । एन्डरसनले केही मानिसहरूद्वारा हिन्डेनबर्गलाई ओसीसीआरपी र जर्ज सोरसजस्ता भारतविरोधी समूहहरूसँग जोड्ने प्रयासलाई ‘मूर्खतापूर्ण षड्यन्त्र’ को उपमा दिए । एन्डरसनले भने, ‘हामी यस्तो षड्यन्त्रकारी सोचलाई बढावा नदिने नीति अपनाउँछौं, त्यसैले हामीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनौं ।’ हिन्डेनबर्ग रिसर्च कम्पनी किन बन्द गरियो ? हिन्डेनबर्ग रिसर्चले विभिन्न कम्पनीहरूमाथि ठगीको आरोप लगाउँदै विस्तृत रिपोर्टहरू प्रस्तुत गर्दै आएको थियो । तर गत महिना एन्डरसनले आफ्नो कम्पनी बन्द गर्ने घोषणा गरे । कम्पनी अरू कसैलाई किन हस्तान्तरण गरिएन भन्ने प्रश्नमा उनले भने, ‘हिन्डेनबर्ग मेरो पर्याय नै हो । यदि यो कुनै सफ्टवेयर एप वा साइकल कारखाना हुन्थ्यो भने यसलाई बेच्न सकिन्थ्यो । तर जब कुरा मेरो अनुसन्धानको आउँछ, यसलाई कसैलाई दिन सम्भव छैन ।’ तर उनले हिन्डेनबर्गको टोलीले भविष्यमा कुनै नयाँ ब्रान्ड ल्याएमा आफूले समर्थन गर्ने बताए । यस कारण बनाइयो अडानीलाई निशाना एन्डरसन पहिलो पटक इलेक्ट्रिक ट्रक कम्पनी निकोलाविरुद्ध रिपोर्ट प्रकाशित गरेर चर्चामा आएका थिए । उनले कार्ल इकानको इकान इन्टरप्राइजेज लगायतका ठूला वित्तीय कम्पनीहरूलाई पनि निशाना बनाएका थिए । हिन्डेनबर्गको रिपोर्ट विशेष गरी अडानी ग्रुपविरुद्धको रिपोर्टबारे सोध्दा उनले भने, ‘हामी हाम्रो सबै अनुसन्धान निष्कर्षहरूसँग पूर्ण रूपमा अडिग छौं ।’ हिन्डेनबर्गले जनवरी २०२३ मा प्रकाशित रिपोर्टमा अडानी ग्रुपलाई ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो घोटाला’ गरेको आरोप लगाएको थियो । रिपोर्टमा अडानी ग्रुपले सेयर मूल्यमा हेरफेर गरेको र वित्तीय अनियमितता गरेको दाबी गरिएको थियो । यसपछि ग्रुपका कम्पनीहरूको मार्केट क्याप १५० अर्ब डलरले घटेको थियो । अडानी ग्रुपले भने यी सबै आरोपहरू अस्वीकार गरेको थियो । भारतविरोधी भएको आरोप ? उच्चतम अदालतले हिन्डेनबर्ग रिपोर्टसँग सम्बन्धित याचिका खारेज गरिसकेको छ । समयक्रमसँगै अडानी ग्रुपले आफ्नो व्यावसायिक प्रदर्शन बलियो बनाउँदै गएको छ र बजारमा गुमाएको मूल्य पुनः प्राप्त गर्न सफल भएको छ । हिन्डेनबर्गले भारतको सेयर बजार नियामक संस्था सेबीकी अध्यक्ष माधबी पुरी बुचमाथि पनि ’कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को आरोप लगाएको थियो । हिन्डेनबर्गका अनुसार यही कारण अडानी ग्रुपविरुद्ध गहिरो अनुसन्धान हुन सकेन । तर बुचले यी आरोपहरू अस्वीकार गर्दै आफू नियामक प्रमुख बन्नुअघि नै अडानीले लगानी गरिसकेको र उनले सबै आवश्यक नियमनहरू पालन गरेकी बताएकी थिइन् । हिन्डेनबर्गको रिपोर्टलाई भारत विरोधी दृष्टिकोणबाट हेरियो नि भन्ने प्रश्नमा एन्डरसनले भने, ‘हामी सधैं भारतको क्षमतामा विश्वास गर्छौं । पारदर्शिता र मजबुत कर्पोरेट प्रशासन भारतको विकास कथा सफल बनाउनका लागि प्रमुख तत्वहरू हुन् ।’ हिन्डनबर्ग रिसर्चको स्थापना २०१७ मा भएको थियो । यसको अन्तिम प्रकाशित रिपोर्ट अनलाइन कार खुद्रा विक्रेता कारवानासम्बन्धी थियो ।

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुदा नाफा १०४ प्रतिशतले वृद्धि

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरू सबै बढेका छन् । यस अवधिमा खुद नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा संस्थाले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । साथै इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा पनि यसको नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १३७.५७ प्रतिशतले बढेर ५ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख ९६ हजार रुपैयाँ रिभर्सल भएको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृती प्राप्त यस वित्तीय संस्थाले ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयहरूमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले कुल १२ लाख २ हजार ७९७ विपन्न वर्गका घर परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एक सय ३५ किमी पर्दछ । विसं २०६४ देखि सुरु भएको आयोजनाको बागलुङ खण्डमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । लोकमार्गको सदरमुकाम खण्डमा विभिन्न संस्थाहरूको पहलमा साढे दुई दशक अगाडि ट्रयाक खुलेको थियो । पश्चिम बागलुङखण्डमा २०६४/६५ तिर मात्रै ट्रयाक खोलिएको थियो । आयोजना सुरु भएको १७ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा लोकमार्ग छेउछाउका बस्तीका बासिन्दा समस्यामा छन् । करिब ९० प्रतिशत काम सकिएकाले बाँकी यथाशीघ्र सम्पन्न हुने मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ । कार्यालयका सूचना अधिकारी किरण सुवेदीले हालसम्म एक सय २२ किमी सडक कालोपत्र भएको बताउँदै अब १३ किमी कालोपत्र गर्न बाँकी रहेको जानकारी दिए । लोकमार्ग कार्यालयले विभिन्न खण्डमा काम गरिरहेको भन्दै निसीखोला गाउँपालिकाअन्तर्गतका १५ किमीमा काम सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको उनले बताए ।उनका अनुसार बागलुङ बजारबाट बयलडाँडासम्मको पाँच किमी र बयलडाँडाबाट घोडाबाँधेसम्मको आठ किमीबाहेक सबै खण्ड कालोपत्र भइसकेको छ । पाँच किमी यसै वर्ष सम्पन्न हुने र बाँकी आठ किमी आगामी वर्षमा सक्नेगरी काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए । उनले भने, ‘बागलुङ खण्डमा पर्ने धेरै ठाउँमा सडक कालोपत्र भएर पुनः मर्मत पनि भइसकेका छन्, काम सकिएका खण्ड सडक विभागलाई हस्तान्तरण गर्न बाँकी छ, अब काम सकिने गतिमा छ । बिहुँ खण्डमा ठेक्का तोडेर पुनः लगाउँदा ढिला भएको हो, अबको एक वर्षमा सबै काम सकिने छ, काम सकिएपछि सबै खण्ड सडक विभागलाई हस्तान्तरण गर्नेछौँ ।’ मध्यपहाडी लोकमार्गले नजोडिँदा बागलुङको सबैभन्दा विकट मानिने निसोखोला अहिले सुगम बनेको छ । निसीखोलावासीका लागि लोकमार्ग वरदान सावित भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । यो लोकमार्गले सिधैँ प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँसँग जोडेको उनको भनाइ छ । ‘विगतमा निसीखोला विकट हुँदा काम गर्ने कर्मचारी पनि आउन मान्दैनथे, यहाँका नागरिकले हप्ता दिन लगाएर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो, तर अहिले एकै दिनमा सदरमुकाम होइन राजधानी नै पुग्न सकिन्छ’, अध्यक्ष घर्ती मगरले भने, ‘सहज सडकको पहुँले यहाँको उत्पादन बजारीकरण गर्न र यात्रा गर्न टेवा पुर्याएको छ भने यस क्षेत्रका हजारौँ नागरिकको जीवनस्तर पनि परिवर्तन ल्याएको छ ।’ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङखण्ड भएर पश्चिम नेपालको पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत जिल्लाबाट दैनिक दर्जनौँ रात्रि तथा दिवा बस सङ्घीय राजधानी काठमाडौँका लागि सञ्चालन हुन थालेका उनले बताए । रासस

यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्नसक्ने प्रविधि सञ्चालनमा, ‘पेलिकन क्रसिङ’ ३६ ठाउँमा जडान

काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए । सडक दुर्घटना न्युनिकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए । उनकाअनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरु समेत ट्राफिक लाइट बाल्ने प्रविधि शुरु गर्न लागेको जानकारी दिए । ‘यसलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई पुस गरिँदैन यसले काम गर्दैन । पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ । र ढुक्कका साथ बाटो काट्नसक्छ,’ उनले भने । सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुशी भएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास लिइन् । पद्मकन्या अगाडिको सडकमा महिनैपिच्छे दुर्घटना हुने भएको कारण काठमाडौं महानगरको यस कार्यको प्रशंसा गरिन् । उनले भनिन्, ‘रोड सेफ्टीको लागि जुन यो ट्राफिक लाइट र बटन राखिदिनुभएको छ यो एकदमे उदाहरणीय काम भएको छ । सही समयमा सही ठाउँमा राखिदिनुभएको छ । यसको लागि धेरै धेरै धन्यावाद दिन चाहन्छु ।’ पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर उक्त प्रविधि सञ्जालनमा आएको बताइन् । उनले सडक सुरक्षाको मापदण्डमा काठमाडौं महानगरले अवलम्वन गरेको उक्त मापदण्ड सबैभन्दा उत्तम रहेको बताइन् । जेब्रा क्रसिङ गर्नको लागि उक्त प्रविधिले दिने समयबारे केही समयको अभ्यासपछि पुनरावलोकन गर्न सकिने जानकारी दिइन् । काठमाडौं महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ ।

रोजगारी सिर्जना गर्दै ‘सहकारी’

तुलसीपुर । तुलसीपुरस्थित ‘हाम्रो पहुँच’ बहुउद्देश्यीय सहकारी संस्थाले एक सय बढीलाई रोजगारी प्रदान गरेको छ । चार हजार सात सय शेयर सदस्य रहेको सहकारीले एक सय सात जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको हो । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले एक सय सात जनाले रोजगारी पाउनुका साथै एक हजार दुई सय उद्यमशीलतामा जोडिएका जानकारी दिए । उनका अनुसार सहकारीले बचत तथा ऋणसहित विद्यालय, पेट्रोलपम्प, डेरी उद्योगसहित विभिन्न छ वटा व्यवसाय सञ्चालन गर्दै आएको छ । विसं २०६४ मा स्थापनि भएको उक्त सहकारीले तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरूमा सेवा प्रदान गरिरहेको छ । हाल सहकारीको वार्षिक कारोबार ६० करोड रुपैयाँ रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक करोड २८ लाख दुई हजार आठ सय ६५ रुपैयाँ खुद बचत छ । पछिल्लो समय सहकारी सम्बन्धमा नकारात्मक विषय बढी आउने गरेका भन्दै अध्यक्ष भण्डारीले सकारात्मक र उदाहरणीय काम गरिरहेका सहकारीलाई स्थानीय सरकारले संरक्षण र प्रवर्द्धन गर्न योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए । चालु आर्थिक वर्षमा आठ सय नयाँ सदस्य थप्ने लक्ष्य रहेको उल्लेख गर्दै हाल तुलसीपुर उपमहानगरमा मात्रै कार्य क्षेत्र रहेकामा आगामी दिनमा जिल्लाभर विस्तार गर्ने योजना रहेको उनले बताए ।

रतन टाटाको २४ हजार करोड रुपैयाँ कसले पाउला ? इच्छापत्र उदाहरण बन्नसक्ने

काठमाडौं । भारतका उद्योगपति रतन टाटाको निधन भए पनि उनका असल कर्महरूको सम्झना र उनले स्थापना गरेका संस्थाहरू संधै रहनेछन् । तर उनले स्थापना गरेको संस्था रतन टाटा एन्डोमेन्ट फाउन्डेशन (आरटीईएफ) को विषयमा केही अन्योल छ । यो फाउन्डेशन उनको व्यक्तिगत पैसाबाट सञ्चालन गरिनेछ, जसबाट समाजसेवाका कामहरू हुने बताइएको छ। तर आरटीईएफका ट्रस्टीहरू कसले छान्ने भन्नेबारे स्पष्ट छैन । दिवंगत रतन टाटाले आफ्नो इच्छापत्रमा यस बारेमा कुनै स्पष्ट निर्देशन दिएका छैनन् । टाटा समूहसँग सम्बन्धित व्यक्तिहरूले यसको लागि कुनै निष्पक्ष व्यक्तिको सहयोग लिन सक्छन् । सुप्रिम कोर्टका कुनै सेवानिवृत्त प्रधानन्यायाधीशलाई यस मामलामा मध्यस्थकर्ता बनाउन सकिने पनि जनाइएको छ । उनैले ट्रस्टी छान्ने अधिकार टाटाको इच्छापत्र कार्यान्वयन गर्ने व्यक्ति, टाटा परिवार वा टाटा ट्रस्टका सदस्यहरूमध्ये कसको हातमा छ भनेर निर्धारण गर्नेछन् । रतन टाटाले समाजसेवाको लागि सन् २०२२ मा दुई संस्थाहरू स्थापना गरेका थिए जसलाई उनको व्यक्तिगत सम्पत्तिबाट सञ्चालन गरिनेछ । यीमध्ये आरटीईएफ र रतन टाटा एन्डोमेन्ट ट्रस्ट समावेश छन् । यीमध्ये आरटीईएफ कम्पनी ऐन, २०१३ को धारा ८ अन्तर्गत स्थापना गरिएको थियो । भारतको सबैभन्दा ठूलो औद्योगिक समूह टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा रतन टाटाको ०.८३ प्रतिशत हिस्सा थियो । हुरुन इन्डिया रिच लिस्ट २०२४ अनुसार रतन टाटाको कुल सम्पत्ति लगभग १२,६४० करोड रुपैयाँ थियो । आरटीईएफसँग टाटा डिजिटल र टाटा टेक्नोलोजिजमा पनि केही हिस्सा छ । २४ हजार करोडको सम्पत्ति स्रोतहरूका अनुसार रतन टाटाको सम्पत्ति २४ हजार करोड रुपैयाँभन्दा पनि बढी थियो । टाटा समूहका अधिकारीहरूका अनुसार टाटा चाहन्थे कि आरटीईएफ टाटा ट्रस्टबाट अलग रहोस् । टाटा ट्रस्टसँग टाटा सन्सको ६६ प्रतिशत हिस्सा छ । रतन टाटा आफ्नो धेरैजसो सम्पत्ति समाजसेवामा लगाउन चाहन्थे । मानिएको छ कि उनको धेरैजसो सम्पत्तिलाई आरटीईएफले व्यवस्थापन गर्नेछ । बाँकी ट्रस्टले हेर्नेछ । रतन टाटासँग धेरै कारहरू थिए, जसमा फेरारी र मसेराती पनि समावेश छन् । यी कारहरूको लिलामी हुन सक्छ र यसबाट प्राप्त हुने पैसा आरटीईएफमा जानेछ । टाटाले आरआर शास्त्री र बुर्जिस तारापोरवालालाई आरटीईएफका होल्डिङ ट्रस्टी बनाएका थिए । जमशेद पोन्चालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेका थिए । स्रोतहरूका अनुसार उनले टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनलाई म्यानेजिङ ट्रस्टी बनाउने इच्छा व्यक्त गरेका थिए । तथापि अहिले यो स्पष्ट छैन कि आरटीईएफका ट्रस्टी कसले नियुक्त गर्नेछ । टाटाले आफ्नो इच्छापत्रका कार्यान्वयनकर्ताको रूपमा डेरियस खम्बाटा, मेहली मिस्त्री, शिरीन र डायना जेजीभोयलाई छानेका थिए । स्रोतहरूका अनुसार खम्बाटा एक वरिष्ठ वकील हुन् तर साथै उनी रतन टाटाको इच्छापत्रका कार्यान्वयनकर्ता पनि हुन् । त्यसैले सरोकारवालाहरू अन्य वरिष्ठ कानुनी विज्ञसँग सल्लाह लिन चाहन्छन् । जेजीभोय दिदीबहिनीहरू रतन टाटाका सौतेनी बहिनीहरू हुन् । रतन टाटाका नजिकका मिस्त्री सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टका बोर्ड ट्रस्टी हुन् । के भन्छन् जानकारहरू ? यसबारेमा इच्छापत्रका चारै कार्यान्वयनकर्ताहरूले कुनै टिप्पणी गरेका छैनन् । इच्छापत्रको कानुनी प्रक्रिया पूरा भएपछि आरटीईएफलाई टाटा सन्स र समूहका कम्पनीहरूमा रतन टाटाको हिस्सेदारीबाट धेरै पैसा प्राप्त हुनेछ । रतन टाटाको ८६ वर्षको उमेरमा अक्टोबर २०२४ मा निधन भएको थियो । उनी आरटीईएफले समाजसेवाका नयाँ र आवश्यक क्षेत्रहरूमा ध्यान दिओस् भन्ने चाहन्थे । हाल आरटीईएफ एक बोर्डद्वारा सञ्चालित संस्था हो र आफ्ना उद्देश्यहरू अनुसार काम गर्छ । लिटिल एन्ड कम्पनीका म्यानेजिङ पार्टनर अजय खतलावालाले सामान्यतया यदि इच्छापत्रमा सम्पत्ति व्यवस्थापनको बारेमा कुनै विशेष निर्देशन छैन भने कार्यान्वयनकर्ताहरूको जिम्मेवारी हुन्छ कि उनीहरूले दिवंगत व्यक्तिको इच्छा अनुसार काम गर्ने बताए । उनले आरटीईएफ कम्पनी ऐन २०१३ को धारा ८ अन्तर्गत स्थापित कम्पनी भएको बताए । त्यसैले यो आफ्नो मेमोरेन्डम अफ एसोसिएसन, आर्टिकल्स अफ एसोसिएसन र कम्पनी ऐनका प्रावधानहरू अनुसार चल्नेछ । आरटीईएफका ट्रस्टी वा निर्देशकको नियुक्तिको मामला यसको आर्टिकल्स अफ एसोसिएसनमा दिइएका प्रावधानहरू अनुसार तय हुनेछ । यो मामला भारतमा लिगेसी फाउन्डेशनको सञ्चालनको लागि एक उदाहरण बन्न सक्छ । ट्रस्टीको जिम्मेवारी खतलावालाले इच्छापत्रमा स्पष्ट लिखित निर्देशन हुनु निकै महत्त्वपूर्ण हुने बताउँदै यसले संस्थापकको मृत्युपछि विवाद र अस्पष्टताबाट बच्न सकिने जनाए । निजी ट्रस्टको मामलामा भारतीय ट्रस्ट ऐन, १८८२ अनुसार ट्रस्टी त्यो व्यक्ति हुन्छ जसले ट्रस्ट बनाउने व्यक्तिको विश्वास स्वीकार गर्छ । चेम्बर्स अफ श्रेणिक गान्धीका म्यानेजिङ पार्टनर श्रेणिक गान्धी भन्छन्, ’ट्रस्ट बनाउने व्यक्तिले ट्रस्टीको भूमिका, जिम्मेवारीहरू र अधिकारहरूको उल्लेख गर्न सक्छ । उनले कुनै व्यक्तिलाई ’म्यानेजिङ ट्रस्टी’ वा ’होल्डिङ ट्रस्टी’ को रूपमा अतिरिक्त अधिकारहरूसहित नियुक्त पनि गर्न सक्छन् । यदि ट्रस्टका कागजातहरूले कुनै ट्रस्टीलाई ट्रस्टमा कुनै महत्त्वपूर्ण पदमा कसैलाई नियुक्त गर्ने अधिकार दिन्छन् भने त्यस्तो अधिकारको प्रयोग गर्न सकिन्छ । तथापि ट्रस्टीको अन्तिम जिम्मेवारी ट्रस्टको सम्पत्तिको लाभ प्राप्त गर्नु र त्यसको रक्षा गर्नु हो ।’

रवि लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बुधबार बिहान १० बजे अदालतमा उपस्थित भएका हुन् । लामिछाने अदालतमा उपस्थित भएसँगै उनको मुद्दा गोलाप्रथाबाट न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ । अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार ढकालको इजलासमा बयान सुरु गरिएको छ । अदालतमा बयान सकिएसँगै थुनछेक बहस सुरु हुने उनले बताए । सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ । अदालतमा मुद्दा दर्ता भएसँगै लामिछाने चितवन आएका हुन् । दर्ता गरिएको मुद्दामा प्रतिवादीहरुमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछानेलाई किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचतसहित छ वटा संस्था रहेका पनि छन् । साहारा सहकारीबाट रकम लगेर गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिए । मुद्दा दायर भएका कूल ३२ मध्ये १२ जनाविरुद्ध ठगी र सङ्गठित अपराध तथा २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएका जिवी राई भन्ने जीतेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बाँस्तोला रहेका छन् । यसअघि असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।  सरकारी वकिल कार्यालयले जिवी राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अघिल्लो पटक दर्ता भएका १७ जनाको पनि बयान लिइएको छैन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७  रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ क्षतिपूर्ति भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिए । ५२ करोड रुपैयाँमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख छ हजार १३१ दशमलव ४७ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुने गरी अभियोग दाबी गरिएको छ । बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउनुपर्ने रकम  ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रहेको छ । व्यक्तिगत रुपमा जिवी राईबाट ४१ लाख ३० हजार, असरफअलि सिद्दिकीबाट ती करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङबाट दुई करोड ६४ लाख रुपैयाँ भराइनुपर्ने मागदाबी गरिएको छ । रासस