सुनको मूल्य २२ सयले बढ्यो, प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँ
काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा किनबेच भईरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्य उच्च दरमा वृद्धि भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतीतोला एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ईभीको बीमा गर्न पन्छिँदै कम्पनी, ‘मूल्यभन्दा बढी दाबी’
काठमाडौं । गत असोजको अविरल वर्षाले गएको बाढीमा काठमाडौंका प्रविन (नाम परिवर्तित) को गाडी डुब्यो । एक वर्षअघि मात्रै खरिद गरेको सो गाडीको उनले एउटा अटो मोबाइल्स कम्पनीमार्फत् बीमा कम्पनीमा बीमा गरेका थिए । गाडी डुबानमा परेर पूर्ण क्षति भएपछि उनी अटो मोबाइल्स कम्पनीकहाँ पुगे । बीमा गरेको अटो मोबाइल्स कम्पनीले बीमा कम्पनीलाई खबर गर्यो । २४ घण्टा पानीमा डुबेको अमोडा ई फाईभ एसयूभी गाडी पूर्ण क्षति भएको सूचना पाएपछि सो बीमा कम्पनीले सर्भे गर्न सर्भेएरलाई खटायो । गाडीमा के कति क्षति भयो भनेर सर्भेयरले वर्कसपको समन्वयमा रिपोर्ट बनायो । सो रिपोर्टअनुसार बीमा कम्पनीमा गाडीको ९२ लाख रुपैयाँको दाबी पेस भयो । जबकी नयाँ गाडीको मूल्य ६१ लाख रुपैयाँ थियो । गाडीको कुल मूल्यभन्दा बीमा कम्पनीमा ३१ लाख धेरै दाबी पेस भएपछि कम्पनी सशंकित बन्यो । पूर्ण रुपमा क्षति भएको गाडीको हरेक पार्टपुर्जा र ब्याट्री पनि फेर्नुपर्ने भएपछि गाडीको मूल्यभन्दा ३१ लाख रुपैयाँ बढी दाबी पेस भएको कम्पनीले जानकारी पायो । यसरी मूल्यभन्दा धेरै दाबी परेपछि गाडीको बीमा दाबी भुक्तानी बीमा कम्पनीले अहिलसम्म गर्न सकेको छैन । यो एउटा उदाहरण मात्रै हो । अहिले बीमा कम्पनीमा यस्ता किसिमका धेरै उदाहरण देखिन थालेका छन् । बीमा कम्पनीमा बाढीले होस् या कुनै दुर्घटनाले यस्ता खालका बीमा दाबी आइरहेको बीमा कम्पनी बताउँछन् । ईभी गाडीमा क्षति हुँदा आईसीई (पेट्रोलियम पदार्थबाट चल्ने) गाडीको तुलनामा धेरै दाबी पेस हुने गरेको बीमा कम्पनीहरूले बताउँदै आएका छन् । जसले गर्दा बीमा कम्पनीहरू ईभी गाडीको बीमाबाट पछि हट्न थालेका छन् । नेपालमा विद्युतीय गाडी (ईभी) आयात बढेसँगै यसका धेरै चुनौतीहरू पनि भित्रिएका छन् । तर, सम्बन्धित निकायले यसतर्फ ध्यान दिन सकेको छैन । सरकारले आईसीई सवारीसाधन विस्थापित र ईभीलाई प्रोत्साहन गर्ने नीति लिएसँगै नेपालमा ईभीको आयात ह्वात्तै बढ्न थालेको हो । चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बढीको ५ हजार ४८० वटा ईभी (जीप, भ्यान र कार) आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा ५ वटा देशबाट ईभी गाडी आयात हुने गरेको छ । सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिएसँगै आयात पनि बढेको हो । सरकारले विद्युतीय गाडीमा भन्सार छुट पनि दिएको छ । यसले गर्दा १ करोड ५० लाख रुपैयाँसम्म पर्ने ईभी गाडी कर छुटकै कारण ८० लाख रुपैयाँको हाराहारीमा किन्न सकिन्छ । यसरी ईभीको आयात र प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जाँदा बीमामा भने अर्को समस्या देखा परेको हो । विद्युतीय गाडीमा बिक्रि पछिको सेवा अर्थात् ‘आफ्टर सेल्स सर्भिस’ र बीमाको विषय झन् पेचिलो बन्दै गएको हो । दक्ष जनशक्तिको अभावका कारण नेपालमा ईभीमा सानो समस्या आउँदा पनि बिक्रेता कम्पनीले नै सञ्चालन गरेको वर्कशपमा मर्मत गर्न पुग्नुपर्ने, पार्टपूर्जा फेर्दा महँगो पर्ने, सानो दुर्घटनामा पनि ठुलो आर्थिक क्षति बेहोर्नुपर्ने, चार्जिङ स्टेशनको अभाव लगायतको विषय अहिलो ईभी बजारको जल्दोबल्दो समस्याका रुपमा देखिएका छन् । ईभीको स्पेयर पार्ट्सको मूल्य आईसीई गाडीको तुलनामा महँगो, ब्याट्रीको एउटा सेल ड्यामेज भए पनि पुरै ब्याट्री फेर्नुपर्ने, गाडीको वर्कशपले पार्टस् को मर्मतभन्दा पनि पुरै फेर्नुपर्ने हुँदा सानो दुर्घटना भएको गाडीको पनि धेरै मूल्यको दाबी पेस हुने गरेको कम्पनीहरूले जानकारी गराएका छन् । ईभी कमर्सियल भेहिकलको पुरै बडी च्यासिससँगै जडान हुने भएकाले च्यासिसमा केही समस्या आए पुरै बडी फेर्नुपर्ने हुन्छ । यसले गर्दा च्यासिसको मात्रै बिग्रिएको वा बाँगिएको खण्डमा पनि पुरै गाडीको मूल्य बराबरको दाबी भुक्तानी बीमा कम्पनीले बेहोर्नुपर्ने हुन्छ । यस्तै, ईभीको कुल मूल्यको ७० प्रतिशत हाराहारीमा ब्याट्रीको मूल्य पर्ने गर्छ । अर्थात् कुनै एक करोड पर्ने ईभीको ब्याट्री फेर्नु पर्यो भने ७० लाख रुपैयाँको हाराहारी पर्छ । अर्थात्, पुरै ब्याट्री फेर्नु भनेको गाडीको पुरै क्षतिको बराबरको दाबी भुक्तानी दिनु सरह नै हो । बीमा कम्पनीहरुलाई अहिले यो विषय ठूलो समस्याको रुपमा खडा भएको छ । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको अटो पोलिसीअनुसार आईसीई इन्धन सवारीको तुलनामा ईभीको बीमा गर्दा २५ प्रतिशत छुट सुविधा रहेको छ । अर्थात्, ईभीको बीमाबाट बीमा कम्पनीहरूलाई २५ प्रतिशत कम प्रिमियम प्राप्त हुन्छ । यही कारणले बीमा कम्पनीमा ईभीको धेरै दाबी भुक्तानी पेस हुने भएकाले कम्पनीहरू ईभीको बीमाबाट पन्छिन खोजेका छन् । एकातिर समस्या नै समस्या, अर्कोतिर बीमा गर्दा २५ प्रतिशत छुट दिनु पर्ने र तिनै गाडीको उच्च दाबी परेपछि कम्पनीहरु अहिले ईभीको बीमा गर्न पन्छिरहेका छन् । अहिलेकै पोलिसीअनुसार ईभीको बीमाबाट कम्पनीलाई केही फाइदा नहुने कम्पनीहरूले बताएका छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले ईभी गाडीहरूमा दाबी संख्या र दाबी रकम दुवै धेरै हुने भएकाले अहिलेको पोलिसीअन्तर्गत बीमा गर्दा कम्पनीहरूलाई घाटा हुने धारणा राखे । ‘इन्धन भेहिकलको तुलनामा ईभीको दाबी पेस हुने संख्या र दाबी रकम दुवै उच्च छ । यसले गर्दा कम्पनीलाई यसको बीमा गरेर फाइदा भन्दा पनि घाटा नै छ,’ उनले भने । अध्यक्ष क्षेत्रीले ईभी गाडीमा सरकारले भन्सार छुट दिएका कारण १ करोडभन्दा बढी मूल्य पर्ने गाडी ५० लाख रुपैयाँभन्दा कम मूल्यमा नेपालमा किन्न सकिने अवस्था भएको र स्पेयर पार्ट्समा कर छुट नदिँदा कम्पनीहरूलाई समस्या भएको बताए । १ करोड मूल्य पर्ने गाडीलाई नेपालमा ५० लाख पर्ने र बीमा कम्पनीले सोही ५० लाख रुपैयाँबाट प्रिमियम लिने गर्दछ । तर, स्पेयरमा कर छुट नहुँदा गाडी मूल्यको तुलनामा स्पेयर पार्ट्स महँगो भएको उनको बुझाइ छ । यसले गर्दा क्षति भएको खण्डमा महँगो मूल्यमा पार्ट्स फेर्नुपर्ने हुँदा कम्पनीहरू मारमा परेको उनको भनाइ छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका क्षेत्रीले अब ईभी बीमाको हालसम्मका अवस्थालाई विश्लेषण गर्नुपर्ने बेला आएको बताए । हालसम्म भएको बीमा, दाबी अनुपात, संकलन भएको प्रिमियम रकम लगायत विषयमा गहन रूपमा विश्लेषण गरेर ईभीको नयाँ पोलिसी बनाउनु पर्नेमा उनको जोड छ । वर्कशपहरूले गाडीको केही सामान्य क्षति भएको खण्डमा पनि सो पार्ट्स मर्मतभन्दा पनि पुरै पार्ट्स नै परिवर्तन नै गर्न कन्भिन्स गर्ने गरेको बीमा कम्पनीहरुका अधिकारीहरु बताउँछन् । ‘ईभी गाडी मर्मतका लागि स्वयम् बिक्रेता कम्पनीले नै वर्कशप स्थापना गरेको हुन्छ । अन्य स्थानमा ईभीको मर्मत हुँदैन । वर्कशपहरूले आफ्नै तरिकाले पार्ट्सको मूल्य लिने, मर्मत अन्तर्गत श्रमिक खर्च धेरै राख्ने गरेको सुनिएको छ,’ एक बीमा कम्पनीका उच्च तहका कर्मचारीले भने । निर्जीवन बीमा कम्पनीका एक जना सीईओले अहिलेकै पोलिसीअनुसार ईभीको बीमा गर्न कम्पनीहरूलाई गाह्रो पर्ने बताए । उनले आफूहरू ईभीको बीमाबाट पन्छिन खोजेको जानकारी दिए । उनले भने, ‘बीमा नै गर्दैनौं त भन्न मिलेन । तर, ईभी बीमाका लागि हामी जनशक्ति खर्च गर्दैनौं । मार्केटिङका कर्मचारी परिचालन गर्दैनौं । आएकालाई गराउँछौं । खोल्दै जादैनौं ।’ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीले ईभीको बीमामा बीमा कम्पनीहरूलाई केही समस्या भएमा वार्ताको माध्यमबाट समाधान गर्न सकिने धारणा राखे । उनले हालसम्म ईभीको बीमामा समस्या भएकोबारे बीमा कम्पनीहरूले आधिकारीक रूपमा नाडालाई जानकारी नगराएको बताउँदै समाधानको पहल गर्न आफूहरू तयार रहेको सुनाए । ईभी गाडीको हरेक पार्ट्समा सेन्सर जोडिएको हुन्छ । सोही कारणले पनि पार्ट्सको मूल्य केही महँगो हुन गएको उनले स्वीकार गरे । यस्तै, वर्कशपले मर्मतभन्दा पनि पार्ट्स नै परिवर्तन गर्ने गरेको गुनासोप्रति उनले ध्यानाकर्षण भएको बताए । उनले भने, ‘यदि कतै कसैले त्यस्तो गरेको भए त्यो गलत भयो । मर्मत गर्न सकिने मर्मत गर्नुपर्यो । मर्मत गर्न नसकिने मात्र परिवर्तन गर्नु पर्छ ।’ पोलिसी पुनरावलोकन गर्दै प्राधिकरण बीमा प्राधिकरणले हालको पोलिसीलाई पुनरावलोकन गर्ने तयारी भइरहेको बताइन् । प्राधिकरणकी निर्देशक पुजन ढुङ्गेलले हालको पोलिसीलाई केही परिमार्जन गर्नुपर्ने देखिएकाले समिति नै गठन गरिएको जानकारी दिइन् । प्राधिकरणको बीमा प्रबर्द्दन महाशाखाकी प्रमुख समेत रहेकी ढुङ्गेलकै संयोजकत्वमा समिति गठन भएको हो । जहाँ सबै सरोकारवाला निकायका प्रतिनिधिहरू पनि छन् । अबको केही दिनपछि समितिले काम सुरु गर्ने उनले जानकारी दिइन् । के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयको निष्र्कश तीन महिनापछि मात्रै आउने उनको भनाइ छ । हालसम्म भएको ईभीको बीमा, क्लेम हिस्ट्री र प्रिमियमलाई गहन ढंगले अध्ययन गरेर नयाँ पोलिसी निर्माण हुने अधिकारीले जानकारी दिइन् ।
ट्रम्प भन्छन् : अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि यसको पुनर्विकास गर्ने बताएका छन् । ट्रम्पले भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा पुनर्वास प्रक्रिया कसरी सञ्चालन गर्ने भन्नेबारे विवरण प्रदान नगरी उक्त टिप्पणी गरेका हुन् । उनले अमेरिकाले गाजापट्टी कब्जा गर्ने र पुनर्विकासको काम गर्ने पनि बताए । गाजापट्टी विश्वका मानिसहरूको घर बन्नसक्ने बताए । राष्ट्रपतिले इजरायल भ्रमण गर्ने र सम्भवतः गाजाको भ्रमण गर्ने योजना रहेको जानकारी दिए ।
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने
ललितपुर । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन् । च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने,’बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’ च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरु मौन रहेकामा उनी दुःखी हुन् । खेलकुद परिषद्सँग १० लाख रुपैयाा माग गरेका तर हालसम्म निर्णय नभएको उनको कथन छ । ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिन्छन् । दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले २८ करोड रुपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।
हङकङको अर्थतन्त्र २.५ प्रतिशतले बढ्यो
काठमाडौं । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जारी गरेको अग्रिम अनुमानअनुसार वस्तु र सेवाहरूको निर्यातले वृद्धि कायम राखेको कारण हङकङको अर्थतन्त्र २०२४ मा २.५ प्रतिशतले विस्तार भएको छ । जनगणना र तथ्याङ्क विभागको तथ्याङ्कले २०२४ को चौथो त्रैमासिकमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादन वास्तविक रूपमा वार्षिक रूपमा २.४ प्रतिशतले बढेको छ । जुन तेस्रो त्रैमासिकमा १.९ प्रतिशतको वृद्धि भन्दा छिटो छ । २०२४ मा वाह्य मागमा सुधारको बीचमा सामानको कुल निर्यात पुनः वृद्धि भएको छ । सेवाहरूको निर्यातमा पर्यटक आगमन बढेको र अन्य सीमापार आर्थिक गतिविधिहरूमा सुधारको कारणले वृद्धि भएको छ । समग्र लगानी खर्च ठूलो मात्रामा अर्थतन्त्रसँगै विस्तार भएको छ । तर बासिन्दाहरूको उपभोग ढाँचामा परिवर्तनका कारण निजी उपभोग खर्चमा थोरै गिरावट आएको छ । वाह्य वातावरणमा बढ्दो अनिश्चितताका बाबजुद पनि २०२५ मा हङकङको अर्थतन्त्रले थप वृद्धि दर्ता गर्ने अपेक्षा गरिएको छ ।
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित
महोत्तरी । यसपालि सिङ्गो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् । ‘हिउँद पानी नपरी बित्यो’, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगर भन्छन्, ‘खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।’ कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बाली सेचन गर्ने गरिएको उनको भनाइ छ ।यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह गहिरिँदै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ । माघ अन्तिम साता लागि सक्दा हुस्सुले छाडेको छैन । हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन् । ‘आकास धुम्मिएको धुम्मियै छ, पानी पर्न सकेको छैन’, बर्दिवास–७ का ७० वर्षीय विन्देश्वर यादव भन्छन् । खेतबारीमा तरकारी बाली हुस्सुले कक्रदै तथा पानी नपरेर माटो रुखिएको उनले बताए । भङ्गाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम राइन भन्छन्, ‘यो हामीले पहिले देखे भोगेभन्दा फरक हुँदैछ ।’ एक दशक अघिसम्मका ऋतुपिच्छेका मौसममा गरिने अड्कल अब मेल खान छाडेको राइनकै छिमेकी जव्वार शेष बताउँछन् । हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन । यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन् । माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको गौशाला–११ का भोगेन्द्र महतो बताउँछन् । हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने पाका किसान बताउँछन् । भर्खरै हुर्कदै गरेका वैशाखी लहरे तरकारी, उखु, आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । तर, यसपाली वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ । हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोतहरु इनार, चापाकल गर्मी चढेसँगै चाँडै सुक्ने छन् । खानेपानीको हाहाकार पर्नसक्ने बर्दिवास–१२ बिजलपुराका ६५ वर्षीय किसान रामविलास सिंह बताउँछन् । हिउँदमा पानी नपरेपछि अहिले माघ नसकिँदै खोल्साखोल्सी सुकी सकेका छन् । सदाबहार भुल्के (जरुवा) पानीको मुहानमा पानी देखिन छाडेको छ । हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्ता छ । हिउँदमा पानी पर्दा बालीनालीमा रोगको प्रकोप कम हुने र बाली हलक्क बढ्ने किसानको अनुभव छ । हिउँदे सम्यक वर्षा बालीनालीलाई अमृत नै हुने औरही–७ का मोहन महतो बताउँछन् । ‘हिउँदे वर्षा सिँचाइ मात्र हैन, बालीको पोषण र रोग प्रतिरोधका लागि रामवाण (बिस्तुर नजाने) हुन्छ’, उनी भन्छन् । महोत्तरीको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलो लाग्ने छ । यस्ता जग्गामा पुगेका कुलोको पानीका स्रोतका मुहान पनि हिउँदे वर्षा नभएपछि सुक्दै गएका छन् । रासस
नवलपुरमा फल्यो ९ करोडको सुन्तला
नवलपरासी । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताए । जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको उनको भनाइ छ । गत वर्ष कूल दुई सय २६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा एक सय ४१ हेक्टर क्षेत्रफलबाट मात्रै आम्दानी लिन थालिएको थियो । ‘अघिल्लो वर्ष जिल्लामा एक हजार दुई सय २७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएकोमा यस वर्ष एक हजार चार सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ’, उनले भने, ‘यस वर्ष जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर दुई सय ५६ हेक्टर पुगेकामा एक सय ६१ हेक्टरमा सुन्तला उत्पादन हुन थालेको छ ।’ जिल्लामा बर्सेनि सुन्तला उत्पादन हुने क्षेत्रफल वृद्धि हुँदै गइरहेको छ । ‘जोन लागू भएपछि किसानले बिरुवामा अनुदानसहित यान्त्रिक तथा प्राविधिक सहयोग पाउने गरेका छन्’, उनले भने, ‘यसै कारण पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै उत्पादन नहुने भएकाले किसानहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।’ जिल्लाको बौदिकाली र बुलिङटार गाउँपापलिका तथा गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लामा तीन हजार दुई सय किसानले सुन्तला खेती गर्दै आएका सूचना अधिकारी काफ्लेले बताए । रासस
निर्माण सुरु भएको ११ वर्षमा पनि त्रिशूली नदीमा पुल नबन्दा सास्ती
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रशासन र सडक डिभिजन कार्यालय घेराउ गरेका थिए ।एघार वर्ष अगाडिबाट निर्माण सुरू भएको उक्त पुल निर्माणमा ढिलासुस्ती भएपछि दबाब दिन सरोकार समिति गठन गरिएको छ । बन्दीपुर, देवघाट र आँबुखैरेनीका उपभोक्ताको भेलाले सिद्धान्त थापाको संयोजकत्वमा घुमाउने पुल सरोकार तथा सङ्घर्ष समिति गठन गरेको छ । देवघाट गाउँपालिका–२, ३ र ४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा व्यास नगरपालिका–१३ र १४ का बासिन्दा दैनिक रूपमा हिँडडुल गर्ने उक्त पुल सम्पन्न नहुँदा सर्वसाधारणलाई सास्ती भएको संयोजक थापाले बताए । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले पुल निर्माणमा भइरहेको ढिलासुस्तीले यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको बताए । आँबुखैरेनी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष चुनाराम गुरूङले सम्बन्धित निकायले यस भेगका जनताको दुःख बुझेर काम सुरू गर्नुपर्ने बताए । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजिव श्रेष्ठले यसै आर्थिक वर्षमा दुई पटक आएको बाढीले पुल निर्माणमा समस्या भएको जानकारी दिए । पुलको डिजाइनमा केही परिवर्तन गर्नुपर्ने भएको र त्यसको काम भइरहेकाले काममा ढिलाइ भएको उनको भनाइ छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि पनि हालसम्म ४५ प्रतिशत मात्र काम सकिएको छ । उक्त पुलको निर्माणको अवधि आगामी चैतसम्म रहेको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भएपछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिलेसम्म त्रिशूलीको वारिपारीका पिल्लर मात्र ठडिएका छन् । उक्त पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । पुलको लागत रू नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौली भएर नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । रासस