विकासन्युज

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड अब नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ । बैंकले बैंकिङ प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र अझ सर्बसुलभ बनाउने अभिप्रायले बैंकको २२ औं साधारण सभाले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गर्ने निर्णय गरको हो । चितवनको व्यापारिक केन्द्रको रुपमा विकसित भरतपुर महानगरपालिका वडा नं १० वाइपास रोड, स्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा आइतबारबाट स्थानान्तरण भै हाकिमचोकस्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गराएको छ ।

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौं । जनकपुरमा सोमबार ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गर्न लागेको हो । जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको छ । कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरूले सहभागीता जनाउन सक्नेछन् । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् । बजाजका मोटरसाइकलहरू मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । कम्पनीले कार्यक्रममा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरेको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी हटाइयो

काठमाडौं । क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प कम गहिराइमा गएको थियो । उपलब्ध सबै तथ्याङ्कका आधारमा ‘यस भूकम्पबाट सुनामीको खतरा टरेको छ र थप कुनै खतरा छैन’, अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ । यसअघि सुनामी चेतावनी प्रणालीले क्युबाका केही तटीय क्षेत्रमा करिब १० फिट (तीन मिटर) सम्मका छालहरू आउन सक्ने र होन्डुरस र क्यामन आइल्यान्डमा तीन फिटसम्मका छालहरू आउन सक्ने बताएको थियो । क्यामन आइल्यान्ड सरकारले आफ्नो वेबसाइटमा सन्देश दिँदै तटीय क्षेत्रका बासिन्दाहरूलाई आन्तरिक भागतर्फ सर्न चेतावनी दिएको थियो । प्रारम्भिक सुनामी खतरा चेतावनीमा एक दर्जनभन्दा बढी देश समावेश थिए । भूकम्प गएको करिब तीन घन्टापछि अमेरिकी अधिकारीहरूले ३० सेन्टिमिटर (११.८ इन्च) सम्मको ‘सामान्य समुद्री सतह उतारचढाव’ हुनसक्ने चेतावनी दिएका थिए तर कुनै गम्भीर खतरा टरिसकेको जनाएका छन् । मेक्सिकोको पूर्वी तटमा रहेको इस्ला मुजेरेसमा सुनामी मापन गेजले भूकम्पपछि अधिकतम चार सेन्टिमिटर (०.१ फिट) को उचाइ भएको लहर मापन गरेको अमेरिकी सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारले बस्नेतविरुद्ध ८ करोड ६९ लाख विगो मागदावी गरेको हो । अख्तियारले मोहनकी पत्नी उर्मिलामाथि पनि मुद्दा दायर गरेको छ । जग्गा प्लष्टिङमा अनियमितता गरेको भनी उनीविरुद्ध यसअघि नै भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । हाल उनी निलम्बित अवस्थामा छन् ।

वनारसी धामको ऐतिहासिक महत्वका बारेमा पुरातत्वको चासो, सडक नहुँदा बिच बाटोबाट फर्किँदै भक्तजन

काठमाडौं । बैतडीको पाटन नगरपालिका-३ स्थित प्रसिद्ध वनारसी धामको ऐतिहासिक र पौराणिक महत्वका बारेमा पुरातत्व विभागले चासो देखाएको छ । शुक्रबार जात्रा सम्पन्न भएको वनारसी धाममा शनिबार पुरातत्व विभागका अधिकृत राजेश परियारले अवलोकन गरेका हुन् । वनारसी धाममा पुगेर सांस्कृतिक र ऐतिहासिक विशेषताका बारेमा जानकारी लिएको बताइएको छ । वनारसी धाममा अमूर्त संस्कृति रहेको र यसलाई संरक्षण गर्नु आवश्यक रहेको श्री वनारसी धाम विश्वनाथ ज्योर्तिलिङ्गका कोषाध्यक्ष एवम् धार्मीक प्रवक्ता मठाधिश समेत रहेका गणेश प्रसाद पन्तले बताए । पञ्चाङ्गकार पन्तका अनुसार वनारसी धामको ऐतिहासिक र सांस्कृतिक महत्वका बिषयमा पाटन नगरपालिका-३ का वडा अध्यक्ष करुणाकर भट्ट लगायतका सरोकारवाला व्यक्तिहरुसँग छलफल गरिएको पन्तको भनाइ छ । उनका अनुसार सामाजिक सदभाव र विभेद अन्त्यका लागि वनारसी धामको संस्कृति निकै महत्वपूर्ण रहेको छ । साथै उक्त क्षेत्रको संरक्षण सम्वर्द्धन वृहत विकासको लागि गरिएको डीपीआरले १८ करोड ४७ लाख ७५१ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । तर, सरकारले चासो नदिँदा कार्यान्वयमा समस्या देखिएको पञ्चाङ्गकार पन्तले गुनासो गरे । परापूर्वकालदेखि दलित समुदायका मानिस मुख्य पूजारी रहेको यस मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । १२औं शताब्दीदेखि यो मन्दिरमा जात्रा लाग्ने गरेको र यसमा सबैको सहभागिता हुने गरेको पन्तको भनाइ छ । यसको महिमाको बारेमा सबैलाई जानकारी गराउन आफूले पहल गरिरहेको उनले बताए । ‘यस क्षेत्रमा आउने धार्मीक पर्यटकका लागि सौचालयको समेत व्यवस्था छैन, हवनकुण्ड, आवाश, आश्रमको पनि अभाव छ, व्यवस्थित सडक नहुँदा अधिकांश भक्तजन बिच बाटोबाट फर्किने गरेका छन्,’ उनले भने, ‘यस क्षेत्रमा सरकारले चासो दिएर संरक्षणसँगै विकासमा टेवा पुर्याउनुपर्छ ।’ तत्कालीन राजा मानूक चन्दका पालामा राजगुरु बिरभद्र बसी पन्त मूल मुखिया भट्ट, बिष्ट, अवस्थी आदी सम्पूर्ण स्थानीयबाट छलफल गराई तत्कालीन राजसभा परिषदबाट तत्कालीन राजा मानूक चन्दले विभेदमुक्त सार्वजनिक पूजास्थल घोषणा गरे । र बयनी लुहारलाई पुजारी नियुक्त गरे ।  

‘निःशुल्क उपचारको दुरूपयोग हुन नदिनुहोला’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलनपीडितहरूको उपचार अवस्थाबारे जानकारी लिएका छन् । उनले काठमाडौं–२८ कमलपोखरीस्थित एक मःमः आउटलेटमा आगलागी हुँदा जलेर घाइते भएका बिरामीको उपचार अवस्थाबारे आइतबार जानकारी लिएका हुन् । मन्त्री पौडेलले अस्पतालका अधिकारीहरूसँग निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिनुपर्नेमा जोड दिए । ‘सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ’, मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला, दुरूपयोग हुन नदिनुहोला ।’ मन्त्री पौडेलले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन चेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्नेसमेत बताए । उनले भने, ‘जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौँ ।’ आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत दुई करोड निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका बिरामीको निःशुल्क उपचार भइरहेको छ । मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ । गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चौधरी तथा जलनपीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो । करिब १८ करोड लागतमा समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

स्थानीयको भावना विपरीत केबलकार निर्माण गर्न नहुने सांसदहरूको भनाइ

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले स्थानीय जनताको भावना विपरीत पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्दा समस्या उत्पन्न भएको धारणा राखेका छन् । बैठकको विशेष समयमा उनीहरूले धार्मिकस्थलको परम्परागत विशेषता, प्राकृतिक र सांस्कृतिक महत्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुनेमा जोड दिएका हुन् । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले पाथीभरामा स्थानीय जनताको भावना विपरीत केबलकार निर्माण अघि बढाउँदा समस्या उत्पन्न भएएकाले यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले स्थानीय जनताको चाहना विपरीत केबलकार निर्माण गर्दा त्यहाँको धार्मिकस्थल विरोधस्थलका रूपमा परिणत भएको उल्लेख गरिन् ।  सांसद राईले स्थानीयको चाहना बुझेर सहमतिमा समस्या समाधान गर्न सरकारसँग आग्रह गर्दै धार्मिकस्थलको परम्परा, प्राकृतिक र सांस्कृतिक महत्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुने धारणा राखिन् । उनले धार्मिकस्थलमा कङ्क्रिट संरचनाभन्दा पनि समुदायको मागबमोजिम बाटो, खानेपानी, शिक्षा, शौचालय, विश्रामस्थल, स्थानीय उत्पदानको बजारीकरणलगायत कार्य गर्नुपर्ने राज्यको दायित्वबारे सरकारको ध्यानाकर्षण गराइन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेनु चन्दले आदिवासीरजनाजतिको धार्मिक एवं सांस्कृतिक मुन्धुमस्थल पाथीभरा क्षेत्र केबुलकार निर्माणको विषयले केही समयदेखि अशान्त रहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले आन्दोलनरत स्थानीयमाथि प्रशासनले दमन गरेको टिप्पणी गर्दै आन्दोलनका घाइतेको निःशुल्क उपचार र क्षतिपूर्तिका लागि सरकारसँग माग गरिन् । सांसद चन्दले पाथीभरा क्षेत्रमा सुरक्षाका नाममा आन्दोलनरत नागरिकमाथि दमन भइरहेको आरोप लगाउँदै उक्त कार्य तत्काल बन्द गर्न आग्रह गरिन् । साथै उनले पाथीभरामा केबलकार निर्माण गर्ने विषय आध्यात्मिक, आर्थिक, पर्यावरणीय र विकासका दृष्टिले समेत उपयुक्त नभएको धारणा राखिन् । यसले स्थानीयको मौलिक अधिकार हनन हुनुका साथै पहिचान, समाजिक तथा परम्परागत मूल्य, मान्यता विनाश हुने जोखिम बढेको उनले बताइन् । आजको बैठकमा नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले शपथसम्बन्धी ऐन २०७९ को दफा ३ मा रहेको गोपनीयतासम्बन्धी प्रावधानको पालना नभएको बताए । उनले पदमा रहेका बेलाका कतिपय गोप्य विवरण तथा सूचना पदविहीन भएपछि लेख्ने र बोल्ने गरेको पाइएकाले उक्त कानुनको पालना नभएको देखिएको बताए । सांसद बस्नेतले विश्वका धेरै देशमा गोप्य सूचना बाहिर ल्याउनेलाई दण्डसजाय गर्ने प्रावधान रहेको बताउँदै नेपालमा पदबाट मुक्त हुने वित्तिकै बढाइचढाइ आत्मवृत्तान्त लेख्ने गरेकोप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । नेपालमा पनि शपथसम्बन्धी कानुन प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले माग गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्प गएको लामो समय भइसक्दा पनि सुरक्षित पुनःस्थापना र राहतको काम पूर्ण नभएको बताउँदै यसमा ढिलाई हुँदा भूकम्पप्रभावित समस्यामा परेकाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले प्रत्यायोजित विधायन ऐनलगायत नियम तथा कानुन निर्माण गर्दा प्रयाप्त रूपमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका युवायुवतीले विवाह गर्दा प्रहरी प्रशासनले दुःख नदिएर सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारले अन्तरजातीय विवाह गरेकाले प्रशासनबाट दुःख र तनाव पाएको विषयका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले कर्णाली प्रदेश प्राकृतिक र ऐतिहासिक सम्पदा तथा भाषा संस्कृतिले सम्पन्न भए पनि यहाँका जनता सामान्य उपचारबाट पनि वञ्चित हुनुपरेकोे, कुपोषणको शिकार हुनुपरेको, खानेपानी र विद्युत्को पहुँचबाट वञ्चित हुनुपरेकोलगायत समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराइन् । उनले आवश्यक बजेट र कार्यक्रममार्फत कर्णालीका जनताको समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन् । राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले विगतमा सबै सरकारले अध्यादेश ल्याएर काम गर्ने अभ्यास भएअनुसार संविधानले दिएको अधिकार प्रयोग गरेर वर्तमान सरकारले अध्यादेश ल्याएको बताइन्। उनले वर्तमान सरकारले छिटोछरितो काम गर्न अध्यादेश ल्याउनु महत्वपूर्ण विषय भएको भन्दै संविधान कार्यान्वयन गर्न र कतिपय कानुन बनाउन अध्यादेश जरुरी रहेकाले प्रतिपक्षले सकरात्मक सहयोग गर्नुपर्ने धारणा राखिन् । सभापति दाहालले देश विकास गर्न र जनताको पक्षमा काम गर्न ठूला दुई दल मिलेर वर्तमान सरकार बनेकाले सरकारको टिप्पणी गर्नुभन्दा सकारात्मक र नतिजामूखी काम गर्न सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिइन् । उनले वर्तमान सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरेको बताउँदै दुई आयोगमा पदाधिकारी नियुक्ति गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइन् । रासस

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमा प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उनलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताएका छन् । शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने बताएका हुन् ।‘म त्यसो गर्न चाहन्नँ’, उनले भने, ‘म उहाँलाई एक्लै छोडिदिन्छु । उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ। उहाँकी श्रीमती भयानक हुनुहुन्छ।’ यो बयान ह्यारीको भिसासम्बन्धी कानुनी चुनौतीहरूका बीच आएको हो । विशेषगरी हेरिटेज फाउन्डेसनले उनको भिसा आवेदन प्रक्रियामा विगतको गैरकानुनी लागुपदार्थ प्रयोगबारे खुलासा नगरेको सम्भावनाबारे चिन्ता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ । न्युयोर्क पोस्टले ट्रम्पले ह्यारीका अलग भएका जेठा दाजु राजकुमार विलियमप्रति प्रशंसा व्यक्त गर्ने मौका पनि लिएको र उनलाई ‘एक महान् युवा’ भनेको उल्लेख गरेको छ । दुई जनाले सन् २०२४ डिसेम्बरमा नोट्रे–डाम क्याथेड्रलको पुनः उद्घाटनका क्रममा पेरिसमा गोप्य रूपमा भेट गरेका थिए । उक्त भेट ह्यारी र उनकी श्रीमतीसँगको ट्रम्पको तनावपूर्ण सम्बन्धको विपरीत थियो । ड्युक र डचेस अफ ससेक्स मेघन मर्केल लामो समयदेखि ट्रम्पको मुखर आलोचक हुन् । मर्केलले अघिल्लो सार्वजनिक बयानमा उनलाई ‘विभाजनकारी’ र ‘महिला विरोधी’ भनेका थिए भने ट्रम्पले नियमित रूपमा ह्यारीको उपहास गर्दै राजकुमार मेघनद्वारा ‘नियन्त्रित’ भएको दाबी गरेका छन् । ‘मलाई लाग्छ बिचरा ह्यारी मेघनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ’, ट्रम्पले अघिल्लो अन्तर्वार्तामा टिप्पणी गरेको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ । हेरिटेज फाउन्डेसनले होमल्यान्ड सेक्युरिटी विभागविरुद्ध दायर गरेको मुद्दाले ह्यारीको अमेरिकी भिसा आवेदनमा ह्यारीको आत्मकथा ‘स्पेयर’मा कोकेन, गाँजा र साइकेडेलिक्स लगायतका लागुपदार्थको विगतको प्रयोगबारे गरिएको स्वीकारोक्तिलाई उद्धृत गर्दै उनको इमानदारीमा प्रश्न उठाएको छ । हेरिटेज फाउन्डेसनका नाइल गार्डिनरले भने, ‘संयुक्त राज्य अमेरिकामा आवेदन दिने जोसुकैले आफ्नो आवेदनमा सत्य बोल्नुपर्छ र राजकुमार ह्यारीको मामलामा यो स्पष्ट छैन’, न्युयोर्क पोस्टले उल्लेख गरेको छ । रिपोर्टमा थप उल्लेख भएअनुसार रूढिवादी थिङ्क ट्याङ्कले ह्यारी र मेगन बेलायती शाही परिवारबाट बाहिरिएपछि सन् २०२० मा क्यालिफोर्नियामा सरेका थिए र यसलाई व्यापक रूपमा ‘मेगजिट’ भनिन्छ। त्यसपछि बाइडेन प्रशासनबाट विशेष व्यवहार पाएको हुनसक्ने बताइएको छ । रासस