काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले प्रश्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावनाअनुसार नभई औपचारिकता पूरा गर्न मात्र ल्याइएको टिप्पणी गरेका छन् ।
संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सरकारले जनभावना र राष्ट्रको आवश्यकता अनुरूपको नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाए।
अध्यक्ष दाहालले आफूले देशका विभिन्न भागमा जनतासँग संवाद गर्दा उठेका आवश्यकतालाई प्राथमिकतामा राखेर नीति तथा तथा कार्यक्रममाथि धारणा राखेको दाबी गरे ।
उनले सरकारले नीति तथा कार्यक्रम सिर्जनात्मक, रचनात्मक र जनता र राष्ट्र पक्षमा नभए गतवर्षको नीति तथा कार्यक्रमहरू समेत कपीपेस्ट गरेर झारो टार्ने काम गरेको आरोप लगाए ।
उनले भने, ‘हामीले पूर्वदेखि पश्चिमसम्म जनतासँग जे संवाद गरियो र जनभावना जे बुझें मैले त्यसैको आधारमा राखेको हो । यो नीति कार्यक्रम झारा टार्ने र औपचारिकता पूरा गर्ने केही पनि नभएको नीति तथा कार्यक्रम भएको हुनाले मैले आफ्नो विचार र जनताको आवश्यकता संसदमा राखेको हो । गतवर्षको नीति तथा कार्यक्रम कपीपेस्ट गर्नु पनि झारा टार्नु नै हो ।’
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले अहिले आफ्नो ध्यान सरकार बनाउनेतर्फ नभई जनतामा जाने रहेको बताए ।
उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ । हामी मध्यपहाडी लोकमार्ग अभियान हामी जाँदैछौं । जादु चलाउन चाहे त चल्छ तर अहिले हामी चलाउने पक्षमा छैनौं ।’